h

News

मन्त्रीको अँगालोमा महारानी - इतिहास

news

- राजकुमार दिक्पाल
(इतिहास)
जतिखेर राजा बीरेन्द्रले शासन गरिरहेका थिए, त्यसबेला दरबारमा राजा बीरेन्द्रकोभन्दा पनि रानी ऐश्वर्यको ठूलो हैकम थियो भनिन्छ । विभिन्न वंशले नेपालमा शासन गर्दा कहिलेकाहिँ राजाभन्दा रानी शक्तिशाली र विवादास्पद भएका इतिहास पाइन्छ । लिच्छविकालमा रानीहरु रजल्लदेवी र नायकदेवी शक्तिमा थिए । मल्लकालमा राजा प्रताप मल्लकी बुहारी ऋद्धिलक्ष्मी राजमाता हुँदा उनी चारित्रिक रुपमा विवास्पद देखिइन् । पृथ्वीनारायण शाहकी बुहारी तथा राजा प्रतापसिंह शाहकी रानी  राजेन्द्रलक्ष्मीमाथि पनि उनी एकल अवस्थामा हुँदा परपुरुषसँग अनुचित सम्बन्ध राखेको आरोप लाग्यो । राजा राजेन्द्रकी कान्छि रानी राज्यलक्ष्मी नेपालको इतिहासमा सबैभन्दा विवादास्पद रानी रहिन् । उनकै महात्वाकाँक्षाका कारण कोतपर्व र भण्डारखाल पर्व मच्चियो । उनीमाथि जनरल गगनसिंह र कप्तान दलबहादुर थापासँग अनुचित सम्बन्ध रहेको र बनारस निर्वासनको समय गर्भपतनसमेत गरेको आरोप लाग्यो ।

मन्त्री मारिदा रानीको विलाप
कान्तिपुरका प्रशिद्ध राजा थिए, प्रताप मल्ल । उनको मृत्य्ूपछि कान्तिपुरको गद्दिमा को बस्ने भने विषयमा निक्कै विवाद भयो । प्रताप मल्लको चाहना थियो, आफ्नो मृत्यूपछि आफूलाई मन परेकी रानीतिरकी छोरा महिपतेन्द्र कान्तिपुरको राजा होऊन् । तर प्रताप मल्लका नातेदारसमेत रहेका पाटनका राजा श्रीनिवास मल्लले भने महिपतेन्द्रका दाजु नृपेन्द्र मल्ल हुँदाहुँदै उनका भाईलाई राजा बनाउन नहुने अभियान चलाए । दुई पक्षको संघर्षपछि अन्ततः महिपतेन्द्रका दाजु नृपेन्द्र कान्तिपुरका राजा बनाइए । उनको विक्रम सम्वत १७३७ मा १८ वर्षको उमेरमा मृत्यू भएपछि उनका भाई पार्थिवेन्द्र मल्ल कान्तिपुरको राजगद्दिमा बसे ।

कान्तिपुरका शक्तिशाली भारदार चिकुटीको पलायन र हत्यापछि कान्तिपुर राजदरबारमा चौतारा लक्ष्मीनारायण जोशी शक्तिशाली बनेर निस्के । उनी जति शक्तिशाली थिए, उत्तिकै खतरनाक पनि । विक्रम सम्वत १७४४ मा राजा पार्थिवेन्द्रको अचानक मृत्यू भयो । खानामा बिष मिसाई पार्थिवेन्द्र र उनकी आमाहरुलाई सिध्याउने उद्देश्यले यो षडयन्त्र रचिएको थियो । तर पार्थिवेन्द्रकी आमा चाहिँ बचिन् । राजालाई खानामा बिष मिलाई आफ्ना राजालाई मारेको थाहा पाएर कान्तिपुरका प्रजा कान्तिपुर दरबार घेर्न पुगे । यसैलाई अवसर बनाएर आफ्नो शत्रु नाश गर्न लक्ष्मीनारायण अघि सरे र विष काण्डको दोष पलायन भई बसेका पूर्व चौतारा चिकुटीमाथि लगाए । चिकुटीलाई कुटी कुटी मारियो । बास्तवमा खानामा बिष प्रयोग गरेर राजा पार्थिवेन्द्रलाई मार्ने षडयन्त्रको रचनाकार चाहिँ उनै लक्ष्मीनारायण थिए ।

यसरी एकातिर चौतारा लक्ष्मीनारायण शक्तिशाली बनेर देखा परे भने आठ वर्षका बालक भुपालेन्द्र राजगद्दिमा राखिए । यहिँ अवसरमा पार्थिवेन्द्रकी रानी तथा भुपालेन्द्रकी आमा राजमाता ऋद्धिलक्ष्मी र लक्ष्मीनारायणबीच हिमचिम बढ्दै गयो । त्यसबेला लक्ष्मीनारायणको शक्ति र प्रभाव निक्कै ठूलो थियो ।

कतिसम्म भने लक्ष्मीनारायण आफ्नो घर पनि नगई दरबारमै खाने र सुत्ने गर्थे । राजाकै गहना र पहिरन लगाएर राजाकै पलङमा सुत्ने गर्थे । हरबखत उनी राजमाता ऋद्धिलक्ष्मीसँग रहने गर्थे भन्ने इतिहासहरुमा उल्लेख छ । पुरातत्व विभागको मुखपत्र “प्राचीन नेपाल”को सङ्ख्या १९ (वैशाख २०२९ः२)मा राजमाता र चौतारा लक्ष्मीनारायाणबीचको सम्बन्धमा यस्तो उल्लेख छ ः
मानिसको चरित्र पनि गजबको हुन्छ । कान्तिपुरका मुख्य काजी दरबारमा सुत्ने खाने गर्दथे । राजाले पहिरने गहना पोशाक लगाउँथे । राजाको पलङ ओछ्यानमा बस्दथे । रातदिन रानीसँग मात्र बसिरहन्थे । लडाईमा पनि जादैनथे ।

यस प्रसँगबाट लक्ष्मीनारायणको अंगालोमा रानी ऋद्धिलक्ष्मी परेको सहजै अनुमान गर्न सकिन्छ । काठमाडौको जैसीदेवल मन्दिर उनै चौतारा लक्ष्मीनारायणले धर्मकर्मस्वरुप बनाउन लगाएका हुन् ।
यसरी शक्तिशाली भएर दरबारमा राजमातासँग हिमचिम मच्चाइरहेका लक्ष्मीनारायणको नेपाल सम्वत ८१० भदौमा खसहरुद्वारा हत्या गरिएको “प्राचीन नेपाल” को सङ्ख्या १९ (वैशाख २०२९ः३)मा उल्लेख छ । उक्त पत्रिकामा उल्लेख भएअनुसार लक्ष्मीनारायणको हत्या भएको खबरले आकुल ब्याकुल भएकी ऋद्धिलक्ष्मी राजकुलबाट बाहिर निस्केकी थिइन् । त्यसपति बेइज्जत हुने डरले सबैले सम्झाईबुझाई उनलाई भित्र लगेका थिए । ऋद्धिलक्ष्मीले लक्ष्मीनारायणको रगत चाँदीको भाँडामा उठाउन लगाई मुर्दा पठाएर सँस्कार गर्न लगाएकी थिइन् । एउटा मन्त्री मारिदा राजमाता आकुल ब्याकुल हुनुको अर्थ सहजै बुझ्न सकिन्छ ।

अनि सर्वजीत राना काटिए
विक्रम सम्वत १८३४ मंसिर ४ गते राजा प्रतापसिंह शाह बिते । यसअघि नै राजकुमार बहादुर शाह दरबारबाट धपाइएका थिए । प्रतापसिंहको मृत्यूपछि बहादुर शाह नेपाल बोलाइए । तत्कालित बालक राजा रणबहादुर शाहको नायव भएर राजमाता राजेन्द्रलक्ष्मीले शासनको बागडोर सम्हालिरहेकी थिइन् । पछि देवर–भाउजु मिलेर शासन चलाइरहेका थिए । तर यिनीहरुबीच विस्तारै मनमुटाव सुरु भयो र ठूलो शक्ति संघर्ष चर्कन थाल्यो, नेपालको दरबारमा । शक्तिसंघर्षमा कहिले राजेन्द्रलक्ष्मीको हात माथि हुन्थ्यो, कहिले बहादुर शाहको ।
शक्ति संघर्ष चलिरहेको बेला राजमाता राजेन्द्रलक्ष्मीमाथि एउटा निक्कै गम्भीर प्रकृतिको आरोप लाग्यो । त्यो उनको चरित्रमाथिको आरोप थियो । काजी सर्वजीत रानासँग अवैध प्रेमप्रसँग चलाएको गम्भीर आरोप लगाइएको थियो, उनीमाथि । इतिहास शिरोमणि बाबुराम आचार्यद्वारा लिखित “नेपालको संक्षिप्त वृत्तान्त” (२०६३ः२१४)मा उल्लेख भएअनुसार प्रतापसिंह शाहको एक वर्षको आसौच नसकिदै राजेन्द्रलक्ष्मीले तत्कालिन समाजले नपचाउने उत्ताउला कामहरु देखाउन थालेकी थिइन् । विस्तारै काजी सर्वजीत राना र उनका बीच अवैध प्रेमप्रसँगको गाईंगुईं पनि सुनिन थाले । उनीबारेको यस्तो हल्ला र उनका गतिविधि पृथ्वीनारायण शाहका विश्वासयोग्य भारदार श्रीहर्ष पन्त लगायतलाई सह्य भएन । राजेन्द्रलक्ष्मी र सर्वजीतबीचको अवैध सम्बन्धका बारेमा बोल्न लगाउन दरबारभित्रै चारजना सुसारे केटाहरुलाई पोलाहाको रुपमा खडा गरियो । भूतपूर्व चौतारा दलजीत शाहले यिनै आरोपमा काजी सर्वजीतलाई दरबारकै एउटा कोठामा कटाइदिए भने राजेन्द्रलक्ष्मी चाँदीको नेल ठोकिएर दरबारभित्रै कठाईका साथ नजरबन्दमा परिन् । त्यसपछि राजकुमार बहादुर शाह शक्तिमा आई राजा रणबहादुरको नायवी लिइन शासनमा देखा परे ।

कोतपर्व मच्चाउने सम्बन्ध
विक्रम सम्वत १९०३ असोज बदी ९ मा भएको कोतपर्वपछि नेपालको राजनीतिले अर्कै मोड लियो । त्यसपछि राणाहरुले एक सय चार वर्षसम्म एकछत्र जहानियाँ शासन चलाए । तत्कालिन महारानी राज्यलक्ष्मीले गगनसिंहको हत्यारा पत्ता लगाउन दिएको आदेश र त्यही आदेश पालना गर्ने जंगबहादुरले आफ्ना भाईहरुको सहयोग लिएर कोतपर्व मच्चाए ।
रानीका अति विश्वासपात्र तत्कालिन जनरल गगनसिंहको रातको ९÷१० बजे उनकै निवासमा हत्या गरियो । हत्या कसले ग¥यो हालसम्म कसैले यकीन गरेर भन्न सकेका छैनन् । पर्सिभल ल्याण्डनको पुस्तक “नेपाल”मा राजा राजेन्द्रले सुरेन्द्र र उपेन्द्रलाई बोलाई गगनसिंहलाई मारेर परिवारको इज्जत बचाउन भनेको भनी उल्लेख गरिएकोलाई प्रकाश ए. राजले “कोतपर्वकी महारानी राज्यलक्ष्मी” (२०६१ः२४)मा चन्द्रशम्शेरद्वारा लेखाइएको यस प्रसँगलाई कति विश्वास गर्ने भनी प्रश्न उठाएका छन् । सोही पुस्तक (पृष्ठ ः ऐजन) अनुसार विक्रम सम्वत १८९८ मा सौता साम्राज्यलक्ष्मीको देहान्त भएपछि राज्यलक्ष्मी शक्तिशाली बन्न पुगिन् । त्यसबेला उनी २४ वर्षकी नौजवान थिइन् । उनी २८ वर्षको हुँदा त राजा राजेन्द्रबाट राजपरिवारका सदस्यवाहेक अन्य सबैलाई सजाय गर्ने, देश निष्कासन गर्ने र पजनी गर्ने अधिकारसमेत प्राप्त गरेकी थिइन् । तर आफ्ना अति विश्वासपात्र जनरल गगनसिंहको हत्या र जंगबहादुरको उदयपछि उनको शक्ति छिन्नभिन्न भयो र २९ वर्षको उमेरमा त बनारस निर्वासित हुन प-यो ।

गगनसिंहको हत्यापछि महारानी राज्यलक्ष्मी गगनसिंहको घर यट्खा पुगिन् । त्यतिखेर उनको हातमा नाङ्गो तरबार थियो । “प्राचीन नेपाल”को सङ्ख्या २५ (कात्तिक २०३०ः१६)अनुसार गगनसिंहको घरमा पुगेर महारानीले आदेश दिइन्,“यिनको लास उठाउन हुँदैन । मुण्डको मुण्ड नजोरी मान्दिनँ । विनाकसुर बिना हुकुमले भारदारको खेलले मारे । अब श्री ५ महाराजलाई बक्साई निसाव गर्छौं ।”

त्यतिखेर दाउ छोपेर बसेका जंगबहादुरले “मलाई हुकुम बक्से ददा जनरल गगनसिंहलाई मार्ने भारदार पत्ता लगाई सजाय गर्दा हुँ” भनी आदेश मागे । रानीबाट आदेश भयो,“हुन्छ जंगबहादुर लौ मार । तलाईं हुकुम भयो ।” अनि मच्चियो कोतपर्व । त्यसपछि नेपालको राजनीतिले अर्कै मोड लियो ।

आफ्ना छोरा रणेन्द्रलाई युवराज बनाउने ठूलो सपना थियो, राज्यलक्ष्मीको । यसका लागि उनले गगनसिंहलाई ठूलो विश्वासमा लिएकी थिइन् । “प्राचीन नेपाल”को सङ्ख्या २५ (कात्तिक २०३०ः१५)अनुसार माथवरसिंहको हत्यापछि १६ पल्टनमध्ये गगनसिंहको हातमा मात्र सात पल्टन थियो । यसबाट पनि गगनसिंह महारानीको अति विश्वास पात्र भएको स्पष्ट हुन्छ ।  
महारानी राज्यलक्ष्मी र गगनसिंहबीच राजनीतिक सम्बन्ध मात्र थिएन, प्रेम सम्बन्ध समेत थियो भनी कतिपय लेखकले लेखेका छन् । तीमध्ये एक हुन्, अम्बर्स ओल्डफिल्ड । उनले आफ्नो पुस्तक “स्केचेज फ्रम नीपाल” (सन् २००५ः३४४)मा “माथवरसिंहको हत्यापछि राज्यको सम्पूर्ण अधिकार महारानी र उनका प्रेमी गगनसिंहको हातमा आयो” भनी उल्लेख गरेका छन् ।

“कोतपर्वकी महारानी” (२०६१ः२४)अनुसार गगनसिंहको जन्म विक्रम सम्वत १८५३ मा भएको र राज्यलक्ष्मीको जन्म १८७४ (अनुमानित) भएको यी दुईबीचको उमेर २१ वर्षको फरक थियो । यसो हुँदा यी दुई बीच प्रेम र ब्यभिचार थिएन कि भन्ने ठाउँ त छ, तर राज्यलक्ष्मीको निर्वासनपछि उनका छोराहरु रणेन्द्र र बीरेन्द्रलाई तत्कालिन राजा सुरेन्द्र र बुढा महाराज राजेन्द्रले राजगुरु विजयराज पाण्डेलाई लेखेको पत्रमा राज्यलक्ष्मीको गगनसिंहसँग मात्र होइन, दलबहादुर थापा नामका सैन्य अधिकारीसँग पनि यौनसम्बन्ध भएको र बनारसमा राज्यलक्ष्मीले तीन महिनाको गर्भपतन गराएको आरोपसमेत लगाइएको छ ।

इतिहासकार प्राध्यापक दिनेशराज पन्तले “पूर्णिमा”को पूर्णाङ्क ७० (असोज २०४३ः३१–३७)मा रानी राज्यलक्ष्मीसँगसम्बन्धी ६ वटा अप्रकाशित पत्र प्रकाशमा ल्याएका छन् । तीमध्ये १९०६ आषाढ सुदी १० रोज ७ मा राजा सुरेन्द्रले आफ्ना साहिला भाई रणेन्द्र र काँहिला भाई बीरेन्द्रका नाममा लेखेको पत्रमा दलबहादुर थापासँगको अवैध यौनसम्बन्धपछि उनकी आमा (राज्यलक्ष्मी)ले तीन महिनाको गर्भ तुहाएको र भाईहरुलाई पानी नै कटाउन पर्ने अवस्था आएकोले तुरुन्त पतिया लिन र पतिया नलिए भातभान्साबाट छुटाइने समेत उल्लेख गरिएको छ । पत्रको ब्यहोरा यस्तो छः
साँहिला भाई काहिला भाई तिम्रो मुमालाई कालीदासका भाईले दलबहादुरसँगको ब्यभिचार हुँदा तीन महिनाको गर्भ तुहाएको म थाहा पाउँछु भनी हाम्रा हजुरमा बिन्ति गर्दा तिम्री मुमालाई झिकाइएको हो । तिम्रा मुमाले ६ महिनासम्म नआउँदा र बनारसमा रहेका तिम्रा नोकरीमा रहेका अरुले पनि यही कुरा यत्रतत्रबाट भन्दा साँचो रहेछ भन्ने सबैका मनमा प-यो । तसर्थ तिम्रा मुमालाई हाम्रा मुलुकमा रहन, हाम्रा आशा राख्न पर्वतेहरुले खानपान नगर्नु भनी हटाइबक्स्यौं । तिमीहरुले पनि भोरमा खानपान गरेको कुरामा धर्माधिकारको पतिया लिइहाल । पतिया नलिई मायामा काया हाल्यौ भने पछि तिमीहरुको विग्रला । तिम्रो र हाम्रो भात भान्सा जात पिण्ड जुठो फरक भयो । पतिया लियौ भने भातभान्सा फरक भएनौ । जस्तो अघि भाई हौ, त्यस्तै छदैछौ । राणा राजपुत हुँ गोरखाको पैदा हो भने जमामार्दि थामौला । मावली गोत्र गएछौ भने हामीदेखि फरक भयौ ।
पत्रमा उल्लेखित कालीदाश वैद्य हुन् भने दलबहादुर थापा चाहिँ सेनाका कप्तान हुन् ।

यस्तै बुढामहाराज राजेन्द्रविक्रम शाहले त दलबहादुरसँग मात्र होइन, राज्यलक्ष्मीको ब्यभिचार गगनसिंहसँग पनि भएको उल्लेख गर्दै राजगुरु विजयराज पाण्डे बनारस जाँदा राज्यलक्ष्मी गगनसिंह र दलबहादुरसँग बिग्रेको साल, महिना र दिनसमेत पत्ता लगाउन आदेश दिएका छन् । पत्रमा राज्यलक्ष्मीलाई जैसिंहकी बहिनी भने सम्बोधन गरिएकोले उनका दाजुको नाम जैसिंह रहेको स्पष्ट हुन्छ । १९०७ मार्ग सुदि ३ रोज ६मा लेखेको पत्रको ब्यहोरा यस्तो छ ः
श्री ६ गुरुराज पण्डित विजयराज पडितको पाउमा प्रणाम । यसपाला तपाईं काशी जानु हुँदा काशी पुग्नु भई जैसिंका बहिनी गगनसिंह खवाससँग कुन साल कुन महिनाको कुन दिन विग्रेकी रहिछिन् ? दलबहादुर थापासँग कुन दिन कुन महिना कुन साल विग्रेकी रहिछन् ? जस्ताको तस्तै ठह¥याउनु भई जैसिंकी बहिनीको र दलबहादुरको कायलनामा लेखाई सही हाली दुवै कायलनामा लिइकन आउनु होला र म प्रायश्चित गरिबक्सुँला ।
यदि राजनीतिक रुपमा त्यतिखेर अबला बनेकी र निर्वासित अवस्थाकी उनीमाथिको तत्कालिन राजा र बुढा महाराजबाट लगाइएको जघन्य आरोप मिथ्या होइन भने यी पत्रहरुबाट पनि तत्कालिन महारानी राज्यलक्ष्मी तत्कालिन जनरल अर्थात मन्त्रिमण्डलका सदस्य गगनसिंहको अँगालोमा बेरिएकी रहिछिन् भन्ने देखिन्छ ।
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~


 

Comment

Related News