h

News

क्यूनेट गोर्खा ट्रेलब्लेजरमा नेपाली धावकहरु चम्किए

news

विश्वयुद्धहरुमा जीवन गुमाएका नेपाली (गोर्खाली) सैनिकहरुलाई सम्मान गर्ने उद्देश्यले २० जनवरी २०१८ हङकङमा प्रथम पटक आयोजना भएको क्यूनेट गोर्खा ट्रेलब्लेजरमा नेपालका तेन्जी शेर्पा, मिरा राई र हुमी बूढामगर चम्किएका छन् ।

गोर्खाली सैनिक सेवा कालमा सबैभन्दा कठिन तालिम क्षेत्र मानिएको पाट सिन लेन क्षेत्रमा १२ र २६ किलोमिटर दुरीको प्रतियोगितामा बिश्वभरबाट ३५९ जना अल्ट्रा धावकहरुले सहभागिता जनाएका थिए । नेपाल र हङकङका नेपाली विधार्थीहरुलाई सहयोग गर्ने हेतूले शुभारम्भ भएको नयाँ च्यारिटी रेस क्यू नेट गोर्खा ट्रेलब्लेजरलाई चाईल्ड वेलफेयर स्कीम (सीडब्लुएस) र गोर्खा सेमेइट्रीज ट्रष्टले (जीसीटी) संयूक्त रुपमा आयोजना गरेका थिए ।

उमेरले २१ वर्षमात्र टेकेका तेन्जी शेर्पा २६ किलोमिटर समूहमा २ घंटा ४१ मिनेट ५२ सेकेण्डमा पूरा गरी ओभरअल प्रथम बन्न सफल भए । तेन्जी पछि क्यानाडियन ब्रायन क्रेन दोश्रो र बेलायतका रोबर्ट ट्रनबुल तेश्रो बन्न सफल भए । २६ किलोमिटर महिलाको क्याटागोरीमा ओभरअल च्याम्पियन बेलायतकी क्लारी प्राईस प्रथम उनले ३ घंटा ९ मिनेट ५२ सेकेण्डमा पूरा गरेकी थिइन् ।

उमेरले १८ वर्षमात्र पुगेकी हुमी बूढामगरले महिलाहरुको १८ – २९ उमेर समूहमा प्रथम र ओभरअलमा दोश्रो स्थान हासिल गरिन् । हुमीले २६ कि. दुरी ३ घंटा ३० मिनेटमा पूरा गरेकी थिइन् । तेश्रो स्थानमा भने जर्मनकी एञ्जेलिका हआनले प्राप्त गरेकी थिइन् ।
विश्व अल्ट्रारेस च्याम्पियन मिरा राई १२ किलोमिटर दुरीको दौडमा सहभागी भएकी थिइन उनले महिलाहरुमा प्रथम स्थान र ओपन महिलाहरुमा प्रथम स्थान हासिल गरेकी थिइन् । उनले १२ किलोमिटर १ घंटा ८ मिनेटमा पूरा गरेकी थिइन् । महिलाहरुमा बेलायतकी जेन विलियमस दोश्रो र बेलायतकी निक्की ईन्जे तेश्रो स्थान हासिल गरेका थिए ।

पुरुषतर्फ अष्ट्रेलियन भ्लाड इक्सेलले ५९ मिनेटमा १२ किलोमिटर दौढ पूरा गरी प्रथम स्थान, हङकङका डेभिड वु दोश्रो र बेलायतका रिचर्ड काउले तेश्रो स्थान हासिल गर्न सफल भएका थिए ।

रेस सफल भएपछि आयोजक संस्था जीसीटका सचिव आमोद राईले भने – “क्यूनेट गोर्खाट्रेलब्लेजर एक च्यारीटी रेस हो जसले विश्भर रहेका मानिसहरुले गोर्खाली सेनाहरुले दिएको त्याग बलिदानको स्मरण गरुन भनी हामीले आयोजना गरेका हौं ।“ राईले अगाडि भने – “गोर्खाहरुले हङकङको अस्थिर र कठिन समयमा उल्लेख्य योगदान दिई वर्तमान विश्व सहर निर्माण गर्नुमा अति महत्वपूर्ण योगदान दिएका थिए ।“
च्यारिटीबाट संकलन भएको रकम नेपालमा सीडब्लुएसको परियोजनामा रहेका बाल मैत्री स्कुलमा परिमार्जित गर्न पोखरा आसपासका ४८ विद्यालयहरुलाई सहयोग मिल्नेछ । सीडब्लुएसका प्रमुख कार्यकारी जेक म्याकाउली भन्छन् – “हामी विद्यालय घरहरु सुरक्षित, कक्षाहरु, सबै विधार्थीहरु संलग्न बन्नसक्ने र खुशीसाथ पढ्न सक्ने विद्यालयहरुको निर्माण गर्न चाहान्छौं ।“

उनले संवोधन गर्दै भने क्यूनेट गोर्खा ट्रेलब्लेजरबाट १ लाख ५० हजार अधिक हङकङ डलर अनलाईन संकलन भइसकेको जानकारी गराएका थिए ।

क्यूनेट गोर्खा ट्रेलब्लेजरमा नेपालबाट मिरा राईले आफू सहित तेञ्जी र हुमीलाई लिएर आएकी थिईन । उनीहरु सहित सबैले जित हासिल गरेपछि खुशी भएर मिराले भनिन् – “म भाइ बहिनीहरुलाई अवसर प्रदान गर्न चाहान्छु । अवसर भए नेपालीहरु विश्वमा नेपालको नाम उच्च राख्न सकिन्छ ।“

क्यू नेट गोर्खा ट्रेलब्लेजर हङकङको न्यू टेरीटोरीज क्षेत्रको लाउ सुई होङबाट शुरुभई शा लो तुङ चेउङ उक, नाम चुङ भई पुनः लाउ सुई होङमा अन्त भएको थियो ।
 

Comment