h

News

डिप्लोमेटिक कवि चन्द्रले भुईफुट्टा समालोकको हप्काइ खांदा.......

news

धरानका एकजना भुइफुट्टा समालोचकले डिप्लोम्याटिक व्यूरोक्राट्स कवि चन्द्र घिमिरेको ‘काठको वाकस’ भित्र सुनचादी हिरामोती जुहारात पाइन्छ कि भनेर खोलेर हेर्दा कामै नलाग्ने धुलो र कागजमा लेखिएको, अक्षरहरुको थुप्रो फेला पारेको तिखो टिप्पणी गरे । त्यो पनि अगाडि कुर्सिमा गजक्क परेर बसेका घिमिरेकै सामुन्ने सार्वजनिक रुपमै ।

पुर्वका अगुवा साहित्यिक श्रष्ठाहरुले खचाखच भरिएको धरानको महेन्द्र बहुमुखी क्याम्पसको सेमिनार हल एकछिनलाई सुनसान भयो । तिनले यतिमात्र भनेनन्, अरु  पनि थप्दै गए, ‘मन्त्रालयको सचिव हुदैमा, कुटनितिक व्यत्तित्व हुदैमा, विदेशमा अंग्रेजी पढ्दैमा कविता सहजै लेख्न सकिन्छ ? शव्द थुपार्दैमा कविता हुन्छ ? मैले त कुनै पनि कविता कविता जस्तो लागेन । यस्तो कविता हुदै सक्दैन ।’ मुसुमुसु हांसिरहेका कवि घिमिरे एक्कासी कालो निलो मात्र भएनन् ‘काठको बाकस’माथिको परिचर्चा नै भद्रगोल होलाकि जस्तो हुन थाल्यो । घिमिरे कुटनितिमा अभ्यस्त भएकाले आफ्नो शारीर र चेहरालाई यथावत रुपमा सम्भाल्दै ध्यानदिएर सुनेझै गर्दै  ‘डिप्लोमेटिक एक्स्प्रेसन’ जारि राखे ।

र, मंचमा यति भद्र गाली गरिसकेपछि ती समालोचकले कवि घिमिरेको अनुहार तिर पुलुक्क हेरेर फेरि आयोजक सदस्यहरुतिर बाघे आंखा सन्काउदै अन्तमा भने, ‘मलाई आयोजकले चन्द्र घिमिरेको कविता संग्रहमाथि टिप्पणी गर्न जिम्मा दिएको थियो तर ‘काठको वाकस’ अहिले भर्खर कार्यक्रम स्थलमा दिएपछि मैले के चैं पढेर के समीक्षा समालोचना गर्नु ?’

समालोचक समीक्षकहरुले आफ्नो हैसियत विर्सदा आयोजकले पाउनु पर्ने गाली सरासर चन्द्र घिमिरेमाथि पोखिएको उनको अन्तिम वाक्याङ्शबाट स्पस्ट भयो । कवि घिमिरे त्यसपछि ढुक्क भए । अघिको ‘डिप्लोमेटिक एक्स्प्रेसन’ लाई घिमिरे परिवर्तन गर्दै धराने शैलीमा आफुलाई ‘रिल्याक्स’ बनाए । आफुलाई पहिले कवि त्यसपछि मात्र ‘व्यूरोक्रेसीको निरिह प्यादा’ भन्न रुचाउने कवि घिमिरेले यति चाम्रो हप्काई  कुनै पनि समालोचकबाट शायदै पाएका थिए । तर उनले त आफ्नै गृहनगरमै गतिलो झटारो पाए । यद्यपी, यो झटारो घिमिरेका लागि सुरुमा पिडादायी ठहरिएपनि अन्तमा निरुदेश्य ठहरियो ।

..............................
“...धराने हाइडपार्क भन्दिँदा त्यसै फुरुंग हुने छाताचौक । त्रिचालिस सालको एक दिन धरान सग्लै ठिंग थियो । नयाँ साहित्यिक समूह उम्रेको घोषणामा गुरुरुरु दौडियो । छाताबिनाको धराने छाताचौकलाई सुम्सम्याउदै, काउकुती लगाउदै ।....” यसरी त्यो बेलाको कथा हाल्दै कवि चन्द्र घिमिरे फेरि आइ पुगेका थिए गृहनगर धरानमा ।

फाइन प्रिण्टले बजारमा ल्याएको ‘डण्ट टच मी ओ कविताहरू’ कविता संग्रहपछि अर्को कविता संग्रह काठको वाकस लिएर उनी आएका थिए । आफुलाई धरानकै छोरा भनेर कहिलै नथाक्ने कवि घिमिरे धरानमै हुर्किएपनि वौद्धिक, प्रसासनिक र कुटनितिक जागिरको पखेटा लागेपछि भने यी कविको आगमन मुस्किलले पाच बर्षमा एक पटक होला । यद्यपी, उनी आउदा धरान निकै सलबलाउछ । कारण, उनी कुटनितीज्ञ वा ठूलो ओहदामा पुगेर होइन उसवेलाको साहित्यिक आन्दोलनका ‘अर्को जमात’ का संस्थापक भएकाले ।

उसवेला कवि चन्द्र घिमिरेसंगै नविन सुव्वा (चलचित्र निर्देशक), कवि टंक घिमिरे, रमेश केसी, गोपाल देवान लगायतको युवाहरुले अर्कोजमात मार्फत साहित्यमा खरो आन्दोलन चलाएर देखाएको ‘पोटेन्सियालिटि’ को व्याज खाइरहेको आरोपलाई पनि उनी सहजै पचाउने भएका छन् ।

    उनी भरातको कोलकतास्थित महाबाणिज्य दूत भएको बेला एक बर्षअघि घिमिरेले कविता सुनाउदै ख्यालख्यालमा मनको कुरा सुनाएका थिए, ‘बैंशालु उमेर जागिरे भएर विताएं । त्यसैमा सरुवा र बढुवामा फुर्किएं । तर मनमा कविता लेख्ने सुनाउने लत भने  जागिरे हुनु भन्दा अगाडि धरानमा ‘अर्को जमात’ आन्दोलनले बसाएकाले लेख्दै राखेको छु ।

उनले ‘भूइँचालोपछि धरान’ कविता मार्फत धरानलाई सम्झीरहेका छन् । त्यो पैँतालिस साल भदौ ५ गते आइतबार विहान आएको भूकम्पको विध्वँस झलझली नविकरण गरेका छन् कवितामा । भूइँचालोमा धरानले गुमाएको बयान गर्दा नथामिएर उनले सुनाए–
“...बसपार्कमा थिई
माग्ने अपाहिज ‘हेलेन केलेर’
ऊ पनि रैनछे अब ।
......प्रेमिकालाई समेत घाँडो
बेरोजगार युवा कवि थियो
ऊ पनि रैनछ अब ।...” (‘भूइँचालोपछि धरान’बाट)
कवि चन्द्रले अड्चालिस सालमा लेखेको चर्चित कविता ‘डण्ट टच मी ओ कविताहरू’ अहिले पनि उत्तिकै सान्दर्भिक छ । यो कवितामा उनले काठमाण्डौ छिरेका युवा युवतीहरूको मार्मिक हुबहु डायरी लेखेका छन् । त्यो पिडा अहिलेको पुस्ताले पनि भोगिरहेछ । उनी कहिले ‘इस्कुससँग दार्जिलिङ’ मा लेख्छन्–
“लाक्पा अंकल छ
ऊसँग
बंगाल पुलिसको चालु फुली
र फुलीमुनि ओतिएको
‘चौरासी’ नम्बरको फौजी
अन्टीको रेटिङमा असफल छ ।...” (‘इस्कुससँग दार्जिलिङ’बाट)

उनी कवितालाई मान्छेका समाचार भन्न पछि पर्दैनन् । काव्यमा उनी भाषिक प्रयोगवादी हुन् । अन्य भाषा–भाषिकाहरूबाट बोलचालीमा चलनचल्तीमा आएका शव्दहरूसँग खेल्न सिपालु छन् । कलात्मक ढँगले खेल्न सकिए भाषा र साहित्य धनी बन्ने मत राख्छन् ।  कवितामा कलालाई बुझ्ने आफ्नै ‘इपिस्टेमोलोजी’ रहेको बताउने कवि चन्द्रले भेटमा डिप्लोमेटिक भाषामा भने, ‘अप्रिय सत्यलाई प्रिय लाग्ने शव्द र अक्षरले सजाउनु कला हो । यो कला मैले सम्भालेर प्रयोग गर्दै छु ।’

हुन त उनी बढी कुटनितिक हुन् । कुटनितिमा सोझो गाली हुदैन । नत सोझो प्रतिकार वा विरोध नै । सुन्दा सुन्दर तर शव्द केलाउदा थाहै नपाई जरै उखेलिदिने कला पनि हो उनको कुटनिति । कवितामा उनको भाषिक प्रयोग यसरी नै गर्दै आएका छन् उनी ।

शुरूका अवधिमा आत्मपरक लेखेका चन्द्र पछिल्ला वर्षहरूमा आवाजविहिनहरूको आवाज लेख्न कस्सिएका छन् । वर्गीय र सासकीय हिसावले उनी उच्च दर्जामा पुगेपनि सल्वार्टनलाई साथमा लिएर उसैको पक्षमा वकालत गर्र्ने कवि भन्न रुचाउछन् घिमिरे । उनले धरानको भेटमा भने, ‘विपन्न, पिछडिएकाहरू हुँदै राज्यले सम्झन नभ्याएका ज्यूँदा शहीदमाथि मलाई अझै धेरै भन्दा धेरै लेख्नु छ ।’ यो  पनि उनको कन्ट्रोभर्सियल भ्वाइस’ लाग्छन् । तै पनि सावित गरेर देखाउनु उनले अझै  बांकी छ ।  

उनको दावी अनुसार उनका कविताका अधिकाँश पात्र, घट्नाहरु काल्पनिक नभएर पत्रपत्रिकाबाट टिपिएका हुन् । उनी आफुलाई नेपाली कविहरूमध्ये भूपिका फ्यान बताउन भुल्दैनन् । भारतीयमा राजेन्द्र भण्डारी, मनप्रसाद सुव्वा, केदारनाथ सिँह, सुनिल गंगोपाध्याये, सर्वेश्वर दयाल सक्सेनाहरू मन पर्ने चेहरा हुन् । अन्य विदेशीमा पाव्लो नेरुदा, एलेन गिन्सबर्ग भने पछि भुतुक्क हुन्छन् ।

समकालिन नेपाली साहित्यमा उनलाई मन पर्ने लेखकहरूको सूची लामो छ रे । हाल नेपाली साहित्य र प्रकाशनमा भइरहेको प्रगतिसँग उनी निकै उत्साहित छन् । तर यसको अन्तर्राष्ट्रियकरण गर्नु जरुरी छ भन्छन् । र यसका लागि बाहिरी जगतसँग संवाद, सम्मेलन र अनुवादमा लाग्नु पर्ने औँल्याउँछन् ।  

कवि घिमिरेमाथि अर्का कवि सुदिप पाख्रिनले यो पंक्तिकारलाई साक्षी राखेर सोधेका थिए, ‘रोवर्ट ग्रेसले कवितामा पैसा छैन, पैसामा कविता छैन भनेका छन् । अहिले तपाइसंग पैसा प्रशिद्धी र कविता छ । पैसा हुदा कविता लेख्दा कस्तो हुदो रहेछ ?’

    जवाफमा कवि घिमिरेले पनि कुटनिति अपनाए । उनले भने, ‘२८ बर्ष अघिको र अहिलेको चन्द्र घिमिरेमा धेरै त्वातिक भिन्नता आएको छ । मलाई व्यूरोक्रेसीले कविता लेख्नै दिदैन । व्यूरोक्रेसिले त मलाई ‘त“ कविता लेख्दै हिड्ने कवि हो र ?’ भनेर भन्छ । आज नेपाली साहित्य समाज भित्रका साथीहरुले पनि कविता त होलटाइमर कविहरुले पो लेख्ने त व्यूरोक्राटले पनि कविता लेख्छ र ? भन्नु हुन्छ । मैले सधै भन्दै आएको छु म पहिले कवि हुं त्यसपछि अरु ।’

    कविता लेख्न स्वतन्त्रता व्युरोक्राट भित्र नरहेको बताउन भ्याएका उनले कविता लेख्नका लागि आवश्यक स्वतन्त्रताका लागि फुत्किन चन्द्र घिमिरे बनेको बताए । उनले दृढताका साथ भने, ‘म नेपाल सरकारको जागिरे हुदा चन्द्र कुमार घिमिरे । त्यसबेला बरिष्ठ कर्मचारी हुंला । पोलिसी मेकर हुंला । तर कविता लेख्दा वा कुनै निवन्ध लेख्दा कवि साहित्यकार चन्द्र घिमिरे मात्र हुन्छु ।’
 

Comment

Related News