h

News

डा. लक्ष्मीनारायण प्रसादको जीवनकथा - आँखा, कान, नाक र घाँटीका पहिलो विशेषज्ञ

2016-12-16

news

नरेन्द्रराज प्रसाई
~~~
डा. लक्ष्मीनारायण प्रसाद नेपाली धरामा मन, वचन र कर्ममा समर्पित नाउँ हो । उनी समाज सेवाका फाँटमा एक जना सुपरिचित व्यक्तित्व थिए ।

डा.द्वारिकाप्रसाद श्रीवास्तव र आमा सुनैनादेवीका सुपुत्रका रुपमा लक्ष्मीनारायणको जन्म १९८६ साल माघ ५ गते रौतहटमा भएको थियो । अनि उनको बिवाह उन्नाईस वर्षको उमेरमा किरणमइदेवीसँग भएको थियो ।

समाजसेवामा जुट्ता डा.प्रसाद कलिलै थिए । यी सानैदेखि हाटबजार डुल्थे र गाउँ पनि डुल्थे । साथीहरूसँग मिलेर यी गरीवका घरघर पुग्थे । अनि घरमा गएर उनी आफ्ना बाबुआमासंग म ठूलो भएर डाक्टर हुन्छु र जनसेवा गर्छु भन्थे । अनि यी काममा मिहेनत पनि त्यतिकै गर्थे । त्यसैले बाबुआमाले पनि यिनको कुरा पत्याउँथे ।

डा.प्रसाद फेरि गाउँघरमा डुलेर ओछ्यानमा सुतिरहेका बुढाबुढी बिरामीलाई भन्थे म ठूलो भएपछि डाक्टर बन्छु, अनि तपाईलाई निको पार्छुयिनका कुराले भुईंछुँदा बिरामी खुसी हुन्थे र खुसीले रुन्थे । मान्छेहरू बालकका सत्य तथा कच्चा कुराले आफुलाई आनन्दित ठान्थे । वास्तवमा लक्ष्मीनारायण प्रसादले आफ्नो बाल्यावस्था यसरी नै बिताएका थिए ।

डा.प्रसादले मनोविज्ञानमा आधारित जनसेवा गरेर नै कलेज पढ्न फट्का हाले । यिनले पटना साइन्स कलेजमा पढे र पटना मेडिकल कलेजबाट एम्बीबीएस गरे । अनि यी लण्डनबाट नाक, कान, घाँटी र आँखा विषयका विशेषज्ञ भए ।

डा.प्रसाद लोकहितका काममा बढी जुटे । यिनले आफ्नो दक्षता भ्याएसम्म नेपाली माटोमा नै देखाए । नेपालमा मात्र होइन, काम गरेर यिनले विदेशबाट पनि प्रशंसा बटुले । किनभने सेवा भनेपछि यी राष्ट्र परराष्ट्र जहाँ पनि खट्थे ।

डा.प्रसाद नेपालको पहिलो आँखा, कान, नाक र घाँटी विशेषज्ञ थिए । यिनकै पहलमा वीर अस्पतालमा आँखा, कान, नाक र घाँटीको स्थापना भएको थियो । साथै उनैले नेपालमा पहिलो बहिरा स्कूलको स्थापना पनि गरे । नेपाल अन्ध अपाङ्ग संघ, नेपाल अन्धा कल्याण संघ, सुस्त श्रवण कल्याण संस्था, नेपाल ल्यारिङ्गजेक्टोमी संघ, इम्प्याक्ट नेपाल, वीपी कोइराला नेत्र प्रतिष्ठानजस्ता महत्वपूर्ण संस्थाहरूको स्थापनामा उनको गुरुत्तर भूमिका रहेको थियो । उनले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष, नेपाल रेडक्रस रक्त सञ्चार केन्द्रका अध्यक्ष, वीपी कोइराला लायन्स नेत्र अध्ययन प्रतिष्ठानका अध्यक्षको हैसियतले पनि पर्याप्त सेवा गरेका थिए ।

डा.प्रसाद हिम्मती, मिहेनती र त्यागी थिए । यी समाज र राष्ट्र उठाउने नैतिक कुरा मात्र सिक्थे । यसै गरी यी उठ्तै आए । यिनले गर्नुपर्ने असल र राम्रो काम गर्दै आए । यी गर्दा एउटा सकारात्मक काम गर्थे र जनसेवा गर्दागर्दै यी वीर अस्पताल संचालक समितिको अध्यक्ष भए । साथै यी त्रिभुवन विश्वविद्यालयभित्र पनि छिरे र चिकित्साशास्त्र अध्ययन संस्थानमा पुगे । त्यहाँ संचालित पोस्ट ग्राजुएट (एमबीबीएस पछिको विशेष तालिम) कार्यक्रमको यी अध्यक्ष भए । साथै यी नेपाल चिकित्सक संघको अध्यक्षमा पनि चुनिएका थिए ।

समाजसेवामा भएका उन्नतिबाट खुसी हुने डा.प्रसाद एउटा होनाहार र सक्कली जनसेवक थिए । तर यी नोकरशाही प्रवित्तमा हुर्केका समाजसेवाका अधिकारीतन्त्रको बोलबालावाट सारै चिन्तित थिए । यति हुँदाहुँदै पनि यी हात बा“धेर कहिल्यै बसेनन् । यी कोशी हिंडेझै एक्लै आफ्नो यात्रामा अवरिल हिंडिरहे ।

डा.प्रसाद खास गरेर दृष्टिविहीन अपाङ्गका भर थिए । उनीहरूका यी एउटा सुन्दर गोरेटो नै थिए । त्यसैले दीनहीनबाट बामे सरिरहेका व्यक्तिले यीबाट प्रेरणा पाए । पर्यवेक्षकहरूको दृष्टिमा समाजसेवाको ब्यवहार वा काम डा.प्रसादको नैर्सर्गिक गुण थियो । त्यसैले २०४६ सालपछि उनलाई नेपाली कांग्रेसले सांसद पनि बनाएको थियो ।

डा. प्रासदले समाजहितका अनेक काम गरे । तर पनि यी बढीभन्दा बढी अपाङ्गगहरूको सेवामा लागि परे । दृष्टिविहीनहरूको कल्याण गर्न यी निरन्तर जुटे । यसै प्रशंगलाई लिएर यिनले संस्था स्थापना गरे । अनि रातोदिनको मिहेनतका कारण यिनले नेपाल अन्धा कल्याण सङ्घलाई छिटै देशविदेशमा चिनाइदिए । त्यसै संघद्वारा यिनले दृष्टिविहीनहरूको हितका लागि पाइला चाले । यिनले ठाउँ ठाउँ रबाट चन्दा लिए र दृष्टिविहीन विद्यार्थीका लागि छात्रवृत्ति राखिदिए ।

नेपाल अन्धा कल्याण संघद्वारा डा.प्रसादले विविध कार्यक्रम जनस्तरमा ल्याए । यिनले दृष्टिविहीनहरूलाई आत्मनिर्भर गराउन योजना बनाए । यिनैले दृष्टिविहीनहरूलाई आर्थिक कष्टबाट मुक्त दिलाउन त्यसतर्फ कदम चाले । अनि यिनले दृष्टिविहीनहरूको समग्र विकासमा जोड दिन थाले । वास्तवमा यी दृष्टिविहीनहरूको उपचार र रोकथाममा बाह्रै मास लाग्थे।

दृष्टिविहीनहरूलाई निःशुल्क शिक्षा प्रदान गर्नेतिर डा.प्रसाद उन्मुख भए । दृष्टिविहीनहरूले पढ्ने ब्रेल पुस्तक छाप्न यी तम्सन थाले । यिनकै सकृयतामा नेपाल अन्धा कल्याण सङ्घमा एउटा ब्रेल छापाखाना पनि खुल्यो ।

डा.प्रसादले दृष्टिविहीनहरूका लागि निरन्तर सेवामुखी कामहरू गरे । उनी दृष्टिविहीनहरूको सेवा गर्न विभिन्न ठाउँ गए । कतै दृष्टिविहीन बालक भेट्ता उनी दृष्टिविहीन स्कूल पुर्‍याउन जोड गर्थे र स्कूल भर्ना पनि गरिदिन्थे । यस्ता कामहरू साक्षत बनाउन यिनले विदेशबाट विभिन्न कार्यक्रम र सुविधा माग्थे । अनि त्यो पनि यिनले दृष्टिविहीनहरूका हातमा थुपार्थे ।

डा.प्रसादले साहित्य पनि लेखे । उनका केही फुटकर रचनाहरु पनि प्रकाशनमा आए । कृतिगत रुपमा उनको एउटा प्रबन्धसङ्ग्रह 'स्वस्थ्यजीवन' २०६२ सालमा प्रकाशित भएको थियो । साथै उनको 'कथाबाटिका' नामक (कथासङ्ग्रह : २०६३) प्रकाशनमा आयो । अनि उनले चिकित्सा विषयक पनि किताव लेखे । आफ्नो प्रविधिक पेसाका बारे उनले अनेको लेखरचनाको निर्माण गरेका थिए ।

सेवा गर्दा डा.प्रसादले नेपालबाट धेरै पुरस्कार र विभूषण पाए । साथै उनले अन्तर्राष्ट्रिय ख्याति प्राप्त हेलेन केलर अन्नि सुलिभान पुरस्कार र जापानको बिख्यात ताकियो इवाहासि पुरस्कार आदिबाट पनि उनी सम्मानित भएका थिए ।

डा.लक्ष्मीनारायणप्रसाद २०६४ साल फागुन २० गते हृदयघातबाट काठमाडौंमा स्वर्गीय भए

Comment

Related News