h

News

आमा बित्दा रुने फुर्सद छैन

news

“नेपालमा आमा बित्नुभएछ । यहाँ रुने फुर्सद पनि नपाउने ठाउँमा छु...।” भाई राजेन्द्र राईले सोमबार यस्तो मार्मिक कुरा पोस्ट गरे, आफ्नो फेसबुक वालमा । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका राजेन्द्र आमा बितेको खबर पाएको दिन कार्यक्रममा साउन्ड सिस्टम मिलाउँदै रहेछन् । कति निष्ठूर समय, उनलाई पालो दिने पनि कोही थिएनन्, त्यहाँ । त्यसैले उनले आमा बितेको खबर पाउँदा रुने फुर्सदसमेत पाएनन् ।
“मैले मेरो बुवालाई सानैमा गुमाएँ, बुवा बितेको दिन मैले पनि रुन फुर्सदै पाइनँ”, साहित्यकार दाई कृष्ण धराबासीले एक दिन सुनाउनुभयो । बुवाको अत्येष्टि संस्कारका लागि खर्च र सामाग्रीको जोहो गर्नुपर्ने बाध्यता थियो उहाँको काँधमा । अनि रुदै बस्ने कि बुवालाई घाटमा लगेर अन्तिम विदाई गर्ने ?
अघिल्लो वर्षको माघे संक्रान्तिमा म मोरङ बोराबाँधका चर्चित माछा कृषक ऋषि राईको घरमा पुगेको थिएँ, उहाँको माछापालनसम्बन्धी अनुभवबारे अन्तरंग कुराकानी गर्न । एक रात उहाँको घरमा पाहुना लागेर भोलीपल्ट लक्ष्मीमार्गस्थित उनै आमासँग दुई–तीन घन्टा बिताएको क्षणको झझल्को आइरह्यो, राजेन्द्रको मार्मिक स्टाटस पढेपछि ।
यस वर्षको माघे संक्रान्तिमा चाहिँ पोर्तुगलको पोर्तो सहरको चिसो कोठामा एक्लै रुमल्लिदै मोबाइल सेट खेलाउँदै गर्दा एक वर्षअघि खिचेका केही तस्बिरहरु आँखामा परे । त्यसपछि मैले अमेरिकामा रहेका राजेन्द्रसँग भ्वाइस च्याट गरेँ । उनले भने,“आमा बिरामी हुनुहुन्छ । क्यान्सरको पनि एडभान्स स्टेजमा पुगेछ । किमो दिन पनि नमिल्ने भयो, उमेरका कारण । के गर्ने दाई यस्तै छ ।”
मसँग आमाको स्वास्थ्य लाभको कामना र भाई राजेन्द्रलाई धैर्यधारणको आग्रह गर्नुवाहेक अरु के नै पो थियो र ? अन्तत आमाले अनन्त यात्रा रोज्नु भयो । आमाको यो यात्रा र भाई राजेन्द्रको स्टाटसले चसक्क मुटु घोच्यो ।
...
स्नातक तहको अध्ययनसँगै पत्रकारिताको यात्रालाई अझ फराकिलो बनाउन त्यस समय म धरानमा थिएँ । धरानमा एक जना बिचार मिल्ने साथीसँग मेरो भेट भयो । साहित्य सिर्जनामा पनि उत्तिकै अभिरुची राख्ने मात्रै होइन, साधनासमेत तल्लीन ती साथी हुनुहुन्छ, एनबी राई । उमेरमा मभन्दा केही जेष्ठ उहाँसँग मैले मित्रमिलाप मात्र गरिनँ, मिलेर साहित्यिक क्षेत्रमा केही काम पनि गरेँ ।
अहिले पनि मलाई पुरापुर सम्झना छ । उहाँ धरानको इलाका प्रहरी कार्यालय पछाडीको उहाँका छ्यामा प्रमिला राईको घरमा बस्नुहुन्थ्यो, त्यसबेला । उहाँसँग सरसल्लाहका लागि पटक पटक पुगेँ त्यस घरमा । त्यहीँ घरमा बसेर एक रात बुद्धचोकस्थित स्वर्गिय कवि विमल गुरुङ स्मृति पुस्तकालयका लागि एउटा नयाँ योजना पनि बनायौँ । त्यो योजना थियो, पुस्तकालयमार्फत हरेक वर्ष राष्ट्रिय कविता महोत्सव गर्ने । २०५२ सालदेखि कविता महोत्सवले निरन्तरता पाएको छ । एनबीजी र मेरो सपनाको प्रतिफल हो, त्यो कविता महोत्सव ।
...
जतिखेर एनबीजीसँग मेरो मित्रता सुरु भयो, त्यसबेला म एउटा तनावमा थिएँ । त्यो तनाव नितान्त मेरो निजी तनाव थियो । एनबीजीकी सहपाठी (भन्दा एक ब्याच सिनियर) छात्रासँग कसोकसो म नजिकिएँ । उनको हालखबर सोध्न म पुग्थेँ, एनबीजीकहाँ । उहाँ त्यसबेला आफ्ना जेठा दाईको सैनिक भवनलाइनस्थित घरमा बस्नुहुन्थ्यो । एनबीजी अलि सरल र सिधा व्यक्ति । त्यसैले उहाँबाट कुरो चोर्न मलाई सजिलो हुने ।

अन्ततः एनबीजीकी ती सहपाठीसँग म प्रेम सम्बन्धमा बाँधिएँ । सानो उमेरमा एउटी बालसखीसँग केवल आँखाको भाकाले प्रेम गरेको, बीचमा एक जनालाई एकतर्फी प्रेम गरेको वाहेक मेरो दुईतर्फी प्रेमको पहिलो अनुभव थियो, उनीसँग ।
तर लामो समयसम्म टिकेन, हाम्रो त्यो प्रेम । अहिलेको जस्तो सञ्चार साधनको अभाव थियो । संवाद पनि एकदमै दूर्लभ । यस्तो संवादहीनताले म विथोलिन्थेँ । र उकुसमुकस भएपछि एनबीजीको निवासमा पुगिहाल्थेँ  ।
“दाईलाई आज म एउटा गाना सुनाउँछु”, एक साँझ राजेन्द्र (एनबीजीका भाई) गितार बोकेर तयार भए ।
“लु गाऊ न त”, मेरो स्वीकारोक्ति । उनी गाउन थाले,
मेरो गीत मेरै प्रतिविम्व होइन
जो टुटिजाने होइन, फुटिजाने होइन
आकासजस्ता अमर गीत मेरा
मजस्तो दुई दिनको पाहुना होइन...।
एकातिर राजेन्द्र जोशिएर गीत गाउँदै जाने, म अर्कातिर बेहोसिएर गीतसँगै धरधरी रुने । राजेन्द्रले यो गीत धेरै पटक गाएर सुनाए, म पनि यो गीतसँगै धेरै पटक रोएँ । गीतको भावले यसरी छोएछ कि, त्यसपछि मैले आत्मबल बलियो बनाएँ ।
ती पूर्व प्रेमिकासँग पछि एक दुई पटक भेट भयो । कुराकानी भयो, एउटा साथीको रुपमा । हाम्रो टुटेको प्रेमका बारेमा मैले उनीसँग कुनै कुरा कोट्याइनँ । हुन पनि प्रेम त अञ्जुलीको त्यो पानी हो, जो भूँईमा पोखिएपछि उठाउनै मिल्दैन ।
तर बिर्सन त कहाँ सकिदो रहेछ र ? फूल भँुईमा झरेजस्तै भएको त्यो प्रेम सम्झनामा मग्मगाइरहोस भनेर मैले “झरेको फूल” शिर्षकमा एउटा कथा लेखेँ, जो मेरो पहिलो कथाकृति “आतङ्कको छायाँमुनि”मा समेटेको छु । त्यसबेला “समय” साप्ताहिक म्यागेजिनमा पनि छापियो, त्यो कथा ।

यसरी बिथोलिएर हिडिरहेको बेला मेरो मनलाई शान्त बनाउने मित्र एनबीजी र भाई राजेन्द्रको परिवारसँग म नजिक रुपमा जोडिएको पनि २२ वर्ष भएछ । राजेन्द्र आफूले प्रतिभाशाली गायक बनेर निस्के, उनले आफ्नी छोरीलाई पनि गायन क्षेत्रमा सकुशल उतारेका छन् ।
यसरी यो परिवारसँग जोडिएकै कारण आमाको आशिर्वाद लिन गत वर्ष माघको पहिलो साता लक्ष्मीमार्ग पुगेको थिएँ म। उहाँको कान्छा भाई ऋषि राईको घरमा पाहुना लागेको भोलीपल्ट ।
सिर्जना र संवेदनशील प्रेमको विषयले त सम्बन्धलाई पनि असाध्यै घनिष्ट बनाउँदो रहेछ ।
...

अन्ततः आमाले अनन्त यात्रा रोज्नुभयो । आमाको यो यात्रा र राजेन्द्र भाईको स्टाटसको मर्मले मलाई असाध्यै छोयो ।
आमा, तपाईं जानुभयो । भौतिक रुपमा यो संसारमा नरहनु भए पनि आत्मीक रुपमा तपाईं हाम्रो हृदयमा हुनुहुन्छ । श्रद्धाको एक फूल तपाईंलाई मेरो तर्फबाट । शोकमा डुबेको परिवारलाई हार्दिक समवेदना ।

Comment

Related News