h

News

संस्कृत, नेपाली र नेवारीका विज्ञ: प्रा.डा.कुमारबहादुर जोशी

@नरेन्द्रराज प्रसाई
कुमारबहादुर जोशीको जन्म:
कुमारबहादुर जोशीको जन्म १९९८ साल मङ्सीर २३ गते सोमबार चाबेल, काठमाडौंमा भएको थियो । प्रेमबहादुर जोशी र जुलुममाया जोशीका चार छोरामध्ये कुमारबहादुर जोशी दोस्रो पुत्रका रूपमा भूगोलभित्र पदार्पण भए । जोशीको शिशुकाल मातृपितृ स्नेहले बिते तापनि बाल्यकालको मध्यतिर हिंड्दाहिंड्दै यिनले आफ्ना बाबुलाई गुमाए । वास्तवमा आफ्ना बुबाको निधनपछि जोशीले अति नै शारीरिक दुक्ख खेप्नु परेको थियो । उनले जेजस्तै कष्ट भोगे तापनि उनकी आमाको मिहेनतबाट र स्वयं आफ्नै परिश्रमबाट उनले प्रारम्भिक शिक्षा ग्रहण गरेका थिए ।
शिक्षा:
जोशीका प्रारम्भिक गुरु उमानाथ आचार्य थिए । त्यसैले जोशीको शैक्षिक पृष्ठभूमि संस्कृत भाषाको माध्यामबाट आरम्भ भएको थियो । पढ्दैजाँदा केही वर्षमा नै उनी संस्कृत विषयमा पनि निक्कै पारङ्गत भए । एउटा नेवारको छोरो पनि संस्कृति भाषामा गहिरो दख्खल राख्न सक्छ भन्नुको प्रमाण पनि त्यति बेला जोशी नै थिए । स्कुले शिक्षाको सफलतामा उक्लँदाउक्लँदै सङ्गीतका क्षेत्रमा पनि उनी प्रविष्ट भइसकेका थिए । त्यसै बेला उनी हार्मोनियम, तबला, बेला र बाँसुरी बजाउने गर्थे ।
जोशीले काठमाडौंको चर्चित रानीपोखरी संस्कृत पाठशालामा पढे । त्यहाँबाट उनी संस्कृत प्रथम परीक्षामा प्रथम श्रेणीमा प्रथम भए । उनले भारतको बनारसबाट पूर्वमध्यमामा प्रथम श्रेणी हासिल गरे । त्यही वर्ष उनी काठमाडौंबाट निजामती मध्यम परीक्षा उतीर्ण भए । अध्ययनलाई सक्रिय पार्दै उनी उत्तरमध्यमामा पनि प्रथम भए र शास्त्री पनि उत्तीर्ण भए । त्यसै गरी उनले त्रिभुवन विश्वविद्यालयबाट बीए र एमए पनि पास गरे ।

जागिर:
जोशी सङ्घर्षमा नै जन्मे, सङ्घर्षमा नै हुर्के र सङ्घर्षमा नै उनले जीवनलाई तान्दै लगे । घरको आर्थिक अवस्थालाई सुधार्ने हेतु उनले एसएलसी पासपछि बिहान स्कुलमा पढाए, दिउँसो नेपाल राष्ट्र बैंकमा जागीर खाए र राति नेशनल कलेजमा आईए पढे । पढाउने क्रममा उनले परोपकार हाईस्कुल र जद्धोदय हाईस्कुलमा पनि संस्कृत र नेपाली पढाए । पढ्दापढ्दै उनी इलाम पनि पुगे । त्यहाँ गएर उनले केही महिना जागीर खाए । त्यसपछि राजधानी फर्केर उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा भर्ना भए । एमए पास गरेपछि उनले दाङको जनता महाविद्यालय, काठमाडौंको नेपाल युथ कलेज, त्रिचन्द्र कलेज, जनप्रशासन कलेज र त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रिय विभाग कीर्तिपुरमा पनि प्राध्यापन गरे । उनी बढोत्तरी हुँदै पनि गए र २०५४ सालमा प्राध्यापक पनि भए । काशी हिन्दू विश्वविद्यालयमा पनि अतिथि प्राध्यापक भएर उनले चार वर्ष पढाए । २०१६ सालदेखि उनी शिक्षासेवामा आबद्ध भएर २०६१ सालसम्म उनी त्यही पेसामा संलग्न भए ।

विवाह:
जोशीले एमए पढ्नका लागि नाउँ दर्ता गरेपछि बिहे गरे । उनको बिहे तुलसीदास प्रधानका जेठी छोरी कोशला प्रधानसँग भएको थियो । दाम्पत्य जीवनमा प्रवेश भएपछि कोशला जोशी पनि साहित्यमा लागिन् । उनले पनि ‘नेपाली साहित्यका सात तारा’ लेखिन् । साथै यी दम्पतिबाट कौशल, कुमुदिनी र कुमुद जन्मे । वैवाहिक जीवनमा उनीएर तीन दसकसम्म यी दम्पतिले एक अर्कामा दुक्ख बाँडे, सुक्ख बाँडे, हाँसो बाँडे र आँसु पनि बाँडे । तर त्यो मिलनबाट एक जनाले पृथ्वीबाट हठात् हिंड्नु प¥यो । अथवा भनौं बिहेको तीस वर्ष लाग्दा नलाग्दै कोशलाको चोला उठ्यो । त्यसपछि कुमारबहादुर जोशीले शङ्करध्वज जोशीकी कान्छी छोरी सरस्वती जोशीसँग लगनगाँठो कसे । विवाहपछि जोशी मृगौला पीडित बने । त्यसपछिका दिनहरूमा सरस्वती जोशीले आफ्ना पतिको रक्षार्थ हरेक पल अनेक कसरत गरिन् । उनैको सेवाले जोशीले अर्को जन्म मात्र पाएनन् लेखनयात्रामा पनि आफूलाई उतिकै उत्सर्गिक बनाइरहे । वास्तवमा सरस्वती जोशी कुमारबहादुरका लागि साक्षात देवी पनि थिइन् । साथै सरस्वती जोशीले पनि आफ्ना पतिउपरका तीनवटा कृति ‘कुमारबहादुर जोशीसितका अन्तर्वार्ता’ (२०६३), ‘सर्जक जोशी र उनका कृति’ (२०६४) र ‘कुमारबहादुर जोशी ः संवाद र मन्तव्य’ (२०७०) सम्पादन गरिन् ।

काशीयात्रा र मृगौला रोग:
जोशीले सरस्वतीसँग बिहे गरेपछि यी दम्पती बनारस लागे । भनौं त्यस बेला जोशी काशी हिन्दू विश्वविद्यालयमा नेपाली अतिथि प्राध्यापकका रूपमा कार्यरत थिए । तर बनारस पुगेदेखि नै उनी मृगौला रोगले थला परे । दोस्रो बिहेको दोस्रो वर्षमा नै कुमारबहादुर जोशीका दुवै किड्नीले फेल खाए । आफ्नी पत्नी सरस्वती जोशीको सक्रियतामा उनको शरीरमा मृगौला पनि प्रत्यारोपण भयो । साथै फेरि पाँच वर्षपछि उनका त्यो फेरिएको मृगौलाले पनि काम गर्न छाड्योे । त्यसपछि फेरि उनको मृगौला फेरिन गयो । वास्तवमा सरस्वती जोशीको ओजिलो पति प्रेमबाट नै कुमारबहादुर जोशीको पुनर्जन्म र फेरि पनि पुनर्जन्म भयो । डा.जोशीको जीवनमा उनका अनन्य सहयोगीका रूपमा साहित्यकार भाइ प्रधुम्न जोशीको भूमिका पनि विर्सिनसक्नुको थियो । दिुई पल्ट मृगौला फेर्न र बाँचुञ्जेल औषधी सेवन गर्न उनलाई लगमग एक करोड रुपियाँ लागेको थियो । नेपाल सरकार, विभिन्न सामाजिक सङ्घसंस्था र सह्दयी व्यक्तिहरूको सहयोग पाएर जोशीले दोहोर्याउदै , तेहेर्याउदै आफ्नो अर्को र फेरि अर्को जन्म भोगे ।

जोशीको साहित्यिक यात्रा:
जोशीले नेपाली साहित्यमा प्रवेश गरेर खास गरेर समालोचना विधामा नै आफ्नो नाउँ स्थापित गरे । जोशीले नेपाली समालोचनाका फाँटमा २०२१ सालदेखि औपचारिक रूपमा हात हालेका थिए । २०२१ चैत २१ गतेको गोरखापत्रमा उनले विजय मल्लकृत नाटक विषयक ‘कोही किन बरबाद होस् : एक समीक्षा’ भन्ने लेख छपाएका थिए । त्यसपछि उनीद्वारा लिखित “चार अमर कविका पाँच काव्यकृति” २०२९ सालमा प्रकाशित भएको थियो । त्यस कृतिमा जोशीले आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र म.वी.वि.शाहका काव्यहरूको समालोचना गरेका थिए । त्यही कृतिबाट जोशी नेपाली समालोचनाक्षेत्रमा चर्चाको मुहानतिर आइपुगे । जाति, सम्प्रदाय र आञ्चलिकतादेखि माथिमाथि र माथि उठेर जोशीले समालोचनाको प्रारम्भमा नै आफ्नो समालोचकीय धर्म निर्वाह गरेका थिए । सुरुमा जोशीको समालोचकीय आधार नाटक भए तापनि उनले खास गरेर कविता र क्रमशः साहित्यका प्रायः सम्पूर्ण अन्य विधालाई पनि आफ्नो समालोचनात्मक आलेखबाट जुरुक्कै बोक्न खोजेको पाइन्थ्यो ।

नेपाली समालोचनामा पाइला चाल्दै जाँदा जोशी महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रतिको निष्ठामा चाहिं अधिकतम रूपमा नै अङ्गालिन पुगे । त्यसैले उनी महाकवि देवकोटाको सेरोफेरोमा धेरै पल्ट नै बाटिए । हुँदाहुँदै उनको समालोचनाको मुख्य विषयवस्तु पनि देवकोटा नै भए । देवकोटा विषयक छोपिएका धेरै बेहोरा पनि यिनले बाहिर ल्याएर अलौकिक काम गरे । साथै त्यही काम गरेर उनी पनि प्रसिद्धिको शिखरमा पुगे । देवकोटा भित्रै डुब्दै, भिज्दै र पौडँदै गएर उनले त्रिभुवन विश्वविद्यालयबाट संवत् २०४३ मा देवकोटा विषयक विद्यावारिधीको उपाधि पनि हासिल गरे । उनले विद्यावारिधि गरेको विषय थियो “महाकवि देवकोटाको कवितायात्रा र त्यसका मोडउपमोडहरूको विवेचना” । महाकवि विषयक विद्यावारिधि गर्ने पहिलो व्यक्तित्व पनि जोशी नै किटिए ।

नेपाली समालोचनाक्षेत्रमा जोशीले आफ्नो बलियो कृतिस्तम्भ तयार पारे । त्यस धारामा समर्पित भएर उनले साहित्यमा आफ्नो उच्च आयम स्थापित गरे । उनको त्यही धाराको पोयो बाट्तै अर्का सुप्रसिद्ध समालोचक प्रा.डा.घनश्याम नेपालले लेखे “साहित्य व्यक्ति साहित्यकारद्वारा अनुभव र बोध गरिएका मूल्यहरूकै कलात्मक अभिव्यक्ति हो र साहित्यालोचन भनेको तिनै अनुभव, बोध, कलात्मक सौन्दर्य र मूल्यहरूको पारख र अँकाई हुनुपर्छ भन्ने विचारधाराकै हिमायती डा.कुमारबहादुर जोशीलाई ती थोरै नेपाली समालोचकहरूका हारमा हामी पाउँछौं, जसलाई प्राचीन भारतीय दर्शन, काव्य तथा साहित्य शास्त्रका साथै पाश्चात्य काव्य, काव्यशास्त्र र दर्शन अनि नेपाली भाषा र साहित्यको पनि भित्रीतहरूसम्मको सुक्ष्मज्ञान छ । वस्तुतः आधुनिक नेपाली समालोचना भनेको यिनै तीन थरी प्राज्ञिक स्रोतको समीकरणबाट उद्भूत साहित्याध्यायन नै हो । यही नै अद्यावधिक नेपाली साहित्यालोचनको मूलधारा पनि हो । डा.जोशीलाई हामी मूल धाराका एक जना अथक साधक र पोषकका रूपमा पाउँछौ ।”

कृति:
साहित्यिक मार्गमा समर्पित हुँदै जाँदा जोशीले निबन्ध, समालोचना र कविता विधामा आफ्नो कलम तिखार्दै गए । जोशीले समालोचना विषयमा मात्र चौधवटा ग्रन्थहरूको निर्माण गरे जसअनुसार देवकोटा विषयकमा मात्र उनले छवटा ओजपूर्णका ग्रन्थ लेखे । चार अमर कविका पाँच काव्यकृति (२०२९), महाकवि देवकोटा र उनको महाकाव्य (२०३१), विकर्ण चिन्तन (२०३३), पाश्चात्य साहित्यका प्रमुख केही वाद (२०३८), कविताचर्चा (२०४०), देवकोटाका कवितायात्राको विश्लेषण र मूल्याङ्कन (२०४७), देवकोटाका कविताकृतिमा प्रकृति (२०५३), केही कृति र कृतिकार (२०५४), कवि मोहन कोइराला र उनको गङ्गा प्रवास (२०५५), सिर्जना र विवेचना (२०५८), लक्ष्मी निबन्धसङ्ग्रहका निबन्धहरूमा देवकोटाका काव्यमान्यता (२०६१), महाकवि देवकोटा : अनेकका आँखामा (२०६६), कृतिपरिक्रमा (२०६७) र केही साहित्यिक कृति (२०६७) उनले लेखेका समालोचनाका कृति हुन् ।

२०१९ साल माघ ७ गते ‘विद्या र विद्यासाधन’ नामक उनको निबन्ध गोरखापत्रमा छापियो । त्यसपछि २०२५ सालमा ‘सञ्चयन’ नामक निबन्धसङ्ग्रह पनि उनले जनसमक्ष ल्याए । उनले २०५४ सालमा ‘मृत्युशैयाबाट ब्यूँझेर’ २०५५ सालमा ‘मृगौला रोग र यसको उपचार’ र २०५९ सालमा ‘दोस्रो नवजीवन’ नामक निबन्धसङ्ग्रहहरू पनि नेपाली साहित्य मन्दिरमा चढाए । उनले २०६९ सालमा ‘चिन्तन र संस्मरण’ र २०७२ सालमा ‘कालीप्रसाद र कुमारबहादुर’ पनि लेखे । साथै उनले २०६१ सालमा अङ्ग्रेजी Awakening from the Death-bed पनि लेखे । संस्कृतका ज्ञाता जोशीले नेवारी भाषामा पनि आफ्ना लेखरचना विभिन्न पत्रिकामा छपाइरहे ।

जोशीले थुप्रै राम्राराम्रा फुटकर कविता लेखे । तर कृतिका रूपमा उनको कविताको सिङ्गो पुस्तक २०२६ सालमा ‘सिंहसार्थवाह’ प्रकाशित भयो । त्यसै गरी २०४१ सालमा उनका दुई वटा अन्तर्वार्ताका ग्रन्थहरू पनि प्रकाशित भए । ‘कुराकानी’ र ‘एक व्यक्तित्व ः अनेक दृष्टि’ । एक व्यक्तित्व ः अनेक दृष्टिचाहिं महाकवि लक्ष्मीप्रसाद देवकोटाका विषयमा केन्द्रित छ । यस ग्रन्थमा देवकोटाका सुपरिचित व्यक्ति र स्रष्टाद्वारा महाकविको व्यक्तित्व र कृतित्वबारे प्रकाश पारिएको छ ।

जोशीले केही कृतिको पनि सम्पादन गरे; ‘वासुशशीका कविता’ (२०३५), सहसु सारस (२०४३), जापानको सबभन्दा लामो दिन (२०४५), ‘हिमदेश’ (२०४५, महाकवि देवकोटाका कविता (२०४७), नेपाली साहित्यकोश (२०५५), बाल रचना माला (२०६७), खेतलाका कविता (२०६७) ।

जोशीले केही पत्रिकामा पनि आफ्नो सबल पहुँच प्रस्तुत गरे । जसअनुसार समयाङ्कन (२०५२ देखि २०५४ सम्म) पनि उनैले सम्पादन गरे । यसका अतिरिक्त उनले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट नेपाली साहित्यकोश (२०५५) र त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास पत्रिका (२०५७ देखि २०५९ सम्म) को सहसम्पादनमा आफ्नो योगदान प्रस्तुत गरेका थिए ।

पुरस्कार र सम्मान:
नेपाली साहित्याकाशमा निरन्तर समर्पित भएबापत जोशी विभिन्न पुरस्कारबाट सम्मानित भए । उनी महेन्द्र विद्याभूषण प्रथम, भानुभक्त पुरस्कार, प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भूपालमानसिंह कार्की कृति पुरस्कार, सैनध्वजनन्दकुमारी पुरस्कार, कुमारी साहित्य पुरस्कार, ईश्वर बराल पुरस्कारबाट पुरस्कृत भए । साथै दर्जनौ सम्मान, अभिनन्दन र पदकबाट पनि उनी सम्मानित भए ।

व्यक्तित्व:
जोशी नेपाली साहित्यमा एउटा सरल, प्रस्ट र उदार व्यक्तित्व थिए । मान्छेप्रतिको शिष्टचार, समयप्रतिको इमान्दारिता र सेवाप्रतिको त्याग नेपाली संसारमा उनले अक्षय रूपमा राखे । उनी एउटा कर्मठ भएर पनि योग्यताका कसीमा नापिएका स्रष्टा थिए । उनी जसरी समालोचकीय धारामा काव्यतिर झुकाव राख्थे उनको व्यक्तित्व पनि काव्यमय पाइन्थ्यो । जस्तोसुकै हुरी चले तापनि, जस्तोसुकनै बाढी आए तापनि र जस्तोसुकै विघ्नबाधा आइपरे पनि जोशी साहित्य, साहित्य र साहित्यमा नै समर्पित थिए । वास्तवमा त्यसै गुणले उनी पाठकमाझ श्रद्धेय पनि भए ।

निधन:
प्रा.डा.कुमारबहादुर जोशी मृगौला रोगका कारण झन्नै २५ वर्ष थला परे । उनका प्रिय चिकित्सक डा.ऋषिकुमार काफ्लेका कारण उनले कहिले सहज जीवन भोगे र कैयौंपल्ट कष्टपूर्णको जीवन नै धाने । अन्ततः २०७५ साल वैशाख ३ गते मातातीर्थ औसींका दिन ललितपुरको सुमेरु अस्पतालमा श्रीमती र सबै छोराछोरीका आँखा अगाडि उनको इहलीला समाप्त भयो ।

 

Comment

Related News