h

News

संस्कृतिमा फैलिएकी भारती खरेल

2016-11-30

news

 

- नरेन्द्रराज प्रसाई

 

भारती खरेल एउटी प्रतिभासम्पन्न कवयित्री हुन् । खरेल उपन्यासलेखनमा पनि स्थापित नाउँ हो र कथा, नाटक एवम् निबन्धलेखनका फाँटमा पनि उनले आफ्नो सृजनात्मक हैसियत कायम गरेकी छन् । खरेलले आफ्नो साहित्यिक यात्रामा हिँड्दै जाँदा २०४६ सालमा 'एउटी आमाको कथा' नामक सामाजिक उपन्यास लेखिन्, फेरि उनले २०४६ सालमा 'गङ्गा जमुना' नामक अर्को सामाजिक उपन्यास पनि लेखिन् । उपन्यासकलाबाट समाजको वस्तुस्थितिलाई सर्लक्कै देखाउन सकिन्छ भनेर उनले २०५१ सालमा 'कुमारी आमा' नामक तेस्रो सामाजिक उपन्यास लेखिन् । २०५२ सालमा पनि उनको 'लाहुरे' शीर्षकको अर्को उपन्यास प्रकाशनमा आयो । यो उपन्यास  उनको देहावसानपछि प्रकाशित भएको थियो ।

 

भारती खरेलभित्र बहुआयामिक साहित्यिक व्यक्तित्व छ । उनले कथाहरू पनि लेखिन् । उनको काव्यसाधना अन्तर्गत दुईवटा कवितासङ्ग्रह पनि प्रकाशन भए 'भजन भारती' (२०४६) र 'श्रद्धासुमन' (२०४९) । यी दुवै भक्तिरचना हुन् । साथै नाटकलेखनमा पनि उनले आफ्नो सृजनात्मक परिचय दिइन् । उनको 'भाइटीका' नाटक २०४९ सालमा प्रकाशनमा आयो । खरेलको 'भाइटीका'का विषयमा विजय मल्लले लेखेका छन् " 'भाइटीका' यथार्थवादी स्वाभाविक कथोपकथनको शैलीमा नितान्त आधुनिक सहरिया वातावरण र ग्रामीण परिवेशमा सबल कथानकको जगमा मीठो सरस र सरल भाषामा लेखिएको छ ।" विविध साहित्यिक कृतिहरूको सृजना गर्ने क्रममा उनले २०४९ सालमा एउटा आध्यात्मिक निबन्धसङ्ग्रह पनि प्रकाशनमा ल्याइन्- 'नवरत्न' ।

 

भारती खरेलका कृतिहरूका बारेमा उनी बाँच्ता र उनको भौतिक चोलाको शेषपछि पनि बराबरी विश्लेषण र समीक्षा भइरहेका छन् । उनका कृतिहरू सामाजिक परिवेशमा बाँधिएका कारणले पनि उनले आफ्नो नाउँलाई छिटै परिचित गराइन् ।

 

भारती खरेलका रचना व्यक्ति, समाज, राष्ट्र, धर्म, दर्शन, संस्कृति आदि हरेक क्षेत्रमा फैलिएका छन् । लेख्ने क्रममा उनले जीवनको कथा लेखिन्, सृष्टिको विवरण लेखिन् र मानवको सर्वाङ्गीण बेहोराको गाथामा आफ्नो कलम चलाइन् । त्यसैले नेपाली समीक्षकहरूले भारती खरेलका विषयमा केही न केही लेखिरहे । वास्तवमा भारती खरेलका कृतिहरू सङ्ख्यात्मक दृष्टिकोणले धेरै मात्र होइन, गुणात्मक रूपमा पनि त्यत्तिकै उपलब्धिपूर्ण छन् । घनीभूत लेखन र विविध विधामा हात चलाउनाले पनि उनी चाँडै प्रसिद्धिको धुरी चढेकी थिइन् । नारी लेखकबाट त्यतिसारो विविधता नदेखाइएको अवस्थामा खरेलले विविध विधामा आफ्नो हैसियत देखाइन् ।

भारती खरेलको जन्म संवत् १९९५ मङ्सिर १६ गते बिहीवार भएको थियो । मीरसुब्बा लीलानाथ उप्रेती र अनन्तकुमारी उप्रेतीकी छोरी भारती खरेलको जन्म काभ्रेपलाञ्चोकको भुम्लुस्थित हलीदेवमा भएको थियो । सानामा उनलाई घरका सबैले ठूलीमैया भनेर बोलाउँथे ।

 

भारती खरेल सानैदेखि मिलनसार थिइन् । सानामा गीत गाउँदै नाच्ने कलामा पनि उनी पारङ्गत थिइन् । उनी सुरिलो स्वरमा गीत गाउँथिन् । लोकसुसेलीले उनी आफन्तलाई पनि मोहित पार्ने गर्थिन् । त्यस बेला उनको विशेष सोख नै गाउनु, नाच्नु, डुल्नु र घुम्नु थियो । आफ्ना बुबा समाजका सम्मानित व्यक्तित्व भएकाले सानैदेखि उनी पनि समाज र राष्ट्रको सहजै जानकारी पाउन सक्ने वातावरणमा आबद्ध भएकी थिइन् ।

 

भारती खरेल शिशुकालमा नै नेपालको पूर्वाञ्चलको झापा पुगेकी थिइन् । त्यस बेला उनका बुबा त्यहाँको गोस्वाराका बडाहाकिम भएका थिए । त्यसपछि उनी आफ्ना बुबाआमासँग धनकुटा पुगिन् । त्यस घडी उनका बुबा धनकुटाका क्षेत्रीय न्यायाधीश थिए । त्यसै गरी उनी केही दिन मोरङमा पनि बसिन् । क्रमशः उनी आफ्ना बुबाआमाको साथ लाग्दै काठमाडौं पनि आइपुगिन्; त्यस बेला लीलानाथ उप्रेती प्रधान न्यायालयका मीरसुब्बा थिए ।

 

भारती खरेलले आफ्ना बुबाबाट राष्ट्रभक्ति, इमानदारी र नैतिकताको पाठ सानैदेखि पढेकी थिइन् । उनले जीवनपरिचालनका हरेक पाठहरूलाई किशोरावस्थामा नै पानी पारेकी थिइन् । उनका बुबाले सानैदेखि उनलाई काँधमा राखीराखी दुःखसुख घोकाएका थिए । उनी पनि बुबाकी भक्त थिइन् । भक्तमात्र होइन उनी आफ्ना बुबाकी आज्ञाकारी छोरी पनि थिइन् । बुबाले बोलेपछि जुन विषय पनि त्यस बेला उनका लागि ढुङ्गाको अक्षर हुन्थ्यो । त्यसैले उनका बुबाले पनि उनलाई सारै माया गरे । नारीशिक्षाका लागि पहाड फोर्नुपर्ने त्यति बेलाको परिस्थितिमा पनि भारती खरेललाई उनका बुबाले कखरा पढाएका थिए । त्यतिले नपुगेर उनका बुबाले दक्षिण भारतका एक नैष्ठिक स्वामी शान्तानन्द योगीद्वारा भारती खरेललाई घरमै प्राथमिक शिक्षा दिलाएका थिए ।

 

भारती खरेल सानैदेखि धार्मिक मनोवृत्तिमा गाँसिएकी थिइन् । सानैमा उनलाई उनकी फुपूले 'ऊँ नमो भगवते वासुदेवाय' तारक महामन्त्र प्रदान गरेकी थिइन् । त्यसपछि उनी साहित्यरचनामा पनि लागिन् । उनले किशोरावस्थामा नै साहित्यरचना गरेकी थिइन् । त्यस बेला नै उनी संस्कृतबाट नेपाली र हिन्दी भाषामा अनूदित 'वेद', 'उपनिषद्' आदि ग्रन्थहरूको अध्ययन गर्थिन् । उनले सुरुमा कविता लेखिन्; उनी पत्रसाहित्यमा पनि उन्मुख भइन् र धार्मिक विषयका रचनामा पनि उनको जाँगर चलिरहृयो । खास गरेर उनी वैवाहिक जीवनमा गाँसिएपछि साहित्यको आराधनामा समर्पित भएकी थिइन् ।

 

भारती खरेलको बिहे २००९ साल मङ्सिर १८ गते काभ्रेपलाञ्चोककै चन्द्रिकानन्द खरेलसँग भएको थियो । त्यस बेला उनी चौध वर्षकी थिइन् र चन्द्रिकानन्द खरेल उन्नाईस वर्षका थिए । चन्द्रिकानन्द खरेल पत्नीका हरेक चाहनालाई आफ्नो कर्तव्य ठान्थे । भारती खरेलले बोलिसक्तानसक्तै चन्द्रिकानन्द खरेलले आफ्नी पत्नीको माग पुर्‍याइसकेका हुन्थे । चन्द्रिकानन्द खरेल जागिरे भएकाले कहिले मेची पुग्थे र कहिले काली पुग्थे । त्यस अवस्थामा पनि भारती खरेलले आफ्ना पतिलाई छाडिनन् । बिहेपछि उनी आफ्ना पतिसँगै विभिन्न जिल्लामा पुगेकी थिइन् । उनका पति वनविभागका रेन्जरदेखि प्रमुख जिल्ला अधिकारीसम्म भएका थिए । जागिरका जुनसुकै सीमामा बाँधिए तापनि आफ्नी पत्नीको व्यक्तित्व विकासका लागि चन्द्रिकानन्द खरेल सदैव जागरुक थिए ।

 

भारती खरेल बिहेपछि उनका पति चन्द्रिकानन्द खरेलको आग्रहमा स्कुल प्रवेश गरिन् । अर्थात् बिहे गरेको एक जुगपछि उनी काठमाडौंको विजय मेमोरियल हाईस्कुलमा भर्ना भइन् । त्यस बेला उनी नवौँ कक्षामा भर्ना भएकी थिइन् । तर उनले जीवनमा एक वर्ष पनि काठमाडौंको स्कुले शिक्षा लिन सकिनन् । यसको कारण के थियो भने उनी भर्ना भएको केही महिनापछि चन्द्रिकानन्द खरेल ओखलढुङ्गा सरुवा भएका थिए । उनी पतिसँगै ओखलढुङ्गा गइन् । ओखलढुङ्गामा पनि उनी पढ्न थालिन् र त्यहीँबाट दसौँ कक्षा उत्तीर्ण गरिन् । एसएलसी दिने बेलामा उनका पतिको राजविराजमा सरुवा भएका कारण त्यसपछि उनले आफ्नो शैक्षिक योग्यता बढाउन सकिनन् ।

 

भारती खरेल शिष्टताकी अजस्र स्रोत थिइन् । खरेल परिवारमाझ उनी चाँडोभन्दा चाँडो घुलमिल भएकी थिइन् । त्यसमाथि पति चन्द्रिकानन्द खरेलका हरेक भावना उनी छिट्टै बुझने गर्थिन् । त्यसैले श्रीमान् खरेलले जुनसुकै सुगम, दुर्गम विकट ठाउँ जहाँ गए तापनि श्रीमती खरेललाई कहिल्यै छाडेनन् । भारती खरेल आफ्ना पतिका पछि लाग्दै जाँदा कतै यिनले काव्य लेखिन्, कहिले उपन्यास लेखिन् र कहिले निबन्धहरू पनि लेखिरहिन् । तर त्यस बेला यिनले आफ्ना कृतिहरू प्रकाशनमा ल्याउन चाहिनन् । चन्द्रिकानन्द खरेलले हजारचोटि यिनलाई आफ्ना कृति प्रकाशनमा ल्याउन आग्रह गरे तर उनी भन्थिन् "समय आएपछि प्रकाशन गरौँला ।"

 

भारती खरेलले २०१२ सालमा पहिलो सन्तान छोरी जन्माइन् । तर यिनकी छोरी बाँचिनन् । त्यसपछि उनका छोरा जन्मे दीपक खरेल । यी नेपाली सङ्गीतजगत्का प्रख्यात गायकमा परिचित भए । अनि चन्द्रिकागृह सरस्वतीगृहमा रूपान्तरित भयो ।

 

भारती खरेल माइततिरकी सम्पन्न थिइन् । त्यसै गरी उनको घर पनि आर्थिक रूपमा सम्पन्न थियो तापनि उनले व्यापार व्यवसायमा लाग्ने रहर गरिन् । सोहीअनुरूप उनले घरमा स्वीटर बुन्ने मेसिनहरू राखिन् । उनले केही महिलाहरूलाई रोजगारी दिइन् । तर त्यो पेसा यिनले धेरै दिन चलाइनन् । त्यसपछि यिनी साहित्य र सांस्कृतिक कार्यमा मात्र एकोहोरो लागिन् ।

 

भारती खरेल मानवअधिकारवादी थिइन् । उनी समाजसेवामा पनि डटेर लागिन् । उनी काठमाडौं जिल्लाको सनातन धर्म सेवा समितिकी उपाध्यक्ष भइन्; उनी विश्व हिन्दू कर्मकाण्ड महासङ्घकी आजीवन सदस्य र वीर अस्पताल स्वयंसेविका सङ्घकी सदस्य भइन् । उनी भोकानाङ्गा गरिबहरूको सकेको सेवा गर्थिन् । उनले मठमन्दिरको निर्माणमा पनि आफ्नो गच्छे अर्पण गरिन् ।

भारती खरेल २०४९ साउन ४ गते स्वर्गीय भइन् । यस घटनाले पति चन्द्रिकानन्द खरेल र छोरा दीपक खरेल साह्रै रोए । साथै त्यस वियोगमा उनका आफन्तहरू र उनलाई चिन्नेजान्नेहरूले पनि मन दुखाए । त्यतिमात्र होइन नेपाली वाङ्मयकी एउटी सर्जक नेपाली आकाशबाट सधैँका लागि हराइन् । तर पनि नेपाली भाषासाहित्यमा भारती खरेल सधैँ बाँच्ने काम उनैका कृत्यले गरे । उनी यस माटोमा सधैँ मगमगाउने भइन् ।

 

भारती खरेल स्वर्गीय भएपछि उनका पति चन्द्रिकानन्द खरेल र छोरा दीपक खरेल भएर उनका नाउँमा गुठी खोले । 'भारती खरेल प्रतिष्ठान' नेपाली वाङ्मयका क्षेत्रमा चाँडै सुपरिचित बन्यो । स्रष्टाका नाउँबाट स्थापित थोरै कोटिका संस्थामा यस प्रतिष्ठानले पनि आफ्नो ठाउँ ओगट्यो । यसका साथै नइको सम्पादनमा उनका कृतिहरू माथि गरिएको बृहत् समालोचनात्मक ग्रन्थ 'भारती खरेल : सृजना र समीक्षा' (२०५१) प्रकाशनमा आयो । त्यतिमात्र होइन यिनका पति र छोराका इच्छाले भारती खरेलका नाउँमा ठाउँठाउँ नै धारा बने, पाटी बने, चौतारा बने । भारती खरेलका नाउँमा जति स्मारक बने ती सबै उल्लेखनीय बने । उदाहरणका लागि भन्ने हो भने काठमाडौंस्थित श्रीपशुपतिनाथको पश्चिमद्वारको नजिक श्रीपशुपति जलधारा बने । त्यस ठाउँमा प्राचीन शैलीका पन्ध्रवटा धारा बने । पति र छोराको सक्रियतामा भारती खरेलका स्मृतिमा स्तम्भहरू स्थापित भइरहे ।स्वर्ग गएपछि पनि उनी जताबाट पनि जनआँखामा पुगिरहिन् ।

 

भारती खरेलको प्रतिभाले उनी सधैँ चम्किरहेकी छिन् । उनको भौतिक देह समाप्त भए पनि उनका कृतिले नेपाली भाषासाहित्यको डाँडाकाँडा ढाकेका छन् । उनका रचना लिपिका माध्यमबाट होस् या श्रव्यका माध्यमबाट होस्; नेपाली जनहृदयमा पुगेका छन् । अनि उनका भाकाहरू विविध तरिकाले प्रेरक रूपमा अभिलिखित भई नेपाली समाजमा अजर बनेका छन् ।

nai.com.np@gmail.com

 
 
 

Comment

Related News