h

News

पहिलो प्रेमअनुभूति

news

 ~~ राजकुमार दिक्पाल ~~
चार वर्षअघिको कुरा । बीए दोस्रो वर्षको मिडिया रिसर्चको कक्षा थियो । पढाउन कक्षा कोठामा पसेँ । तर विद्यार्थीहरुको मुड पढ्नेतिर थिएन ।
“सर आज नपढ्ने”, विद्यार्थीहरुको सामुहिक प्रस्ताव ।

“किन ?”
“आज भ्यालेन्टाइन डे हो नि सर”, विद्यार्थीहरुले त मलाई शुभकामना दिदै भने,“ह्याप्पी भ्यालेन्टाइन डे सर !”

अब मेरो के लागोस् ? हुन पनि सहभागितामूलक सिकाईमा बढि ध्यान दिने, विद्यार्थीसँग खुलस्त भएर हाँस्दै, नाच्दै अनि रमाउँदै पढाउने र साथीझैँ ब्यवहार गर्ने गरेको कारण उनीहरु मलाई निक्कै प्रेम गर्थे । अहिले पनि जे जतिलाई पढाएँ, उनीहरु मेरा सन्तानतुल्य लाग्छन् । उनीहरुलाई म अहिले पनि प्रेमभावले हेर्छु र उनीहरुको सफलतामा गौरवान्वित हुन्छु ।
“आज सरको प्रेमको बारेमा सुन्ने”, एक जना छात्राको प्रस्ताव ।

सामान्यतय विद्यार्थीले शिक्षकसँग यस्तो प्रस्ताव राख्न आँट गर्दैनन् । र शिक्षकहरु पनि निजी मामिलामा कम खुल्छन् । म चाहिँ परे खुलस्त स्वभावको । तर कतिसम्म खुलाउन हुन्छ, यसबारेमा चाहिँ सचेत छु म ।

“साँच्चै सुन्छौ त मेरो प्रेमको विषयमा ?”
“त्यही सुन्न त आतुर छौँ नि सर”, विद्यार्थीहरुको उत्साह ।
“मेरो त चार वटा प्रेम भयो ।”
“बाफ रे”, विद्यार्थीहरु मुखामुख । एकछिनमा कक्षा शान्त भयो ।

उनीहरुको जिज्ञासा शान्त पार्नु थियो । र छोटकरीमा मैले उनीहरुलाई भने,“सुरुमा मैले एक जनालाई प्रेम गरेँ, तर एकतर्फी । उनी अहिले विदेशमा छिन् । त्यसपछि अर्कीसँग केही समय प्रेम भयो । उनी विदेश उडिन् र हाम्रो प्रेम पनि सकियो । त्यसपछि अर्की एक जनासँग प्रेम भयो । उनीसँग विवाह पनि भयो । उनी नै मेरी जीवन संगिनी हुन् । तिमीहरुलाई थाहै छ उनी अहिले विदेशमा छिन् । विवाहपछि पनि मकहाँ प्रेमसहित केही आए वा आउन खोजे । उनीहरु पनि विदेशमै छन् ।”

मेरो प्रेमअनुभूतिको निष्कर्षमा मैले उनीहरुलाई एउटा संयोग सुनाएँ,“मेरो जीवनमा प्रेमसम्बन्धी अनौठो संयोग छ । त्यो हो, मसँग अहिलेसम्म जोडिएकाहरु सबै विदेशमा छन्, अनि म लठुवा चाहिँ स्वदेशमै बसेर तिमीहरुलाई पढाइरहेछु ।”

“ल तिमीहरुलाई पनि ह्याप्पी भ्यालेन्टाइन डे”, यति भनिसक्दा घण्टी पनि लाग्यो र म कक्षाबाट बाहिरिएँ । विद्यार्थीहरु भन्दै थिए,“ओहो, सरको लभस्टोरी त क्या खत्रा ।”
...
जीवनलाई स्वस्थ प्रेमले रसिलो र कसिलो बनाउँछ । अनि अस्वस्थ प्रेमले मानिसलाई भोगी, रोगी र जोगी बनाउँछ । केही प्रेमअनुभूतिका संगालो छ मसँग, जसले मेरो जीवनलाई चाहिँ रसिलो र कसिलो नै बनायो ।

खासगरी कलेज जीवनमा प्रवेश गरेपछि कसै कसैलाई मन पराइयो । तर उनीहरुसम्म प्रेम प्रस्ताव लगेर जाने आँट भने गर्न सकिएन । करीब एक वर्ष जति एकतर्फी रुपमा प्रेम गरेर एक जनालाई भने बडो ठूलो आँट कसेर प्रेमपत्र पठाइयो । तर प्रेम प्रस्ताव अस्वीकृत भयो । मैले यो अस्वीकृतिको कारण भने उनीबाट कहिल्यै थाहा पाइनँ । थाहा पाउन पनि खोजिनँ ।

आजभन्दा २४ वर्षअघि रघु पन्तले लेख्नु भएको एउटा हरफको सम्झना अहिले पनि आइरहेको छ । उहाँले लेख्नुभएको थियो,“प्रेम त्यो विस्कुन होइन, जहाँबाट अञ्जुलीभरि अन्न उठाएर भूँइमा पोख्दै फेरि उठाउन सकियोस । प्रेम त अञ्जुलीभरीको त्यो पानी हो, जो अञ्जुलीबाट भूँइमा पोखिएपछि फेरि उठाउन सकिदैन ।”

मैले पनि मेरो प्रेम प्रस्तावको त्यो अस्वीकृतिकाबारेमा उनीसम्म जिज्ञासा राख्न उचित ठानिनँ । यति मात्र सम्झेँ, उनका लागि म अनुकूल भइनँ र अस्वीकृत भएँ ।
प्रेमिल अनुभूतिका क्रममा जीवनमा कोही आए, कसरी आए त्यो मैले पत्तै पाइनँ । जीवनमा आएर कोही गए पनि । तर उनीहरुलाई “तिमी मसम्म आएर फेरि किन गयौ” भनेर पनि मैले जिज्ञासा राख्न उचित ठानिनँ ।

प्रेम पनि एउटा यात्रा हो । जहाँसम्म बाटो मिल्छ वा पुगिन्छ, त्यहाँसम्म हिड्ने हो । बाटो नमिलेपछि छुटिने हो । त्यसैले मलाई नारायणगोपालको स्वरमा गुन्जिने इश्वर बल्लभका यी शब्दहरुले छुन्छन्,


देखेजस्तो पनि लाग्छ, बोलेजस्तो पनि लाग्छ
कतै टाढा जादाखेरि सँगै हिड्यौजस्तो लाग्छ...
...
उकालीको ढुङ्गे बाटो पछ्यौरी उडि गो
कोपिलामा माया बस्यो फूल हुँदा झरि गो...

हालै दिवंगत चर्चित गायक रामकुमार राईले गाएको यी हरफजस्तो त होइन, तर कोपिलाअवस्थामा ममा उत्पन्न एक प्रेम अनुभूति चाहिँ यहाँ पोख्न मन लाग्यो । यो प्रेम अनुभूति कोपिलाअवस्थामै भयो र त्यही बेला सकियो पनि । न हामी उकालीको ढुङ्गे बाटो हिड्यौ र पछ्यौरी उडेर गयो । त्यो प्रेमले फूल बनेर फक्रने अवसर पनि पाएन । म यसलाई मेरो जीवनको पहिलो प्रेम अनुभूति ठान्छु ।


कक्षा ३ मा पढिरहेको बेला हामीसँगै अर्को विद्यालयबाट पढ्न आइन्, उनी । म कक्षामा फस्ट ब्वाई थिएँ । म कक्षा  ३ बाट कक्षा ४मा जाँदा फेरि म फस्ट भएँ । तर विद्यालय परिवर्तन गर्नुपर्ने भयो । संयोग पनि कस्तो दुवै जना एउटै विद्यालयको आगन टेक्न पुगेछौँ । स्थानान्तरित विद्यालयमा कक्षा ४ बाट कक्षा ५ मा पुग्दा म छैटौँ भएँ । कक्षा ५ बाट कक्षा ६ मा पुग्दा रोल नम्बर ४ का रामप्रसाद वाग्ले (हाल नेपाल सरकारका उपसचिव) फस्ट भए भने रोल नम्बर ६को म चाहिँ सेकेन्ड भएँ । वाग्लेजीले कक्षा १० सम्म आफ्नो स्थान सुरक्षित राखे । तर कक्षा ९ र १० मा पुग्दा म दश उत्कृष्टमा मात्रै सिमित भएँ । एसएलसी नतिजामा म आफ्नो ब्याचको पाँचौँ स्थानमा थिएँ ।
यहाँनेर कक्षा ५ पछि कक्षा ६ मा पुग्दाको सानो घटना पस्कन चाहन्छु ।
नतिजाले मलाई सेकेन्ड ब्वाई बनायो । सबैभन्दा अगाडीको बेन्च रोज्ने नै भइयो । हामी छात्रहरु देब्रेतिर बस्थ्यौ भने छात्राहरु दाहिनेतिर ।


एक दिन शिक्षकले पढाइरहेको बेला कसो कसो मैले पुलुक्क चिहाएँ छात्राहरुतर्फ । आँखा परेछ अन्तिम बेन्चमा । मेरो एक जोर चिम्सा आँखा अर्को जोर बाटुला आँखामा प¥यो । उनी मतिरै हेरिरहेकी थिइन् । उनी मुसुक्क हाँसिन्, मोनालिसा मुस्कानमा । त्यो मुस्कानले मलाई त झसङ्ग झस्कायो । फेरि त्यतातिर नजर फ्याक्ने आँट गरिनँ ।

भोलीपल्ट फेरि पुलुक्क चिहाएँ । उनी मतिरै हेरिरहेकी थिइन् । फेरि मोनालिसा मुस्कान । म चाहिँ द्विविधामा परेँ, हाँसूँ कि चुपचाप लागूँ ? अर्को दिन फेरि पुलुक्क चिहाएँ, फेरि उही मुस्कान । अनि त्यो दिन चाहिँ म पनि मुस्कुराएँ । अब पुलुक्क चिहाउने र मुस्काउने क्रमले त गति लिइहाल्यो ।

मलाई अचम्म हुन थाल्यो । मेरो लागि शनिबार वा विदाको दिन कहिल्यै नआइदेओस् । राती सुत्दा पनि कहिले उज्यालो होला र स्कूल पुगूँजस्तो हुने । हरबखत त्यही एक जोर आँखा र मोनालिसा मुस्कान मेरो आँखा वरिपरि छाउन थाल्यो । म त नियमित कक्षामा हुने नै भएँ, उनी नआएको दिन त सास रोकिएजस्तो लाग्ने । संवाद छैन, केवल मुस्कान मात्र छ, उनै कक्षा ३ देखिको सहपाठीसँग ।
त्यसबेला युधिर थापाको उपन्यास खुब चल्थ्यो । दाईहरुले ल्याउँथे, ती उपन्यासहरु । लुकेर पढ्थेँ म ती उपन्यासहरु । उपन्यासका नायक आफूलाई र नायिका उनलाई बनाएर कल्पना लोकमा विचरण गर्न थालेँ ।

तर एक दिनको घटनाले पुलुक्क चिहाउने र हाँसो साँट्ने क्रम समाप्त भयोे हामीबाट । त्यो घटनाको भयले मेरो मनमा पलाएको पहिलो प्रेम अनुभूति पनि निमोठियो, कोपिला अवस्थामै ।
उनी र मभन्दा अलि उमेर बढि भएका दुई छात्राविरुद्ध हाम्रा गणित शिक्षक खनिए, कक्षामा त्यो दिन । कक्षा कार्य दिए हामीलाई । ती दुई छात्रा पढाईमा कमजोर थिए । उनीहरुलाई गणितको सूत्र र हिसाव मिलाउन नसकेको झोँकमा शिक्षकले बाँसको सिर्कनाले उनीहरुलाई सुम्ल्याएको सम्झना अझै पनि ताजा छ ।

केहीपछि बुझ्दा कुरा के परेछ भने ती दुई छात्राको मिलेमतोमा एक जनाले उनै लक्का जवान शिक्षकलाई प्रेमपत्र पठाइछन् । यसले आक्रोशित परेछ ती शिक्षकलाई । र कक्षा कार्य दिएर तिनै प्रेमपत्रको प्रत्युत्तर पो दिएका रहेछन्, तर कलमले होइन, बाँसको सिर्कनाले ।

त्यो दिनको घटनापछि उनी र मेरो आँखा जुध्न छाड्यो र गायब भयो, हामी दुईबीच मुस्कान साँट्ने क्रम पनि । उनको मनमा के थियो, थाहा भएन । तर मेरो मनमा त्यो किशोरावस्थामा पलाएको उनीप्रतिको प्रेमअनुभूति थियो । र त्यसको पनि सातो उड्यो ।

मेरो जीवनमा प्रेमपूर्वक आएकाहरु सबैजसो विदेशमा छन् अहिले । एक वर्षदेखि म पनि विदेशमै छु । तर उनी चाहिँ घरजम गरेर स्वदेशमै छिन् भन्ने सुनेँ । सुखी र खुसी नै होलिन् ।


<iframe src='https://www.youtube.com/embed/?listType=playlist&list=UUz7wndtcrB5rj2NzqRZPwDg' frameborder='0' allowfullscreen />

Comment

Related News