h

News

बीपी प्रतिष्ठानको करोडौ मूल्यको जमिन र भौतिक संरचना दिल्ली पव्लिक स्कूलद्धारा २५ बर्षदेखि निशुल्क प्रयोग

news

@प्रदीप मेन्याङ्बो
धरान– करोडौ मुल्यको भौतिक पूर्वाधार र जमिन विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर त्यहाभित्र संचालित स्कुल भने भारतीय सरकारको । सुन्दा अनौठो लाग्न सक्छ । तर पत्याउनै पर्छ । धरानस्थित प्रतिष्ठान भित्र भारतीय सरकारद्धारा संचालित केन्द्रीय माध्यमिक शिक्षा परिषद (सेन्टर बोर्ड फर सेकेन्डरी एजुकेशन– सिविएसई) को आधारमा दिल्ली पव्लिक स्कूल डिपिएस विगत २५ बर्षदेखि संचालित छ । त्यहाँ भारतले शैक्षिक संस्था संचालन गरेवापत विपि प्रतिष्ठानलाई एकपैसा पनि बुझाउनु परेको छैन ।
व्याबसायिक रुपमा स्कुल संचालन भएवापत हुने आर्थिक आय व्यय, स्कुलको नाफा घाटा, व्यबस्थापन, संचालन, शुल्क निर्धारणमा प्रतिष्ठानको कुनै हात नरहेको प्रतिष्ठान श्रोतले जनाएको छ । डिपिएसले प्रतिष्ठान भित्र कार्यरत चिकित्सक, नर्स र अन्य कर्मचारीका बालबच्चा पढाउन चाहेमा २५ प्रतिशत छुट दिने गरेको छ । प्रतिष्ठानले लिएको फाइदा भनेको यति नै मात्र हो ।
उक्त स्कुल नेपालकै महंगो शैक्षिक संस्था मध्ये एकमा गणना हुन्छ । केही बर्षअघिसम्म उक्त विद्यालयमा अध्ययरत नेपाली विद्यार्थीलाई भारतीय राष्ट्रिय गान ‘जनगणमन....’ घोकाउन लगाउदा व्यापक विरोध समेत भएको थियो ।
व्याबसायिकरुपमा संचालन हुदै आएको दिल्ली पव्लिक स्कूल (डीपीएस) स्कुलमा हाल हजार जना बढी विद्यार्थी अध्ययनरत छन् । डिपिएसले प्रतिष्ठानको करिव पाँच विगा जमिनमा फैलिएको भवनहरु प्रयोग गर्दै आएको छ । डिपिएसको संरक्षकको रुपमा प्रतिष्ठानको उपकूलपति रहने प्रावधान छ ।
एनप्याव्सन सुनसरीका अध्यक्ष गणेश राईले अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने उक्त स्कुल बोर्डिङ जस्तै भएपनि नेपालका कुनैपनि संस्थागत विद्यालयको संगठनमा आवद्ध नभएको बताए । उनले डीपीएसको संचालन व्यबस्थापन रेखदेख र पाठ्यक्रम भारतीय भएकाले आफ्नो संगठनले खासै चासो नराखेको पनि बताए ।
नेपाली विद्याथीहरुबाट मात्र बार्षिक करिव पाचकरोड रुपैया कमाउने डिपिएसलाई पानी र भारत सरकारले पठाएका कर्मचारीकालागि क्वाटर सुविधा समेत प्रतिष्ठानले निशुल्क उपलव्ध गराउदै आएको छ ।
डीपीएस सम्बन्धी जानकार सहप्राध्यापक डा राजेन्द्र शर्माका अनुसार सन १९९४ मा धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनासंगै मेडिकल कलेज विस्तार हुदा भारतीय सरकारले विभिन्न फ्याकल्टि (चिकित्सक)हरु पठाएर सहयोग गरेका थियो । ती चिकित्सकहरु परिवारसहित प्रतिष्ठानमा बस्दा उनीहरुका बालबच्चाकालागि प्रतिष्ठानहाता भित्र भारतीय शैक्षिक कार्यक्रम अनुसार दिल्ली पव्लिक स्कुल संचालन गर्ने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार अढाइदशकदेखि हालसम्म स्कुल निरन्तर सचालनमा छ ।
प्रा डा शर्माले भने, ‘बदलिदो परिस्थिति अनुसार उसले (डीपीएस)ले प्रतिष्ठानलाई भाडा त तिर्नु पर्ने हो । तर यो दुइ सरकार वीचको सम्झौता भएकाले प्रतिष्ठानको भौतिक पूर्वाधार प्रयोग गरेको होला ।’
एकदशक यता प्रतिष्ठानमा कुनै पनि भारतीय चिकित्सक छैनन् । प्रतिष्ठानको सल्लाहकारको रुपमा एकजना प्रतिनितिमात्र रहने गरेको छ । भारतीय चिकित्सकहरु क्रमश आफ्नै मुलुकमा फर्के पछि पनि भारतीय दुतावासको दवावमा प्रतिष्ठान हाताभित्र व्याबसायिक रुपमा संचालन हुदै आएको  छ । स्कुलमा सवै विद्यार्थी नेपाली नै छन् । प्रिन्सीपल र केही प्रमुख पदहरुमा भारत सरकारले नियुक्त गरेर पठाउने गरेको छ । स्कूलले विद्यार्थी भर्ना र शुल्कवापत बार्षिक करोडौ रुपैया संकलन गरेर भारतमै पठाउने गरेको छ ।
नेपालभित्र संचालन गरेको स्कुलमा नेपाली कला संस्कृति, इतिहास, भुगोल भाषा लिपि नपढाउर भारतीय कला संस्कृति, आचरण, भाषा लिपी, इतिहास र भुगोल पढाउनमा बढी प्राथमिकता दिएको भन्दै बेला बेलामा आलोचना हुदै आएको छ ।
प्रतिष्ठानले आफ्नो स्वामित्वमा रहेको गल्फ मैदान र १२ भवनसहितको निर्वाणा कन्ट्री क्लव ३० बर्षे लिजमा दिएर आर्थिक आय आर्जन गरेको छ । त्यस्तै सरकारले अस्पतालहरुले आफै फार्मेसी संचालन गर्नु पर्नै निति लागु गर्नु अगाडिसम्म प्रतिष्ठानले अरुलाई फार्मेसि संचालन गर्न दिएवापत  बार्षिक १ करोड ४४ लाख रुपैया भाडा उठाउदै आएको थियो । तर प्रतिष्ठानकै स्वामित्वमा रहेको करोडौ रुपैया पर्ने जमिन र भौतिक संरचना प्रयोग गरेर अढाइदशकदेखि निशूल्क रुपमा भारतीय शैक्षिक संस्थाको एउटा शाखा संचालन हुनुलाई उचित ठहर गर्न नसकिने प्रतिष्ठान भित्रकै पदाधिकारीहरुले बताए ।
स्कुलका संरक्षक समेत रहेका प्रतिष्ठानका उपकूलपति प्रा डा राजकुमार रौनियारले प्रतिष्ठानका कार्यक्रमहरु चिकित्सा शास्त्र अध्ययन, विरामी उपचार सेवा र अनुसन्धानमामात्र केन्द्रित भएकाले त्यतातिरको बारेमा खासै ध्यान दिन नपाएको बताए ।
 उनले भने, ‘डिपिएस संचालनकालागि प्रतिष्ठानले आफुसंग भएका भौतिक पूर्वाधार निशुल्क प्रयोग गर्न दिने भनेर भारत र नेपाल सरकारवीच २५ बर्ष पुरानो सम्झौता पत्र छ भन्ने सुनेपनि हेर्न पाएको छैन । अहिलेको परिवर्तित अवस्थामा कान्तिपुरले नया“ विषय उठान गर्यो । अव यो विषयमा कसरी अगाडि बढ्ने वा पुरानो सम्झौतालाई पुनरावलोकन कसरी गर्ने भनेर कार्यकारिणी समिति, सिनेटमा एजेण्डाको रुपमा प्राथमिकताकासाथ राख्ने छु ।’

फोटो: धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानहाताभित्र रहेको दिल्ली पव्लिक स्कूलको प्रवेशद्धार । तस्वीरः प्रदीप
 

Comment