h

News

लिम्बुनी बडीको सेवा

news

बिष्णुमाया आङबुहाङ लिम्बुनीको नाउँ लिन पनि भाग्य चाहिन्छ । आज म मेरो त्यही भाग्यप्रति गौरवी छु । किनभने पूर्वी पहाडकी एउटी महामनाबारे केही शब्द लेख्ने मलाई आज मौका जुरेको छ ।

बिष्णुमाया आङबुहाङ लिम्बुनीको नाउँ मैले बाल्यकालमा नै सुनेको थिएँ । वारी हाङपाङबाट पारी चाँगेको नेशम देखाएर मेरी आमा भागीरथा प्रसाई भन्ने गर्थिन्- "पुल थाप्ने लिम्बुनी बडीआमाको घर त्यतै हो । पण्डित चिरञ्जीवी गौतम र माइला मुखिया धनपति चुडालको घर पनि त्यतैतिर नै हो ।" त्यसै बेलादेखि मेरो मनमा लिम्बुनीसँग श्रद्धा पलाएको थियो; कति भने अति!

समाजसेवी धनपति चुडाल र पं.चिरञ्जीवी गौतम भन्नु पनि त्यहाँका प्रख्यात समाजसेवी थिए । यी दुई भाइ मिलेर त्यहाँ स्कुल पनि खोलेका थिए । त्यस भेकमा पहिलो अङ्ग्रेजी स्कुल त्यही नै थियो ।

शायद मैले मेरो जीवनमा पहिलो पल्ट समाजसेवीको नाउँ सुनेको थिएँ भने विष्णुमाया आङबुहाङकै मात्र नाउँ सुनेको थिएँ । त्यसपछि अहिलेसम्म मैले षडानन्द अधिकारी, तुलसीमेहर श्रेष्ठ, जनरल भूपालमानसिंह कार्की, देवीप्रसाद उप्रेती, हरिचरण सिटौला, ओमप्रसाद गौचन, छवीलाल पोख्रेल, हरिहर गौतम, खगेन्द्रबहादुर वस्नेत, बद्रीविक्रम थापा, दयावीरसिंह कन्साकार, रानी जगदम्बाकुमारीदेवी राणा, भक्तकुमारी घले, दीर्घराज कोइराला, लक्ष्मीनारायण प्रसाद, डा.रामप्रसाद पोख्रेल, डा.मृगेन्द्रराज पाण्डे आदिआदिको नाउँ पनि सुन्दै आउन थालें । यतिहुँदाहुँदै पनि नेपालको परिवेशमा विष्णुमायाले गरेको सेवा अरू कसैसँग तुलना नै हुँदैन भने पनि हुन्छ । समाजसेवाका फाँटमा उनी नम्बरी सुन थिइँन् । तर उनको नाउँ धेरैलाई थाहै भएन । अझै पनि उनको नाउँ स्थानीय जिल्लादेखि केन्द्रसम्म समेत चल्तीमा आउन सकेन । आफ्नो कर्मका कारण धेरै समाजसेवीहरू चर्चाको शिखरमा आइरहे तर उनको सेवाको दियो देखाइदिने कुनै मोतीरामहरू अघि सरेनन् । वास्तवमा उनको सेवा जनउद्धारका लागि मनबाट नै समर्पित थियो । तर उनले नाउँ चलाउन सेवा गरेकी थिइनन् ।

कुनै पनि कुवेरको मन, वचन र कर्मले साथ नदिई रहेको अवस्थामा एउटी नारीले आफ्नो श्रीसम्पती तमोर नदीमा विश्रान्ति गराएकी थिइँन् । जुन सम्पतीको त्यस भेगका प्रत्येक प्राणीले भोग गरे । एउटा घरको भण्डारमा केन्द्रित धन जगतको हीतमा समर्पण गर्ने ती एउटै विरङ्गना थिइँन्- बिष्णुमाया आङबुहाङ लिम्बूनी !

नेपाल राष्ट्रबाट देशका कुनाकाप्चामा अहिले त आवश्यक्ता अनुसार झोलुङ्गे पुल बन्न सकिरहेको छैन । त्यस बेला देशले त्यति खर्च लगाएर फलाम र काठले सुसज्जित त्यस प्रकारको आधुनिक झोलुङ्गे पुल निर्माण गर्न नसकेको अवस्थामा विष्णुमायाले आफ्नो हैसियत देखाएकी थिइन् । भनौं २०१४ सालअघि अथवा भनौं लगभग ६० वर्षअघि नै उनले तमोर नदीमा अति भव्य, आकर्षक र सुरक्षित पुल थापेकी थिइन् । अनि त्यस पुलले "लिम्बुनी" पुलका नाउँबाट प्रसिद्धि पनि कमायो ।

विष्णुमायाले त्यस पुलमा खर्च गरेको बेहोराले अरू धेरै कुराको पनि अड्कल काट्न सकिन्छ । त्यति विराट मन भएकी नारीले शिक्षा, धर्म, बाटोघाटोका लागि पनि आफ्नो मन खोलेकी थिइन् । तर उनको सेवाबारे कहीं, कतै र कहिले चर्चै भएन ।

लिम्बुनी पुल विष्णुमायाले आफ्नै गाउँमा पनि बनाइनन् । भनौं त्यो पुल उनको गाउँमा थिएन । लिम्बुनी पुल पुग्न उनका घरबाट चार घन्टा जति लाग्थ्यो । आफ्नो गाउँदेखि पनि टाढा नै उनले पुल थाप्ने सर्वेक्षण गरिन् । किनभने त्यस ठाउँमा त्यस पुलको सारै खाँचो थियो । त्यसैले जनचाहनामा उनले आफ्नो इच्छा साकार पारिन् ।

पाँचथरको अमरपुर र ताप्लेजुङ निघुरादिन (फूलबारी)मा अवस्थित तमोर नदीमा लिम्बुनी पुलको निर्माण गरेपछि त्यो ठाउँ नै सुगममा परिणत भयो । तेह्रथुम र ताप्लेजुङ जिल्ला अन्तर्गत आठराई हाङपाङ पुगेर दोभान, ताप्लेजुङ हुँदै पाँचथरसम्म पुग्ने या चुहानडाँडाको सिटौला पुलबाट पाँचथरको सुभाङ या ताप्लेजुङको पूर्वीभेक पुग्नेका लागि त्यो पुल बरदानै बनेको थियो ।

दार्जिलिङ, सिक्किम र तिब्बतबाट मजदुरले थाप्लो र काँधमा बोकेर लिम्बुनी पुल निर्माणका लागि फलामे सामाग्री जुटाएका थिए । त्यस बेला त्यस भेकमा पैदल हिंड्ने फराकिलो बाटो पनि थिएन । भारी बोक्नेले पनि खेतका काँन्ला र बारीका डिलबाट हिड्नु पर्थ्यो । त्यस बेला नेपालका पहाडी ठाउँमा सवारी साधनको त प्राय: कल्पनै पनि थिएन ।

त्यस बेला लिम्बुनी पुल बनाउनु अकल्पनीय नै थियो । अथवा त्यस्तो बेहोरा पनि कथै हुन्थ्यो । वास्तवमा लिम्बुनी पुल बनाउन कति खर्च लाग्थ्यो त्यो पनि अनुमानित बजेटमा आधारित थिएन । अथवा भनौं पुल निर्माण गर्दा खर्च कति लाग्छ भन्ने समेत कल्पना गर्न सकिदैन थियो । तर एउटी निरक्षर नारीले अकल्पनीय काम गरेर आफूलाई राष्ट्रकै एउटा बिम्ब बनाएकी थिइन् । तर राष्ट्रले चाहिं उनलाई कहिले चिनेन, जानेन र उनको खोजीसम्म पनि गरेन ।

बिष्णुमाया आङबुहाङ लिम्बूनीको जन्म ताप्लेजुङको चाँगे स्थित नेसुममा भएको थियो । उनका नाति पोमु सेन्छेहाङ लिम्बू (प्रवीन) ले जनाए अनुसार उनी १९३४ सालमा जन्मेकी थिइन् । लिम्बुनी बडीआमा २०१५ सालमा आफ्नै घरमा स्वर्गीय भइन् । तर त्यसभेकमा उनी चिरञ्जीवी भइन् ।

 

Comment

Related News