h

News

हाँसेरै पढाएँ, नाचेरै पढाएँ

news

👨🏻‍राजकुमार दिक्पाल
एक महिनायतादेखि मेरो आँखामा राम्ररी निद्रा परिरहेको थिएन । त्यो बेला म आँखा उघारेरै एउटा सपना देखिरहेको थिएँ । एउटा छात्रवृत्ति खुलेको थियो । इन्टरनेशनल पीस स्टडिज विषयमा पोस्ट ग्य्राजुएटका लागि थियो, त्यो छात्रवृत्ति । नेपाल शान्ति प्रक्रियामा गुज्रिरहेको समय थियो । मलाई पनि पढ्न जान मन लाग्यो ।
म छात्रवृत्तिमा त जाऊँला, तर परिवारको वृत्ति कसरी चलाउने ? यहीँ थियो चिन्ता । तर त्यो सपनाका कारण म एक महिनादेखि राम्ररी निदाउन सकिरहेको थिइनँ ।
तर मैले जब आफूभन्दा अरु धेरै आँखाहरुलाई देखेँ । मेराभन्दा कलिला ती आँखाहरुमा मेरा सप्तरङ्गी इन्द्रधनुषी सपनाहरु देखेँ, त्यसपछि मैले थप अर्को मास्टर डिग्रीको अध्ययन गर्नुको कुनै आवश्यकता ठानिनँ । एउटै विषयको विशेषज्ञतालाई गम्भीरतापूर्वक लिएँ । जब मैले यस्तो ठाउँमा साक्षात्कार पाएँ, त्यहाँ अनेकौं सपनाहरु देख्ने आँखाहरुसँग साक्षात्कार गर्ने अवसर पाएपछि उनीहरुकै सपनाहरुसँग मलाई रमाउन मन लाग्यो । अनि मन लाग्यो, उनीहरुकै सपना गोडमेल गर्न ।
त्यो बेला म एसियाली आदिवासीहरुको साझा संस्था एसियन इन्डिजिनियस पिपुल्स प्याक्ट (एआईपीपी)को अनुवादकका रुपमा पनि काम गरिरहेको थिएँ । मेरो काम थियो, यस संस्थाबाट अँग्रेजी भाषामा पठाइएको सामग्री नेपालीमा अनुवाद गर्ने र त्यसलाई वितरण गर्ने । एआईपीपीको यहीँ सञ्जालमार्फत मैले त्यो छात्रवृत्तिको अवसरको सूचना प्राप्त गरेको थिएँ ।
त्यो सूचनाअनुसार फिलिपिन्स वा कोस्टारिका जानुपर्ने थियो अध्ययनका लागि । हामीजस्ता सिमान्तकृतहरुका लागि विशेष प्राथमिकता दिइएको थियो । त्यसैको सपना देख्न थालेको थिएँ मैले ।
एक साँझ सञ्चारकर्मी भाई जयराम गौतम आइपुगे अनामनगरस्थित मेरो कार्यालयमा मलाई भेट्न । चियाको पहिलो सुरुप सुरुप्प पारेपछि उनले भने,“दाई, हाम्रो कलेजमा पढाउन आइदिन पयो ।”
प्रस्ताव राम्रो थियो । तर फेरि मेरो एक महिनादेखिको निद्रा गायव गर्ने सपना पनि त मसँगै छ । के गर्ने के नगर्ने ?तत्क्षण केही जवाफ दिन सकिनँ, जयरामलाई । त्यसैले एक सुरुप चिया सुरुप्प पारेँ । यति मात्रै भने,“पढाउन जानु र ?”
ट्याङ् ट्याङ् टुङ टुङ टुङ...
जयरामको मोबाइलमा त्यो समयको चर्चित नोकिया रिङ टोन बज्यो । त्यतिखेरै । उताको आवाज सुनेँ, मैले । उताको भनाई थियो,“लु, जसरी पनि भोलीनै ल्याइदिनुस् । यहाँ विद्यार्थीले मार्न आँटिसके ।”
कुरा बुझेँ । त्यहाँ एक जना प्राध्यापकको सख्त आवश्यकता भएको रहेछ । मनमा लाग्यो, यता मेरो सपना जारी छँदैछ । अर्को ब्यवस्था नभइन्जेल, एक दुई महिना भए पनि गएर पढाइदिन पर्यो । घरमा आएर निरुलाई यो कुराको वृत्तान्त सुनाएँ । उनले भनिन्,“गइदिनु नि त पढाउन ।” उनलाई भने मैले त्यतिखेर देखिरहेको सपनाको बारेमा कुनै छनक दिइरहेको थिइनँ । त्यसपछि जयरामको मोबाइलका नम्बरमा औंला नचाएँ, र भने,“लु, भोलीदेखि पढाउन आउँला ।” खुसी भए उनी ।
भोलीपल्ट सोध्दै खोज्दै पासाङ ल्हामु मेमोरियल कलेज, सामाखुसी पुगेँ । म पुगेछु, प्लस टु भवनमा । त्यहाँको गार्डले दिएको लोकेसनअनुसार सोध्दै खोज्दै पुगे स्नातक तह पढाई हुने भवनमा । जयराम कक्षामा थिए । त्यहाँ गार्डको अनुमतिपछि गेटभित्र छिरेँ । एक जना परिपक्व ब्यक्तित्व आफै मतिर सोझिएर आउनुभयो । मलाई सोध्नुभयो,“कसलाई खोज्न आउनुभयो ?” “राई सरलाई”, मेरो जवाफ । उहाँले सिधै आफ्नो कार्यकक्षतिर मलाई डोर्याउनुभयो,“लौ, माथि जाऔं ।”
राई सर अर्थात् रामकुमार राई । तत्कालिन त्यस कलेजका स्नातक प्रमुख । उहाँले भन्नुभयो,“भोलीदेखि बीए तेस्रो वर्षलाई कार्यमूलक नेपाली पत्रकारिता र पहिलो वर्षकालाई पत्रकारिता तथा आमसञ्चार पढाउनुहोला ।”

क्याम्पस चिफ चिन्न डेढ महिना
मलाई आफूले पढाउने गरेको कलेजका प्रमुखलाई चिन्न भने डेढ महिना लाग्यो । कलेजको वार्षिकोत्सव थियो । वक्ताहरु “क्याम्पस प्रमुखज्यू” भन्दै सम्वोधन गरिरहेका । छेउमा बसेका जयरामलाई सोधेँ,“यहाँको क्याम्पस प्रमुख चाहिँ को हौ ?”
“मञ्चको बीचमा बस्ने नै चिफ सर हो नि”, जयरामको जवाफ । “तालु खुइले ?”, मैले सोधेँ । “हो त”, जयरामको जवाफ । केटौले पाराका, सबैसँग विनम्रतापूर्वक मित्रवत ब्यवहार गर्ने गरेको पाउँथेँ म उहाँलाई । ठान्थेँ, मजस्तै पढाउने कोही हुनुहुन्छ होला । क्याम्पस प्रमुख त गजक्क परेको प्रशासक हुनुपर्ने भन्नेखालको मेरो पुरानो सोचको धङधङी कायमै थियो, मसँग । तर मैले एउटा भलाद्मी साथीको रुपमा क्याम्पस प्रमुख सुरेशकुमार बस्नेतलाई पाएँ । उहाँलाई चिन्न म हुस्सुलाई डेढ महिना लाग्यो । कक्षा कोठामै विद्यार्थीसँग सिक्दै सिकाउँदै रमाउने मानिसलाई स्थानीय शासक प्रशासकको वास्ता त्यति नहुँदोरहेछ ।

गुरुलाई सम्झँदै पढाउँदै
त्यो दिन औपचारिक रुपमा पढाउन भनेर पसेको पहिलो कक्षा थियो, बीए तेस्रो वर्षका विद्यार्थीहरुका लागि कलेजले अनिवार्य विषय गराएको कार्यमूलक नेपाली पत्रकारिताको कक्षा । ती विद्याथीहरु कलेजका परिपक्व विद्यार्थी थिए, तर जति परिपक्व हुँदै जान्छन्, उनीहरुमध्ये कतिपय अलि अटेर पनि हुदै जान्छन् । मैले उनीहरुलाई परिचयपछि भने,“भाईबहिनीहरु, म पनि अनुशासनमै रहेर पढेँ, तिमीहरुबाट पनि त्यहीँ अपेक्षा गर्छु है ।” “हे...हे...हे...अनुशासन ?”, एउटा विद्यार्थी हाँसे ।

विकास फुयाँल नामका सार्है चञ्चल स्वभावका ती विद्यार्थी पछि मेरा साथीजस्तै बने । मैले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट बीए पास गरेँ । तर एकै दिन पनि कक्षामा पसिनँ । त्यसैले कसले कस्तो पढाए, मलाई थाहा भएन । बरु मित्र मिलन राईले ऐच्छिक अँग्रेजीका नोटहरु भेला गरेर दिनुभएको, मभन्दा एक ब्याच सिनियर कवियित्री प्रतिमा विवस राईले परीक्षा फर्म भरिदिनुभएको म सम्झन चाहन्छु । पुस्तक पसलबाट पुस्तकहरु किनेर स्वअध्ययन गर्ने गर्थेँ । यस्तै वैशाखी टेकेर मैले स्नातक तहको अध्ययनको यात्रा पुरा गरेँ ।
तर आईए र एमए पढ्दा यस्ता दुई गुरु पाएँ, जसको ज्ञान र शिक्षण कला बेजोडको । आईएको पहिलो वर्षमा गोविन्दराज भट्टराईसँग ऐच्छिक अँग्रेजी पढेँ । एमएमा रामकृष्ण रेग्मीसँग पढेँ । मेरो औपचारिक विश्वविद्यालयको यात्रामा यी दुई गुरुदेव अविस्मरणीय हुनुहुन्छ । अब मेरो पालो आयो ।  जब म कक्षामा छिर्थेँ, तब यी दुई आदर्श गुरुलाई सम्झन्थेँ र सकेसम्म उहाँहरुजस्तै ज्ञान बाँड्ने प्राध्यापन कलालाई पछ्याउने प्रयत्न गथेँ ।
विश्वविद्यालयका कतिपय प्राध्यापक विद्यार्थीकै आरिस गर्छन्, उनीहरुको प्राज्ञिक उन्नयनमा ब्यवधान खडा गर्न पनि पछि पर्दैनन्, तर भट्टराई सर र रेग्मी सर दुवै विद्यार्थीको उन्नति र प्रगतिमा असाध्यै खुसी हुने मानिस । मैले पनि उहाँहरुकै आदर्शलाई पछ्याउने कोशिस स्वरुप जब म कक्षामा प्रवेश गर्थेँ, तब उहाँहरु दुवैलाई सम्झि सम्झि पढाउँथेँ ।
सिक्न र सिकाउन मन पराउने मान्छे म ।कहिलेकाहिँ मेरो कक्षा खाली भएको बेला अरु प्राध्यापकहरुले पढाएका सुन्न मन पथ्र्यो । म धेरैजसो टिका जिरेल र डा. गणेश घिमिरे सरले कक्षा लिनुभएको बेला ढोकामा कान थापेर बस्थेँ । त्यसबाट मलाई दुई वटा लाभ हुन्थ्यो, एक नेपाली साहित्य र ब्याकरणबारे ज्ञान हुन्थ्यो र अर्को शिक्षण शिल्प पनि सिकिन्थ्यो । अनि म सगौरव विद्यार्थीहरुलाई भन्थेँ,“सकेसम्म टिका सर र गणेश सरले जस्तै पढाउने कोशिश गर्नेछु ।”
फुर्सद भएको अवस्थामा म उहाँहरु नजिक पुग्थेँ, उहाँहरुको कुरा सुन्न । उहाँहरु अनेक ज्ञान र दर्शनको कुरा गर्नुहुन्थ्यो । उहाँहरुको अध्ययन, ज्ञान र चिन्तनसँग ठूलो आकर्षण थियो, मेरो । त्यसैले म उहाँहरुको सामिप्यताको खोजी गरिरहन्थेँ ।
नारायण तिमिल्सिना, मभन्दा कम उमेरका । जिल्लाबासी भए पनि त्यहीँ कलेज परिसरमा चिनजान र माया साटियो हाम्रो । फेरि हामी दुई टेबल टेनिसमा सख्त प्रतिद्वन्द्वी । हामी दुईबीच जेजति खेल भए, तीमध्ये ८० प्रतिशत जीत त उहाँले हासिल गर्नुभयो । दार्शनिक ज्ञानहरुको राम्रै सङ्गालो बोकेर हिड्ने यी निष्कपट मित्रसँगको सामिप्यता पनि यस प्रसङ्गमा स्मरणीय छ ।
अधिकाँश दिन हामी सँगै हुन्थ्यौँ । एकदिन हामी दुई जना यसरी टेबलटेनिसमा भिड्यौँ कि खेलेको खेल्यै । साँझपख उहाँको पुतलीसडकमा काम थियो, म त्यो दिन फुर्सदमा थिएँ । खेल सकिएपछि हामी दुई यसरी कुराकानी गर्न थाल्यौँ कि दुवै छुट्टिनै नसक्ने प्रेमीप्रेमिकाजस्तै ।
बागबजारको एउटा चिया पसलमा थुप्रै गिलासहरु रित्याउँदै गर्दा हामी गौतम बुद्ध, हिगेल, माक्र्स, रुसो, भोल्येयर, यज्ञवल्क्य, गार्गी, चार्वाक आदिका प्रसङ्गको फेरोमा फनफनिइरहेका थियौँ ।
एकातिर नारायण सर युवा, अर्कातिर अनुहारले ठगिएको मान्छे म । केही परिपक्व ब्यक्तिहरु हाम्रो गुनगुन सुनेर वा बुझेर हामीतिरै हेरिरहेको थिए, पुलुक्क पुलुक्क । सायद उनीहरु पद्मकन्या कलेजका प्राध्यापकहरु थिए ।
हाँसेरै पढाएँ नाचेरै पढाएँ
प्राध्यापनको सुरुआती दिनमा बीए दोस्रो वर्षमा विद्यार्थीलाई सन्तुष्ट पार्न सकिनँ । कक्षा सुरु गर्दाताका मैले उनीहरुलाई भनेको थिएँ, “म नोट चाहिँ टिपाउदिनँ । पछि सामग्रीहरु उपलब्ध गराउने छु । विद्यार्थीहरु आफैले नोट बनाउनु उत्तम हुन्छ, उत्तम पढाईका लागि ।” मिडिया रिसर्चको कक्षा थियो त्यो । दुई साताजति पढाएँ । म आफैलाई रुची लाग्ने विषय पढाउँदै थिएँ । विद्यार्थीहरुको अनुहारमा खुसी छाउनु त कता हो कता, मेरोबारेमा गुनासो पो सुनिन थाल्यो । विद्यार्थीहरुमध्ये एक पक्षले ठीकै छ भन्दारहेछन्, अर्को पक्ष चाहिँ ठीक छैन भन्ने ।
सोचेँ, रासायनिक मल परिसकेको बोटबिरुवामा कम्पोस्ट मल लगाउन खोजेर काम छैन । यो बुझेर मैले भने,“ल नोट टिप्न तयार होऊ ।”
नोट टिपाउन थालेपछि उनीहरुको अनुहारमा कान्ति देखा पर्न थाल्यो । भट्टराई सर र रेग्मी सरलाई आदर्श मान्ने मैले आफ्नो मान्यता पनि परित्याग गर्न सकिनँ । कुनै पाठ सुरु गर्नुअघि कक्षामा सहभागितामूलक रुपमा विषयसँग सम्बन्धित कुनै घटना वा प्रसङ्ग सुनाउँथेँ । त्यसपछि बूँदाहरु बोर्डमा लेख्थेँ । ती बूँदाहरुको ब्याख्या गरिदिन्थेँ र धमाधम नोट टिपाउन थाल्थेँ । नोट टिपाइसकेपछि फेरि ती बूँदाहरुको ब्याख्या गरिदिन्थे । जब पाठ सकिन्छ, त्यसपछि आफूले तयार पारेको हेन्ड आउट उनीहरुलाई दिन्थेँ । यसरी मैले प्राध्यापनमा वर्णशङ्र शैली अपनाएँ, विद्यार्थीहरु सन्तुष्ट भइहाले । रमाइलो गरिरहनुपर्ने स्वभावको मान्छे परेँ म । कक्षा कोठामा मैले विद्यार्थीहरु उँघेको कहिल्यै देख्नु परेन । किनकि म हाँसेरै पढाउँथेँ नाचेरै पढाउँथेँ ।
प्रशासनमा होइन, प्रज्ञातिर
कुनै समय म त्यो कलेजको संस्थापक सदस्यसमेत थिएँ । सेयर हालेको र बोर्र्डमा नाम उल्लेख गरिएको परेँ म । ती संस्थापकमध्ये म मात्रै एउटा यस्तो थिएँ, जसले कुनै प्रशासनिक पद पाएन वा मागेन । मेरा तत्कालिन फ्याकल्टी हेड तिलक शर्माले पटकपटक मलाई भन्नुभयो,“सर तपाईँले पनि कुनै एउटा प्रशासनिक जिम्मेवारी सम्हाल्नु प¥यो ।”
“मेरो मागेर हिड्ने स्वभाव छैन भन्ने कुरामा तपाईँ स्वयम् परिचित हुनुहुन्छ सर । जिम्मेवारी दिइए लिइन्छ, कसैसँग हात चाहिँ तेस्र्याइन्नँ”, सोझो मान्छेको सिधा जवाफ ।
मैले मागिनँ केही पनि । मैले त्यो प्राध्यापनयात्रामा झन्डै २७ सय दिन ब्यतित गरेछु । तर कहिल्यै पनि मैले सेवा, सर्त र सुविधाको उच्चारण गरेको कमसेकम मलाई थाहा छैन । चौविसै घन्टा तम्तयारीमा रहनुपर्ने मूलधारको एक दैनिक अखबारको पत्रकारिता मेरो मूल पेशा थियो । घटनाअनुसार कहाँ कतिखेर पुग्नुपर्छ थाहा पत्तो नहुने । मेरा नावालिका दुई छोरीको रेखदेख अर्को पाटो थियो ।
आश्रितलाईभन्दा जुटाउनेलाई थाहा हुन्छ, जुटाउनेलाईभन्दा पुर्याउनेलाई थाहा हुन्छ । सायद त्यसैले आर्थिक महत्वाकाँक्षा नराख्ने मेरो स्वभावकै कारण निरुले युरोपयात्रा तय गरेकी थिइन् । त्यसैले परिवारमा मैले आमा र बाबु दुवैको भूमिका निर्वाह गर्नु परेको थियो । कक्षा ७ मा पढ्दै गरेकी जेठी छोरी युन्छोमीलाई पनि त्यो समयमा ठूलो पारिवारिक दायित्व आइलागेको थियो । बहिनीलाई गाइड गर्नुपर्ने पर्ने, साँझ बिहानको खाना पकाउनु पर्ने । म त बिहान झिसमिसमै पढाउन हिडिहाल्थेँ, पत्रकारिता गरेर मध्यरातमा घर आइपुग्थेँ ।
यस्तो बेला कलेजले मेरो लागि प्रशासनिक जिम्मेवारी दिन खासै उत्सुकता नदेखाएर मलाई ठूलो गुण लगाइरहेको थियो भन्ठान्छु ।
यो त भयो मेरो ब्यवहारवादको पक्ष ।  खासमा म प्रशासनिक पदमा रहेर प्रशासक हुँदै छुच्चो हुनुभन्दा कक्षा कोठामै रमाइरहने मायालु प्राध्यापक हुन चाहन्थेँ । यहिँ थियो, मेरो आदर्शवादको पक्ष ।
मैले यस्तो साइतमा त्यस कलेजबाट औपचारिक विदा लिएँ, त्यहीँ दिन भ्यालेन्टाइन डे परेछ । सन् २०१६ को भ्यालेन्टाइन डे । विदाई कार्यक्रममा मैले आफ्नो भनाई राखिसकेपछि शुभकामनाका शब्दहरु ब्यक्त गर्दै प्राध्यापक साथीहरुलाई भनेँ, “ह्याप्पी भ्यालेन्टाइन डे, हिप हिप हुर्रे ।” बाहिर मेरा विद्यार्थीहरु मलाई नै पर्खिरहेका रहेछन् ।
यसरी म प्राध्यापक सहकर्मीहरु र विद्यार्थी भाईबहिनीहरुसँगको सद्भाव र प्रेम मनभरि बोकेर प्राध्यापनयात्राबाट विश्राम लिएँ । तर यो मेरो त्यस प्राध्यापन यात्राको अर्धविराम मात्र हो, पूर्णविराम भने होइन ।

Comment

Related News