h

News

मेरो मनमा विद्वत पूजक

news

- राजकुमार दिक्पाल
साहित्यकार प्रा. रामकुमार पाँडेकहाँ पुगेको थिए, अन्तरङ्ग कुरा गर्न एक दिन । ज्ञानका हिसावले भूगोलविद्, जसले ल्याए उचाई भूगोलको अवधारणा । इतिहासका हिसावले ऐतिहासिक ब्यक्तित्व कालु पाँडेका सन्तान । त्यसबेला म आफू पनि कलेजमा प्राध्यापन गथेँ । पाँडे सरलाई भनेँ,“सर हाम्रा विद्यार्थीहरुले नेपालको भूगोल र इतिहास जान्न छाडे । यिनीहरुले कसरी देशलाई माया गर्लान् ?”

नेपाली हास्यब्यङ्ग्य विधामा समेत ख्याती प्राप्त पाँडे सर मेरो जिज्ञासा सुनेर भावुक हुनुभयो । भन्नुभयो,“सिध्याए । भूगोल र इतिहासप्रतिको रुची नै घटाइएपछि देशलाई बुझेर माया गर्ने पुस्ता पाउन अब गाह्रो हुन्छ ।”

“बुझ्नु भो, इतिहास र भूगोल भनेको दुई आँखा हो”, पाँडे सर जोशिनुभयो । फेरि निराशाभाव प्रकट गर्दै भन्नुभयो,“तर यी दुवै आँखाको महत्व बुझ्न छाडिएपछि अब के अपेक्षा गर्ने र ? देश त अन्धो हुनेभयो ।”

उच्च शिक्षा अध्ययनका क्रममा एक तहको पढाईमा मैले भूगोल विषय राखेको र ब्यक्तिगत अध्ययनको रुची इतिहास विषयमा भएकोले पाँडे सरको निष्कर्षले मेरो हृदय छोयो । नेपालको भूगोल र इतिहासप्रति अनभिज्ञ भावी पुस्ता सम्झेर मेरो चित्त अलिकति रोयो ।
...
धनबज्र बज्राचार्यसँग मेरो भौतिक रुपमा भेट भएन । इतिहास अध्ययनप्रतिको मेरो चेतना उकालो लाग्नुअघि नै उहाँले महायात्रा तय गरिसक्नुभएको थियो । उहाँको बारेमा एक दिन मेरा मित्र बौद्ध विशेषज्ञ बसन्त महर्जनसमक्ष जिज्ञासा राखेँ । बसन्तजीले भन्नुभयो,“अरु त के, तर धनबज्रजस्तो विद्वानको महायात्रापछि एउटा शोक सभाको आयोजना गर्ने विषयमा पनि कसैले चासो राखेनन् । उहाँ दिनदिनै गुमनाम हुँदै गइरहनुभएको छ ।”

नेपालको इतिहासमा लिच्छवीकाललाई स्वर्णकाल मानिन्छ । यहीँ स्वर्णकाललाई अत्यन्तै मिहिन ढङ्गले खोज्ने र त्यसको वैज्ञानिक ब्याख्या गर्ने यी विद्वान दिनदिनै विस्मृत बन्दैछन् । उनलाई विस्मृतिको गर्भतिर विलुप्त बनाउने काममा हामी पनि उत्तिकै जिम्मेवार छौँ । किन हामी हृदयहीन भइरहेका छौँ दिनदिनै ?

बाबुराम आचार्यले नेपालका ऐतिहासिक अभिलेखहरु पढेर त्यसलाई सरल ढङ्गले प्रस्तुत नगरिदिएका भए, नयराज पन्त र संशोधन मण्डलले असाध्यै मेहनत गरेर नेपालका शिलालेखहरु त्यसबेलै पढेर त्यसलाई प्रकाशमा नल्याएका भए के हामीमा हाम्रो इतिहासप्रति गौरव गर्ने सामथ्र्य हुने थियो ?

यता इमानसिंह चेम्जोङको कुरा गरौँ । नेपालका इतिहासकारमध्ये मृत्यूपर्यन्त सबैभन्दा सम्मानित इतिहासकार हुन्, चेम्जोङ । नेपालमा इतिहास लेख्ने वातावरण नभएको बेला सन् १९४८मा सिक्किमको गान्तोकबाट “किरात इतिहास” प्रकाशनमा ल्याएर इतिहास लेखनको क्षेत्रमा महत्वपूर्ण योगदान दिने चेम्जोङलाई राज्यले त सम्झना गरेको छैन । तर लिम्बू समुदायले उनको ठूलो कदर गरेको छ । ठाउँ ठाउँमा उनको प्रतिमा देख्न सकिन्छ । हरेक जनवरी १मा उनको जन्मजयन्ती भब्य रुपमा मनाउँछन् लिम्बूहरुले । जन्मजयन्त स्वदेशमा मात्र होइन, विदेशमा पनि मनाइन्छ । यो लिम्बू जातिको आफ्नो इतिहास र इतिहासकारप्रतिको समर्पण हो । यो अनुकरणीय छ ।

मिति बिर्से, डा. महेशराज पन्तले राजधानी दैनिकमा प्रकाशित एउटा लेखमा नयराज पन्तको जन्मजयन्ती मनाइएको बारे लेख्नुभएको थियो । नयराज पन्तको जन्मजयन्ती मनाउन त्यसबेला सात जना भेला भएका रहेछन् । त्यसको मेसो ज्ञानगुन प्रकाशनले मिलाएको रहेछ । सात जनाकै सहभागिता किन नहोस्, तर विद्वतपूजाको परम्परालाई कम्तिमा पनि ज्ञानगुन प्रकाशन निरन्तरता त दियो । यस्तो सकुर्म गर्ने सद्बुद्धि नेपालमा न राज्यपक्षसँग छ, न त निजीक्षेत्रसँग । बरु खल्तीको पैसा झिकेर शेषराज शिवाकोटीले गरिरहनुभएको छ, यस्तो सुकर्म । यस्तो विद्वत पूजकको पूजा गर्न मन लाग्छ मलाई पनि ।
...
एक दिन वैरागी काँइलाकहाँ पुगेको थिएँ, उहाँका मुन्धुमसम्बन्धी पुस्तकहरुका विमोचनको ब्यवस्थापनको विषयमा सल्लाह गर्न । उहाँसँग अलिकति कोट्याएँ, इतिहासको विषयमा । उहाँले बडो गम्भीर भएर भन्नुभयो,“खोई त, हाम्रा लिम्बूहरु इतिहासप्रति गौरव त गर्छन्, तर गम्भीर भएर अध्ययन गर्दैनन् । संशोधन मण्डलका पन्तजीहरु हुनुहुन्छ, उहाँहरुकहाँ गएर जिज्ञासा राख्दै बसे पनि त हुन्छ ।”
धुम्वाराहीस्थित प्रा. दिनेशराज पन्तकहाँ पुगेको थिएँ, एक दुई पल्ट एउटा सञ्चारकर्मीको रुपमा । वैरागी काँइलाको कुरा सुनेपछि पन्त गुरुसँग नियमित सम्पर्कमा रहन थालेँ, इतिहासको ज्ञानको एउटा भोको मान्छेको रुपमा । उहाँसँगको संगतकै कारण आफ्नो घरमा भएको पुर्खाको पुन्तरो फुकाएँ । कयौं महत्वपूर्ण कागज भेटिए । मभन्दा सात पुस्ताअघि लेखिएको वंशावली भेटियो । १९३२ साल वैशाख सुदि १४ रोज ३मा मेरा बराजु भगिवन्तको विवाहमा ९३ रुपैयाँ १२ आना रीत लिम्बू परम्पराअनुसार ससुराली पक्षलाई तिरेको कागज पनि भेटियो । यी मेरा ऐतिहासिक सम्पतिमाथि मेरा आँखा पर्नुमा वैरागी काँइलाको प्रेरणा र पन्त गुरुले दिनुभएको ज्ञानबाट खुलेको आँखानै प्रमुख कारण होइन र ? के यस्ता गौरव पैसाले खरिद गर्न सकिन्छ ? ती ऐतिहासिक कागजको आधारमा एउटा पुस्तक प्रकाशन गर्ने विचार गरेको छु ।
...
केही महिनाअघि मात्रै प्रा.डा. टङ्कप्रसाद न्यौपानेको भब्य नागरिक अभिनन्दन भयो, इटहरी र धरान गरी दुई ठाउँमा । यो अभिनन्दनको श्रेय त उहाँकै विद्वतालाई जान्छ । तर टङ्क सर यसको श्रेय मलाई पनि बाँड्ने गर्नुहुन्छ । पछिल्लो समय ब्यस्त रुपमा अभिनन्दिन हुने, प्रम्ख अतिथीको रुपमा विभिन्न साहित्यिक समारोहमा निम्त्याइने ब्यक्तित्व हुनुभएको छ टङ्क सर ।
कुरा के भने उहाँको विद्वताको परख मैले पनि गरेको थिएँ । यसबारेमा केही कुरा प्रकाशमा ल्याउन प¥यो भनेर उहाँसम्म पुगेँ । अन्नपूर्ण पोस्ट्को परिशिष्टाङ्कमा २०६६ माघ ६ गते उहाँको बारेमा लेखेको रहेछु,“सँस्कृतबाट बाह्रखरी, आठपहरियामा विद्यावारिधि ।” यो फिचरबाट धेरैले उहाँको विद्वताबारे थाहा पाएपछि आफूलाई सम्मान गर्न थालिएको हो भन्ने धारणा उहाँ स्वयम्ले मलाई भन्नुभएपछि पत्याउन करै लाग्यो ।

त्यहीँ लेखबाट प्रभावित भएर विद्वतपूजक शेषराज सरले उहाँलाई “अक्षरको अभिवादन”मा समेट्नुभएछ । यो कुरा पनि शेषराज सरले फेसबुकमार्फत ब्यक्त गर्नुभएपछि मैले पत्याएको हुँ । जे होस, विद्वतपूजाका लागि दुई थोपा मसी र पसिना बगाइएछ भन्ने लाग्छ ।
...
अहिले पैसा र बैंश हुनेको मात्र गुणगान गर्ने चलन छ । म आफै पनि सञ्चारमाध्यममा लामो समय आवद्ध भएको र आमसञ्चार तथा पत्रकारिता प्राध्यापन गरिसकेको ब्यक्ति । मेरो निष्कर्ष छ, नेपाली सञ्चारमाध्यम ब्यापारिक भए र सञ्चारकर्मी त्यसका कारिन्दा । त्यसैले सञ्चारकर्मीहरु बलेको आगो ताप्ने होडमा छन् । म भन्छु, सञ्चारमाध्यमले त निभ्न खोजेको आगोलाई पनि बाल्नुपर्छ  ।
यस्तो बेला विद्वत पूजाको परम्परा पुरै ओझेलमा परेको छ । तर विद्वत पूजाको परम्परालाई गोजीबाट पैसा निकालेर शेषराज सरले धान्नुभएको छ । मलाई उहाँको अभिनन्दन गर्न मन लाग्छ, अक्षर र शब्दहरुमार्फत । उहाँको सुकर्मको गुणगान गाउन मन लाग्छ, हृदय खोलेर ।
नमस्ते सर ।

Comment

Related News