h

News

समाज र सामाजिक कार्यकर्ता मानध्वजको चरित्रले मलाई नै रुवाउँछ - मौसम ईम्बुङ

2016-09-01

news

--प्रस्तोता: खगेन्द्र पन्धाक लिम्बू -----
लिम्बूवानको जीउँदो कथा बोकेका गम्भिर बहादुर ईम्बुङको नाती, भिम बहादुर ईम्बुङ र बुधरानी माबो लिम्बूको सुपुत्र हुन् मौसम ईम्बुङ । मौसमलाई नामले भन्दा कामले चिन्दछन् । चलचित्र ‘चेसुङ’(कोसेली)का लेखक-निर्देशक भनियो भने मान्छेहरूले उनलाई झन मज्जाले चिन्दछन् । ठाउँ र सँस्कार-सँस्कृतिले मान्छेको मानसिकता र कर्ममा ठूलो प्रभाव राख्दछ । २०३७ साल फाल्गुन १३ गते याङसिङबुङ गाउँ, पाँचथर जिल्लामा जन्मिएका निर्देशक मौसम ईम्बुङको प्रेरणाको स्रोत पनि आफ्नै ऐतिहासिक जनजीवन बन्न पुग्यो । समाजको चरित्र, सङरचना र राज्यको ब्यवस्था अनि आफ्नो समुदायको बारेमा चेतना आएपछि आफ्नै माटो र देशकोलागि केहि गरौँ भन्ने भावना जागेर चलचित्रको प्रभावकारी माध्यमलाई अँगाल्न पुगेका लेखक-निर्देशक ईम्बुङले आफैँले जानेका आफ्नो लिम्बू जात-सँस्कृति-धर्म-भाषा र ईतिहासको बारेमा नै चलचित्र बनाउन शुरु गरेका बताउँछन् ।

चेसुङ बनाउन आफ्नै बाजे र कलाकार/निर्मात्री भिष्मा चेम्जोङको महत्वपूर्ण भूमिका रहेको मौसमको जानकारी छ । आफू कला क्षेत्रमा लागेदेखि नै बाजेले लिम्बूहरूको किपटको विषयमा नाटक वा चलचित्र बनाउन झक्झकाईरहेको निर्देशकले सुनाए । यसै मानसिकताले लगभग ६ बर्ष अध्ययन गरी चेसुङ लेखेर लगभग ३ बर्ष निर्माता खोज्दै भौतिरएका मौसम ईम्बुङ अन्तत: भिष्मा चेम्जोङ मार्फत ‘किरात याक्थुङ माङगेन चुम्लुङ सुनसरी’को सँस्थामा पुगे र त्यहाँका सदस्यहरूको प्रतक्ष तथा अप्रतक्ष लगानीबाट चेसुङको निर्माण भयो ।

कथा नै नपाएर आफैंले चेसुङ लेखेर चलचित्र बनाउनु भा’ हो ? भन्ने प्रश्नमा निर्देशकको सटिक जवाफ थियो- ‘कथाहरू नपाईने हैन, तर चेसुङ कथा हैन, यो त हामी माझमा गुज्रेको ताजा ईतिहास हो र दस्तावेज हो । यसलाई चलचित्रको माध्यमबाट सार्वजनिक रुपमा ल्याउने कोशिष हो ।‘ चेसुङ फगत मनोरञ्जनकालागि मात्र हैन, यो सुदूरपूर्वमा रहेको ईतिहासिक दस्तावेज हो र यसलाई चलचित्रमा जगतमा कोसेली अर्थात चेसुङको रुपमा दिएको मौसमको तर्क छ । चलचित्र निर्माण गर्नु आफैँमा सहज त छैन नै ! झनै ईतिहासिक विषयमा चलचित्र बनाउन कम गाह्रो छैन । पहिलो कुरा निर्माता नपाउनु, ब्यवस्थापनको अभाव, आदिवासीका बारेमा चलचित्रमाथि राज्यको सङ्कुचित र विभेदकारी आँखा आदि पनि समस्या हुन् तर पनि लेखक-निर्देशक मौसम ईम्बुङ र कलाकार तथा टोलीले चेसुङलाई चलचित्रको रुपमा तयार गरेरै छोडे ।

‘आगे सुभाको मौलोमा मार काट्ने दृष्यको छायाङ्कनमा राँगा छिनाउने दृष्यकोलागि तीनवटा क्यामरा तीनतर्फमा तयारी गरेको थिएँ, तर केहि गडबडीका कारण दुईवटा क्यामरामा रेकर्ड हुन सकेन । माष्टर सट मात्र रेकर्ड भएछ, त्यसैले काम चलाउनु पर्यो ।‘-उनी सुटिङ रिपोर्टलाई यसरी फ्लासब्याक गर्दै सुनाउँछन् । चेसुङको पात्र मानध्वजको चरित्रले स्कृप्ट लेख्दा, छायाँङकन गर्दा, सम्पादन गर्दा र चलचित्र बसेर आफैँले हेर्दा पनि भावुक बनाएर आफैँलाई रुवाउने कुरा पनि निर्देशक सुनाउँछन् ।

चेसुङ देश-बिदेशमा प्रदर्शन भईरहेको छ । भरखरै मात्र मलेसिया र सिङगापुरमा भव्य प्रदर्शन भएको थियो । ‘चेसुङ सन्देशमूलक ईतिहासिक-साँस्कृतिक चलचित्र हो । राजा महेन्द्रले अनेक बहाना बनाएर उनका पिता-पूर्खाले लिम्बुवानवासीहरूसँग ३३ कोटी देउता भाक्दै नून-पानीको कसम खाई लिखित र मौखिक रुपमा गरेको सम्झौतालाई उल्लङघन गरेको प्रष्ट थाहा हुन्छ । यो चलचित्र हेर्नेले आज लिम्बुवान राज्यको माग यसर्थ:ले नि जाजय रहेको जो-कोहीले बुझ्न सक्छन् ।‘ मलेसियाका रहेका साहित्यकार-भिडियोकर्मी केशर माङयुङ सुब्बा चेसुङका बारेमा भन्दछन् । उनी आफैँ चेसुङको मलेसिया प्रदर्शनको प्रतक्ष सहयोगी र दर्शक पनि हुन् । उनी थप्छन्- ‘यहाँ चलचित्र हेरेपछि अरु दर्शकले पनि आदिवासी लिम्बूहरूको अधिकार राज्यले हरण गरेको रहेछ भन्ने स्वीकारेका छन् ।‘

त्यसैगरी सिङ्गापुर मै रहेका गायक सेमीहाङ सिङगकको प्रतिकृया यस्तो छ- ‘चेसुङ लिम्बूहरूको सँस्कार-सँस्कृतिमा आधारित चलचित्र हो । लिम्बूहरूको पहिचान र अधिकारमाथि राज्यले गरेको ज्यादती स्पष्ट देखाईको छ । तर पनि आफ्नो अधिकार र पहिचानका कुराहरू लिन हार मान्न हुँदैन भन्ने सन्देश दिएको छ चलचित्रले ।‘

त्यसरी नै सिङ्गापुरकै प्रदर्शनका क्रममा चलचित्र हेरेका अर्का दर्शक भुपेन लिम्बू भन्दछन्- ‘चलचित्र चेसुङ लिम्बुवान-भूमिमा आधारित चलचित्र रहेछ, लिम्बुवानी जनताले हेर्नु र बुझ्नु पर्ने अति आवस्यक चलचित्र रहेछ ।‘

चेसुङको प्रदर्शन सिक्किम, नेपालका अनेक ठाउँ, हङकङ, सिङगापुर, मलेसिया, बेलायत आदि देशहरूमा सफल प्रदर्शन भईसकेको छ । ‘चलचित्रमा हरेक दर्शकले आफू र आफ्नो कथा-ब्यथा पाउनु पर्छ । नेपालको हकमा सामाजिक सङरचना अनुसारको समावेशी विषय हुन जरुरी छ ।‘ – नेपाली चलचित्रको बारेमा आफ्नो धारणा यसरी राख्छन्- मौसम ईम्बुङ । आफूले निर्देशन गर्ने अर्को चलचित्र पनि लिम्बूवानसँग सम्बन्धित हुने जानकारी दिए । आफूले जाने-बुझेको विषयमा नै चलचित्र बनाउनु पर्ने भएकोले आफैँले जाने-बुझेको लिम्बुवानसँग सम्बन्धित चलचित्र बनाउनु आफ्नो ईमान्दारिता र कर्तब्य सम्झिन्छन् मौसम । निर्देशक ईम्बुङले निरन्तर कलाकर्म, आफ्नो देश र माटोको हीतमा काम गर्ने प्रतिवद्धता सार्वजनिक गर्दै चलचित्रकर्मीकालागि दर्शक नै सबथोक हो भन्दछन् । दर्शकको टिप्पणी, माया, आलोचना, सल्लाह, हौसल्ला जे दिए पनि ती सब उर्जा हुन् भन्ने मौसम अहिले हङकङमा रहेका छन् । राम्रो विषय पाए अहिले भने निर्माताहरू धेरै नै रहेको जानकारी पनि दिए ।

शालीन मृदुभाषी तथा तार्किक निर्देशक मौसम ईम्बुङले चाँडै नै अर्को चलचित्रको निर्देशन गर्ने जानकारी दिए ।

Comment

Related News