h

News

१८४८ सालको त्यो लिम्बू विद्रोह (भाग २)

news

- राजकुमार दिक्पाल --

-- राजकुमार दिक्पाल --

लिम्बू विद्रोहबारे ऐतिहासिक पत्रहरु

त्यसबेला हस्तलिखित पत्र र मानिसद्वारा आदान प्रदान गरिने मौखिक खबर नै सञ्चार साधनको रुपमा प्रचलित थियो । राजदरबारबाट पठाइने पत्रहरुलाई रुक्का वा लालमोहर भनिन्थ्यो ।
वि.सं. १८४८ मा चैनपुरमा नेपालको तिब्बत र सिक्किमसँग भएको युद्धमा लिम्बूहरुले विद्रोह गरी सिक्किमको साथ दिएका थिए भन्ने प्रमाणका रुपमा दुई वटा रुक्का ऐतिहासिक पत्रका रुपमा प्राप्त भएका छन् । यस्तै वि.सं. १८४८ अघि पनि लिम्बुवान क्षेत्र अशान्त थियो र त्यसमा लिम्बुवानबाट सिक्किम गएका सुब्बाहरुको हात थियो भन्ने संकेत गरिएको अर्को ऐतिहासिक पत्र पनि प्राप्त भएको छ । सिक्किमसँग मिलेर भए पनि आफ्नो गुमेको राज्य पुन प्राप्त गर्ने नै लिम्बूहरुको विद्रोहको प्रमुख कारण हो भन्न सकिन्छ ।  यस लेखमा ती पत्रहरुमा लेखिएको भाका प्रस्तुत गरिएको छ ः

(पत्र संख्या ः १)

स्वस्तिश्री मन्मंहाराजाधिराज कस्य रुक्का  ——————————————————
आगे. फागु. सिर्देउराईके. तेरो वावु. वराज्युका पालादेषिको किपटजिमिन. तेरा भाई विरादार. मुसा पर्जा. अठचालिस सालमा कुल हुँदा. भागि. ठडियाका. प्रजा. थामिबक्स्यौं. भोट. मधेश गयाका. झिकि. बस्ति बसाई. भोग्य गर. इति सम्वत १८५२ साल मिति अधिके भाद्र शुदि ७ रोज ६ कांतिपुर सुभम्——————————


मैवाखोलाका प्रभावशाली सुब्बा सिर्देउ रायलाई राज्यका तर्फबाट प्रदान गरिएको यो रुक्काले वि.सं. १८४८ मा लिम्बूहरुले विद्रोह गरेको स्पष्ट संकेत गरेको छ । लिम्बूहरुले विद्रोह गरेको चार वर्षपछि प्रदान गरिएको यो रुक्कामा सिर्देउ रायका भाईबन्धु लगायत पर्जा (लिम्बू)हरु विद्रोह हुँदा कतिपय भागिगएका भए तापनि उनीहरुको किपट जमिन थामिएको स्पष्टै उल्लेख छ । साथै भोट तथा मधेशतिर भागि जानेलाई भिकाएर बस्ती बसाई जग्गा जमिन उपभोग गर्न भनी सिर्देउलाई जिम्मा दिइएको छ ।

यसअघि रणबहादुर शाहले विजयपुरमा प्रशासन चलाएर बसेका सुब्बा पूर्णानन्द उपाध्ययलाई लेखेको लालमोहरको  भाकाअनुसार लिम्बूहरुले विद्रोह  गर्ने गरेको स्पष्ट संकेत प्राप्त हुन्छ । वि.सं. १८५० आषाढ सुदि ७ मा लेखेको पत्रअनुसार पूर्णानन्दले राजदरबारमा खबर गरेअनुसार गान्तोकका  छत्रजीत (सत्रजीत?) ले लिम्बूहरुलाई विद्रोह गर्न सल्लाह दिने गरेका थिए । यता रणबहादुर शाहले पूर्णानन्द उपाध्ययलाई सिक्किमका  भोटेलाई मात्र नभई लिम्बूहरुलाई पनि विश्वास नगर्न आदेश दिएका छन् (रेग्मी, सन् १९७१ ) ।

(पत्र संख्या ः २)
स्वस्तीश्री मन्माहाराजधिराज कस्य रुक्का  ——
आगे फागु सिरदेव रायेप्रति अघि तिमिहरुले सुषिमसित मिली कुल गरेर ल्याये पनि हारेउ सुब्बाहरुले दांड लीया कुल ग¥याको सासना भयाको छैन. येस साल फिरी पूर्वतिर काज अडिव सवै लीम्बुका नाउमा मोहर जान्छ मोहर बमोजिम हात हतियार सित सुबा पगरी कुरिया प्रजा झारा भै सुव्वा पूर्नानन्द उपाध्याको सामील हौ येताबाट जान्या भारदार औ सुव्वाका सल्लाहले जतातिर खटाउछन् उसैमुख जाई काज गर अघिका जस्तो कुलचुल परिपंच ग¥या सास्ना दुःख पाउला सोझो निपिकन काजमा वस्या तम्रो मीहेनत सेवा माफिक गौरव रीस्ति गरि वक्सौंला इति सम्वत १८४८ साल भाद्र शुदि २ रोज २ शुभम्——


यस रुक्कामा पनि राज्यले सिरदेउ (सिर्देउ) रायलाई नै सम्बोधन गरेको छ । यस रुक्काबाट वि.सं. १८४८ को फागुन चैतमा भएको विद्रोहअघि पनि लिम्बूहरुले सिक्किमसँग मिलेर विद्रोह गरेको स्पष्ट उल्लेख गरेको छ । चैनपुरको युद्धभन्दा ६ महिनाअघि दिइएको यो रुक्कामा उल्लेख छ । अघिल्ला विद्रोहमा लिम्बू सुब्बाहरुले विद्रोह गरेको भए तापनि कारवाही नगरिएको उल्लेख गर्दै रुक्कामा फेरि पनि लिम्बूहरुको नाममा लालमोहर जारी गरिने हात हतियार पनि उपलब्ध गरिने उल्लेख छ । साथै त्यसबेला विजयपुरमा रहेर पल्लो किरातको प्रशासन चलाइरहेका सुब्बा पूर्णानन्द उपाध्ययको टोलीमा झारासहित सामेल हुन र राजधानीबाट खटिएर जाने भारदार र सुब्बाले जता खटाउँछन् त्यतै खट्न आदेश दिदै फेरि पनि विद्रोह गरे कारवाही गरिने चेतावनी पनि दिइएको छ । तर यस्तो चेतावनीबाट विचलित नभई लिम्बूहरु वि.सं. १८४८को विद्रोहमा सहभागी भएका थिए ।  

(पत्र संख्या ः ३)
स्वस्ति श्री गिरिराज चक्रमुडामणि नरनारायणेत्यादि विविध विरुदावलि विराजमान मानोन्नत श्रीमन महाराजाधिराज रणबहादुर शाह देवानाम सदा समर विजयिनाम .............
स्वस्ति श्री सर्वोपमायोग्य श्री देवपति राय थामावुं राय श्री बहीनामसा राय श्री फेन्दुवा राय श्री शाभामुधा राय श्री थेवेसिं राय श्री जसमुषा राय श्री गोथिम राय श्री सां राय श्री नामसाहां राय श्री इगुमसेदी राय श्री पोतवा राय श्री ओङदेवा राय श्री फोवोहांग्या राय श्री यंवा राय श्री षिंभिदिंग राय श्री पात्लुवा रायके आशिषपूर्वक पत्रमिदं यहाँ कुशल ताहाँ कुशल चाहिये आगे यहाँको समाचार भलो छ उप्रान्त जीहाको निमिष खायाको थियो सेवकको गर्नु निमिष सक्दो गर्नुछ ग¥यौ आज हाम्रो पाव भनी आयौ त तम्रो पिछा लियौ बस्र्दास्ती गरौला हिजो तिमीहरुले पारि बसी लुटपीट गोवध खतछित् ग¥याको सब माफगरिबक्यौं हाम्रा पिछा प¥यापछि गोवध नगर्नु पारी हुँदा ग¥याको षत वापत तिमीहरुलाई कसैले दराउतम्बी ग¥या अप्सरिया होला निमिषको साझो गरी टहलमा रुझु रहु तिमी सुबा सुबाहरुको षातिरजामासित पजनी भेटाई आज तम्रो खायन पायन जस्को जस्तो जस्तो छ जाँची बुझि लाजिमा माफिक बनाइबक्सौंला सर्वथा चाँडो गरी आज ढिलाइ नगर उप्रान्त तम्रो ज्या लुटपिट ग¥याकोमा हामीले माफ गरिबक्स्याकोछ जस्ले लुटपिट लियाको छ मागी लेउ. तिमीले माग्दामा नदिया अप्सरिया हुनेछ तसर्थ तिमीहरु चाडो गरी आयापछि सबै कुराको बन्दबस्त गरिबक्सौंला । इति सम्वत १८४३ जेष्ठ सुदी रोज २ शुभम्...


वि.सं. १८३१ मा पल्लोकिरात लिम्बुवान गोरखा राज्यका गाभिएपछि कतिपय लिम्बू सुब्बाहरु सिक्किम पलायन भएका थिए । रणबहादुर शाहले वि.सं. १८४३ मा सिक्किम पलायन भएका १७ जना लिम्बू सुब्बाको नाममा जारी गरेको यो लालमोहरले पनि सिक्किमतिर पलायन भई गएका लिम्बू सुब्बाहरुलाई नेपाल बोलाइएको छ । उनीहरु प्रायः तमोर पारीका छन् । सिक्किम पलायन भएका लिम्बू सुब्बाहरुले सिमाक्षेत्रमा विभिन्न प्रकारका लुटपाट गरी असन्तुष्टि जनाएका थिए । यसरी सिमा क्षेत्रमा बसेर लुटपिट गरेको तथा गाई मारी खाएकोमा माफ दिदै चाँडोभन्दा चाँडो नेपाल आउन पनि आह्वान गरिएको छ ।
यी ऐतिहासिक पत्रहरुले पल्लो किरात लिम्बूवान क्षेत्रमा पटक पटक लिम्बूहरुले आफ्नो राज्य गोरखा राज्यमा गाभिइसकेपछि असन्तुष्टि जाहेर गरेका र विद्रोह मच्चाएको प्रमाणित गर्छ ।

अहिले जातीय पहिचानको आन्दोलनमा लिम्बू संस्था र लिम्बुवानवादी राजनीतिक दलहरुको सक्रियता निक्कै ठूलो छ । उनीहरुको यस्तो माग र माग पुरा गराउन जारी आन्दोलन  सशक्त हुनुमा उनीहरुको पुर्खाको इतिहासको विरासत, लिम्बुवानको सिमान्त र संवेदनशील भूगोलको भूमिका ठूलो छ । इतिहासमा कोहि गोरखा राज्यसँग मिल्ने र कोही युद्ध लड्ने देखियो । युद्धमा हारे भए सिमानापारीको सिक्किममा जाने र त्यहाँ बसी असन्तुष्टि जनाउने र गुमेको राज्यका लागि विद्रोह सामेल भइरहने गरेको पनि देखियो । यसैको सेरोफेरोमा नेपाल र सिक्किमबीच वि.सं. १८४८ मा युद्ध हुँदा विद्रोह गरी लिम्बूहरुले सिक्किमको पक्ष लिएका हुन् ।  


सन्दर्भ सामग्री

पुस्तकहरू
१. आचार्य, बाबुराम । (२०६३) । नेपालको संक्षिप्त वृत्तान्त । काठमाडौं ः प्रा. श्रीकृष्ण आचार्य ।
२. चेम्जोङ, इमानसिंह । (२०६१) । किरात इतिहास । ललितपुर ः किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालय ।
३. चेम्जोङ, इमानसिंह । (सन् २००३) । किरातकालिन विजयपुरको संक्षिप्त  इतिहास । ललितपुर ः किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालय ।
४. चेम्जोङ, इमानसिंह । (२०६३) । किरात इतिहास र सँस्कृति । ताप्लेजुङ ः डिल्लीबहादुर लिवाङ र अरु ।
५. योगी, नरहरिनाथ । (२०५५) । इतिहास प्रकाशमा सन्धिपत्र संग्रह । रोल्पा ः बालाराम घर्ती मगर ।
६. वनेम, देवेन्द्र कुमार । (२०७०) । सिन्धोलुङ फागो वनेम वंशावली, इतिहास र मुन्धुम । धरान ः वनेम कल्याण संस्था ।
७. श्रेष्ठ, शिवकुमार । (२०६८) । लिम्बूवानको ऐतिहासिक अध्ययन । ललितपुर ः साझा प्रकाशन ।

पत्रिका तथा जर्नल
१. आचार्य, बाबुराम । (२०३८ भाद्र) । नेपाल राज्यको स्थापना । पूर्णिमा (पूर्णाङ्क ५०) । काठमाडौं ः संशोधन मण्डलद्वारा देवीप्रसाद भण्डारी । पृ. २२
२. आचार्य, बाबुराम । (२०४१ चैत्र ) । बहादुर शाहको मुखत्यारी (३) भोटमा फेरि युद्ध, सुखिममा अधिकार र चिनियाको आक्रमण । पूर्णिमा (पूर्णाङ्क ६३) । काठमाडौं ः संशोधन मण्डलद्वारा देवीप्रसाद भण्डारी । पृ. १३
३. ढुङ्गेल, रमेश । (२०४६ भदौ–असोज) । पल्लो किरातको चैनपुर ः एक महत्वपूर्ण ऐतिहासिक प्रदेश । प्राचीन नेपाल (संख्या ११३) । काठमाडौं ः पुरातत्व विभाग । पृ.४ र १०
४. ढुङ्गेल, डा. रमेशकुमार । (२०६९ असोज) । लिम्बू कि याक्थुङ । हिमाल असोज १–१४ । ललितपुर ः हिमाल मिडिया प्रा. लि. । पृ. २२
५. थापा, रमेशजंग (सम्पा.) । (२०३० श्रावण ) । नेपाल देशको इतिहास । प्राचीन नेपाल (संख्या २४) । काठमाडौं ः पुरातत्व विभाग । पृ. २
६. पन्त, दिनेशराज । (२०४० चैत्र) । श्री ५ रणबहादुर शाहका नौवटा अप्रकाशित लालमोहर । पूर्णिमा (पूर्णाङ्क ५८) । काठमाडौं ः संशोधन मण्डलद्वारा देवीप्रसाद भण्डारी । पृ.३२
७. राजवंशी, शंकरमान । (२०२५ वैशाख) । श्री ५ पृथ्वीनारायण शाहका लालमोहर र धैबुङको अभिलेख । प्राचीन नेपाल (संख्या ३) पृ. २९–३०


अखबार
१. चेम्जोङ, डम्बर (२०६७, वैशाख २) लिम्बुवान नामको राजनीतिक पक्ष । कान्तिपुर, पृ. ७

अनुसन्धान श्रृंखला
१. रेग्मी, महेशचन्द्र (सम्पा.) । (डिसेम्बर, १९७१) । नेपाल सिक्किम र इस्ट इन्डिया कम्पनी सन् १७९३ । रेग्मी रिसर्च सेरिज (वर्ष ३ अंक १२)। काठमाडौं ः रेग्मी रिसर्च सेन्टर । पृ.२७८–२७९

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको जर्नल “आदिवासी जनजाति जर्नल” (असोज २०७३) मा लेख राजकुमार सुब्बाको नाममा  प्रकाशित गरिएको छ ।

पूरा लेख यहाँ छ >>>>>>>>

 

https://goo.gl/4ieA8R

Comment

Related News