h

News

देवकोटा प्राय: भन्थे ~म मर्न चाहन्छु : महाकवि र रामहरि जोशीको प्रसङ्ग

news


•••
महाकवि लक्ष्मीप्रसाद देवकोटा भारत पुगेपछि उनको व्यवहार धेरै असन्तुलित भयो । २००५ सालको कुरा हो– त्यति बेला देवकोटा कोलकाताको पार्कसर्कसको स्लामक्यासलमा रामहरि जोशी र जयनारायण गिरीको डेरामा साँगी लागेका थिए । त्यति बेला जोशी आफ्नो बेतको खाटमा देवकोटालाई सुताएर आफू भूइँमा ओछ्यान लगाएर सुत्थे । त्यहाँ जोशीसँग भूइँमा सुत्नेहरूमा ईश्वर बराल, जयनारायण गिरी र नारायणप्रसाद भट्टराई पनि थिए ।

एक रात सबै जना सुतिरहेको बेला राति अकस्मात् देवकोटा जुरुक्कै उठे र कराउँदै झ्यालतिर लागे । अनि तीन तलाको त्यो झ्यालबाट उनले हामफाल्न खोजे । त्यति बेला थाहा पाएर बराल र भट्टराईले समाएर देवकोटालाई ओछ्यानमा राखे । अनि त्यति बेला देवकोटाले लामो सुस्केरामा भने I "want to see God . I want to die (अर्थात् म ईश्वरलाई हेर्न चाहन्छु । म मर्न चाहन्छु ।)” त्यसपछि उनले आफ्ना दुवै हातले टाउकोमा छिट्टोछिट्टो मुड्की हान्न थाले र केही बेरमा उनी ओछ्यानमै लडे । उनी भोलिपल्टको बिहान फेरि सधैँ झैँ सामान्य अवस्थामा देखिएका थिए ।

देवकोटा मिलनसार थिए । उनी जस्तो परिकारका मान्छेसँग पनि घनिष्ट हुन सक्थे । त्यहीक्रममा उनको रामहरि जोशीसँग पनि घनिष्टता थियो । उनीहरूमाझ त्यो सम्बन्ध देवकोटाको भारतको कोलकाता भ्रमणबाट स्थापित भएको थियो । जोशीको निमन्त्रणामा देवकोटा कोलकाता गएका थिए । त्यति बेला जोशी नेपाली विद्यार्थीहरूको सङ्गठन हिमाञ्चल छात्रसङ्घका साहित्यमन्त्री थिए ।

देवकोटालाई हिमाञ्चल छात्रसङ्घले २००५ साल माघ ३ गते छ सय रुपियाँ पुरस्कार खामेर एउटा भव्य अभिनन्दन गर्यो । त्यति बेला महाबोधी सोसाइटी हलमा खचाखच दर्शक भरिएका थिए; देवकोटा मञ्चमा नेपाली भाषामा भाषण गरिरहेका थिए । उनी जति नेपाली बोल्थे त्यति नै कविताको तुक लगाएर अङ्ग्रेजी भाषामा कवितासमेत भनिदिन्थे । उनको त्यही भाषणको रस त्यहाँका बङ्गाली भाषा तथा हिन्दी भाषाका साहित्यकार र विद्यार्थीले पनि ग्रहण गरे । त्यसैले पर्सिपल्ट ‘बङ्गीय हिन्दी परिषद्’ले पनि त्यही हलमा उनको अर्को भव्य अभिनन्दन गरेको थियो ।

हिमाञ्चल छात्रसङ्घको आयोजनामा भएको देवकोटा अभिनन्दन समारोहमा देवकोटाले सेतो धोती र कोगटी रङ्गको कुर्ता लगाएका थिए । यसै परिवेशमा आयोजक संस्थाका साहित्यमन्त्री रामहरि जोशीले भने “देवकोटाको शारीरिक बनावट नै आकर्षक थियो; अनि उनी नौलो पोसाकमा ठाँटिएर आउँदा समारोहको रौनक नै आकर्षक देखिन्थ्यो ।”

देवकोटाले नेपाली भाषालाई अझै विस्तृत पार्ने योजना बनाएको पनि रामहरि जोशीलाई थाहा थियो । उनी जोशीलाई भन्थे “कोटिएर आएको ?” त्यसको अर्थ “कोट लगाएर आएको” हुन्थ्यो । यस विषयमा जोशीको भनाइ थियो, “देवकोटाले यस किसिमको सङ्क्षिप्त भाषालाई पनि लोकप्रिय बनाउन चाहेका थिए ।’’

एक दिन महाकवि देवकोटा र रामहरि जोशी कोलकातामा ट्राम पर्खेर बसिरहेका थिए । त्यसै बेला त्यहाँ गोली हानाहान भएको दृश्य उनीहरूका अगाडि देखा प¥यो । त्यस घडी मान्छेको हुल दौडादौड गर्न थाल्यो । त्यहाँ गोली लागेर लड्ने र मर्ने मान्छे पनि सडकमा देखिए । त्यही हुलमा जोशीचाहिँ देवकोटाको खोजीमा रहे, अनि उनी देवकोटालाई नभेटेर निराश हुँदै आफ्नो छात्रावासमा पुगे । जोशी छात्रावासको आफ्नो कोठामा पुग्दा देवकोटा त्यहीँ बसिरहेका थिए । त्यसपछि जोशीले देवकोटालाई भने, “गुरु ! तपाईं म मर्न चाहन्छु (I want to die) भन्नुहुन्थ्यो तर बाँच्ने त तपाईंको ठूलो इच्छा रहेछ नि !”

कोलकाताका विभिन्न ठाउँमा देवकोटालाई डुलाउने काम पनि प्रायः रामहरि जोशी, देवेन्द्रराज उपाध्याय र जयनारायण गिरीको हुन्थ्यो । जोशीका अनुसार बाहिर जाने बेलामा तोरीको तेल हातमा माडेर देवकोटाले आफ्ना टाउकोमा लगाउँथे र मुखमा पनि दल्थे । उनी बेलाबेला मुखमा क्रिम पनि लगाएर भन्थे, “म दुब्लो त देखिइन्न होला नि ! अब म पठ्ठो हुन चाहन्छु ।”

रामहरि जोशीले कोलकातामा देवकोटाको खुबै सेवा गरे । देवकोटालाई मीठो लाग्ने मासु खुवाउन पनि जोशी त्यहाँ कहिल्यै चुकेनन् । त्यस बेलाको प्रसङ्गमा जोशीले भने “दाल, तरकारी र मासु भयो भने देवकोटा एकोहोरो मासुमासु मात्रै खानुहुन्थ्यो । अनि म सम्झाउँथे, “गुरु ! दाल तरकारी पनि खानुहोस् न !” उहाँ अत्यन्तै एकोहोरो हुनुहुन्थ्यो । मैले अनुभव गरेअनुसार उहाँको शरीर एकातिर र मन अर्कोतिर हुन्थ्यो । उहाँ बेलाबेला झोक्राउने गर्नुहुन्थ्यो; कहिले रुने गर्नुहुन्थ्यो र कहिले आफ्नो कपाल तानेर बसिरहनुहुन्थ्यो । वास्तवमा मैले देवकोटालाई प्रथमपल्ट तिनै अवस्थामा नै देखेको थिएँ । सुरुमा मलाई देवकोटाको आनीबानी अचम्मको लाग्थ्यो ।”

कोलकाता बसेताका महाकवि देवकोटालाई रामहरि जोशी घरीघरी बिडी खुवाउने गर्थे । तर उनी विद्यार्थीको सीमित गच्छे भएकाले देवकोटाको त्यो अटूट अम्मल धान्न सक्तैन थिए । त्यस बेलाको घटना सुनाउँदै जोशीले भने, “हामीले देवकोटालाई उहाँले खानेजति चुरोटबिडी खुवाउन सक्तैनथ्यौँ; किनभने उहाँ एकै घण्टामा एक बन्डल बिडी सल्काउनुहुन्थ्यो । हामीले मागअनुसारको चुरोटबिडी दिन नसकेपछि देवकोटा गणेशमान सिंहसँग भन्नुहुन्थ्यो ‘हजूर ! बिडी खान पाऊँ न !’ देवकोटाको त्यो रीत पलपलमा दोहोरिन्थ्यो । त्यति बेला गणेशमान सिंह पनि कोलकातामा हामीसँगै बस्नुहुन्थ्यो ।’’

देवकोटा कोलकातामा एक महिना बसेर पुनः बनारस फर्के । उनी बनारसमा मर्ने स्थितिमा पुगेपछि मातृभूमि फर्के । त्यसपछि रामहरि जोशी नेपाल आएपछि उनी देवकोटासँग भेट गर्न बराबर मैतीदेवीफाँट जान्थे । सुरुमा जोशीलाई देखेर देवकोटा हर्षले नाचेका पनि थिए । जोशी देवकोटालाई भेट्न जहिलेजहिले जान्थे हातमा चुरोट लिएर नै जान्थे ।

२००९ सालमा रामहरि जोशीकै सक्रियतामा काठमाडौँमा नेपाली छात्रसङ्घ र हिमाञ्चल छात्रसङ्घको संयुक्त आयोजनामा एउटा विशाल कार्यक्रम भयो । त्यस कार्यक्रमलाई सफल पार्न जोशीहरूले राजा त्रिभुवनलाई पनि आग्रह गरे । सो मागबमोजिम राजा त्रिभुवनले पाँच हजार रुपियाँ र विद्यार्थीलाई पटनाबाट काठमाडौँ दस पटक ओसार्न आफ्नो हवाइजहाज दिए । त्यो जहाजको नाउँ भीटी–सीभीसी थियो । जोशीका अनुसार नेपालमा प्रजातन्त्र आएपछि राजालाई सो जहाज भारतले उपहार दिएको थियो ।

कार्यक्रमको तर्जुमाअनुसार काठमाडौँको टुँडिखेलको खरीको बोटमुनि विशाल छात्र सम्मेलन भएको थियो । रामहरि जोशीको इच्छा बमोजिम त्यस समारोहमा पनि अध्यक्ष देवकोटा नै रहेका थिए । त्यस सम्मेलनमा नेपाल, भारत, मलाया र बर्माका विद्यार्थीले पनि भाग लिएका थिए ।

रामहरि जोशीले काठमाडौँमा देवकोटालाई बराबर भेटे । एकपटक जोशी देवकोटाका घरमा जाँदा उनी खाना खाइरहेका थिए । त्यतिखेर जोशी पनि सुरुसुरु भान्सामा नै गए।

जोशीलाई देख्नेबित्तिकै देवकोटाले उनलाई यहीँ खाना खाऊँ भने र जोशी पनि त्यसका लागि तयार भए । तर, त्यहाँ खाना खाँदै उनीहरूमाझ कुरा हुँदा जोशीको हातले देवकोटालाई छोएछ । अनि देवकोटाले आँखा झिम्क्याएर जोशीलाई आफूलाई नछुन इसारा गरे । तर त्यो दृश्य देवकोटाकी पत्नी मनदेवीले देखिरहेकी थिइन् । त्यस घटनाले मनदेवी आक्रोशित भइन् । उनले नेवारले भान्सा छोएको भन्ने हिसाबले त्यस दिन खाना नै खाइनछिन् । त्यो प्रसङ्ग देवकोटाले भोलिपल्ट जोशीलाई सुनाएका थिए ।

देवकोटाले रामहरि जोशी कवि पनि भएको कोलकातामा नै थाहा पाएका थिए । त्यसैले उनी जोशीसँग झन् नजिक पनि भए । साथै जोशीको ‘झङ्कार’ नामक कवितासङ्ग्रहमा उनले सन् १९४९ जनवरी २० मा एउटा भूमिका पनि लेखेका थिए । तर त्यस भूमिकामध्येबाट छ हारजतिका अंश मात्र लिएर जोशीको ‘झङ्कार’ २०१४ मा प्रकाशनमा आयो ।

गणेशमान सिंह मन्त्री भएका बेला रामहरि जोशीले सिंहलाई भनेका थिए, “जनरल महावीरशमशेर धनी हुनुहुन्छ । उहाँको भारतमा नै निजी हवाइजहाज छ र त्यहाँको यात्री सेवा सञ्चालनमा पनि उहाँको कम्पनीले खुबै नाउँ कमाएको छ । उहाँका लागि एकदुई लाख रुपियाँ धेरै पनि होइन । उहाँले तपाईंलाई मान्नु पनि हुन्छ र तपाइँका कुरा पनि खानुहुन्छ । त्यसैले उहाँलाई भनेर देवकोटाका लागि एउटा राम्रो प्रेस खोलिदिऊँ । त्यसो भएमा पार्टीका सामग्रीहरू प्रकाशित गर्न पनि सजिलो पर्छ र उहाँको इलम र जीविका पनि हुन्छ । उहाँका सबै किताब पनि त्यहीँ छापिन्छन् ।” तर त्यस बेला जोशीको त्यस आग्रहको कार्यान्वयन हुन सकेन । अनि जोशीले सधैँ भनिरहे, “महाकवि देवकोटाजस्तो मान्छेलाई बाँचुन्जेल हामीले चिन्नै सकेनौँ र उहाँको खूबीअनुसारको काम पनि लिन सकेनौँ ।”

देवकोटा कोलकाता बस्ता उनलाई रामहरि जोशी र देवेन्द्रराज उपाध्यायले कविता लेख्ने अनुरोध गरे । त्यस बेला देवकोटाले डी.के. शाहीको डेरामा बसेर जोशी र उपाध्यायलाई श्रुतिकविता लेखाए । देवकोटाले ९३ श्लोकको सो ‘आँशु’ कविता लेखाएका बेला गणेशमान सिंह पनि देवकोटासँगै थिए ।

देवकोटालाई कोलकाता बसाइको सिलसिलामा रामहरि जोशी र देवेन्द्रराज उपाध्यायले महात्मा गान्धीका विषयमा कविता लेख्न अनुरोध गरे । देवकोटाले त्यति बेलै ‘बापू’ शीर्षकमा एक लामो कविता ‘सोनेट्स’ लेखे ।

देवकोटाको कोलकाताको बसाइमा उनी प्रायः एकान्त खोजेर बस्न पुग्थे र झोक्राइरहन्थे । उनी समारोहस्थलमा होस् या ट्राममा बसेको बेला होस् आँखा झिमझिम गरेर अङ्ग्रेजीमा बरबराइरहन्थे । उनी मान्छेका माझमा हुँदा पनि हराएका जस्ता देखिन्थे । रामहरि जोशीका अनुसार त्यति बेलै नेपालबाट उनका जेठा ज्वाइँ कोलकाता पुगेका थिए । त्यस घडी देवकोटाले आफ्ना ज्वाइँ कल्याणनाथ रेग्मीका खुट्टा ढोगे र ग्वाँग्वाँ रुन थाले । त्यति बेला उनले आफ्ना छोरा कृष्णप्रसादलाई सम्झेर भनेका थिए, ‘‘मेरो कृष्ण मर्यो । म ठूलो अपराधी हुँ, मैले मेरा छोराको औषधि गर्न पनि पाइन ।’’

देवकोटाका भाइ मधुसूदनका अनुसार देवकोटा रुन थाल्दा रोएको रोयै गर्थे र चारपाँच घण्टासम्म पनि रोइरहन्थे ।

देवकोटाको कोलकाता बसाइका क्रममा उनलाई जोगाउन रामहरि जोशी र देवेन्द्रराज उपाध्यायले साह्रै सङ्घर्ष गर्नुपरेको थियो । उनी भाग्ने, हराउने र लड्ने डरले प्रायः जोशीहरू थर्कमान रहन्थे । त्यसैले उनलाई एउटा रजिस्टर छाडेर यस कापीमा “कविता लेख्नु है गुरु” भनेर उनीहरू बाहिर जान्थे । त्यति बेला उनीहरू देवकोटालाई कोठामा एक्लै थुनेर दैलोमा साँचो लगाउँथे र अनि मात्र आआफ्नो काममा जाने गर्थे ।

© नरेन्द्रराज प्रसाई
(देवकाेटाको जीवनशैली : २०६६)

Comment

Related News