h

News

नरेन्द्रराज प्रसाईकृत भानुजीवनीबारे प्राज्ञिक विचार

2017-03-03

HK Nepali

news

(भानुजीवनीमा देखिएका भ्रम निवारणको प्रयास)
•••
नरेन्द्रराज प्रसाईले लेख्नु भएको 'भानुभक्त आचार्यको जीवनवृत्त' हरेक दृष्टिकोणले अत्यन्त यथार्थपरक, शोधपूर्ण र तर्कसङ्गत अनुभव हुन्छ । प्रसाई अति लगनशील, प्रतिबद्ध र आत्मविश्वासले युक्त स्रष्टा हुनुभएकाले यस ग्रन्थको अध्ययन गर्ने जुनसुकै पाठकले पनि उहाँको हार्दिक प्रशंसा गर्नेछन् ।
आनन्ददेव भट्ट

प्रसाईकृत 'भानुभक्त आचार्यको जीवनवृत्त'ले चिरभविष्यसम्म पनि भानुभक्तबारेको चर्चा, परिचर्चा र विमर्शको विश्वासिलो ढोका खोलिदिएको छ, भानुभक्तलाई साँघुरो गल्लीबाट विशाल राजमार्गमा ल्याइपुर्‍याएको छ । प्रसाईले अन्योलको यात्रामा भानुभक्तलाई रकेटमा राखेर आकाशमा उडाएका छैनन् बरु सप्रमाण धरतीमै बलियोसँग टेकाएका छन् । उनको लेखनले अनुसन्धानको कसी पटक्कै बिर्सेको छैन बरु उनले प्रमाणबिनाको धरातललाई स्वीकार गरेका छैनन् । जसरी प्रसाईले यस कृतिमा सवा सय वर्षको हाराहारीमा लेखिएका भानुभक्तको जीवनीमा भएका विवादास्पद कुराहरूको चिरफार गरेका छन् र आदिकविले लेखेर छोडेको कवितामा पनि मुढेबलले पाठभेद गरेर शक्तिको दुरुपयोग गर्दै जथाभाबी गर्ने स्वनामधन्य लेखकहरूको कर्तुतको शिष्ट, सभ्य र शालीन भाषाशैलीमा जुन हुर्मत प्रसाईले लिएका छन् त्यो पनि प्रेरक छ । अबका लेखकहरूले त्यसरी मनपरीतन्त्र गरेर कुनै पनि लेखकका कृतिमाथि खेल नखेलून्, नत्र भविष्यले उनीहरूको कुनै पनि कालो कर्तुत उदाङ्गो पार्नेछ भन्ने सन्देश पनि यस कृतिले दिएको छ । अक्षरलाई सत्य साक्षी राखेर मात्र प्रकाशन गर्नुपर्छ । जीवनी लेखनमा लेखकको निरपेक्ष भावको ज्यादै ठूलो महत्त्व हुन्छ भन्ने सन्देश दिन प्रसाईकृत 'भानुभक्त आचार्यको जीवनवृत्त' सक्षम छ ।
इन्दिरा प्रसाई

गहिरो खोज र ठोस प्रमाणहरूको दस्तावेज रहेको नरेन्द्रराज प्रसाईकृत भानुजीवनी नेपाली जीवनी लेखनको फाँटमा एउटा अत्यन्त महत्वपूर्ण उपलब्धि सिद्ध भएको छ । तटस्थ भावले सन्तुलन र सामञ्जस्य राख्दै जीवनीकार प्रसाईले भानुभक्तका जीवनका घटनाहरूलाई वैज्ञानिक ढङ्गबाट नयाँ रूपमा प्रस्तुत गरेका छन् ।'
प्रा.डा.उषा ठाकुर

भानुभक्तविषयक सोधखोज र जीवनीपरक लेखन विशुद्ध साहित्यिक भावनाले अभ्रिप्रेरित थियो तर पछिपछि भानुभक्तविषयक अध्ययन र सोधखोजमा क्रमशः आग्रह र चलखेलले प्रवेश पायो । अध्ययन र अनुसन्धानको क्रम जति अघि बढ्दै गयो, विवादित तथ्यहरू सुल्झिँदै स्पष्ट र खुलस्त हुँदै जानुको सट्टा झन्झन् बल्झिँदै र बटारिँदै गएको स्थिति देखिन्छ । यस्तो किन हुन गयो भन्दा मोतीराम भट्टप्रतिको दुराग्रह एवम् भानुभक्तलाई आफ्नो गोत्रीय सम्पत्ति सम्झने सङ्कुचित धारणाबाटै हुन गएको होला भन्ने अनुमान गर्नुबाहेक अर्को विकल्प देखिन्न । यस्तो अन्योल, अस्पष्ट र दुविधाग्रस्त स्थितिलाई भानुभक्तविषयक समग्र कृतिको गहिरो अध्ययन गरी आफ्नो बुद्धि, विवेक, तार्किक क्षमता, समीक्षात्मक चेत, सिर्जनशील शक्तिको अधिकतम उपयोग गर्दै लेखक प्रसाईले गम्भीर प्रयत्नबाट यथासम्भव उत्कृष्ट स्वरूप प्रस्तुत गरेको देखिन्छ । यसबाट एक शक्तिशाली जीवनी लेखकबाट भानुभक्तविषयक सुन्दर र सकारात्मक पक्ष बढी उघ्रेर आएको पाइन्छ ।'
प्रा.कपिल अज्ञात

'नरेन्द्रराज प्रसाईले मोतीराम भट्टले शिलान्यास गरेको जीवनीपरक समालोचनाको मार्गलाई पछयाउँदै त्यसको प्रवर्धन र विस्तार गर्ने अथक प्रयत्न गरेका छन् । भट्टले भानुभक्तको जीवनी पहिलो पटक लेखे । त्यति बेला यतिको खोज गरी जीवनी लेख्नु महान् काम थियो । केही कल्पनाको जलप रहे पनि यसमा आएका अधिकांश तथ्यहरू प्रामाणिक छन् । त्यसपछि पनि भानुभक्तका जीवनीबारे धेरैले लेखे, तर नयाँ र सत्यतथ्य खासै आएनन् । बरु भएकै तथ्यलाई पनि यताउति पारेको पाइन्छ । मोतीराम भट्टले लेखेको जीवनी प्रकाशित भएको करिब सवा सय वर्षपछि प्रसाईले यसपूर्वका जीवनीको सम्यक् अध्ययन गरी यथास्थान सन्दर्भ र स्रोतसमेत दिएर प्रस्तुत कृति तयार पारेका छन् । तसर्थ मोतीराम भट्टपछि भानुभक्तको जीवनीका बारेमा लेखिएका कृतिमध्ये प्रस्तुत कृति सर्वाधिक बढी प्रामाणिक, आधिकारिक र विश्वसनीय रहेको पाइन्छ ।
प्रा.डा.कपिल लामिछाने

भानुभक्त अध्ययन परम्परामा विवाद उठाउने कलम, समस्या देखाउने हात र मस्तिष्क अनेक देखिए तापनि त्यसका निराकरणतर्फजाने र सोच्ने मनहरू कविले कमै पाएका छन् । तीमध्ये जीवनी लेखक नरेन्द्रराज प्रसाईले कवि भानुभक्तसम्बन्धी यस्ता भ्रम फैलाउने केही प्रसङ्ग अनि अपत्यारिला चर्चाले कविको व्यक्तित्व धमिल्याउने कतिपय प्रयासहरूलाई तथ्यका आधारमा र सत्य घटनाको खोजी गरी ठोस उदाहरणसहित सही कुरा प्रस्तुत गर्न सफल भएका छन् । भानुभक्तका अन्य जीवनीकारले अघि गर्न नसकेका अथवा गरेर पनि काँचो स्थितिमा छोडेका अपूर्ण प्रसङ्गहरूको स्पष्टतः खण्डन गर्दै प्रसाई यस पुस्तक लेखनकालमा खूबै सचेत, विवेकीपूर्ण, विनयशील रही सुन्दर ढङ्गमा कुराहरूको बिट मार्न सक्षम देखिन्छन् । 
डा.कविता लामा

विषयवस्तुअन्तर्गत भानुभक्तको जीवनी, व्यक्तित्व र कृतित्वको शोधपरक समीक्षात्मक प्रस्तुति रहेको यस ग्रन्थमा लेखक नरेन्द्रराज प्रसाईले आफ्ना धारणा र सुझाउ कुनै आग्रह वा दुराग्रहबिना एक सत्यान्वेषीका रूपमा निभ्रान्त र निष्पक्ष भएर निर्भीकतासाथ प्रस्तुत गरेको पाइन्छ । भानुभक्तका समकालीन व्यक्तिहरूदेखि लिएर, दुई सय वर्षमा उनका विषयमा लेखिएका परस्पर विरोधी कुराहरूदेखि लिएर भानुभक्तका वंशजहरूले सत्यतथ्यलाई प्रकाशमा ल्याइदिनाको साटो त्यसको ढाकछोप गर्ने काम गरेर उनको जीवनवृत्तलाई झन् शङ्कास्पद र रहस्यात्मक बनाइदिएको कुराहरूप्रति ग्रन्थकारको अप्रसन्नता र गुनासो मलाई जायज लागेको छ । 
प्रा.डा.केशवप्रसाद उपाध्याय

नरेन्द्रराज प्रसाईद्वारा लेखिएको यस जीवनवृत्तमा भानुभक्तको जीवनकथासँग जोडिँदै आएका कतिपय तथ्यहरूको तार्किक खण्डनमण्डन र भानुभक्तले जिएको जिन्दगीका नयाँ परिघटनाहरूतर्फ सङ्केत पनि गरिएको छ । यसमा भानुभक्तीय जीवनचरित्रको चर्चाका क्रममा देखा परेका तर परस्पर बाझएिका कतिपय तथ्यहरूको सम्परीक्षण र परिमार्जन गरिएको छ । त्यसैले पनि यस जीवनवृत्तले पाठकहरूलाई नयाँ स्वाद त दिन्छ नै यसबाहेक यो अरूभन्दा भिन्नै र नयाँ पनि बन्न पुगेको अनुभव हुन्छ । 
प्रा.केशव सुवेदी

आदिकविको जीवनीमा कतिपय कपोलकल्पित कथाहरू, घटनाहरू थपेर सत्य कुरालाई बङ्ग्याएर विभिन्न व्यक्तिले आआफ्नो इच्छानुसार व्याख्या गरेकाले उनका बारेमा एकै मत हुन सकेको छैन । यसै कारण नरेन्द्रराज प्रसाईले 'भानुभक्त आचार्यको जीवनवृत्त' लेखेर सत्यचाहिँ यो हो है भन्दै पाठकहरूलाई यसबारे घोत्लिएर चिन्तन र मनन गर्न घचघच्याएका छन् । 
प्रा.डा.गार्गी शर्मा

अहिलेसम्म पनि भानुभक्तका साहित्यिक तथा वैयक्तिक घटनापरिघटनासँग सम्बन्धित अनेक चिन्तन र तथ्यहरू पनि प्रकाशनमा आएका छन् । यस परिप्रेक्ष्यमा साहित्यकार नरेन्द्रराज प्रसाईले भानुभक्तबारे लेखिएका उपलब्ध कृतिहरूको समेत अध्ययन गरेर आफ्नो जीवनी लेखन शिल्पको उपयोग गरी यो जीवनीकृति तयार पारेका हुन् । सरल, वस्तुनिष्ठ र रुचिपूर्ण भाषामा तयार पारिएको यो जीवनीकृति आदिकवि भानुभक्तलाई चिनाउने आधिकारिक सामग्री हुन पुगेको छ । भनौं, मोतीराम भट्टले तयार पारेको भानुजीवनीपछि यति गहन रूपमा अध्ययन गरेर तयार पारिएको जीवनीकार प्रसाईको प्रस्तुत कृति गहकिलो अध्ययन भएको आधिकारिक भानुजीवनी पनि हो । भानुजीवनीको लेखनपरम्परामा जीवनीकार प्रसाईको 'भानुभक्त आचार्यको जीवनवृत्त' नामक यो कृति अद्यावधिक मानक कृति हुँदै हो र यस क्षेत्रमा भएको गहकिलो अध्ययन पनि हो ।
प्रा.गोपीकृष्ण शर्मा

भानुभक्तको जन्म संवत्बारे उठेको विवादको समाधान नरेन्द्रराज प्रसाईले व्यावहारिक तर्कका आधारमा जुन गरेका छन् त्यो सबैलाई स्वीकार्य लाग्नु युक्तिसम्मत हुन्छ । आङ्किक प्रमाणभन्दा लोकप्रचलनको मर्यादा उच्च छ भन्ने उनको तर्क स्वागतयोग्य छ । 
प्रा.डा.घनश्याम नेपाल

नरेन्द्रराज प्रसाईले न त आदिकवि भानुभक्तको छविलाई धमिल्याउने प्रयास गरेका छन्, न त उनको सृजनशील प्रतिभाको अवमूल्यन गर्ने धृष्टता नै गरेका छन् । उनले त बरु भ्रम एवम् शङ्का निवारणार्थ अनेक प्रमाण तथा तर्कहरू दिएर उनले पाउँदै आएको उच्च सम्मानलाई अझ प्रामाणिक र सबल बनाउने काम गरेका छन् । शोधकार्य गर्नु भनेकै प्रचलित तथ्यहरूको प्रशोधन, परिष्करण र संशोधन गरेर तथ्यलाई अद्यावधिक पनि बनाउनु हो । नरेन्द्रराज प्रसाई यस कुरामा चुकेका छैनन् । 
प्रा.डा.दयाराम श्रेष्ठ

नरेन्द्रराज प्रसाईको 'भानुभक्त आचार्यको जीवनवृत्त

Comment

Related News