h

News

माधवप्रसाद घिमिरे दुर्घटनामा : घिमिरेसहित तीन दाजुभाई त्रिशूलीमा बेपत्ता

2016-09-25

news


चितवन, ९ असोज । पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित सात जना चढेको गाडी आज अपराह्न पृथ्वी राजमार्गको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।

 दुर्घटनामा घिमिरेसहित तीन दाजुभाई त्रिशूलीमा बेपत्ता हुनुभएको छ । उहाँका सवारी चालक प्रहरी हवल्दार विष्णु राई घाइते हुनुहुन्छ ।

प्रजिअ विनोदप्रकाश सिंहका अनुसार मृत्यु हुनेमा घिमिरेकी आमा ८० वर्षीया चैतन्यकुमारी, सुरक्षागार्ड सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्की र आफन्त नारायण काफ्ले रहेका छन् । काफ्ले घिमिरेका भान्जा भएको बताइएको छ । सिंहका अनुसार घिमिरेसहित उहाँका भाइहरू प्रकाश र मोहन पनि त्रिशूलीमा बेपत्ता भएका छन् ।

    मुक्तिनाथबाट पोखरा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा ९ च १५३१ नं को स्करपियो गाडी दुर्घटनामा परेको हो । सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी नायब उपरीक्षक जनक बस्नेतका अनुसार घुम्तीबाट गाडी त्रिशूलीमा खसेको हो । सडकबाट करिब १५० मिटर तल नदीमा गाडी खसेको बस्नेतले जानकारी दिनुभयो ।

    आमा चैतन्यकुमारी, कार्की र आफन्त काफ्लेको शव नदी किनारमा भेटिएको बस्नेतले बताउनुभयो । चालक राई भने केही माथि भिरमा घाइते अवस्थामा भेटिनुभएको थियो । घाइते राईको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

 घाइते राईलाई कसैसँग पनि भेट गर्न दिइएको छैन । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चालक राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेको बताइएको छ । दमौलीमा खाना खाएपछि पूर्व गृहमन्त्री घिमिरेले चालक राईलाई ‘आराम गर’ भन्दै आफैँ गाडी चलाएको चालकलाई उद्धृत गर्दै उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।

    घटनास्थल मनकामना केबलकारको गेटबाट डेढ किलोमिटर मुग्लिनतर्फको दूरीमा पर्दछ । दुर्घटनास्थलमा नदीको दुवैपट्टी पानीले भरिएकाले खोजी कार्य कठिन भएको छ ।

    सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम केन्द्रका सात जनाको गोताखोर टोलीले साँझदेखि डुङ्गामा बसेर बेपत्ता व्यक्ति र गाडीको खोजी कार्य गरिरहेको छ । बस्नेतले बाटोबाट ‘लाइटिङ टावर’बाट उज्यालो दिने व्यवस्था गरेर खोजी कार्य जारी राखेको बताउनुभयो । टावरले चार किलोमिटर परसम्म उज्यालो दिने उहाँले बताउनुभयो ।

    विसं २०६६ साउन २२ गतेदेखि २०६९ साउन २१ गतेसम्म मुख्यसचिव हुनुभएका घिमिरे खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा गृह तथा परराष्ट्र मन्त्री हुनुहुन्थ्यो ।

दुर्घटनाप्रति प्रधानमन्त्री स्तब्धः बेपत्ताको खोजी गर्न निर्देशन
    
    काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको त्रिशूली नदीमा जिप खसेर बेपत्ता भएको घटनाले आफू स्तब्ध भएको बताउनुभएको छ ।
    
    प्रधानमन्त्री दाहालले ट्वीटरमार्फत घिमिरेको सवारी दुर्घटनामा परेको खबरप्रति स्तब्ध भएको भन्दै खोजीका लागि प्रशासनलाई निर्देशन दिएको उहाँका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले राससलाई जानकारी दिनुभयो ।
    
    त्रिशूली नदीमा बेपत्ता घिमिरेसहित तीन जनाको खोजी गर्न सबै संयन्त्र परिचालन गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिनुभएको छ ।
    
    आज अपराह्न मुग्लिनहुँदै काठमाडौँतर्फ आउँदै गरेको घिमिरे चढेको बा ९ च १५३१ नंको स्करपियो गाडी चितवनको दाह्रेचोकमा दुर्घटना भई त्रिशूली नदीमा खसेको थियो ।रासस

Comment

Related News