h

News

आठपहरिया राई र दशैं

news

~ राजकुमार दिक्पाल
म यतिखेर आफ्नो बाल्यकालको एउटा प्रसँग झिक्दैछु । कुरा हो, २०४१ सालको । त्यो सालको दशैंको टिका असोज १८ गते विहीबार परेको थियो । टिकाकै दिन यो लेखक आफ्नो लागि सिउन दिइएको नयाँ कपडा लिन धनकुटाको माथिल्लो कोप्चे पुगेको थियो । त्यहाँबाट फर्कदा हटिया लाग्ने ठाउँमा आइपुग्दा सरकारी अधिकारीहरुको दशैं बढाई गर्ने टोली बाजागाजासहित आइपुग्यो । बढाई टोलीको बाटोको अवरोध पन्छाउन अघि हिडेका प्रहरीले दुई महिलाले फलफूल बेच्न ओछ्याएका प्लास्टिक हटायो र बढाई टोली अगाडी बढ्यो ।

हटिया लाग्ने त्यो दिन बिहीबार उसै त दशैंको टिकाको दिन पर्यो, हाट भर्ने मानिसहरु आउने कुरै भएन । तर त्यही दिन दुई जना आठपहरिया राई महिला भने मौसमअनुसारको फलफूल बेच्न रित्तो हटियामा आएका थिए । ती आठपहरिया राई महिलाहरु दशैं र त्यसमा पनि टिकाको दिन किन रित्तो हटियामा सामान बेच्न आएका होलान् ? मेरो कलिलो मनमा त्यसबेला यो प्रश्न खेलिरह्यो ।
यी माथिको प्रसँग यस अर्थमा मैले उठाएको हो कि आठपहरिया राई र दशैंको सम्बन्ध के छ ? दशैंको सन्दर्भ आउनासाथ जंगबहादुर राणाको समयमा मारिएका दुई साँस्कृतिक सहीद रामलिहाङ र रिदामाको प्रसँग आइहाल्छ । “दशैं हाम्रो चाडै होइन” भन्नेहरुले यी दुई सहिदको उदाहरण दिइहाल्छन् । यस प्रसँगमा आफूले जाने बुझेको र भेटेको कुरा यस लेखमा पस्कने उद्देश्य यो लेखकले राखेको छ ।
धनकुटाका आदिवासी आठपहरिया राईले कहिल्यै पनि दशैं मनाएका छैनन् । उनीहरुको मौलिक चाडपर्वलाई प्रत्यक्ष रुपमा पटक पटक यो लेखकले अवलोकन गर्ने अवसर पाएको छ । यसै क्रममा दशैं र आठपहरिया राईको सम्बन्धको बारेमा लेखको सुरुमै उल्लेख गरिएको प्रसँग उठाएर यस लेखकले दशैंको बारेमा आठपहरिया राईको दृष्टिकोण स्पष्ट गर्न खोजेको हो । दशैंको टिकाको दिन हाटियामा सामान बेच्न पुगेका दुई आठपहरिया राई महिलाको प्रसँगले स्पष्ट पार्छ, आठपहरिया राईको चाड दशैं हुँदै होइन ।

दशैंको नमान्दा सहादत
१९३३ सालमा दशैं नमान्दा रामलिहाङ र रिदामा आठपहरिया राईलाई तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाको आदेशमा धनकुटामा झुण्ड्याएर मृत्यूदण्ड दिइएको थियो भन्ने मान्यता नेपाली आदिवासी जनजाति समुदायमा स्थापित भइसकेको छ । यी दुई सहिदलाई विम्व बनाएर विभिन्न साहित्य पनि लेखिदै आएको छ ।

यी दुई सहिदका बारेमा लिखत फेला पार्ने यो लेखकको प्रयास भने सफल हुन सकिरहेको छैन । आठपहरिया समुदायका बौद्धिक युवाहरु धन आठपहरिया र नारायण आठपहरियासँग यी दुई सहिदकाबारेमा राखिएको जिज्ञासामा आएको उत्तर यस्तो छ ः
रामलिहाङ र रिदामा धनकुटाको चाम्जिबुङका हुन् । दुवै हालः निशान भगवतिस्थानका पुजाहारी थिए । दुवैले अनिवार्य रुपमा दशैं मनाउन जारी गरिएको सरकारी आदेशको अवज्ञा गरे । त्यसपछि दुवैलाई झुन्ड्याएर मारियो । यी दुवै सहिद होम्बाराक थरका हुन् ।
धनकुटाको चुलीबननेर झुण्डगाउँ छ । बुढापाकाको भनाईअनुसार धनकुटामा जसलाई मार्नुपर्ने हो, चुलीबनमा लगेर मारिन्थ्यो । राणाकालमा मानिस झुन्ड्याएर मार्ने ठाउँनजिकको गाउँ भएकोले यो ठाउँको नाम पनि झुण्डगाउँ राखिएको हो । चुलीबनको पिकनिकपार्कनजिकै झुन्डगाउँ हुनु र रामलिहाङ र रिदामालाई पनि झुन्ड्याएर मारिएको कथन भएबाट यी दुई सहिद कुनै काल्पनिक पात्र नभई वास्तविक साँस्कृतिक सहीद हुन् भन्न सकिन्छ । यसबारेमा ऐतिहासिक लिखत तथा दस्तावेज फेला नपरेसम्म अनुश्रुतिमा आधारित इतिहासलाई स्थापित गर्दै जानुपर्ने बाध्यता छ ।

धनकुटाको निशानस्थान
धनकुटामा निशान भगवति नामको प्रशिद्ध धार्मिक स्थल छ । दशैंमा यहाँ निक्कै ठूलो बलि दिइन्छ । बढाई गरिन्छ । यहाँ रहेको निशान श्रीजङ्ग पल्टनको निशान हो । पल्लो किरात लिम्बूवान गोरखा राज्यमा गाभिएपछि विभिन्न थुमका लिम्बू सुब्बाहरुलाई राजा रणबहादुर शाहको पालादेखि लालमोहर तथा रुक्का जारी गर्दै नगरा निशान प्रदान गरिएको थियो । वि.सं. १८३९ श्रावण वदी ८ बिहीबार खजुम राय, श्रीदेउ राय, आतहाङ राय र रैनसिंह रायको नाममा पहिले सेन राजाहरुले चलाएको चलनलाई निरन्तरता दिदै नगरा निशान प्रदान गरियो । यस्तै १८४० जेष्ठ सुदि १२ आइतबार एक रुक्का जारी गर्दै रणबहादुर शाहले रैनसिंह राय, श्रीदेउ राय र आतहाङ रायलाई काठमाडौं बोलाई लिम्बुवानका शत्रुसँग लडी त्यहाँ शान्ति स्थापना गर्न हातहतियार दिए । त्यहीँ समयतिर १८४० वैशाख १ गते श्रीजंग पल्टन स्थापना भयो । गोरखालीहरुले दुर्गालाई मान्ने हुँदा दशैंको समयमा दुर्गा पूजा अनिवार्य थियो । लिम्बूहरुलाई पनि नगरा निशान लिएपछि दुर्गा पूजा र दशैं मान्नुपर्ने अनिवार्यता थोपरियो ।

यो पल्टन लामो समयसम्म धनकुटामा रह्यो । धनकुटाको अन्वेषक ठाकुर बरालले निशान भगवति परिसरमा अध्ययन गरी त्यहाँ वि.सं. १८७९ असार १० मिति उल्लेख भएको शिलालेख फेला पारे । यसबाट धनकुटामा श्रीजंग पल्टनको निशान त्यसै समयमा राखिएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
लिम्बुवानका विभिन्न ठाउँमा लिम्बू सुब्बाहरुले पञ्चायतकालसम्म दशैंको बेला नगरा निशानको तामझामका साथ पूजा गर्थे । बली दिन्थे । तर धनकुटामा निशान राखिएर पनि आठपहरिया राईले निशानको पूजा कहिल्यै पनि गरेको देखिएन ।

दशैं लादिएको प्रमाण
यसरी निशानको पूजा नगरे पनि, जबरजस्ती दशैं मनाउने सरकारी प्रयासको अवज्ञा गर्दा दुई व्यक्तिको प्राण हरिएको इतिहास भए पनि आठपहरिया राईहरुमा दशैं भने लादिएको प्रमाण फेला परेको छ । राजा राजेन्द्रविक्रम शाहको समयमा जारी एक रुक्का यसको प्रमाण हो ।

धनकुटाको मार्गाथानको पूजाहारी खलकलाई दशैंमा पूजा गर्न एक गुठीसमेत स्थापना गरिएको प्रमाण उक्त रुक्काबाट प्राप्त हुन्छ । धमिलो र मुस्किलले बुझिने उक्त रुक्काको फोटोकपि धनकुटा, ताङखुवा (हालः धरान) निवासी मुन्धुम तथा इतिहासविद भरत तुङघङले यस लेखकलाई उपलब्ध गराएका छन् । वि.सं. १८९२ को वैशाखमा धनकुटाका वाहिदुमसिंह राईका नाममा उक्त रुक्का जारी भएको देखिन्छ ।

नित्य पूजा र बडा दशैंमा पञ्चवली पूजाका लागि २२ मुरीको गुठी राखेको र बडा दशैंमा पञ्चवली दिनु भन्ने आदेश रुक्कामार्फत दिइएको छ । मार्गाका पूजारी मांवु थरका आठपहरिया राई हुन् । उनका सन्तानहरु चितदलसिंह, जितासिंह, प्रतापसिंह हुँदै पाँचौं पुस्ताका भरतसिंहले उक्त रुक्का जोगाएर राखेका छन् । यसबाट पनि आठपहरिया राईमा दशैं लादिएको थियो भन्ने प्रमाणित हुन आउँछ ।
यसरी सरकारी तहबाट राजा नै लागेर लादिएको दशैंको अवज्ञा गर्दै आएका आठपहरिया राईमध्ये रामलिहाङ र रिदामा अगुवा बनेर निस्के र उनीहरुलाई झुन्ड्याएर मृत्यू दण्ड दिइयो भन्ने अनुमानलाई उक्त रुक्काले बलियो बनाउँछ । चुलिबनलाई सहिद रामलिहाङ र रिदामा स्मृति पार्क घोषणा गरिसकिएको छ ।

धनकुटाका आठपहरिया राईहरु आफ्नो परम्परा, भाषा र सँस्कृतिप्रति मरिमेट्ने आदिवासी हुन् । उनीहरुले वैशाख पूर्णिमा, भदौ पूर्णिमा र मंसिर पूर्णिमालाई भब्यतापूर्वक मनाउने गरेका छन् ।

https://goo.gl/4ieA8R

Comment

Related News