h

News

मेरी यस्ती एउटी बहिनी

news

पूर्वतिर गजबको छ, साहित्यिक गतिविधि । कविहरु पानीमा आगो बालूँलाझै गरेर कविता लेखिरहेछन् । पाठक र स्रोताको अभाव पनि कहाँ छ र ? यतिखेर सिर्जना उत्सवहरुमा सक्रिय देखिने एउटा नाम हो, कविता राई “गाउँले” । म आफूमा कविता फुर्न छाडेपछि यस क्षेत्रमा सन्यासी भएको छु । तर सिर्जना उत्सवहरु देख्दा र कविता बहिनीको सक्रियता देख्दा मेरो मन पनि उत्सवमय हुन्छ ।

कविता बहिनीसँग घनिष्टता बढेको पनि तीन दशक भएछ । उनी मेरो सुखदुःखको साक्षी हुन् । मेरो सिर्जना यात्रामा मात्र होइन, ब्यावहारिक जीवनमा पनि उनको सद्भाव र सहयोग अविस्मरणीय छ । हामी दुई यस्ता दाजु–बहिनीको हौँ, हामी फरक आमाबाबुको कोखमा जन्म्यौ, त्यसैले हामीमा रगतको साइनो त रहेन । तर आत्मिक साइनो रगतको साइनोभन्दा कम महत्वको हुँदो रहेनछ ।
...
धरान–धनकुटा राजमार्ग (मदन भण्डारी राजमार्ग) बेलायत सरकारको अमूल्य उपहार हो, नेपालका लागि । यो राजमार्गको स्थानीय क्षेत्रमा प्रभाव अध्ययनका लागि बेलायत सरकारले कोशी पहाडी क्षेत्र विकास परियोजना (खार्डेप) सञ्चालन गरेको थियो । यो परियोजनामा काम गर्नेहरुमध्ये एबी (अमरबहादुर), बीबी (बीरबहादुर) र सीवी (चन्द्रबहादुर) तीन जना पनि थिए । तीमध्ये एबी राई र अनि बीबी र सीवी चाहिँ लिम्बू । यी तीन जना एकापसमा साह«ै आत्मीय थिए ।

एबीले आफ्नो घर संखुवासभाको दिदिङबाट छोरीलाई पढाउन धनकुटा झार्नुभयो । उहाँको बसोबास मेरो घरसँगै टाँसिएको अर्को छिमेकीको घरमा थियो । एउटा निर्दोष अनुहार मेरो छिमेकी बनेर आइपुगिन् । यो कुरा हो, २०४४ सालको ।

उनी धनकुटा आएको समय, यहाँको माहोल रमझमपूर्ण थियो । तत्कालिन राजा बीरेन्द्रको पूर्वाञ्चल भ्रमणको समय थियो, त्यो । पूर्वाञ्चलको सदरमुकाम भएको र त्यहाँ सवारी शिविर हुने गरेका कारण धनकुटा नगर बेहुली सिंगारिएको जस्तै हुन्थ्यो ।

त्यतिखेर हाम्रो दुई घरमध्ये एउटा घर तत्कालिन माले (हालको एमाले)का भूमीगत नेताहरुका लागि सेल्टर थियो । राजाको भ्रमणताका जासुसहरु त्यहीँ घरमा डेरा बस्न भन्दै आउँथे । त्यसबेला पार्टी गतिविधि अन्तै सारिन्थ्यो । त्यो घरमा मदन भण्डारी पनि एक पटक आएको धमिलो सम्झना छ । म सानै थिएँ त्यसबेला । धनकुटाका तत्कालिन (२०३८ साल ताका) पार्टी सचिव राजेश बान्तवाले मलाई २०५१ सालमा बताउनुभएअनुसार त्यो हाम्रो घरलाई जिल्लाको पार्टी कार्यालय बनाइएको थियो रे ।
अँ, फेरि कुरा कविता बहिनीतिरै जोडौ ।

मेरा एक जना दाजुले ताङ्खुवा गाविस र धनकुटा नगरपालिका जोडिने एक ठाउँमा चौतारा बनाउने मनासय ब्यक्त गरे । चौतारो बनियो । खासमा दाजुको ताङ्खुवातिरकै एक जना महिलासँगको लामो प्रेम सम्बन्ध टुटेपछि ती महिला हिड्ने बाटोमा पर्ने गरी चौतारा बनाउने निर्णय गरेका रहेछन् । चौतारा उद्घाटन भएको दिन अर्को एक सम्बन्ध पनि गाँसियो त्यहाँ । कविताको बुवा एबी र मेरा जेठा दाजु बीबीको सल्लाहअनुसार मेरो बहिनी इन्दु र कविताबीच मीतेरी साइनो गाँसियो त्यहीँ चौतारामा । त्यो चौताराको नाम निशान छ जस्तो लाग्दैन । भत्केर त्यसको भग्नावेशष पनि छैन होला । तर त्यहीँ चौतारामा गाँसिएको मितेरी साइनोबाट मैले एउटी यस्तो बहिनी पाएँ, जसले मेरो जीवनको हरेक सुखदुःखमा साथ दिदै आएकी छन्, विगत ३० वर्षदेखि निरन्तर ।

२०४५ सालमा उनी कक्षा ८ मा पढ्थिन्, म कक्षा १० मा । पढाईमा म राम्रै भएकोले मीत बुवाले उनको रेखदेख गर्ने जिम्मा पनि मलाई दिनुभएकोले उनको शैक्षिक परामर्शदाता म हुने नै भएँ । उनले एसएलसी पास गरेपछि मैले नै लगेर धनकुटा बहुमुखी क्याम्पसमा भर्ना मात्र गरिदिइनँ, अनेरास्ववियूको खाँटी कार्यकर्ता पनि बनाएँ । साहित्यिक गतिविधिमा सक्रिय बनाएँ ।
उनलाई साहित्यिक गतिविधिमा सक्रिय गराउन एउटा नक्कली काम पनि गरेँ मैले । उनको फोटो मागेर एक टुक्रा कविता लेखेर “चाँदनी” नामको पत्रिकामा उनको नाममा छपाएँ, २०४७ सालमा । यसको एउटै मात्रै उद्देश्य थियो, कवितालाई काब्यिक क्षेत्रमा प्रवेश गराउनु । यस हिसावले त मेरो कविताभन्दा कविता राई “गाउँले”को कविता पो जेठो भएको छ प्रकाशनको दृष्टिले त । त्यसपछि उनी साहित्यिक गतिविधिमा सक्रिय भइन् । मेरो एउटा मिसन पुरा भएको भन्ठान्छु म ।

२०४८ सालको चैत महिनामा धनकुटा बहुमुखी क्याम्पसमा अखिल र नेवि संघबीच ठूलो लडाईं भयो । हामी अखिलका केही कार्यकर्ता घाइते भयौँ । हामीलाई एम्बुलेन्स बोलाएर धनकुटाबाट उपचारार्थ धरान झारियो । घाइतेहरुलाई हेर्न सबैका नातागोता आए । मेरा रगतका नातागोता त कोही पनि देखिनँ मैले । तर आत्माको नाता निक्कै बलियो रहेछ । कविता आएकी थिइन्, मेरो स्वास्थ्य अवस्था बुझ्न र साहनुभूति प्रकट गर्न । त्यतिखेर उनको उपस्थितिले मेरो आँखा भिजेका थिए । अहिले पनि बेला बेलामा त्यहीँ सम्झनाले भिज्छन्, मेरा आँखाहरु ।
...
कविताको विहे हुने भयो, २०५६ साल वैशाखमा । मोरङको गच्छियास्थित उनको माहिली दिदीको घरमा विवाहको स्थान तोकियो । माओवादीको बन्द र हवाई यातायात पनि रद्द भएपछि दाजु मानबहादुर (कविताको खास दाई) विवाहमा उपस्थित हुन टुङ्गो भएन । त्यसपछि अनिवार्य रुपमा उपस्थित हुनु पर्ने माइतीको विकल्पमा मलाई तयार हुन खबर गरियो । त्यतिखेरै बेरोजगार थिएँ । के लैजाने होला बहिनीको विवाहका लागि उपहार ? एक छिन सोच बिचार गरेपछि छोरीको पास्नीमा आएको एउटा काँसको थाल उठाएर कागजले बेरेँ र पुगेँ कविताको विहेमा । म पुगेको दुई घण्टापछि दाजु आउनुभयो र माइतीको उपस्थितिमा विहे सम्पन्न भयो ।
...
पछिल्लो समय कविताले दुई वटा गुन लगाएकी छन्, जो तिरेर तिरिसक्नु छैन । मेरो इतिहाससम्बन्धी अभिरुची, अध्ययन तथा लेखनको निरन्तर साक्षी उनले मेरो किताव छापिदिने भइन् । भन्दैछिन्, “मैले तपाईंको किताव छाप्न पैसा छुट्याइसकेँ, छिटो गर्नुस् है ।”

अर्को म विगत दुई वर्षदेखि एउटा ठूलो भ्रान्तीमा थिए । त्यसले कसैको हित गर्ने थिएन । यो भ्रान्त दाईलाई त्यो भ्रान्तीबाट मुक्त गराउन उनैले पहल गरिन् । विगत चार महिनादेखि त्यो भ्रान्तीबाट मुक्त छु म । यो भ्रान्तीका बारेमा यसभन्दा बढि केही भन्नेवाला छैन ।

मेरी यस्ती बहिनीको ममतालाई स्पर्श गर्दै मलाई यसरी शब्दहरुमा लय भर्न मन लाग्छ ः
मेरी प्यारी बहिनी ममताकी खानी
उनको आँखाभरि उज्यालो विहानी

सातै रङ सजाई मेरो निधारमा
खुसी मात्रै खोज्छिन् मेरो मुहारमा
खडेरीमा हुँदा आउँछिन् बोकी पानी
मेरी प्यारी बहिनी ममताकी खानी ।

ममताले छुन्छु उनको दुई पाउमा
पाउ छुँदा मलम लाग्छ मेरो घाउमा
सहनशिला सुशिला असल आनीबानी
मेरी प्यारी बहिनी ममताकी खानी ।
<script src="//z-na.amazon-adsystem.com/widgets/onejs?MarketPlace=US&adInstanceId=d2b871de-098c-4f50-a245-2c6f065456d2"></script>

Comment

Related News