h

News

राष्ट्रिय विभूति: महागुरू फाल्गुनन्दको जीवनी

news

फाल्गुनन्दले आफ्नो जीवन सङ्घर्षको निष्कर्षमा जातीय सुधार गरे । अनि उनले आफ्नो चोलामा अध्ययन गरेको सम्पूर्ण शास्त्रीय परम्परालाई पनि चालेर, केलाएर र खारेर लिम्बु संस्कृतिको मर्यादाका लागि अघि सारे । उनले लिम्बुहरुको कल्याणका लागि क्रान्तिकारी कदमहरू चालेका थिए ।

फाल्गुनन्द मानवतावादी थिए । तर उनी मानवपूजारी मात्र पनि थिएनन् । किनभने उनी सृष्टिका जीवजन्तुलाई पनि त्यति नै मान्थे । त्यसैले उनले बलिप्रथाको विरोध गरे । प्राणी हिन्साका कुरा छन् भने उनी पुरातन सांस्कृतिक धारणालाई पनि तिलाञ्जलि दिन्थे । उनी प्रथाको होइन आवश्यकीय कुराका समर्थक थिए । उनी अन्धविश्वासलाई मान्दैन थिए । उनी सक्कली कुरालाई मात्र प्राथमिकता दिन्थे । उनी आडम्वरको पनि विरोधी थिए ।

फाल्गुनन्दले लिम्बुहरूको जन्ममृत्युका संस्कृतिमा पनि सुधार गरे । लिम्बुहरूको वैवाहिक परम्परालाई पनि उनैले परिवर्तन गरे । साथै लिम्बुहरूले गर्ने पूजाआजाका लागि पनि उनले नयाँ क्षीतिज अघारिदिए । त्यसैले उनी लिम्बुहरूका पूजनीय बने । साथै किराँत जातीले उनलाई गुरुहरूका पनि गुरु अर्थात् महागुरु माने ।

फाल्गुनन्दको न्वारनको नाउँ नरध्वज लिम्बु थियो । उनी इलाम चारखोलाको चुक्चिनाम्वामा १९४२ साल कात्तिक २५ गते जन्मेका थिए । उनी जगनबाज लिङ्देन र हङ्समती बेघाका साइँला छोरा थिए ।

फाल्गुनन्द सानैदेखि नैतिक, इमानदार र प्रष्ट थिए । उनी मान्छेहरूमा करुणा, दया र माया राख्थे । उनी कुनै पनि जातलाई मानेर मान्छेको प्रसंशा गर्नु हुँदैन भन्थे । मान्छेको कर्म माथी उनको अपार विश्वास थियो । उनी भ्रष्टाचार, अन्याय र अत्याचारका विरोधी थिए । त्यसैले उनले बाँचुन्जेल एकोहोरो न्यायको काम नै गरिरहे ।

फाल्गुनन्दले नै विशेष गरी लिम्बुहरुका लागि दस बुँदे मुचुल्का जारी गरे । त्यसभन्दा अघिका सम्पूर्ण अन्धविश्वासी रीतिरीवाज खारेजीमा पार्ने उनी कलियुगका भीम थिए । अनि यिनैको नीतिअनुसार नै गाउँगाउँमा जातीय मन्दिर र पाठशालाहरू पनि खोलिन थाले । उनैले खाँडी बनाउने चर्खा चलाउन लिम्बुहरूलाई थप प्रोत्साहन दिए । उनैले लिम्बुजातीले स्वदेशी खाँडी कपडा मात्र लगाउने चलन चलाए । साथै कपास खेती गर्ने र धागो कात्ने र बुन्ने चलनको पनि उनैले विस्तार गरेका थिए ।

सानो हुँदा एक पटक फाल्गुनन्द निक्कै बिरामी परे । बिरामी भएकै बखत उनी आफ्नै घरबाट मध्यरातमा हराएका थिए । त्यस बेला उनी जङ्गल पसेछन् र अदृश्य भएछन् । धेरै पछि उनी इलामको देवमाई र माइखोलाको दोभानमा देखा परे । त्यतिन्जेलसम्ममा उनले ज्ञानबोध प्राप्त गरिसकेका रहेछन् । त्यसैले उनी सिद्ध र परमज्ञानी भएको प्रमाण पनि फेला पर्यो । अनि त्यसैताक रक्षाबन्धन स्वरूप उनलाई फलामको चुरो लगाइयो । त्यसैले उनलाई सुरुमा फलामे साइँला भनियो । विस्तारै उनी फलामसिंह लिम्बु भए । साथै दस लिम्बु सत्र थुमको महासम्मलेनले महापुराण लगाएपछि उनलाई फाल्गुनन्द महागुरु भन्न थालियो ।

१९८८ साल वैशाख २४ गतेको कुरा हो । त्यस दिन फाल्गुनन्दले पाँचथरको लोब्रेकुटीमा वृहत् १० लिम्बु १७ थुमको चुम्लुङसभा गरेका थिए । त्यो सभा लिम्बुहरूको ठूलो यज्ञ थियो । त्यसै यज्ञमा उनले १० बुँदे सत्य धर्मको लिखित मुचुल्का पारित गराए । वास्तवमा त्यसपछि लिम्बुहरू त्यसै रीतिरिवाजमा नै बाँधिन थाले । अनि त्यस मुचुल्कालाई नै उनीहरूले आफ्नो जातीय धर्म माने ।

लिम्बु जातीलाई साँस्कृतिक रीतिथितिमा बाँध्ने फाल्गुनन्द प्रथम सुधारवादी चिन्तक थिए । जाँड, रक्सी, मासु सेवनमा लठ्ठ परेका लिम्बुहरूलाई ज्ञानी, चेतनशील र मर्यादित बनाउन उनले अभियान चालेर उनीहरूको साँस्कृतिक नियम नै बसाली दिए । उनैले सत्य नै धर्माचरणको मूल नाभी हो भनेर जनशिक्षा दिए । त्यसैले उनलाई सत्यहाङमा भन्न थालियो । लिम्बु भाषामा हाङमा भनेको रानी हो ।

फाल्गुनन्दले सात तत्वलाई प्रमुख माने । सुन, चाँदी, तील, जौ, दुबो, कुस, ढुङ्गोलाई सात्विक मानेर चलेमा मानवमुक्ति हुने कुराको रीत बसाउने उनी एउटा साँस्कृतिक धरोहर थिए । उनले ४६ प्रकारका धर्मशास्त्रका संहिताको आविस्कार पनि गरे । साथै उनैको प्रयासबाट लिम्बुहरूको धर्म, संस्कार, लिपी, भाषा र इतिहासको आधार पनि निर्माणको सुरुवात भएको थियो ।

फाल्गुनन्द शिवको किरातेश्वर रुपलाई मान्थे । शिवको त्रिशुललाई उनी मानव एकताको प्रतीक ठान्थे । उनी विशुद्ध विश्वकल्याणकारी मानव थिए । त्यसैले उनका चेला र चिन्नेहरूले उनलाई महामानव माने ईश्वरका अवतारको पनि मर्यादा दिए । उनी लिम्बु संस्कृति उद्खोदनका जरा थिए । त्यसैले उनैले वेद पनि मुन्धुमबाट आएको दावी गरे । उनी लिम्बुहरूका सत्यधर्मका अगुवा थिए । त्यसैले अहङ्कारले कोही ईश्वर बन्दैन, राक्षस बन्छ भन्ने सिद्धान्तको पाठ उनले सारा लिम्बुलाई सिकाए ।

फाल्गुनन्दले सामाजिक र धार्मिक क्रान्तिमा आफूलाई समाहित गरे । त्यस कार्यमा समर्पित भएबापत राणा सरकारबाट उनले राजद्रोहको मुद्दा पनि खेपे । तर पनि उनले सधैँ विजय प्राप्त गरे । आफ्नो बुताले भ्याएसम्म लिम्बुहरू जातिको आचरण र संस्कार तथा मर्यादा अक्षुण्ण राख्नमा उनी सदैव लागिरहे ।

फाल्गुनन्दले जन्मभूमि चुक्चिनाम्बा, ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि लोब्रेसिलौटी र तीर्थभूमि कुम्भकर्णमा चार अमर धामको स्थापना गराए । त्यसैले उनी लिम्बुहरुका शिरमाथिका शिखरका रूपमा सदैव पूजिए ।

फाल्गुनन्दलाई आफ्नो चोला कहाँ टुङ्गिन्छ भन्ने थाहा थियो । त्यसैले उनले बद्री, केदार, हरिद्वार र परशुरामको तीर्थयात्रा गरे । त्यसपछि उनले वाचा गरे "म पुनः चाँडै सांसारिक जीवनमा अवतरण गर्छु" अनि उनी २००५ साल चैत २२ गते पाँचथरको हाङयकमा स्वर्गीय भए ।

फाल्गुनन्दले ब्रहृमचार्यमै जीवन विताए । उनी आफ्नो पूर्वजन्म पनि राजकाजमा नै थियो भन्थे । उनका बुबाआमा पूर्व जन्ममा नलराजा र दमयन्ती थिए भनेर उनैले भने ।

फाल्गुनन्दलाई ज्ञानदेव पनि भनिन्थ्यो । उनको विचार प्रायः दैविकज्ञानले भरिएको हुन्थ्यो । उनी भन्थे मनुष्य मुक्ति ज्ञानले मात्र हुन्छ । साथै संसार संयोग र वियोगको साँध हो भन्ने उनको मूल मन्त्र थियो । उनी घरिघरि भन्थे 'सबै मानव देवता र राजाका सन्तान हुन् । मानव जातीलाई देवकर्मले देवता, राजकर्मले राजा बनाउँछ भन्ने उनको धारणा थियो । उनी सानो विचारले मान्छे नोकर बन्छ र पाप कर्मले मान्छेको नास हुन्छ भन्ने उक्ति अरुलाई पनि सिकाउँथे ।

फाल्गुनन्द पराक्रमी थिए । त्यसैले उनले बाँचुन्जेल लोकरक्षाका लागि मात्रै कदम चाले । त्यसैले उनलाई लिम्बु जातीले मात्र मानेनन्, प्रायः धेरै नेपालीले नै उनलाई महान् माने । सरकारले समेत उनलाई राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्यो । उनका नाउँमा हुलाक टिकट प्रकाशनमा आयो । पाठयपुस्तकमा उनको जीवनी प्रकाशित गरियो । कामले नै मान्छे राम हुन्छ, कामले नै मान्छे मानव हुन्छ अनि कामले नै मान्छे र ईश्वरीय स्वरूप प्राप्त गर्छ भन्ने प्रमाणका रूपमा यस धरामा फाल्गुनन्द पनि उभिए ।

Source: NAI Nepal

Comment

Related News