h

News

१८४८ सालको त्यो लिम्बू विद्रोह (भाग १)

news

- राजकुमार दिक्पाल --
हालः सशक्त रुपमा जातीय पहिचान माग गर्ने नेपालका आदिवासी जनजातिमध्ये लिम्बूहरुले वि.सं. १८४८ मा राज्यविरुद्ध विद्रोह गरे । अहिले पनि लिम्बूहरु जातीय पहिचानको आन्दोलनमा सशक्त छन्, यसमा उनीहरुसँग रहेको ऐतिहासिक विरासतको भूमिका निक्कै महत्वपूर्ण छ । पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानका क्रममा गोरखालीहरु पल्लो किरात लिम्बुवानमा पुग्दा कतिपय लिम्बूहरु लडे, कतिपयले गोरखालीहरुसँग सम्झौता गरे । लिम्बुवान भूमीमा लड्दा हार खाएका लिम्बूहरु सिक्किम पसे र त्यहाँबाट पनि गोरखालीहरुसँग लड्न छाडेनन् । त्यसैले पल्लो किरात लिम्बुवानमा शान्ति कायम हुन निक्कै वर्ष लाग्यो । लिम्बूहरुले आफ्नो गुमेको राज्यका लागि गोरखाली शासकसँग पटक पटक विद्रोह गरेको इतिहास पाइन्छ । लिम्बूहरुले सिक्किमको पक्षमा लागेर निक्कै ठूलो विद्रोह यो विद्रोहलाई पुष्टि गर्ने ऐतिहासिक कागज पत्र पाइएकाछन् । तिनै ऐतिहासिक पत्रहरुका आधारमा वि.सं. १८४८को लिम्बू विद्रोहको इतिहास खोतल्ने प्रयास गरिएको छ ।

लिम्बू शब्दको प्रयोग
“लिम्बू” शब्दको अर्थ धनुबाण र यसबाट प्राप्त बिजयसँग पनि जोड्न खोजिएको छ । इतिहासकार इमानसिंह चेम्जोङले लिम्बू शब्दलाई यसरी अथ्र्याएका छन् । आठ आपुंगी राजालाई १० सरदारले युद्धमा जितेपछि धनुर्वाणको सहयताले जितेको हुनाले त्यसको नाम लिम्बुवान राखियो । “लि”को अर्थ धनु, “आबु”को अर्थ हान्ने (हान्यो) र वानको अर्थ नाम लगाउने अर्थात किराती भाषामा धनुर्वाणले जितेको देश लिम्बुवान हुन पुग्यो (चेम्जोङ, २०५९)।

लिम्बूहरुले आफैले चाहिँ आफूलाई याक्थुङ्वा भन्ने गर्छन् । “याक्थुङ्वा” याक्थुङ् भाषाको “यक” र “थुङ्वा” वा “थुम्वा” मिलेर बनेको छ । ‘यक’ को अर्थ गढी किल्ला अँग्रेजीमा फोर्ट हो भने “थङ”को अर्थ  “सुरक्षा” वा “सामथ्र्य” हुन्छ । यसरी शब्द ब्यूत्पतिका आधारमा याक्थुङ्वाहरु कुनै खास विशेष गढी अन्तर्गत संरक्षित, सम्बन्धित र त्यस गढीको सामथ्र्य राख्नेहरु हुन् (चेम्जोङ, २०६७)।

लिम्बूभन्दा पहिले याक्थुङ्वाहरुले आफ्नो नामको पछाडी राय पद्वी राख्ने गरेको पाइन्छ । मोरङका राजा साङलाइङपछि उनका छोरा पुङलाइङ राजा भए । उनले हिन्दु मत ग्रहण गरी आफ्नो नामलाई अमर राय पदले सुशोभित गरे । उनको छैटौँ  पुस्तामा विजयनारायण राय राजा भए । राजा विजयनारायणले फेदाप थुमका मुरेहाङसँग मित्रता गाँसी आफ्नो राज्यमा बोलाई चौतारिया बनाए । मुरेहाङले पनि पनि आफ्नो नामलाई “राय” पदबाट सुशोभित गरेपछि (चेम्जोङ, सन् २००३) लिम्बू सुब्बाहरुको नामपछाडी राय वा राई पद्वी रहन थालेको पाइन्छ ।   

लिम्बू शब्दको प्रयोगको इतिहास हेर्दा वि.सं. १८३१ भन्दा उता जादैन । गोरखा राज्य विस्तार अभियानका क्रममा पल्लो किरात अम्बल गर्दा पृथ्वीनारायण शाहले लिम्बू सुब्बाहरुलाई १८३१ साउन २७ गते सोमबार  दिएको लालमोहरमा लिम्बू र लिम्बुवान शब्द परेको छ (राजवंशी, २०२५)।

यस्तै रणबहादुर शाहको नामबाट जोगनारायण मल्लको नाममा जारी गरिएको वि.सं. १८३५ वैशाख बदि ४ को लालमोहर (पन्त, २०४०)मा पनि “काज परिआया भनि लिम्बूहरु भन्न आया र भोट्या र लिम्बू पाट्याको ता हाम्रो सबै हो भन्या जस्तो लाग्या र हान भनि वचन दिऔं भनि लेष्याछौ.सुन्यौ. लिम्बू र भोट्या फोर्नु हाम्रो सब्यै हो” लेखिएकोले हज्जन पाण्डुलिपीको अनुवाद पृष्ठ ११० अनुसार वैरागी काँइलाले भनेजस्तै लिम्बूहरुले आफूलाई याक्थुङ्वा, पर्वते ले लिम्बू र लाप्चाले चोङ भन्ने गरेको (वनेम, २०७०) स्पष्ट हुन आउँछ ।

बरु सिमानामा बस्ने भएकोले याक्थुङ्वाहरुलाई अरुले लिम्बू भनेको देखिन्छ । जीव र चिकित्सा विज्ञानको शब्दकोशमा “लिम्बस”को अर्थ बोर्डर जोन हुने र ल्याटिन भाषामा पनि “लिम्बस” भनेको  प्रदेश हो । यो प्रसँगलाई याक्थुङ्वाहरुको बसोबासको वास्तविक भौगोलिक क्षेत्रसमेत नेपाल, सिक्किम र ब्रिटिश भारतको फ्रन्टियरसँग गाँस्दैै त्यसको राजनीतिक प्रासँगिकतासँग जोडेर हेर्न सकिन्छ (चेम्जोङ, २०६७)।

याक्थुङ्वाहरुलाई तिब्बतीहरुले “लिङ्स–पो वा लिङ्स–वो” शब्दबाट सम्वोधन गरेको बिषयमा पनि विचार गर्न सकिन्छ । तिब्बती लेखाईमा “लिङ्स–पो वा लिङ्स–वो”को अर्थ टाढिएको, सीमान्त क्षेत्र वा अनकन्टार जंगल इलाकामा शिकारी भई पसेर हराएको भन्ने लाग्छ (ढुङ्गेल, २०६९)।

हुन पनि लिम्बूहरुको बसोबास त्यसबेला तिब्बत, सिक्किम, ब्रिटिश भारत र भुटान सँग निकट सिमानामा रहेकोले सिमानाको बासिन्दाको अर्थमा याक्थुङ्वाहरुलाई गोरखाली शासकहरुले लिम्बू भनेका हुन् ।

लिम्बू सुब्बामा फुट र केहीको सिक्किम पलायन
पल्लो किरात लिम्बुवान गोरखा राज्यमा गामिनुअघि विजयपुरका सेनहरुलाई लिम्बूहरुले राजा मान्थे । तर सेन राजाहरुको राजनीतिक अधिकार आदर्शको रुपमा मात्र किरात प्रदेशमा कायम भए तापनि त्यस क्षेत्रका स्थानीय सामन्तको रुपमा पहिलेदेखि नै पुस्तौनी रुपमा कार्यरत किरात दिवान राय तथा हाङहरुको नै स्थानीय शासनमा हात हुन्थ्यो । पल्लो किरातमा पनि लिम्बूहरुका दश जना दलपति “हाङ”हरुले नै बास्तविक शासन चलाउँथे । त्यसै हुनाले पल्लो किरातलाई दस लिम्बुवान भनिने चलन रहेको हो (ढुङ्गेल, २०४६)।

पृथ्वीनारायण शाहले राज्य विस्तार अभियान गर्दै जाँदा गोरखाली सेना वि.सं. १८३० चैतमा चैनपुर पुग्यो (आचार्य, २०३८) । त्यसबेला १० लिम्बू १७ थुममा १२ जना नामी सुब्बाहरु थिए । तीमध्ये फेदापको आतहाङको नेतृत्वमा तम्बरखोलाको शुभवन्त राय, मैवाखोलाका श्रीदेव राय र मेवाखोलाका रैनसिंह राय गोरखासँग मिले । आठराईका श्रीजंग राय, पाँचथरका फुङ (कुम) राय र चौविसका जमुन रायलाई पनि लालमोहर दिएर पृथ्वीनारायण शाहले उनीहरुसँग सम्झौता गरे  । चैनपुरमा  घमासान युद्ध हुँदा त्यहाँ सुब्बा हार खाई सिक्किमतिर पसे । यता गोरखालीसँग नमिल्ने छथरका सुनुहाङ राय, याङरोकका योङ्याहाङ राय र चारखोलाका आसदेव राय आ–आफ्नो गढमा बसी लड्दै रहे । तर हातहतियारको अभावले उनीहरुले हार स्वीकार गर्नुपर्यो । आफ्नो देश छाडी सिक्किम पसे तापनि शत्रु सेनासित लड्न उनीहरुले छाडेनन् (चेम्जोङ, २०५९)।

पल्लो किरात लिम्बुवान आफ्नो अधिकारमा ल्याइसकेपछि पृथ्वीनारायण शाहले आफ्नो विजयको बारेमा भगवन्तनाथदेवलाई वि.सं. १८३१ भाद्र सुदि ६ रोज ६ मा लेखेको पत्रमा “किरात अम्बल भएको मधेशमा कन्काइ नदी, पहाडमा सभाखोला तमोर नदीको साँध लागेको ८५ जनाभन्दा बढि काटिएको, कति भागेर मुगलान र कति सुखिमतिर गएको” भन्ने (योगी, २०५५) परेकोबाट युद्धमा हारेका वा बाँचेर  गोरखासँग बदला लिने मनसुवा भएका लिम्बू सुब्बाहरु सिक्किमतिर गएको प्रष्ट हुन्छ ।

चैनपुरको युद्ध र लिम्बू विद्रोह
नेपाल र तिब्बतबीच युद्ध चलिरहेको बेला वि.सं. १८४८ मा सिक्किमले फेरि चैनपुरमाथि कब्जा जमायो । सिक्किमका पक्षमा लागेर लिम्बूहरुले विद्रोह नै मच्चाएका थिए । त्यसबेला सिक्किमले चैनपुर किल्ला र त्यसअन्तर्गतको सिद्धिपुर किल्ला पनि कब्जामा लिइदियो । भोटे र सिक्किमेहरुले चैनपुर फिर्ता लिएपछि गोरखा पक्षका सैन्य र जनता भागेर अरुण पश्चिम जानु परेको थियो । तर पछि गोरखा पक्षका मानिस मरेमा मृतकको शब भने चैनपुरमै ल्याउनुपर्ने परम्परा रहेको कुरा गरी शब गाड्न चाहिँ चैनपुरमै लग्ने भन्ने बाहना पारी त्यसका निम्ति भोटे र सिक्किमेसँग स्वीकृति लिई हातहतियारको मुर्दा बनाउँदै  चैनपुर खलङ्गाको बनभित्र थुपार्ने चलाखी स्थानीय योद्धाहरुले गरेका थिए (ढुङ्गेल, २०४६)। किरात प्रदेशमा सिक्किमे सैनिकहरुले आक्रमण गर्द त्यहाँ घरबास भएका केही लिम्बूहरु विपक्ष सैनिकसँग मिलेका थिए (आचार्य, २०६३)।

चैनपुरको युद्ध र लिम्बूहरुको विद्रोहका बारेमा तत्कालिन राजा रणबहादुर शाहको नामबाट जाजरकोटी राजा गजेन्द्र शाहलाई युद्ध सकिनासाथ वि.सं. १८४८ साल चैत्र शुक्ल २ रोज ६मा लेखेको पत्र (योगी, २०५५ः)मा चैनपुर युद्ध र लिम्बूहरुको संलग्नताबारे बुझ्न सकिन्छ । पत्रअनुसार गोरखालीपक्षबाट चैनपुर युद्धको दृश्य यस्तो छ ः

विजयपुरतिर अरुण नदीपार सुखिम चैनपुरमा चिनिया भोटेसमेत आए । लिम्बूवान लाप्चालाई भित्र खर्च दिएर विद्रोह गरी एक दुई जग्गा लिएको थियो । पाँच सात हजार वैरी आएका रहेछन् । विजयपुरका सुब्बा पूर्णानन्द उपाध्यायले पठाएको एक दुई कम्पनी फौज सामेल भई सिद्धपोखरीमा तीन ठूला ठूला खलंगा बारी बसेको बैरीलाई दुईतिरबाट छेकेर आक्रमण गरियो । बैरी पक्ष एकै जना पनि उम्कन नपाई काटिए । खलंगाभित्रै पाँच सय वैरीका गीड पुगेको थियो । करुवाङसहित काजी काटिए । अरु दुई चार जना पनि काटिए । यो थाहा पाएपछि हामीले बढाईं गर्यौ, त्यतितिर पनि बढाईं गर्नुहोस । यो युद्ध वि.सं. १८४८ साल फागुन–चैतमा भएको थियो (आचार्य, २०४१ः१३)।

यस युद्धको प्रसँग “प्राचीन नेपाल” (श्रावण २०३०)मा प्रकाशित “नेपाल देशको इतिहास” मा पनि परेको छ । यसमा उल्लेख भएअनुसार शाके १७१३  किराती मूलुकमा लिम्बूहरुले कुल  गर्दा सरदार बदलसिंह बस्नेत, सुब्बा पूर्ण पाध्या र सुब्बा अदल सैन्य लिएर विजयपुर गएका र वैरीको लस्कर ठूलो छ भन्ने खबर आउँदा काजी देवदत्त थापाको नेतृत्वमा काठमाडौंबाट फौज पठाइएको र सिद्धिपुरमा ठूलो लडाई हुँदा वैरी फौजलाई साफसँग काट्दै धपाएर कनकामा खाँडो पखाली कद्रुहीमा आइ बसेको उल्लेख छ ।
विद्रोहबारे यस्तो लेखिएको छ ः

शाकै १७१३ मा किराती मुलुकमा लिम्ब्रहरुले कुल गर्दा अघि सरदार बदलसिंह बस्नेत सुब्बा पूर्ण पाध्या र सुब्बा अदलज्यू कम्पनी समेत लिई विजयपुर गएका थिए । वैरीको लश्कर भारी छ भन्ने अर्जी आउंंदा श्री ५ सरकारबाट काजी देवदत्त थापा, सरदार प्रतिमन राना, सुब्बा निधिरत्नज्यू, कोसत आले।, श्रीनाथको सुबेदार बक्ताबरसिंह बस्नेत, पुराना गोरखको सुबेदार अम्भोज खवास, वरखको सुबेदार अम्बरसिंह थापा र रणभीमको सबेदार दशरथ खत्री खटिए । उनीहरु फौजको साथ लिई अघि गएका लस्करमा सामेल हुन पुगे । सिद्धिपुरमा दुई तर्फको ठूलो लडाई हुंदा वैरीका फौजलाई साफसंग काट्दै धपाई कनकामा खाडो पखालेर कद्रुहीमा आइ बसेका थिए ।

बाँकी लेख क्रमश >>>>>>>>>>>>>>>>>>>>>>>

 

Comment

Related News