h

News

त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती

2016-12-30

news

२०७३ साल पुस १५ गते
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले कविशिरोमणि लेखनाथ पौड्यालको १३३ औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभयो । सोही अवसरमा नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि माल्यार्पण गरियो ।

त्रिमूर्ति निकेतनद्वारा आयोजित सो कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक यादव भट्टराईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धान्जली हो भन्नुभयो ।

 कार्यक्रममा कविहरू डा.बलदेव अधिकारी ‘गाउँले’, देवकुमारी लुइटेल र यादव भट्टराईले कविता वाचन गर्नुभएको थियो । कविशिरोमणि, नाट्यसम्राट् र महाकविका सम्मानमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।
    
लेखनाथ पौड्यालको सङ्क्षिप्त परिचय

लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्घौअर्चलेमा भएको थियो ।

२००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनद्वारा कविशिरोमणिको पद्वी र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदान गरिएको थियो ।
लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा २००९ सालमा दार्जीलिङ जाँदा त्यहाँका त्रिरत्न सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणि प्रधानद्वारा पौड्याल, सम र देवकोटालाई त्रिमूर्तिको नाउँँले सम्मान गरिएको थियो ।

२०११ सालमा पौड्यालकै शुभजन्मोत्सवको उपलक्ष्यमा काठमाडौँमा पौड्यालको रथयात्रा गरिएको थियो । गोपाल पाण्डे असीमको अग्रसरतामा देवकोटा र सम समेत भएर पौड्याललाई रथारोहण गराइएको थियो ।
पौड्यालका दुई दर्जन जति कृति प्रकाशनमा आए । पौड्याललाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार प्रदान गरिएको थियो ।
२०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते कविशिरोमणि लेखनाथ पौड्यालको देहावसान भएको थियो ।

Comment

Related News