h

News

मेरो अनुहारको आत्मकथा

news

@ राजकुमार दिक्पाल
धनकुटाको स्थानीय बासिन्दा भए पनि मेरो पुख्र्यौली थातथलो चाहिँ ताप्लेजुङको हाङपाङ पर्यो । मभन्दा सात पुस्ता यतादेखिका पुर्खाहरुले जोहो गरिदिएका र आफ्नो हातमा परेपछि म आफैले जोगाउँदैर सुम्सुम्याउँदै आइरहेको ऐतिहासिक कागजपत्रले सप्रमाण भन्छ, म तत्कालिन आठराई थुमअन्तरगत पर्ने हाङपाङको एक किपटिया सुब्बाको सन्तान हुँ । संयोगवश, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत आरके मैनाली र सीपी मैनालीको जन्मथलो पनि तत्कालिन आठराई थुम अन्तरगत नै पर्छ । बामपन्थी नेता नन्दकुमार प्रसाईंको पुर्खालाई त मेरै पुर्खाले भैयाद बनाएका हुन् ।

१९०९ सालमा लेखिएको मावोहाङ यक्सो लिम्बुको वंशावली पनि हाम्रै घरमा भेटिएको र त्यो ऐतिहासिक कागज पनि मसँग्र सुरक्षित रहेकोले इतिहासको सेरोफेरोले म इतिहासप्रेमीलाई पनि अङ्गालोमा बाँध्न आइपुगेछ । वंशावलीअनुसार कालान्तरमा हाङपाङका यक्सो सुब्बाहरुको किपट विभाजित भयो । जेठो पुस्ताले पाँच भाग पाए र कान्छो पुस्ताले तीन भाग । हाङपाङका यक्सोहरु तीन सुब्बा र पाँच सुब्बा खलकका छन्, किपटिया जिम्माको ऐतिहासिक आधारमा । म परेँ, तीन सुब्बा यक्सोको सन्तान ।
तीन सुब्बा यक्सोहरुका लागि  लाहुर भर्ती त्यति रुचीकर देखिएन वा फापेन । मेरा बुवा आसबहादुर यक्सो लाहुर जानुभयो, दोस्रो विश्वयुद्ध लडेर पेन्सन  पकाउनुभयो र नेपाल आएर नेपाली सेनामा भर्ना भई कप्तान दर्जासम्म प्राप्त गर्नुभयो । यस्तै साइनोसम्बन्धअनुसार मेरा भतिज विश्वराज ब्रिटिश सेनामा भर्ती भए, तर पाँच वर्षको सैनिक जीवनपछि नाम कटाएर नेपाल फर्केर आरआर क्याम्पसमा पो पढ्न लागे । तीन सुब्बा यक्सोहरुमा ब्रिटिशको सेवा गर्ने यिनै दुई जना देखिए ।

“लोभलाग्दो सैनिक जीवन किन छाड्यौ त भतिज ?” विश्वराजलाई एक दिन मैले राखेको मेरो जिज्ञासा ।
“मलाई आफ्नो अधुरो पढाई पुरा गर्न मन लाग्यो, त्यसैले मैले  लाहुरे भइरहने इच्छा त्यागेर पोलिटिकल साइन्सको पढाई पो सुरु गरेँ त काका”, लामो समय सरस्वति माध्यमिक विद्यालय, हाङपाङमा प्रधानाध्यापक चलाउने साइनोमा मेरा दाजु हर्क यक्सोको छोरा विश्वराजले कारण खुलाए ।मेरो बुवा लाहुर जानुभयो, छातीमा बहादुरीको तक्मा थापेर फर्कनुभयो । सन्तानपुस्ताका विश्वराज लाहुर गए, नाम कटाएर कलेजको पढाई सुरु गरे ।एक दिन सीता हुक्पा चोङबाङ (श्रीमति विष्णु यक्सो)समक्ष जिज्ञासा राखेँ,“भाउजु, हामी तीन सुब्बेहरुलाई त लाहुर भर्तीले त्यति तानेन जस्तो लाग्यो ।”
“अबुई तपाईँहरु त पढालेखाईतिर लाग्नुभो नि त”, भाउजुले सम्झाउनुभयो ।
यसो बिचार गरी हेरेको त तीन सुब्बा यक्सोहरु लाहुर जानुभन्दा कि राजनीति गर्ने कि त पढेर शिक्षण पेशातिर लाग्ने देखियो म पनि कसोकसो “पढालेखा” भई टोपलेँ । आफ्नो वंशमै पहिलो र एक मात्र पत्रकार भएँ, भुँइफुट्टाजस्तो । मैले पाँच सुब्बा यक्सोहरु पढालेखा छैनन् भनेको होइन । त्यो खलकबाट पनि राम्रा बौद्धिक प्रतिभाहरुको विकास भएको छ ।

तर नेपाली समाजमा आफ्नै अनुहारले साथ दिएन मलाई । यहीँ अनुहारले धोका दिइरह्यो । मैले मेरो पेशाको रुपमा पत्रकारिता र प्राध्यापन रोजेँ, सिर्जनात्मक यात्राका लागि साहित्य रोजेँ । इतिहास अध्ययन र लेखनप्रतिको मोहलाई जोगाइरहेकै छु । तर नेपाली समाजमा म अनपत्यारिलो भइरहेँ ।आखिर मेरो अनुहारमा के चाहिँ छ त्यस्तो ?

फारम भराउन खोज्नेले छोप्दा
अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकमा १४ वर्ष बिताएँ । पहिले यसको कार्यालय अनामनगरमा थियो, पछि तीनकुने, गैरीगाउँ स¥यो म परेँ, सवारीसाधनविहीन ।पैदलयात्राबाट पुग्न सकिने गन्तब्य हिडेरै पुग्ने, नभए सार्वजनिक यातायात जिन्दावाद ।

अनामनगरमा कार्यालय हुँदाखेरि बबरमहलतिर निस्किरहनु पथ्र्यो । जिल्ला प्रशासन कार्यालयको बाटो हुँदै हिँड्दा, म एकप्रकारको पीडावोध गर्थेँ ।
जब त्यो बाटो भएर हिँड्थे, हातमा डटपेन समातेमा मानिसहरु मेरो बाटो छेक्थे, र भन्थे,“तपाईँ राहदानीको फारम भर्न आउनुभएको हो ? म सस्तोमा गरिदिन्छु ।”नेपाली अक्षर लेख्ने मान्छे म । लामो समयदेखि नेपाली भाषाकै सेवा गरिरहेको मान्छेलाई राहदानीको फारम भर्न आउँदैन होला र ?

अझ विदेशबाट हितैषीहरुले उपहार पठाइदिएको बुट्टे सर्ट लगाएर त्यो बाटो हिँड्दा त कुनै लाहुरे नै आएजस्तो गर्ने र राहदानीको फारम भराउने खोज्नेहरुको झुत्तो नै लाग्ने ।
यसरी राहदानीको फारम भराउन खोज्नेहरुको प्रस्तावलाई म मन्द मुस्कुराहटका साथ “पर्दैन÷होइन” भन्थेँ । ओँठ मात्र हाँस्थ्यो,मन चाहिँ कताकता रुन्थ्यो । म आफू आफैलाई प्रश्न गर्थेँ,“के मेरो अनुहार राहदानीको फारम भर्नै नजान्ने जस्तो छ ?”

पछि परराष्ट्र मन्त्रालयले  राहदानीको जिम्मा लिएपछि बबरमहलको बाटो हिँड्दा राहत महसुस गरेको थिएँ ।स्वामित्व  हस्तान्तरणपछि  अन्नपूर्ण पोस्ट्को कार्यालय सर्यो, तीनकुने, गैरीगाउँमा । फेरि बल्झ्यो उही पीडा ।नजिकै रहेछ, श्रम विभागको कार्यालय । बबरमहलकोभन्दा ठूलो पीडा अनुभूति भयो, मलाई । त्यहाँ “तपाईँ श्रममा हो” भनेर सोध्नेहरु त कति हो, कति !

त्यो भीडलाई छिचोलेर कार्यालयमा पुगेपछि  आधा लिटर पानी पिएर लामो सास फेर्थेँ र सोच्थेँ, के मेरो अनुहारको विम्व विभागको फारम भर्नै नजान्ने वा नसक्ने जस्तो
छ ?
हुँदाहुँदा श्रमको फारम भराउन खोज्नेहरु विष्णुमति पुलबाटै पिछा लाग्न थाले । यसरी पिछा लाग्नेहरुमा कतिपय मावि वा उच्च मावि तहमा पढ्ने विद्यार्थीजस्ता पनि थिए । त्यो बेला मआफै  विहानको समयमा एउटा कलेजमा कक्षा ११देखि स्नातक तहको तेस्रो वर्षसम्मका विद्यार्थीहरुलाई पढाइरहेको थिएँ ।

अब त हदै भयो । त्यसपछि मैले एउटा अक्कल झिकेँ । त्यो दिन कोट लगाएँ, अलि औपचारिकजस्तो हुनलाई । अनि हातमा रातो कभरमा छापिएको डेनिस मक्वीलको मोटो पुस्तक “मास कम्युनिकेसन थ्योरी” बोकेँ । अचम्म त्यो रुपरेखामा देखेर होला, कसैले पनि त्यो दिन मलाई “तपाई श्रम विभागमा हो ?” भनेर सोधेनन्, कोही झुत्तो खेल्न आएनन् । त्यसपछि म कुनै न कुनै पुस्तक बोकेरै कार्यालय आउने जाने गर्न थालेँ । ती पुस्तक फुर्सदको समयमा पढिन्थ्यो, प्रायजसो त देखाउनकै लागि पनि पुस्तक बोक्न बाध्य भए म ।पछि श्रम विभाग पनि अन्यत्रै सर्यो, मैले कार्यालय आउँदा जाँदा मोटो किताव पनि बोक्न छाडेँ ।

तर्सिरहे मानवअधिकारवादी
मेरो अनुहार कस्तो होला, जसले मानवअधिकारवादीलाई समेत तर्साइरहृयो !
म फेसनदार छैन । कामकाजी पोशाक लगाउँछु र प्राय कपाल छोटो राख्छु । अन्नपूर्ण पोस्ट्ले त्यो बेला मलाई मानवअधिकार क्षेत्र पनि हेर्ने जिम्मेवारी दिएको थियो । तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको समय थियो, त्यो ।
मानवअधिकार तथा शान्ति समाज नामको संस्थाले नियमित कार्यक्रम गरिरहन्थ्यो, कालिकास्थानमा रहेको उसको तत्कालिन कार्यालयमा । जब म त्यहाँ रिपोर्टिङ गर्न पुग्थेँ, तब शान्ति समाजका सदस्यहरुको मन अशान्त भएझैँ लाग्थ्यो । अनौठा आँखाले हेर्थे मलाई । यहीँ बुझ्थेँ म,उनीहरुको आँखाको भाव पढेर । म पुग्ने बित्तिकै “ल अब हामी परिचय गरौँ” भनिहाल्नुहुन्थ्यो, पुरुषोत्तम दाहाल ।
एक दिन सञ्चारकर्मी मित्र खिम घलेसँगै त्यहाँ पुगियो, रिपोर्टिङका क्रममा । मैले बाटोमा उनलाई भनेँ,“होइन हौ सोल्टी, म यहाँ पुग्नेबित्तिकै परिचय सोध्छन् ।”
“हो र !”, खिमजीको आश्चार्य ।
सदाझैँ भयो, म कार्यक्रमस्थलमा प्रवेश गरेको मात्र के थिएँ, पुरुषोत्तम दाहालको प्रस्ताव आइहाल्यो,“ल अब हामी परिचय गरौँ ।”
त्यसपछि खिमजीको प्रश्नले आफै उत्तर पायो । उनले खुसुक्क भने,“सोल्टीले भनेको कुरा हो रै’छ ।”
किन मदेखि तर्सेका होलान्, ती मानवअधिकारवादी ? सायद उनीहरु मलाई सिभिल ड्रेसमा आएको सेना वा प्रहरी भन्ठान्थे । तर यो यो मेरो अपुष्ट अनुमान मात्र हो ।

भर्खरै कोरियाबाट फर्केजस्तो
तत्कालिन राजा ज्ञानेन्द्रको शासन थियो । उनी नेपाली नेताहरुलाई बिरालोले मुसा खेलाएझैँ गर्ने सुरमा देखिए । उनले प्रधानमन्त्री बन्न इच्छुकका लागि बिन्तीपत्र आहृवान गरे, अर्कातिर गिरिजाले पनि कार्ड फ्याँकिदिएपछि माहोल पनि कस्तो बन्यो भने अब माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्ने छैन । अनि उत्साहले पाइला उचालेको देखियो, एमालेजनले ।

स्वतः स्फूर्त काठमाडौंमा ठूलो जुलुश निस्कियो । माधवकुमार नेपाललाई काँधैमा बोकेर हाँस्दै, नाच्दै र रमाउँदै रत्नपार्क आइपुग्यो, त्यो जुलुश । विजय जुलुश झैँ लाग्ने त्यो जमघटमा एमाले समर्थक निजामति कर्मचारीहरुको पनि ठूलो भीड लागेको थियो । रिपोर्टिङका लागि म रत्नपार्क पुगेको थिएँ । रमिता हेर्दै समाचार सङ्कलन गर्दै म फूटपाथमा उभिइरहेको थिएँ ।

त्यहाँ मेरो चीरपरिचितदुई जना निरौला भेटिए । उनीहरु पनि निजामति कर्मचारी । हामी तीनै जना एउटै वडाबासी । तीमध्ये मेरा अग्रजपुस्ताका लक्ष्मीजीले शाखा अधिकृतमा नाम निकालेर स्टाफ कलेज गर्दै हुुनुहुन्थ्यो । उहाँले धनकुटा अखिलको नेतृत्व गर्दा त्यो कमिटीमा म पनि एउटा पदाधिकारी थिएँ । अर्का भाई पुस्ताका निरौला त बचपनदेखिकै नजिकका ।
“हेलो, के छ ?” लामो समयपछि यी साथीभाईसँग भेट भएको थियो, खुसीले उफ्रिएँ, म ।
भाई निरौला भने मलाई देखेर एकछिन ट्वाँ परे, र भने,“ओहो, दाई त, मोटाउनुभएछ । दाई त कोरियाबाट फर्केजस्तो पो लाग्यो !”
नेपाली माटोलाई आस्था र प्रेमले सुम्सुम्याउँदै अक्षरको खेती गर्ने मेरो पेशाबारेती भाई परिचित थिए र छन् । तर उनको आँखाले मलाई “भर्खरै कोरियाबाट फर्केको” देख्यो ।  मैले मन्द मुस्कानकासाथ ती भाईलाई सोधेँ,“के म बुद्धिजिवीजस्तो देखिन्नँ र ?” यहाँनेर मैले भन्ने खोजेको के होइन भने कोरिया वा वैदेशिक रोजगारमा जानु कुनै नराम्रो काम होइन ।

“होइन, दाई तपाईँ भर्खरै कोरियाबाट फर्केजस्तै देखिनुहुन्छ क्या !” ती भाईले त उल्टै मलाई पो सम्झाऊँलाजस्तै गर्न थाले ।
यसरी मेरो अनुहार हेरेर अनेक अनुमान र पूर्वानुमान लगाउने आँखाहरुबाट यतिखेर ससरीर ओझेलिएको छु म । प्रिय, निरौला भाई, फेरि पनि कुनै दिन नेपालमा भेटौँला, त्यो बेला चाहिँ म कोरियाबाट होइन, युरोपबाट भर्खरै फर्केको हुनेछु । यो चाहिँ कुनै संयोग  हुनेछैन । हुनेछ,शतप्रतिशत यथार्थ ।तत्कालिन आठराई थुमअन्तरगतको  हाङपाङको किपट सम्हाल्ने पुर्खाको सन्तान म आज युरोपमा छु । यहाँ रहेर मन्द मुस्कानका साथ सम्झिरहेछु, मेरो अनुहार हेर्ने आँखाहरुलाई ।
 

Comment

Related News