h

News

परदेशमा बसेर लेखी टोपल्दा

news

~ राजकुमार दिक्पाल ~
कुरा हो, सात वर्षअघिको । सञ्चारकर्मी, समाजसेवी तथा अभियन्ता किसन राईको निम्तोमा साहित्यिक यात्रा गर्दै तत्कालिन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काँइलाकासाथ म हङकङ पुगेको थिएँ । दुई सत्रमा विभाजित कार्यक्रममध्ये पहिलो कार्यक्रम साहित्यिक कार्यक्रम थियो भने साँझ आयोजित अर्थात् दोस्रो कार्यक्रम चाहिँ एभरेष्ट साप्ताहिकको १० औँ वार्षिक उत्सव । नेपाल पत्रकार महासंघको तत्कालिन केन्द्रीय सदस्यको हैसियतले म बोलाइएको थिएँ । मेरो पहिलो विदेश भ्रमण थियो, त्यो ।

पहिलो अर्थात् साहित्यिक कार्यक्रम सुरु हुनुअघि म कविहरु नरेश सुनुवार र भोगेन एक्लेसँग गफिदै थिएँ । उहाँहरुसमक्ष जिज्ञासा तेस्र्याएँ,“तपाईहरु काममा चाहिँ कतिखेर जयनु हुन्छ नि ?”
“हामी कामबाटै त सिधै यहाँ आएको”, उहाँहरुले भन्नुभयो ।

रात्रीकालिन काम गर्नुहुँदोरहेछ, यी दुई स्रष्टा । उहाँहरुको अनुहार हेरेँ, रातभरिको कामका कारण अनिदो आँखा थियो । अनुहारले बताउँथ्यो, गलेको ज्यानका बारेमा । यस्तो अवस्थाबाट गुज्रेर भाषा र साहित्य भनेपछि मरिमेटेको उहाँहरुको लगन देख्दा बुझ्न सकिन्थ्यो, उहाँहरुको भाषा, मातृभूमी र सिर्जनाप्रतिको समर्पणका बारेमा ।

कुखुराको सुली सोहरेर
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले हरेक वर्ष एक जना अग्रज स्रष्टालाई सम्मान र एक् जना युवा स्रष्टालाई पुरस्कृत गर्ने गरेको छ, हरेक वर्ष । बेलायतमा रहेका नेपाली स्रष्टाहरुले स्थापना र सञ्चालन गरेको यो सम्मान र पुरस्कारको विशिष्ट महत्व रहदै आएको छ ।

सन् २००९ को प्रतिभा सम्मान संगीतकार अम्बर गुरुङलाई र प्रतिभा पुरस्कार चाहिँ गायक कुबेर राईलाई समर्पण गर्ने कार्यक्रम थियो, काठमाडौंमा । प्रतिष्ठानका प्रतिनिधिका रुपमा तत्कालिन अध्यक्ष रक्ष राई आउनुभएको थियो ।
 
त्यसबेला पुरानो बानेश्वरमा रहेको गुरुकुलको प्रेक्षालयमा सम्मान तथा पुरस्कार समर्पण गर्ने कार्यक्रम थियो । समारोह निक्कै भावुक थियो । नेपालमा आधुनिक संगीत भिÏयाउने संगीतकारलाई सम्मान र “गाउन जान्ने धाउन नजान्ने गायक”लाई पुरस्कार समर्पण हुनुले सम्मान तथा पुरस्कार समर्पण गर्ने संस्था आफैमा गरिमामय बनिरहेको थियो ।

कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष रक्ष राईले समारोहलाई थप भावुक बनाइदिनुभयो । उहाँले भन्नुभयो,“यी डायास्पोरामा बसेर लेखिरहेका लाहुरे स्रष्टाहरुले आफूसँग पैसा धेरै भएर वा काम नपाएर यो सम्मान र पुरस्कार स्थापना गरेको भन्ने लाग्छ होला तपाईंहरुलाई । डायास्पोरामा कतिसम्म दुःख छ भने हामीले कुखुराको सुली सोहरेर कमाएको पैसा यो सम्मान तथा पुरस्कार कोशमा लगानी गरेका छौँ । हामी उता दुःख गरौँला, तर नेपाली स्रष्टाहरुलाई सम्मान र पुरस्कार समर्पण गर्न पाएको क्षण हामी त्यस्ता दुःखहरु भुल्ने गर्छौ ।”

रक्ष राईको यो भनाई आफैमा अर्थपूर्ण छ । यसको थप विश्लेषण गरिरहनु जरुरी ठानिनँ मैले ।

आफै पुरस्कृत हुँदा
प्रतिभा प्रतिष्ठानबाट समर्पण गरिने यो पुरस्कारबाट कोही एक जना स्तरीय लेखकलाई पुरस्कृत गर्न पाए हुन्थ्यो भन्ने मेरो मनायस थियो । त्यसैले एक जना असल स्रष्टाको नाम लिएर हल्का लविङ गर्न पर्यो भन्ठान्दै थिएँ । यस्तो सोच आएको एक सातापछि बेलायतबाट फोन आयो, मलाई । प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईको फोन रहेछ । उहाँले भन्नुभयो,“तपाईंलाई बधाई छ । यो वर्षको सम्मान हामीले गजलकार बूँद रानालाई र पुरस्कार चाहिँ तपाईंलाई प्रदान गर्ने निर्णय गरियो है ।”

“यो देशमा मेरो साहित्यिक योगदान पुरस्कृत हुने हिसावको विशिष्ट छैन । त्यसैले साहित्यिक स्रष्टालाई प्रदान गरिदै आएको यो पुरस्कार मलाई नै किन प्रदान गर्ने निर्णय गरियो ?”, दया सरसँग मैले उल्टै जिज्ञासा राखेँ ।
उहाँले मेरो जिज्ञासालाई शान्त पार्दै भन्नुभयो,“यसपटक हामीले पत्रकारिता क्षेत्रलाई समेट्ने निर्णय गर्यौँ ।”

उहाँको भनाईले म शान्त भएँ र पुरस्कार सहर्ष स्वीकार गरेँ । यसरी म सन् २०१३ मा नेपाली प्रतिभा पुरस्कारका लागि योग्य भएँ ।

यस पुरस्कार समर्पण गरिएको क्षण मैले आफ्नो मन्तब्य ब्यक्त गर्ने क्रममा टुटेफुटेका शब्दहरु जोड्दै भनेको थिएँ,“आयो लाहुरे बुट जुत्ता कसेर, गयो लाहुरे खरानी धसेर । यस्तो गीत गाइन्थ्यो । लाहुरेहरु घर आउँदा राम्रा लुगा र गहना बोकेर बडो सानका साथ घर आउँथे । फर्कदा चाहिँ गोजी रित्तो रित्तो भएको अवस्थामा फर्कन्थे । आजभोली लाहुरेहरु लाहुरबाट लुगा गहनाजस्ता कोसेलीहरु होइन, स्तरीय सिर्जनाहरु लिएर आउँछन् र फर्कदा हामीजस्ताको माया बोकेर फर्कन्छन्, त्यसैले लाहुरेहरुको विम्व र परिचय फेरिएको छ ।”

मेरो भनाईलाई थप बल प्रदान गर्दै प्रमुख अतिथी वैरागी काँइलाले भन्नुभयो,“लाहुरेहरु बुट जुत्ता कसेरै आउँछन्, बुट जुत्ता कसेरै फर्कन्छन् । अझ आजभोली स्रष्टाहरुका लागि पुरस्कार समेत बोकेर आउँछन् र पुरस्कृत गरेर फर्कन्छन् ।”

बेलायतमा जे देखियो
म पहिलो पटक विदेश भ्रमण गरेको, हङकङमा ।  हङकङ सानो ठाउँ भएकोले त्यहाँका नेपालीहरुलाई जुट्न त्यति गाह्रो देखिनँ मैले ।

सन् २०१५ को सेप्टेम्बर र अक्टोबर महिनामा मैले बेलायत भ्रमण गर्ने अवसर पाएँ, अन्तराष्ट्रिय नेपाली बाङमय प्रतिष्ठान, बेलायतका अध्यक्ष विकलचन्द्र आचार्य र महासचिव जयलक्ष्मी राईको विशेष निम्तोमा । सोही भ्रमणको समयमा नेपाली प्रतिभा प्रतिष्ठानले वैरागी काँइला र राजन मुकारुङसहित मलाई पनि सम्मान गर्यो ।

त्यहाँको भ्रमणको समयमा थाहा पाइयो, एउटा कार्यक्रम गर्नका लागि सहभागीहरुलाई समय जुटाउन कति गाह्रो पर्ने रहेछ भन्ने । आफूले काम गर्ने ठाउँमा धेरै पहिलेनै विदा माग्नुपर्ने, सबैको विदा एकैपटक नमिल्ने अवस्था पनि हुने । ठूलो देश भएकोले समय र खर्चको जोहो गर्नै गाह्रो । यी चुनौतिहरुको सामना गर्दै बाङ्मय प्रतिष्ठान र प्रतिभा प्रतिष्ठानले निक्कै भब्य कार्यक्रमको आयोजना गरेको थियो । यो भब्यताभित्र कार्यक्रम आयोजकहरुको निक्कै ठूलो लगानी, समर्पण र धैर्यता थियो । यी सबै आखिर मातृभूमीप्रति समर्पित थियो, सिर्जना र स्रष्टाप्रतिको सम्मानमार्फत् । यी सबैको प्रत्यक्ष अवलोकन गर्दा म निक्कै भावुक भएको थिएँ ।

परदेशमा बसेर लेख्दा
ल्यूसुनले भनेका छन्,“कामदार वर्गबाट स्तरीय लेखनको अपेक्षा गर्न गाह्रो हुन्छ ।” उनको तर्कअनुसार कामदारलाई कामको चिन्ताले सताउने हुँदा लेखनको बारेमा धेरै चिन्तन गर्न सक्दैन । समय अभावका कारण अध्ययनको अभाव पनि हुन्छ । अर्कोतिर कामकै कारणले सरीर पनि थकीत हुने हुँदा चिन्तन गर्न गाह्रो हुन्छ । त्यसैले कामदार वर्गबाट धेरै स्तरीय लेखनको अपेक्षा गर्न गाह्रो हुने तर्क उनको छ ।

विदेशमा बसेर जे जति लेख्ने डायास्पोरिक नेपाली स्रष्टाहरु छन्, उनीहरुमध्ये अधिकाँश कामदार वर्ग नै हुन् । अहिले त्यही वर्गको एउटा सदस्यको रुपमा म आफू पनि उपस्थित छु । देशमा रहँदाभन्दा परदेशमा रहँदा देशको सम्झना बढि आउँदो रहेछ । देश प्रेम बढ्दो रहेछ परदेशमा । यहीँ सम्झना र प्रेम अभिब्यक्त गर्न सिर्जनाको साहारा लिनेहरुले आज डायास्पोरिक नेपाली साहित्यको भण्डार भरिरहेका छन् । आज डायास्पोराबाट जेजति लेखिएका छन्, म पनि सबै लेखनलाई स्तरीय र उत्कृष्ट भन्न सक्दिनँ । तर समय अभावको चुनौति, थकीत सरीर र मातृभूमीको अपार सम्झना र प्रेममा डुबेर लेखिएका डायास्पोरिक नेपाली साहित्यमध्ये कतिपय उत्कृष्टताको कसीमा रहेर मैले पनि अवलोकन गरिरहेको छु ।

सन् २०१६ को फेब्रुअरि १५ मा मैले पनि देश छाडेँ । परिवारसँग जोडिन म पोर्तुगल आएँ । यहाँ बसेर केही लेख्ने प्रयास गरिरहेको छु । मेरो लेखन केही छापामाध्यम र केही अनलाइनमा आइ रहेकाछन् ।
पोर्तुगलमा रहँदा म आठ महिना बेरोजगार भएँ । त्यो फुर्सदको समयलाई सदुपयोग गर्न म इतिहास अध्ययनतिर लागेँ । नेपालमा हुँदा कलेज अध्यापन र पत्रकारितावाहेक पारिवारिक उत्तरदायित्व निर्वाहको क्रम पनि थियो । केही अलमलहरुमा पनि थिएँ । तर त्यो समयमा मैले इतिहाससम्बन्धी कच्चा पदार्थको जोहो गरेको थिएँ । आज तिनै सामग्रीहरुलाई सुम्सुम्याउँदै इतिहासका केही लेखहरु लेखेँ । कतिपय साथीहरु भन्ने गर्दारहेछन्, यो मान्छेले त विदेशमा गएर पो केही लेख्न थाल्यो ।

फुर्सदको समय केही सन्दर्भ सामग्रीहरु झिकाउँदै, अध्ययन र चिन्तन गर्दै, सामाजिक सञ्जालमार्फत् केही विद्वानसँग छलफल चलाउँदै जाँदा केही लेख्न सकेँजस्तो लाग्छ । लेख्नुपर्ने अझै बाँकी छन् । लेख्दै जाँदा इतिहाससम्बन्धी तीन वटा इतिहाससम्बन्धी किताबको खाका तयार पारिसकेको छु । एउटा संस्मरणसम्बन्धी कितावका अवधारणा तयार पारेको छु । इतिहाससम्बन्धी एउटा किताव त चाडै प्रकाशित हुँदैछ । यसलाई मैले विदेश बसाईको एउटा महत्वपूर्ण उपलब्धी ठानेको छु ।

विगत १० महिनादेखि म श्रम गरिरहेको छु । श्रम गरेर कोठामा फर्कदा सरीर गलेर पाकेको केराजस्तै फतक्क भइरहेको हुन्छ । यस्तै बेला मष्तिष्कको तन्तु हल्लन्छ र चिन्ताले सताउँन थाल्छ, ओहो, फुर्सदमा भएको भए म यो लेख्थेँ हुँला, त्यो लेख्थेँ हुँला ।

तर लेखन त चुनौतिहरुमाझ रहेर लेख्दा मज्जा हुने रहेछ । मैले नेपालमा रहँदा प्रशस्तै फुर्सदको समय ब्यतित गरेको छु । ती समय ब्यर्थैमा बितेको मलाई अनुभूति हुन्छ । आखिर साहित्य फुर्सदमा लेखिने सामग्री पनि होइन रहेछ । गमलामा स्याहार पाएर फुलेको फूलकोभन्दा त आँधी–हुरी, असिना–पानी, गर्मी–जाडो सहेर फुलेको जंगली फूलको सुगन्ध र सौन्दर्य मन पराउने मानिस हुँ म । त्यहीँ मान्यता र दर्शनको सेरोफेरोमा रहेर डायास्पोरिक नेपाली लेखनको मूल्यांकन गरिनुपर्छ भन्छु म ।

परदेशमा बसेर लेख्दा म सन्दर्भ सामग्री र समयको अभावमा छटपटिन्छु कहिले काहिँ । यस्तै बेला प्रज्ञाको तिर्खाले आकुल ब्याकुल बनाउँछ । त्यो तिर्खाले पानीको खोजी गर्छ । प्रयत्न गरियो भने त तिर्खालुलाई पानी जुर्दो रहेछ । मात्र आवश्यकता हुँदो रहेछ, धैर्यपूर्ण साधनाको । परदेशमा १० घण्टा काम गरेर निस्केको समयलाई सदुपयोग गर्दै केही खोज्न र लेख्न प्रयत्न गरिरहेको छु । हेरौँ, भविष्यमा कतिको उपलब्धी हासिल गर्न सकूँला ?

Comment

Related News