h

News

मेरो भलो चिताउने साथी

news

~~  राजकुमार दिक्पाल ~~
भेट्न चाहिँ भेटेरै जानु पर्ने थियो । तर भेट नहुने भयो । कम्तिमा पनि ठेगानासम्म लिएर जान पाए आरामी पत्र त आदान प्रदान गर्न पाइन्थ्यो ।
यस्तो सोचेर मन थक्थकाइरहेको थियो ।

२०४८ सालको फागु पूर्णिमाको दिन पोखराको आकास तुँवालोले ढाकिएको थियो । माछापुछे« र अन्नपूर्ण हिमाल धमिलो देखिन्थ्यो । यता आफ्नो मन चाहिँ निक्कै अमिलो ।
त्यो दिन हामी पोखरा छाड्दै थियौँ । शुक्र भाईलाई लिएर दिदी कृष्णा सुब्बा र भेना क्याप्टेन बेनिन्द्रलाई भेट्न म ब्रिटिश क्याम्प गएकोले साथीहरुसँग छुटिएका थियौँ । बसपार्कमा सबै जम्मा भएर फर्कने सल्लाह थियो । बसपार्कमा साथीहरुलाई कुरिरहँदा मेरो मन चाहिँ थक्थकाइरहेको थियो । उनै एक जनालाई भेटेर उनको ठेगाना पनि लिएर “बाई बाई” को हात हल्लाएर छुट्ने मेरो ठूलो धोको थियो । त्यहीँ धोको अपुरो हुने भएकोले म थक्थकाइरहेको थिएँ । साथीहरु जम्मा हुन थाले पोखरा बसपार्कमा । “ल है बाटोमा बन्द छ रे, हामी भोली मात्रै जाने भयौँ” यस्तो सूचना आयो अगुवाबाट ।   हामी एक दिन पोखरा अडिने भयौँ ।

अनेरास्ववियूको ११ औँ राष्ट्रिय सम्मेलनका खासगरी कोशी अञ्चलका प्रतिनिधि तथा पर्यवेक्षकहरु फेरि एक रातका लागि पृथ्वीनारायण क्याम्पसका साथीहरुको पाहुना हुने भयौँ । एउटा झिनो आशा मनमा पलायो, कतै उनीसँग भेट पो भइहाल्छ कि !
...
“ओहो दिक्पालजी, तपाईंलाई त ...जीले खोज्दै हुनुहुन्छ । अघिदेखि सोधेको सोध्यै हुनुहुन्छ”, विनोद गुरुङले सुनाउनुभयो । जसको सोधी खोजी म आफैले गरिरहेको छु, उनैबाट आफ्नो पनि सोधी खोजी भइरहेको खबरजस्तो सुखद खबर अरु के हुन सक्छ ? क्या खुसी लाग्यो यो खबर सुनेर ।

पृथ्वीनारायण क्याम्पसका अखिल कार्यकर्ताहरुले हाम्रो लागि खाना तयार पारिरहेका थिए । “नमस्ते है नमस्ते, कता हराउनु भएको नि ?” उही तिखो अनि मधुर स्वरको सम्बोधन । आहा, भेट भयो, जसलाई मैले खोजिरहेको थिएँ । “ल हामी एकछिन पनि भेट्ने है” यसो भनेर उनी हामीलाई खाना खुवाउने स्वयम्सेवक टोलीमा मिसिइन् । मेरो खुसी असामान्य थियो, त्यसबेला ।
खासगरी यी साथीसँग हाम्रो भेट गराउनुमा हामीसँगै सहभागी मोरङकी मेनुका चाम्लिङको महत्वपूर्ण हात छ ।

त्यो सम्मेलनमा सहभागीहरुलाई पृथ्वीनारायण क्याम्पस परिसरमा खानाको प्रवन्ध गरिएको थियो, सुरुको एक दुई दिन । तरकारी बाँड्न र थप्न आउने एक जना स्वयम्सेविकासँग परिचय साँटियो । फरासिली स्वभावकी ती स्वयम्सेविकासँगको परिचयको महत्व कुन अर्थमा मेरो लागि बढि थियो भने म पूर्वी नेपालको र सकेसम्म पश्चिमतिरहरुलाई साथी बनाउन चाहन्थेँ ।
अब हाम्रो खानाको प्रवन्ध होटलमा हुने भयो । दुई पटकको खानापछि ती स्वयम्सेविकासँग भेट हुन छाड्यो । खासगरी ती स्वयम्सेविकासँगको भेटको महत्व साहित्य सिर्जनासित बढि सम्बन्धित थियो । म आफू पनि साहित्यमा अनुराग राख्ने र उनैको भनाईअनुसार उनी पनि साहित्यानुरागी ।

“हेर्नुस है”, यसो भन्दै एउटा कापी थमाइन् उनले । अनि “कामना” मासिकको एउटा अंक पनि देखाउँदै मलाई भनिन्,“यसमा मेरो एउटा कविता छापिएको छ नि ।”
जोसँग भेटियो, भेट्नुपर्ने मानिससँगै भेटियो । लेखन र प्रकाशनका दृष्टिले पनि अगाडी बढिसकेको मानिससँग भेट्नुको महत्व ठूलो थियो, त्यसबेला मेरा लागि । एउटा कविता र ठेगाना मागेँ । भोली त पोखरा छाड्नुपर्ने छँदै थियो, हामीले ।

अनेरास्ववियूको त्यो सम्मेलनले शंकर पोखरेललाई अध्यक्ष पायो । त्यहीँ सम्मेलनको एउटा सहभागी मैले एउटी साथी पाएँ । त्यो मेरो लागि ठूलो उपलब्धी थियो ।
...
सम्मेलनबाट गृह जिल्ला धनकुटा फर्केपछि आरामी पत्र कोर्ने हतार भइहाल्यो । पत्रमा खासगरी साहित्यिक सन्दर्भलाई बढि जोड दिने गरिन्थ्यो । केही पत्राचारपछि खासगरी उताबाट पत्र आउन छाड्यो । पत्र नआएपछि यताबाट पत्र पठाउने कुरा भएन ।
एउटा परदेशी आई सोध्यो मेरो नाउ
तर चाँडै छाडि गयो रमाइलो यो ठाउँ...
ललिजन रावलको गजलजस्तै भयो । भेट भयो, सकियो । विरानो भयो ।
म कक्षा २ मा पढ्दाखेरि मेरो कक्षा १० मा पढ्ने दाजु डम्बर सुब्बाको पाठ्यपुस्तकमा भवानी भिक्षुको मास्टरपीस कथा “त्यो फेरि फर्कला” कथा पढेको थिएँ । त्यो कथा दोह¥याएर पढेको छैन । केवल एक पटक पढेको । कथाको सार अहिले पनि थाहा छ मलाई ।
यस्तै भयो, ती साथीसँग भेट र खबर आदान प्रदान । कुनै खुटखबर छैन ।
...
“यो तपाईंलाई दिनु भनेर एक जनाले छाडेर गएको”, धनकुटा हुलाकटोलमा त्यसबेला पत्रिका पसल सञ्चालन गरेर बसेका धनपाल राईले सानो चिर्कटो दिनुभयो, २०५७ सालको हिउँदको एक दिन । अँग्रेजीमा लेखिएको थियो, नाम र दुई वटा फोन नम्बर । अक्षर कता कता देखेजस्तो, चिनेजस्तो । फोनको कोड नम्बर हेर्दा पोखराको हो भन्ने सहजै बुझिन्थ्यो । नाम हेर्दा नाम चाहिँ परिचित नै लाग्यो, तर थर चाहिँ बेग्लै अर्थात् परिवर्तित ।

घरमा आएर फोन थिचेँ, “...जीलाई पाऊँ न ।”
“म्याडम त यहाँ होइसिन्न, घरमा गरिस्यो न”, यसो भन्दै अर्को नम्बर दिए, फोन उठाउनेले ।
होटलको नम्बर रहेछ । उताबाट घरको नम्बर भनेर आएको नम्बर र आफूसँग भएको चिर्कटोको अर्को नम्बर मिल्यो । फोन गरेँ । उताको बोली कता कता परिचितजस्तो पनि लाग्यो । “लौ चिन्नुस त साथी”, उताबाट यस्तो कुरा आयो, बडो गजबको हाँसोसहित ।
स्वर सुनेजस्तो पनि लाग्छ । मानिस चिनेजस्तो पनि लाग्छ ।
“बिनुजी हो ?” अनुमानको भरमा मैले सोधेँ ।
“हो, साथी हो, म तपाईको पुरानो साथी”, उताबाट यस्तो जवाफ आएपछि मेरो अनुमान फरक भएन । केही कुराकानी भए । उनी एक छोराकी आमा (हाल एक छोरा र दुई छोरीकी आमा) भइसकिछन्, म चाहिँ त्यसबेलै दुई छोरीका बुवा । दुई जनाबीच दुःख सुखका कुरा भए । लामो समयसम्म भेट हुन नसकेको र आफ्नो पत्रको जवाफसमेत नआएकोमा बढि गुनासो गर्ने म नै थिएँ ।
२०४७ सालको एक विहान रेडियो नेपालको “साहित्य संसार” कार्यक्रममा यस्तो गजल सुनेको थिएँ, अमोददेव भट्टराईको स्वरमा ः
अँधेरी रातमा यसरी इन्कलाव आयो
हरायो भनेको चिठीको जवाफ आयो...
यस्तै भयो । ९ वर्षको अन्तरालमा एक जना साथीसँग पुनर्मिलन भयो, फोनमै भए पनि । मेरो गुनासोको जवाफ दिदै बिनुजीले त्यसबेलो भन्नुभयो,“यदि मैले बिर्सेको भए, म साथीलाई सोध्दै खोज्दै आउँथे त ?”
खासमा त्यसबेला बिनुजी दोर्जे लामा सर (उहाँको श्रीमान) र परिवारसहित बिराटनगर आउनुभएको रहेछ । मलाई सम्झेर धनकुटातिर उक्लनुभएको रहेछ । तर त्यसबेला म काठमाडौं आएको थिएँ, काम विशेषले । धनकुटा फर्कदा उहाँको त्यहीँ चिर्कटो पाएँ, जसले हाम्रो पुनर्मिलन गरायो ।
...
२०७० सालको जेठ महिना । एउटा त्यस्तै सम्मेलनमा पोखरा पुग्ने अवसर जुर्यो । मेरो बचपनकी साथी बिनुजी र परिवारसँग भेट नहुने कुरै भएन । सपरिवार (बरदान, साकुरा र सेफरनसहित) मलाई लिन आउनुभयो । ओहो, हाम्रो २२ वर्षपछि भेट । दुःखसुख साँटिए । पारिवारिक आत्मीयता कम्ति रमाइलो भएन । मेरो परिवार र उहाँको परिवार एकअर्काको खुसीमा रमाउने र एकअर्काको चोटमा दुख्ने गर्छौ । हाम्रो मित्रताले साइनो गाँसेको पनि रजत वर्ष पो भइसकेछ ।
...
सामाजिक सञ्जालमार्फत मेरी एक जना अर्की बालसखीसँग भर्खरै मेरो पुनर्मिलन भयो, ३० वर्षपछि । उनीसँगको संवादमा उनले भनिन्,“राजा, सानोमा तिमी साह«ै सोझा र सिधा थियौ । परीक्षाको बेला पनि वरिपरी पर्ने सबैलाई सिकाइदिन्थ्यौ । अहिले कस्तो भयौ कुन्नि ? तिमीलाई कसै कसैले प्रयोग गरे होलान् वा गर्लान् भन्ने डर लाग्छ मलाई ।” (उनी सानैदेखि मलाई  “राजा” सम्बोधन गर्थिन् ।)

हो, जीवनको यात्रा वा सहयात्रामा कोही कोही यस्ता भेटिए, जसले मेरो प्रतिभा, पसिना र समयको दोहन गरे । यसले मेरो अध्ययन–अनुसन्धान, सिर्जना र लेखनमा निक्कै ठूलो क्षति पु¥यायो । यस्तो अवस्थाको भाव यसरी प्रकट गर्न मन लाग्छ,
जिन्दगीमा कोही कसैको अडेस लाग्ने भित्तो भएँ
अडेस लाग्ने भरिभराउ, म आफू चाहिँ रित्तो भएँ
एउटै थालमा खाएकाहरु हिमाल चुली पुगिसक्दा
म आफू चाहिँ सस्तो चप्पल रबरको फित्तो भएँ ।

यस्ता साथीहरुबाट उन्मुक्ति पाएपछि बल्ल मेरो अध्ययनशीलता र सिर्जनशीलता प्रकट हुन थालेको छ । तर बिनुजी त्यो प्रवृत्तिको साथी हुनुहुन्न मेरो लागि । उहाँले मेरो सदाबहार शुभचिन्तक र मार्गदर्शक । त्यसैले एक विहान “शुभप्रभात” भन्दै उहाँको फेसबुकको अफलाइन म्यासेजमा यस्तो लेखेँ,

फाइदा उठाई हिड्ने जति सबै “चलो साथी”
हाई हलो गर्दै ठिक्क चाहिँ “हलो साथी”
पच्चिस वर्षदेखि मेरो भलो चिताउने
तपाईं चाहिँ मेरो लागि सधैँ “भलो साथी” ।

Comment

Related News