h

News

बेलौती बेचेर शैक्षिक सामग्री

2016-09-24

news

- कविता उपाध्याय
 लिबाङ (रोल्पा), रासस Sep 24, 2016 । आर्थिक अभावका कारण जिल्लाका केही बालबालिकाले बिदाका दिनमा बेलौती (अम्बा) बेचेर शैक्षिक सामग्री जुटाउँदै आएका छन् । पढ्ने तीव्र चाहना हुँदाहुँदै पनि शैक्षिक सामग्रीको अभावका कारण पढाइमा बाधा पुग्ने गरेको उनीहरूको भनाइ छ ।

  यसरी बेलौती बेचेर शैक्षिक सामग्री जुटाउने सबैजसो बालबालिकाका बुबा वैदेशिक रोजगारीमा गएको र आमा घरकै काममा व्यस्त हुने भएपछि उनीहरू बिदाका दिनमा बेलौती बेच्नका लागि सदरमुकामसम्म आउन बाध्य भएका हुन् । बिदाका दिनमा मात्र बेचेको बेलौतीबाट दैनिक रु २५० देखि ३५० सम्म आम्दानी हुने उनीहरूले बताएका छन् ।

डाक्टर बनेर रोल्पाली जनताको सेवा गर्ने लक्ष्य बोकेकी ११ वर्षीया सृजना पुन बालउदय माध्यमिक विद्यालय जंकोट–१ माडिचौर रोल्पामा कक्षा ५ मा अध्ययनरत छिन् । उनलाई मनैदेखि पढ्ने रहर छ । भविष्यमा जिल्लाकै अस्पतालमा डाक्टर बनेर जनताको सेवा गर्ने रुचि बोकेकी पुनले आर्थिक अभावका कारण शैक्षिक सामग्री जुटाउन गाह्रो भएको बताइन् ।

 बुबाको कमाई घरखर्चमै सकिने भएपछि उनले बिदाका दिनमा गाउँमै बेलौती खरिद गरेर सदरमुकाम पुगी बेलौती बेच्न थालेकी हुन् । यस्तै, १० वर्षीया प्रतिमा पुन माडिखोला अङ्ग्रेजी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययन गर्दैछिन् । सृजना जस्तै प्रतिमाको पनि पढेर गाउँकै विद्यालयमा शिक्षक बन्ने रहर छ  । तर आर्थिक अभावका कारण डोकोमा बेलौती बोकेर बेच्नका लागि उनी पनि साथीहरूसँग बिदाका दिनमा सदरमुकाम आउने गर्छिन् । करिब  साढे २ घन्टाको लामो बाटो पैदल यात्रा गरेर उनीहरू सदरमुकामसम्म आइपुग्छन् । अरू बेला स्कुल हुन्छ, बिदाका दिनमा पनि आमालाई सघाउन बेलौती बेच्न आउँछौँ, सृजनाले भनिन् ।

यस्तै, जंकोट–१ माडिचौर रोल्पाका १२ वर्षीय दीपेश बुढामगर बालउदय माविमा कक्षा ७ मा अध्ययन गर्दैछन् । भविष्यमा के भन्ने भन्ने बारेमा उनलाई थाहा छैन, तर पनि पढेर ठूलो मान्छे बन्नका लागि उनी पनि सदरमुकामसम्म बेलौती बेच्न आउने गरेका हुन् ।भाइबहिनी साना छन् घरमा गाईवस्तु पनि छन् घरको काम झन्झटिलो हुन्छ, त्यसैले आमालाई सघाउन बिदाका दिनमा बेलौती बेच्न आएको हुँ बुढामगरले भने ।

यसरी बेलौती बेच्नेमध्ये कसैको घरबाट ल्याए पनि अन्य सबैले गाउँबाट खरिद गरेर ल्याउने गरेका छन् । यी बालबालिकाले मौसमअनुसारका फलफूल जस्तै आँप, सुन्तला, काफल लगायतका फलफूल बेचेर शैक्षिक सामग्रीहरू जुटाउँदै आएका छन् ।
 

Comment

Related News