h

News

सौतेनी आमाले हेप्ता क्रिश्चियन बनेका : पादरी गङ्गाप्रसाद प्रधानको जीवनकथा

news

पादरी गङ्गाप्रसाद प्रधान नेपाली भाषा भनेपछि प्राणको पनि बाजी मार्थे । नेपाली बोलीमा उनको मोह जोडिएको थियो । रूपनारायण प्रधान तथा राजमती प्रधानका छोरा गङ्गाप्रसाद प्रधानको जन्म १९०८ असार २२ गते ठंहिटी, काठमाडौंमा भएको थियो । गङ्गाप्रसाद सानो हुँदा उनकी आमा स्वर्गीय भइन् ।

रूपनारायण काठमाडौंको हनुमान ढोका दरबारमा द्वारे थिए । श्रीमती खसेपछि उनी काठमाडौंमा टिक्नै सकेनन् र गङ्गाप्रसादले दस वर्ष टेकेपछि रूपनारायण दार्जीलिङतिर बसाइँ सरे । त्यस बेला काठमाडौंबाट दार्जीलिङ हिँडेर पुग्न उनीहरूलाई तीन हप्ता लागेको थियो ।

रूपनारायणले दार्जीलिङ पुगेपछि अर्की ल्याए । अनि गङ्गाप्रसादकी सौतेनी आमाले उनलाई कठोर शारीरिक कामका कज्याउने गर्थिन । त्यसबेला उनलाई स्कुलतिर जान नदिई बगानतिर पठाइन्थ्यो । त्यसैले सुरुका दिनमा नै उनले चियाको पात टिप्न थाले । त्यसबेला उनका हातमा कितावकापी देखियो भने उनकी सौतेनी आमाले च्याति दिन्थिन् । यति हुँदाहुँदै पनि प्रधानको जीवनमा परमेश्वर दाहिना भए । त्यसैले उनी पादरी म्याक फार्लनका छेउ पुगे । अनि पादरीको सहयोग, सद्भावना र प्रेम उनीप्रति रहन थाल्यो । त्यसपछि उनका हातले कितावकापी पनि समात्न थाल्यो ।

त्यतिन्जेलमा प्रधान भित्रभित्रै मिसनमा लहसिइसकेका थिए । उनी किशोरावस्थाको टुप्पोमा पुगेपछि मिसन स्कुलमा भर्ना भइसकेका थिए । त्यसपछि उनी घरमा पनि काम गर्थे र स्कुलमा पनि पढ्थे । तर त्यतिबेला पनि उनकी सौतेनी आमाले उनलाई कज्याएर कोइला बोक्ने काममा लगाइरहिन् । कहिले चिया पत्ती टिप्ने, कहिले दाउरा बोक्ने र कहिले घर धन्दा गर्ने काममा उनी लाग्थे । तर शरीरले थाम्न नसकेपछि उनले घरै छाडेर पूर्ण रूपमा मिसनमा आफूलाई प्रविष्ट गराए । त्यो कुरा उनकी सौतेनी आमालाई सहृय भएन र त्यस कचकचले एक दिन उनका बाबुले पनि मुख फोरे, 'छोरा तँ पढ्न थालेपछि तेरी आमाका कारण मलाई सारै औडाहा भयो । अबदेखि तँ स्कुल नजा ।' त्यसपछि उनी स्कुल जान छाडे । तर उनले सकुल छाडेको तीन महिनामै पादरी मेकफार्लेन आएर उनलाई फकाएर स्कुल लिएर गए ।

प्रधान फेरि मिसन स्कुल जान थाले । स्कुलमा उनी सारै मिहेनत गर्थे । उनी पढिरहेका बेला मिसन स्कुलका एक जना शिक्षक गयल भए । उनले पढाउन छाढेपछि तुरुन्तै अर्को शिक्षक पनि भेटिएन । अनि उनी पढ्दापढ्दै खाली सिटको शिक्षकमा नियुक्त भए । त्यसपछि उनी आर्थिक रुपमा सबल हुन थाले ।

तीस वर्षमाअक्षर चिनेर पनि नेपालमा जसरी स्वामी प्रपन्नाचार्यले "वेदमा के छ ?" लेखे त्यसरी नै ढिलै अक्षर चिनेर भारतमा गङ्गाप्रसाद प्रधानले पनि नेपाली भाषामा वाइबल अनुवाद गरे । त्यसपछि नेपालीमा बाइबल पढ्ने पाठकले उनलाई खुवै माने । वास्तवमा त्यो वाइबल नेपाली भाषा पढ्ने क्रिश्चियनहरूका लागि मार्गदर्शन नै भयो । त्यसैले यिनीहरुले यसलाई सिरानीमा राखे । उनले अनुवाद गरेको वाइबल नेपाली भाषासाहित्यको जसरी एउटा सम्पत्ति बन्यो त्यसै गरेर त्यस ग्रन्थले क्रिश्चियनधर्मको आड पनि लियो ।

भारतको दार्जीलिङबाट गङ्गाप्रसाद प्रधानले १९५७ साल पुसदेखि 'गोर्खे खबर कागज' प्रकाशित गर्न थाले । त्यस प्रकाशनको चार महिनापछि अर्थात् १९५८ साल वैशाख २४ गतेदेखि श्री ३ महाराज देवशमशेरले पं.नरदेव पाण्डेलाई तालुकवाला तोकी समाचारपत्रका रूपमा गोर्खापत्र प्रकाशनमा ल्याए । त्यसैले २००९ सालमा दार्जीलिङ पुगेका बेला नाट्यसम्राट् बालकृष्ण समले भनेका थिए, 'दार्जीलिङले आज जे गर्छ नेपालले भोलि त्यही गर्छ ।'

गोर्खे खबर कागजमा विज्ञापन हाल्ने त्यतिसारो चलन थिएन । त्यतिबेला बिक्रीका आधारमा पत्रिका चल्नु पनि त्यति सजिलो थिएन । तर क्रिश्चियन मिशनको सहयोगबाट त्यस पत्रिकालाई निरन्तर सञ्चालनमा ल्याएको थियो । यति हुँदाहुँदै यस पत्रिकामा हिन्दू जातिको विवाहको विज्ञापन पनि छापिन्थ्यो । नेपाली भाषामा विवाहको विज्ञापन गर्ने प्रचलनमा पनि यही पत्रिका पहिलो थियो ।

प्रधान लेखेर थाक्तैन थिए । गोर्खे खबर कागजमा प्रायः आफैलेखेर उनी पत्रिका निकाल्थे । तर उनको भाषामा व्याकरण हुँदैनथ्यो । वास्तवमा त्यस बेला व्याकरणको नियम पनि थिएन । त्यस घडी नेपाली भाषा जस्तो बोलिन्थ्यो लिपिमा पनि सिधै त्यस्तै भाषा छाप्ने चलन थियो । लेख्ने क्रममा उनले नेपाली उखानको पनि सङ्ग्रह गरे । त्यस सङ्ग्रहलाई तयार गर्न उनलाई बीस वर्षलागेको थियो । त्यो पुस्तक सन् १९०८ मा दार्जिलिङको उनकै प्रेसबाट प्रकाशनमा ल्याइएको थियो । त्यस कृतिमा १४०८ वटा उखान आवद्ध थियो । प्रधानले कथा पनि लेखे । उनले वाइबलमा आधारित थुपै्र कथाहरु पनि नेपाली भाषामा अनुवाद गरे ।

लेख्नेक्रमा प्रधानले गीतिकविता पनि लेखे, आत्मकथा पनि लेखे र निबन्ध, प्रबन्ध र बालसाहित्य पनि लेखे । लेख्तालेख्तै उनका २८ वटा कृति प्रकाशनमा आए । उनी ठेट नेपाली भाकाको भाषा लेख्थे ।

नेपाली भाषामा प्रधानको बहुआयामिक व्यक्तित्व थियो । त्यतिखेर बालबच्चालाई नेपाली साउँ अक्षर सिकाउने नै प्रधान थिए । त्यस बेला मिसनबाट सञ्चालित शिक्षण संस्थाहरूमा प्रधानकृत 'नेपाली पहिलो पोस्तक'को पढाइ हुन्थ्यो । त्यसैले पारसमणि प्रधानदेखि हरिप्रसाद गोर्खा राईसम्मले उनैलाई नेपाली पुस्तकका गुरु भनेर अर्चना गरे ।

प्रधान दार्जिलिङको शिक्षाका ज्योति थिए । उनले त्यसबेला नेपाली मूलका बालबच्चाका लागि आफ्नो सारा समय अर्पित गरे । त्यसैले पारसमणि प्रधान बोलेका थिए, 'पादरी गङ्गाप्रसाद प्रधानका कारण दार्जिलिङको कुनाकुनामा प्राइमरी स्कुल स्थापित भई विद्याको प्रचार भएको हो । प्रधानले प्राइमरी स्कुलका लागि किताब पनि लेखे ।'

प्रधानले २४ वर्षको उमेरमा एलिजावेथ राईसँग प्रेम विवाह गरे । अनि यी दम्पतिबाट दुई छोरा र छ जना छोरीहरू जन्मे । उनका परिवार पनि द गोर्खा प्रेसमा काम गर्थे ।

प्रेस प्रधानको पेशा हुन गयो । त्यहीँको आम्दानीले उनले घर चलाए । उनको प्रेस पनि मिसन हाउसकै छेउमा थियो । द गोर्खा प्रेस त्यहाँ नामी पनि थियो । उनले निरन्तर बत्तीस वर्षसम्म गोर्खे खबर कागज र द गोर्खा प्रेस चलाए । आफ्नो काममा जुट्ताजुट्तै बयासी वर्षमा उनी स्वर्गीय भए । त्यसपछि गोर्खे खबर कागज पनि बन्दै भयो । तर उनले गोर्खे खबर कागजमार्फत दिएको भाषिक तथा साहित्यिक योगदान नेपाली वाङ्मयका निम्ति चिरस्मरणीय भयो ।
 

Comment

Related News