h

News

सुनेको र देखेको गोरेबहादुर

news

@राजकुमार दिक्पाल
धनकुटामा पनि जनजातिको पार्टीको कार्यालय स्थापना हुने भयो । त्यसबेला त्यो पार्टीको नाम थियो, राष्ट्रिय जनमुक्ति मोर्चा । एउटा घरमा पार्टीको कार्यालय स्थापना भएको साइनबोर्ड देखियो । त्यो बेला यस पार्टीका स्थानीय नेता कोही चिन्न सकिनँ, मैले । तर साइनबोर्ड लेखाउने र टाँस्ने मानिस चाहिँ मेरा लागि चीरपरिचित छिमेकी ।
यज्ञ गुरागाईंले साइनबोर्ड लेखाएर आफै बोकाएर ल्याउँदै गरेको देखियो । यज्ञ बाहुनको छोरो, फेरि “नाक थेप्चेहरु”ले खोलेको पार्टीलाई स्थानीय स्तरमा स्थापित गर्न यज्ञ दाई कम्मर कसेर लाग्नुभएको देख्छु । मैले जान्दा र बुझ्दा यज्ञ दाई सूर्यबहादुर थापाप्रति सा बफादार । तर बेलाबेलामा अनेक गरिरहनुपर्ने । होहल्ला पनि खुब गर्नुपर्ने । २०५४ सालको स्थानीय चुनावमा धनकुटा नगरपालिकाको मेयर पदका स्वतन्त्र प्रत्यासी । उहाँले जम्मा १ भोट पाउनुभयो ।
बाहुनको छोरोले २०४७ सालमा जनमुक्ति मोर्चा नामको पार्टीको साइनबोर्ड बोकेर ल्याई टाँस्दै गरेको चाहिँ म आफैले देखेँ । पछिल्ला समयमा यज्ञ दाई कुनै पार्टीमा हिड्नुभयो जस्तो लागेन । सूर्यबहादुर थापालाई हराउने एमाले नेता गोपाल गुरागाईंका कान्छा काकाका छोरा यज्ञ दाई  विभिन्न रुपमा एमालेविरुद्ध लागिरहेको चाहिँ देख्थेँ ।
म यज्ञ दाईलाई बेलाबेला जिस्काउँथेँ,“ए दाई, कति धेरै भोट ल्याको हौ, जम्मा एक भोट ? भाउजुले पनि तपाईंलाई पत्याउनुभएन कि क्या हो ?”
“ए बाबु, तलाईं यतिको बोल्ने बुद्धि चाहिँ कसरी आयो हँ ?” उहाँ मलाई उल्टै उल्लीबिल्ली गर्न खोज्ने ।
उहाँ दिवंगत भइसक्नुभयो । तर ब्यक्तिगत रुपमा यज्ञ दाईले कसैको हानी नोक्सानी गरेको चाहिँ मलाई थाहा छैन ।
यज्ञ दाईले धनकुटामा साइनबोर्ड टाँसेको पार्टीको केन्द्रका नेता चाहिँ को होलान् ? सोधी खोजी गर्दा एमएस थापा र गोरेबहादुर खपाङ्गी पार्टीका खास नेता हुन् भन्ने थाहा भयो । दुवै बामपन्थी पृष्ठभूमीका ।
मैले २०४७ सालमा पहिलो पटक गोरेबहादुर खपाङ्गीको नाम सुनेँ । मेरो लागि त नाम र थर दुवै अनौठो !
चामल जोगाउने जुक्ति
दशैँ बहिस्कार !
दुई शब्दको यो वाक्यले कसैको दिमाग चाट्यो, कोही भने रमाए ।
आफूहरु सनातनी हिन्दु धर्मावलम्वी नभएको र दशैँ आफूहरुको चाड नभएको तर्कका साथ दशैँ मान्नुहुन्न भन्ने अभियानका अभियानकारीमध्येका एक हुनुहुन्छ, गोरेबहादुर । उहाँ बारम्बार स्पष्ष्टिकरण दिनुहुन्थ्यो,“हामीले दशैँ बहिस्कार भनेका होइनौँ, दशैं परित्याग पो भनेका हौं त । हामीलाई अरुको चाडपर्व बहिस्कार गर्नु नै किन प¥यो र ?”
उहाँ दशैंमा टिका नगलाएर क्वीन्टलका क्वीन्टल चामल जोगाउने कुरा गर्नुहुन्थ्यो ।
तत्कालिन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई असक्षम घोषणा गर्दै आफ्नो शासन हातमा लिएर लोकेन्द्रबहादुर चन्दको नेतृत्व सरकार गठन गरे । महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनाइनुभयो, गोरेबहादुर खपाङ्गी । त्यो सालको दशैँमा उहाँ स्वयम् टिका थाप्न नारायणहिटी दरबारमा पुग्नुभयो । उहाँले टिका थापेको फोटो भाइरल हुने नै भयो ।
आदिवासी जनजाति समुदायबाटै उहाँको ठूलो आलोचना भयो । तर उहाँले आफ्नो बचाउ गरिरहनुभयो ।
उहाँ मन्त्री छँदै फोन गरेँ,“नमस्कार मन्त्रीज्यू ।”
“आज्ञा होस ”, मन्त्रीज्यूको पुरानो बानीअनुसारको शब्द ।
मैले जिज्ञासा राखेँ,“दशैँ  परित्याग गरौँ भनेर त्यत्रो अभियान चलाउने अभियानकारी तपाईँ आफै टिका थाप्न दरबार जाने ?”
“ए बाबा, राजाले मलाई मन्त्री पद बक्स्यो, यसवापत मसँग भएको एउटा जिउ दिएँ, त्यहीँ जिउमा टिका बक्स्यो त, केको कोकोहोलो ?”, फेरि उहाँले आफ्नो बचाउ गर्नुभयो ।
कुभिण्डो काट्ने आँट
माओवादीले भर्खरै सशस्त्र विद्रोह सुरु गरेको थियो । त्यो विद्रोहप्रति गोरेबहादुरको सहमति थिएन । उहाँ मन्त्री हुनुअघिकै कुरा हो यो ।
उहाँको पार्टीको सुनसरी निर्वाचन क्षेत्र नम्बर १ र त्यसमा पनि धरानमा त्यसबेला पाँच हजार जति भोट राष्ट्रिय जनमुक्ति पार्टीलाई जान्थ्यो । २०५१ सालको मध्यावधि निर्वाचनमा उहाँलाई त्यहिँ क्षेत्रमा उम्मेदवार बनाइयो । उहाँको उम्मेदवारीप्रति जनमुक्ति पार्टीका स्थानीय नेता कार्यकर्तामा ठूलो उत्साह थियो ।
मत गणना सुरु भयो । सुरुमा गोरेबहादुर खपाङ्गीले अग्रता हासिल गरेको समाचार रेडियो नेपालले प्रशारण ग¥यो । यसले जनमुक्तिका स्थानीय नेता कार्यकर्तामा थप उत्साह भ¥यो । तर यस्तो समाचार रेडियो नेपालबाट एकपटक मात्र सुन्न पाइयो, त्यसपछि त एमालेकी लिला श्रेष्ठ सुब्बाको अग्रता कायम रहिरह्यो र उहाँ नै विजयी हुनुभयो ।
आफू हारे पनि गोरबहादुर चाहिँ धरानलाई माया गरिरहने । उहाँलाई बेलाबेलामा धरानमा बोलाइने गरिन्थ्यो ।
एक दिन उहाँको सम्वोधन सुन्न म पनि पुगेँ, एउटा सभामा । उहाँले एक प्रसँगमा माओवादीले त्यतिखेर सुरु गरेको सशस्त्र विद्रोहबारे पनि टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो,“यी माओवादीहरु मान्छे काट्ने कुरा गर्छन्, तर यिनीहरुसँग कुभिण्डो काट्ने पनि आँट छैन ।”
यता दर्शकदीर्घाबाट कार्यकर्ताले ताली पड्काए,परररर...।
उहाँको वाककला मीठो थियो । तर कुनै कुनै बेला बढिनै बोल्ने ।
कुरा २०५०को हो । पहिलोपटक मैले उहाँलाई धनकुटाको टुँडिखेलमा देखेँ । त्यहाँ जनमुक्ति पार्टीले आमसभाको आयोजना गरेको थियो । रिपोर्टिङका लागि गएको थिएँ ।एमालेका तत्कालिन महासचिव मदन भण्डारीको दाशढुङ्गाको रहस्यमय दूर्घटनामा निधन भएको थियो । गोरेबहादुरले भाषणका क्रममा भन्नुभयो,“अस्ति भर्खरै मदन भण्डारी पोखराको चिप्लेढुङ्गामा भाषण गर्दै थिए, उनले यति चर्केर भाषण गरे कि अखिले केटाहरुले ताली पड्काउँदा फेवातालको माछा फुत्त बाहिर उफ्रिएर निस्क्यो । पहिले खुला मञ्चमा भाषण गर्दा पनि अखिले केटाहरुले पररर के ताली बजाएका थिए, नजिकैको रानी पोखरीबाट पनि यसरी नै फुत्त माछा निस्केको थियो ।”
यो चाहिँ उहाँले बढी नै बोल्नुभएको थियो । भर्खरै दिवंगत भएका नेता भण्डारीका विषयमा उहाँले गर्नुभएको अराजनीतिक टिप्पणीले मेरो मन खिन्न भएको थियो, त्यो बेला ।
“गोरे दाई इज अ फ्याटम्यान”
गोरेबहादु खपाङ्गीको भाषण वा अभिब्यक्तिहरुमध्ये कतिपयले मेरो मन छोएको छ । उहाँ नेपालका  पाठ्यक्रमका निर्माताहरुको कट्टर आलोचक हुनुहुन्थ्यो । भन्नुहुन्थ्यो,“यहाँ किताबहरुमा उदाहरणका लागि लेखिन्छ, डा. शर्मा । के डा. मगर, डा.गुरुङ, डा. लिम्बू, डा. राई लेख्न सकिन्न ?”
कक्षा ४ मा पढ्दा अँग्रेजीको किताबमा मैले पनि यस्तै डा. शर्मा पढेको थिएँ । म पनि किताबमा खोज्थेँ, डा. सुब्बा । तर भेट्दिनथेँ ।
आमासँग एकदिन एक ठाउँमा पुगेँ । डोरप्लेटमा डा. सुब्बा भेटेँ, अर्थात् डा. ठाकुर सुब्बा । लाग्यो, डा. सुब्बा पनि हुँदोरहेछ ।
पशुचिकित्सक डा. ठाकुर सुब्बा  जिल्ला पशुचिकित्सालय, धनकुटाको तत्कालिन हाकिम हुनुहुन्थ्यो । त्यसबेला । उहाँ म आफू साधारण सदस्य रहेको शिक्षा पत्रकार समूहका अध्यक्ष रोश्ना सुब्बाका पिताजी हुनुहुन्छ ।
“गोरे दाई इज अ फ्याट म्यान, हि इट्स अ लट् ।” त्यसबेलाको कक्षा ४को अँग्रेजी पुस्तकमा यो वाक्य पढ्ने पुस्ताका सदस्य अहिले पनि प्रशस्त भेटिन्छन् । यो  वाक्य पढाउने शिक्षकहरु पनि कतिपय जिवितै  हुनुहुन्छ ।
मैले पढ्ने पाठ्यक्रम चाहिँ त्यहीँ साल फेरिएकोले आफ्नो पुस्तकमा यो वाक्य पढ्ने अवसर पाइनँ । तर  मभन्दा एक ब्याच सिनियर मेरी दिदी विमलाको पुस्तकमा यो वाक्य पढ्ने अवसर पाएको थिएँ । निक्कै चर्चित थियो, अँग्रेजीको यो वाक्य ।
अग्रज नारायण ढकालसँग मैले पत्रकारिता गर्दा एउटै छानामुनि एक दशक बिताएँ । फुर्सद भयो कि म नारायण दाईको समिपमा पुगिहाल्थेँ, उहाँका कुराहरु सुन्न ।
नारायण दाई मास्टर डिग्रीको पढाई सकिनासाथ त्रिभुवन विश्वविद्यालयको तत्कालिन नियमअनुसार राष्ट्रिय विकास सेवा (राविसे)मा जानुपर्ने भएछ । त्यसबेला राविसेमा जानुपर्दा अधिकाँशले शिक्षण सेवामा जान मन पराउँथे । नारायण दाईले रामेछाप रोज्नुभएछ, जहाँ गोरेबहादुर खपाङ्गी हेडमास्टर हुनुहुन्थ्यो । तत्कालिन मालेका कार्यकर्ता, शिक्षक सङ्गठनका तत्कालिन महासचिव गोरेबहादुर खपाङ्गीको सानिध्यमा पुग्ने अवसर पाउनु नारायण दाईका लागि सायद लाभदायक थियो ।
साहित्यमा बुटपालिस आन्दोलनका एक सहभागी नारायण दाईमा  थप क्रान्तिकारी बन्ने रहर मरिसकेको थिएन रहेछ । त्यसैले थप क्रान्तिकारी बन्न बाहुनको छोरा उहाँले सुँगुरको मासु खाने निर्णय गर्नुभएछ । रामेछापमा गोरेबहादुरको सानिध्यपछि स्थानीय बजारबाट एक धार्नी सुँगुरको मासु ल्याउनुभएछ र छेउछाउ कतैबाट झिकाउनुभएछ, एक ग्यालेन कोदोको रक्सी ।
तर एक दुई टुक्रा खाएपछि सुँगुरको मासुले अघाइहाल्नुभयो, नारायण दाई । गोरबहादुर त अघिदेखिनै खाँदै पिउँदै । उहाँले नारायण दाईलाई भन्नुभएछ,“हेर्नोस्, म त मगरको छोरो सुँगुरको मासु त मज्जाले खान्छु ।” त्यहीँ रात एक धार्नी मासु र एक ग्यालेन कोदोको रक्सी सबै सकियो । गोरबहादुरले सबै खाईपिइ सक्नुभएछ ।
गोरबहादुरको पाठ्यक्रम निर्मातासँग पनि देखभेट र उठबस भइरहने । उहाँको खाने बानीबाट परिचित पाठ्यक्रम निर्माताले उदाहरणका लागि त्यसबेलाको कक्षा ४को अँग्रेजीको पुस्तकमा हालिदिएछन्, “गोरे दाई इज अ फ्याट म्यान हि इट्स अ लट् ।”
यसबारेमा मैले उहाँसँग जिज्ञासा राखेँ । उहाँले हाँस्दै भन्नुभयो,“त्यो कितावमा चित्रसहित लेखिएको पात्र मै हुँ ।”
नारायण दाईबाट गोरेबहादुरको खानेबानीको बारेमा सुनेपछि उहाँले खाएको हेर्न मन लाग्यो । एक बिहान लाजिम्पाटको एउटा तारे होटलमा कार्यक्रम राखिएको थियो ।कार्यक्रम सकिएपछि खानाको ब्यवस्था थियो । तर बिहानैको समय भएकोले खानेकुरामा चिया कफि र बेकरी परिकार मात्र राखिएको थियो ।
मैले एक कप कालो चिया र दुई टुक्रा विस्कुट लिएँ । त्यसबेला गोरेबहादुर पूर्वमन्त्री भइसक्नुभएको थियो । उहाँलाई नियालेँ । उहाँको प्लेटमा बिस्कुट र केकको चुली लागेको थियो । उहाँले खाँदै जानुभयो । उहाँ स्वाम् स्वाम् खानुहुन्छ, त्यहीँ तालमा उहाँको बोके दाह्री नाच्छ । उहाँ स्वाद मानी मानी खाइरहनुभयो, मे चाहिँ स्वाद मानी मानी उहाँले खाएको हेरिरहेँ र सम्झेँ, गोरे दाई इज ए फ्याट म्यान, हि इट्स अ लट् ।
तर विडम्वना !
यस्ता एउटा पात्र, जसको मृत्यू सहज हुन सकेन । मीठा मीठा बोल्ने मान्छे, जीवनको उत्तराद्र्धमा अर्धवेहोशी अवस्थामा नबोलिकनै जानुभयो, अरु कसैलेजस्तै मैले पनि सुनेको र देखेको गोरेबहादुर खपाङ्गी ।

Comment

Related News