h

News

आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्दा सुहाएको जस्तो लाग्छ । -बरधोज

news

गायक बन्ने सपना बोकेर हिँडेको मान्छे एकाएक मोडल भएर देखा परे । रहस्य बुझ्दा त कलेज पढ्दा धरान वरपर हुने सुटिङहरूमा कुटाई खाने रोल पनि पाएछन् । पछि फोटोग्राफी सिकेर स्टील फोटोग्राफरका रुपमा अनुबन्धित भएर काम गर्दा-गर्दै अभिनयमा नजानिँदो पाराले तानिएछन् । अहिले तिनै जवान ठेट सँस्कृतिमा आधारित गीतहरूमा ठेट मोडल भएर देखा परिरहेका छन् । यो उसैको चर्चा हो, जो भरखरै मात्र रिलिज भएको सिता सिङगको स्वरमा सजिएको प्रथम लिम्बू भिडियो एल्बम ‘फेदापहाङ्मा’को दुई चर्चित गीत ‘पाङजुम पाङयक निनेल्ले’ बोलको गीत र ‘पालाम’मा देखा परेका मोडल बरधोज ओख्राबो लिम्बूको हो ।

‘चरित्रहरूको दुरुस्त नक्कल र जीवन-जगतको चित्रण गर्न सक्नु नै अभिनय हो ।‘ भन्ने राय राख्ने ओख्राबो विशेष: गुणस्तरलाई ध्यानमा राखेर कम तर राम्रो अभिनय गर्न रुचाउँछन् । सिता सिङगकको ‘फेदापहाङ्मा’ले तमाम जनजाति, किरात तथा मुख्यतया लिम्बूहरूको सँस्कृति-सँस्कार-भाषा-धर्ममाथि टेवा दिन सक्ने हुनाले पनि यो कार्यको सफलताकोलागि आफूले सक्ने सहयोगकालागि पहल गरेको उनको भनाई छ । फेदापहाङ्माको पालाममा गायिकाका बुवा-आमा र गायिकासँग बरधोजले अभिनय गरेका छन् ।

‘गायिका सिता सिङगकका बुवा-आमा स्वयम् पनि कुनै जमानामा फेदापमा धान नाच्न र पालम गाउनमा स्थानीय रुपमा चर्चित कलाकारहरू हुन् । उहाँहरूकै जीवन-कथामा बनेको म्युजिक भिडियोमा उहाँहरू जस्तो जिवित र साँच्चीका कलाकारसँग अभिनय गर्न पाउँदा खुशी लागेको छ ।‘ यसरी बरधोज जानकारी दिन्छन् । ‘किरात याक्थुङ चुम्लुङ हीम ललितपुरमा फेदापहाङ्माको विमोचनको दिन यो भिडियो हेरेर धेरैले कार्यक्रम मै आँसु झारेका थिए ।‘ उनी थप्छन् ।

सन् २००९ देखि हङकङमा रहेका कलाकार बरधोज याक्थुङ आर्टिष्ट सोसाईटी मार्फत अरु कलाकारहरूसँग सहकार्य गरेर कला-यात्रामा सकृय छन् । हङकङबाट नै धेरैवटा म्युजिक भिडियोहरू निर्माण गरिसकेका छन् । समाज, सँस्कृति, साहित्य-कलाकारिता तथा अनेक रुपेण सकृय हङकङेली नेपाली समाजलाई देखेर कतिले हङकङको नेपाली समाजलाई ‘दोस्रो नेपाल’ जस्तो सङ्ज्ञा दिएको पनि पाइन्छ । हङकङको यस्तो नेपाली समाजमा बसेर नेपाली कला-कर्ममा धेरैले योगदान दिईरहेका छन् । यीमध्ये बरधोज ओख्राबो लिम्बू पनि एक महत्वपूर्ण ब्यक्ति हुन् । ‘नेपाल जाँदा पनि कला-कर्मको काम नगरी कहिल्यै फर्केको छैन ।‘ उनी भन्छन् ।

‘राज्यको एकल शासनबाट जनजातिका साँस्कृतिक पहिचान, भाषा-भेष र धर्म-सँस्कृति हराईरहेको अवस्थामा आफ्नो ठेट पहिचान बुझिसकेपछि आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्न पाउँदा यसले हाम्रो पहिचान मात्र जोगाउँदैन, आनन्द पनि आउँछ र आफूलाई सुहाएको जस्तो पनि लाग्छ ।‘-कलाकार ओख्राबोको तर्क यस्तो छ । फेदापहाङ्माको बारे बुझ्दा उनी भन्छन्- “फेदापहाङ्मा धेरै चर्चामा छ । बिक्री तिब्र छ । संसारभर माग बढेको छ । जनजातिको सँस्कृति-भाषालाई प्रेम गर्नेहरू धेरै रहेछन् भन्ने थाहा भयो । लिम्बू भिडियो एल्बम भइ पनि गैर लिम्बूहरूले नि किनेर सुनिदिएका छन् । हेरि दिएका छन् र राम्रो प्रतिकृया दिएका छन् ।‘ उनी अभिनित फेदापहाङ्मा हङकङ, सिङ्गापुर, ब्रुनाई, सिक्कि, युके, मलेसिया आदि देशमा मात्र दश हजारमाथि बिक्री भईसकेको छ । आउँदा दिनहरूमा पनि लिम्बू लगायत जनजातिका पहिचान मूलक साँस्कृतिक पक्षका रोलहरूमा अभिनय गर्न मन पराउने बरधोज ओक्राबो लिम्बूको जन्म थिङ्लाबु-७, पाङ्लाबुङ, ताप्लेजुङमा आमा असारमती श्रेङ चोङ्बाङ लिम्बू र बीर बहादुर ओख्राबो लिम्बूको कोखमा जन्मिएका हुन् । दर्शकहरूको सुझाव, प्रतिकृया, आलोचना, माया-हौसल्ला र प्रेरणालाई कलाकाहरू अगाडी बढ्न शक्तीको रुपमा लिनु पर्ने मान्यता राख्ने यी कलाकार भन्दछन्- ‘लिम्बू वा गैर लिम्बू, जनजाति वा गैर जनजाति जोसुकै भए पनि एकापसमा आदर, माया, सद्भाव र सदाशयी भएर उच्चस्तरको सामाजिक जीवन बाँच्न अनुरोध गर्दछु ।‘

लिम्बू साँस्कृतिक अस्तित्व-महत्व-ईतिहास तथा वर्तमान जीवनलाई उचालेर विश्व सामू लिम्बू जातिलाई चिनाउन नयाँ पुस्तालाई समेटेर नयाँ चलचित्र बनाउन रुची लिएका ओख्राबो लोपोन्मुख लिम्बू पालाम, मुन्धुम तथा मिथकहरूलाई खोज र उत्खनन गरेर सर्वब्यापी बनाउन जीवनभर कलाकारितामा सामेल हुने ईच्छा ब्यक्त गर्दछन् । अन्त्यमा हट्टाकट्टा यी हेण्डसम लिम्बू कलाकार थप्छन्-‘मलाई जसले कलाकार, समाजसेवी, चिन्तक वा मोडेल जे भने पनि म उहाँहरूलाई ‘नोगेन’ भन्न चाहन्छु ।‘

Comment

Related News