h

News

मेरो पैतृक अध्यात्मको पाटो

news

~~ राजकुमार दिक्पाल ~~
जसलाई मैले सिर्जनाको हिसावले त आजभन्दा २५-२६ वर्षअघि नै चिनेको हुँ, कथा संग्रह “प्रक्षेपण” मार्फत् । तर उहाँसँग मेरो औपचारिक चिनजान थिएन । चिनजानको औपचारिकताको वातावरण बनाइदियो, हाङपाङ एकता समाजले ।

“प्यारो हाङपाङ, सुन्दर हाङपाङ” भन्दै समाजले फेसबुकको वालमा राखेको हाङपाङ गाउँको सुन्दर तस्बिरमा लाइक गर्नेमध्येमा मैले उनै “प्रक्षेपण” कथा संग्रहका सर्जक कृष्ण प्रसाईंलाई पनि पाएँ । तब त के रह्यो, उहाँसमक्ष मित्रताको हात अगाडी बढाइहालेँ । उहाँबाट मेरो मित्रता प्रस्ताव ग्रहण पनि भइहाल्यो । त्यतिले मात्रै मेरो मन थामिएन, कुरा गर्ने मन भयो । कुराकानीका क्रममा उहाँले भन्न्ुभयो,“हामी प्रसाईंहरु यक्सोहरुसँग हाङपाङमा कतिसम्म मिलेर बसेको हौँ भने हामीले एकअर्काको देवता पनि साँटेर लियौँ । हामी आफ्नो घरमा जुन देवीदेवताको स्थान बनाउँछौँ, छेउमा तपाईंहरुको आराध्यदेवी युमाको पनि स्थान बनाउँछौँ र नित्य पूजा गर्छौँ ।”

अग्रज सर्जक र गाउँले दाजु कृष्ण प्रसाईंको यस भनाईबाट मेरा कलाकार नाती खगेन्द्र यक्सोको एउटा भनाईको बारम्बार याद आयो । खगेन्द्र आफ्नो वंशको मुन्धुमको खोज अनुसन्धानमा समर्पित ब्यक्तित्व हुन् । म चाहिँ वंशको इतिहासको खोजीमा छु । खगेन्द्र हाङपाङका अग्रज ब्यक्तित्व जयकृष्ण प्रसाईंको सानिध्यमा थिए । जयकृष्ण प्रसाईंलाई म आफू काका सम्बोधन गथेँ । उहाँ दीर्घायु बाँचेर बित्नुभएको पनि धेरै भएको छैन । उहाँसँगको मित्र–सम्बन्धको पाटोबारेमा कुनै दिन लेखौँला । आज भने हाम्रा आराध्यदेवी युमाको प्रसँगतिर म आफ्नो लेखनलाई केन्द्रीत गर्न चाहन्छु ।

प्रसाईंहरुलाई भैयाद (दाजुभाई)को रुपमा स्वीकार गरी आठराई थुमअन्तरगतको हाङपाङमा सुवांगी चलाउने यक्सो सुब्बाहरुले बसोबास गराएका हुन् । जयकृष्ण काकाले खगेन्द्रलाई यक्सोहरुको आराध्यदेवी युमाको स्थान नै बनाएर पूजा गर्ने गरेको देखाउनुभएको रहेछ । यसबाट यक्सोहरुको किपट भूमी हाङपाङमा बसोबास गर्ने प्रसाईंहरुले धार्मिक तथा साँस्कृतिक सहिष्णुता कायम गर्दै यक्सोहरुको आराध्यदेवी युमाको पनि उपासना गर्ने गरेका थिए भन्ने प्रमाणित हुन्छ ।

मेरा बुवा कप्तान आसबहादुर यक्सो (१९६८–२०४२) हाङपाङका प्रसाईंहरु भनेपछि मरिहत्ते गर्नुहुन्थ्यो । त्यसो त हाङपाङका ओली, चुडाल र पाठकहरुप्रति पनि उहाँको त्यतिनै ठूलो सद्भाव थियो । म सानो छँदा धनकुटाको हाम्रै घरमा बसेर प्रसाईं (जनार्दन प्रसाईं), गंगा (गंगा प्रसाईं) र ओली (चन्द्र ओली) कलेज पढ्नुभएको हो । त्यसबेला होस्टलमा बसेर पढिरहेकी गंगाकी दिदी (कृष्णकुमारी प्रसाईं) कहिले काहिँ हाम्रो घरमा आउनुहुन्थ्यो ।

यक्सोको उद्गम
यक्सोहरुले आफ्नो वंशावलीको इतिहास केलाउँदा उनीहरु मुनातेम्बेतिर पुग्छन् । यो क्षेत्र फक्तालुङ हिमाल आसपास पर्छ । त्यहाँ लिम्बूहरुको मौलिक युमा धर्म जोगाउन गाह्रो भएको, बौद्ध धर्मको प्रभुत्वले पेल्दै लगेको लगेको कारण आफ्नो मौलिक धर्म जोगाउन आफूहरु दक्षिणतिर झरेको मान्यता राख्छन्, उनीहरु । वंशावलीअनुसार उनीहरुको पुर्खा मुनाफेनहाङ हुन् । उनलाई मुनाफेन, मुक्केगुवा वा सिक्केथुक्पा पनि भनिन्छन् । उनी साह्रै रिसाहा भएका कारण उनलाई “सिक्केथुक्पा” भनिएको हो ।

सिक्केथुक्पाका छोरा लासाहाङलाई मौलिक धर्म जोगाउने अभियानमा लाग्दा हत्या गरियो । त्यसपछि उनका शक्तिशाली छोरा उवाहाङ (सन् ८४९–८६५)ले राज्यको पुख्र्यौली विरासत थामे । उनी शक्तिशाली लिम्बु राजा थिए । उनले नयाँ धर्मदर्शन समेत प्रतिपादन गरेका थिए । उवाहाङपछि उनका छोरा मावोहाङ सन् ८६५देखि ८८० सम्म १५ वर्ष राजा भए । मावोहाङ निक्कै धार्मिक र प्रतापी राजा थिए । आज पनि उनकै प्रतापका कारण आफूलाई मावोहाङका सन्तान वा मावोहाङवंशी भन्ने लिम्बूहरुमध्ये यक्सोहरु पनि एक हुन् । लिम्बू मुन्धुममा उवाहाङ र मावोहाङका प्रशस्त उपदेश र देववाणीहरु पाइन्छन् ।

मावोहाङका सन्तानहरु
भर्खरै प्रकाशमा आएको यक्सोहरुको वंशावली “यक्सो इ्रत्लाम” ले मावोहाङका सन्तान को को थिए भनी प्रस्ट पारेको छ । वंशावलीअनुसार यहाँ केही तथ्य प्रस्ट पार्ने प्रयास गरिएको छ ।
मुनाफेनहाङका तीन भाई छोरामध्ये जेठा लासाहाङका छोरा उवाहाङ र नाती मावोहाङ हु्न् । माइला खालाहाङका सन्तान काङभा, मावखिम, यरङ्वा, लक्सम र मादेम्वा भए । यस्तै कान्छा इमेहाङका सन्तान लेप्चा भए ।

लासाहाङका चार छोरामध्ये जेठा उवाहाङ, माइला चाङ्वाहाङ, साइला पारावाहाङ र कान्छा मुरेंगन हुन् । तीमध्ये माइलातिर सुवाङसङ् र महरेसङ भए । साइलातिरका सन्तान फुरुम्वो र पालुङ्वाहरु भए । कान्छा मुरेंगनतिर तवेबुङ, मांयुक, ईजम, पतङ्वा, लाबुङ र संसंवो भए ।

उवाहाङका एकै जना छोरा मावोहाङ भए । उनका पनि एकै जना छोरा थिए, मुदाहाङ । मुदाहाङका तीन भाई छोरामध्ये जेठा थाक्मिया, माइला मुरेगन र कान्छा काप्पेनहाङ भए । मुरेगनका सन्तान तुम्वाहाम्फे, सर्वन्दुङ, यङदेन र मादेन फेन्दुवाहरु हुन् ।  यस्तै काप्पेनहाङका सन्तान चाहिँ लेचेन्जे, लेखक्पा, थगम्बा, लुङदेपु, हिदुम, फाक्फेक्वा मावोहरु हुन् ।

जेठा थाक्मियाका सन्तान मुजिवा हुन् । उनका सन्तान चेम्जोङहरु हुन् । कान्छा थाक्काइनहाङका दु्ई छोरामध्ये तागेहाङका सन्तान इङ्वादक, सवेइनाम, फुङदित आङ्छङ्वोहरु भए भने कान्छा सुल्लिफुङका सन्तानहरु नै यक्सोहरु हुन् ।

यक्सो वंशावलीको पुराना मुल कागजमा भने उवाहाङलाई देवानाम्जे, मावोहाङलाई देवारोङ्गे र मुदाहाङलाई देवा फुनजांपा लेखिएको छ । विक्रम सम्वत १९०९ मा लेखिएको यो वंशावलीको कागज पैतृक विरासतका रुपमा मसँग सुरक्षित छ ।

यक्सोहरुको यक ताप्लेजुङको तमरखोलामा रहेको छ । यस क्षेत्रलाई  आराध्यदेवी युमाको तान बुन्ने ठाउँका रहेको मान्यता स्थापित छ ।

मेरो पैतृक अध्यात्मको पाटो
मेरो बुवाले ब्रिटिश गोरखा सेनामा लामो समय सेवा गर्नुभयो । पेन्सन पाक्नासाथ उहाँलाई राणाहरुले कप्तान दर्जा दिए । उहाँ केही वर्ष नेपाली सेनाको कप्तान दर्जामा रही उहाँले सेवा गर्नुभयो ।
लामो समय सेनाको अफिसर उहाँमा धर्म, सँस्कृति, मुन्धुम र इतिहासको राम्रो ज्ञान थियो । उहाँले क्याप्टेन खड्गेन्द्रसिंह आङबुहाङलाई मुन्धुमका कैयौँ आख्यानहरु सुनाउनुभएको थियो । जतिखेर उहाँले यस्ता अख्यान सुनाउनुहुन्थ्यो, म पनि छेउमा बसेर सुनिरहेको हुन्थेँ । पछि ती आख्यानहरु शिवकुमार श्रेष्ठको सङ्कलनमा प्रकाशित “किराती लोककथाहरु” र “किराती लोककथा संगालो”मा पढ्ने अवसर मैले पाएँ ।
मेरो बुवा सैनिक अफिसर भए पनि उहाँमा किपटिया अहम् थियो । म आफू त धनकुटामा जन्मेको परेँ । हाम्रो आठराई हाङपाङको किपटिया विरासतबारेमा म आफू अनभिज्ञ र अनुभवहीन हुने नै भएँ । फेरि म किशोरावस्थामै छँदा बुवा दिवंगत हुनुभयो ।

तर पछि बुवाको बाकस खोलेर हेर्दा हाम्रो किपटिया विरासतका इतिहासका कैयौँ कागज फेला पारेँ । यसबारेमा छुट्टै पुस्तक लेख्ने तयारी गरिरहेको छु । मभन्दा छैटौँ पुस्ताअघिका पुर्खा श्रीवाजको समयदेखिका कागजपत्र सुरक्षित छन्, मसँग ।

भगिराज इङ्नाम र शेरबहादुर इङ्नामद्वारा लिखित ‘तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा’ (२०७०)मा तेह्रथुम आठराई क्षेत्रका ३८ जना लिम्बू सुब्बा तथा कर्ताहरुको नाममा जारी लालमोहर पनि छापिएको छ । विक्रम सम्वत १८९४ माघ सुदी ७ रोज ५मा जारी उक्त लालमोहरमा तत्कालिन राजा राजेन्द्रविक्रम शाहद्वारा सम्वोधन गरिएका ३८ जना लिम्बू सुब्बामध्ये एक जना श्रीवाज  पनि छन् । मसँग पनि श्रीवाजले किपट सम्हालेका विक्रम सम्वत १९०२देखि १९१९ सम्मका कागज सुरक्षित छन् ।

मेरो बुवा कप्तान आसबहादुर इतिहास र सँस्कृतिप्रेमी हुनुहुन्थ्यो । उहाँ हरेक पूर्णिमाको दिन युमाको विशेष पूजा गर्नुहुन्थ्यो । प्रत्येक दिन युमाको आराधना गर्नुहुन्थ्यो । पूजामा मलाई सम्मिलित गराउनुहुन्थ्यो । बुवाको भौतिक चोला उठेपछि उहाँको आध्यात्मिक विरासत बोक्ने कोही भएनन्, हाम्रो घरमा ।

म आफू पनि बडो भौतिकवादी भएर हिडेँ, लामो समयसम्म । त्यसैले पैतृक आध्यात्मिक विरासतबारे अनभिज्ञ रहेँ । वास्ता गरिनँ । घरका केही अगुवा क्रिश्चियन बने । मेरा केही हितैषीले मलाई बाइबल पढ्न दिए । क्रिश्चियन बन्न जोड गरे । कसो कसो म क्रिश्चियन बन्नबाट जोगिएँ ।

केही समययता म इतिहासको अध्ययनमा छु । इतिहासका कतिपय पाटो लेखिरहेको पनि छु । इतिहासको अध्ययनपछि ममा आफ्नो पैतृक आध्यामिक विरासतप्रति आस्था प्रगाढ भएर आयो । मैले अध्यात्मको पाटोबाट युमाको अनुशरण गर्नुको विकल्प देखिनँ । आफूले इतिहासको जगमा उभिएर भविष्य नियाल्ने हो भने पैतृक अध्यात्मको बाटोमा हिड्नु नै उचित देखेँ ।
मौलिक परम्परामा कतिपय कमजोरीहरु हुन सक्छ । तिनहरुलाई पनि सच्याउँदै जानुपर्छ ।

Comment

Related News