h

News

कहाँ होलिन्, ती चेली

news

@राजकुमार दिक्पाल ~
कस्तो स्थान, काल र परिवेशमा जन्मे भने  त्यो बेला कसैसँग टेलिफोनमा बोल्दा पनि रिसिभरमा जुन कानमा उताबाट आवाज गुन्जिएको हुन्थ्यो, त्यो कानै पवित्र भएजस्तो लाग्ने । अहिले त समय पनि कहाँबाट कहाँ पुग्यो कहाँ ? आज त इन्टरनेट छ, सामाजिक सञ्जाल छन् । हात हातमा मोबाइल छ । एउटा त्यस्तो पुस्ताको प्रतिनिधि परेँ म, जसले पञ्चायतकाल भोग्यो । पञ्चायती ब्यवस्थाविरुद्ध लाग्यो । बहुदल अर्थात प्रजातन्त्र आयो । त्यसले मात्र पुगेन लोकतन्त्र आयो । हुँदा हुँदै मूलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा पुग्यो । यी सबैको साक्षी हुन पाइयो । अब केके हेर्न, देख्न र भोग्न पाइने हो, थाहा छैन । हेर्दै जानुछ । तर यहाँ मैले लेख्न खोजेको आत्मानुभूति भने राजनीतिक होइन । नितान्त ब्यक्तिगत अनि गैर राजनीतिक ।

जब रेडियोले नाम फुक्यो
कुरो प-यो, २०४८ सालको । रेडियो नेपालमा बज्ने एउटा कार्यक्रमले पत्रमित्रता स्तम्भ पनि चल्याउँथ्यो । मलाई पनि कसोकसो त्यहीँ कार्यक्रममा आफ्नो नाम, उमेर, रुची र ठेगाना प्रशारण गर्न मन लाग्यो ।
रेडियोमा नाम प्रशारण गर्न चाहनेले त्यहाँबाट बज्ने गीतको फर्माइस पनि पठाउन सक्थे । तर म आफू चाहिँ त्यो समयमा सानै उमेरमा रेडियो नेपालबाट प्रशारण हुने गीतहरुलाई अग्रजहरुले सिकाएअनुसार “बुर्जवा” गीत भन्नेहरुको पङ्तिमा उभिएको थिएँ । त्यसैले मैले कहिल्यै पनि त्यस्ता गीतको फर्माइस गरिनँ । बरु एकपटक पाण्डव सुनुवारले चलाउने गरेको “फोन इन” कार्यक्रममा दिदी विमलालाई समर्पित गर्दै “अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा...” अनुरोध गरेको थिएँ, तर पाण्डव दाईले मेरो नाम लिएरै “एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा...” पो बजाइदिनुभयो ।
छाडौं, यी कुरा ।
कार्यक्रमको नाम बिर्सिएँ, तर त्यो कार्यक्रममा पत्रमित्रता स्तम्भ पनि थियो । त्यहाँ मेरो नाम प्रशारण भयो । त्यसपछि आउन थाल्यो, धमाधम चिüी । हुलाकी आफै तीन छक्क ! चिठी त कति हो कति ! चिठी यताउता पर्ला भनेर हुलाकीले रबरले बाँधेर ल्याइदिने ।
मैले आफ्नो नाम पत्रपत्रिकाका पत्रमित्रता स्तम्भमा भने निक्कै कम छापेँ । तर समय क्रममा क्रमशः मेरा लेखरचनाहरुले पत्रपत्रिकामा स्थान पाउन थालेपछि त्यहाँ उल्लेख गरिएको ठेगानामा प्रशस्त चिठी पत्र आउन थाले । पत्राचारको ब्यसन पनि यसरी बढ्यो कि कतिखेर हुलाकी दाई आऊलान् र चिüीपत्र बुझौँला भन्ने मात्र ध्येय हुने । सबै दिन, त्यसमा पनि सार्वजनिक विदाको दिन कहाँ बाटामा देखा पर्नु हुलाकी दाई । साह«्रै खल्लो हुन्थ्यो, त्यतिखेर ।
मेरा पहिलो पत्रमित्र भने गोरखाका भीम राना “जिज्ञासु” हुन् । उनलाई मैले नै पत्रमित्रताको प्रस्तावका साथ पत्र पठाएको थिएँ । उनले फूलबुट्टे लेटरप्याडमा बडो बान्की परेको अक्षर लेखेर मलाई जवाफ पठाउँदा म कम्ति खुसी भएको थिइनँ ।

पत्रमित्रको विवाह प्रस्ताव
केही सिर्जनात्मक काम गरौँ भन्ने सपना देखिरहेको समय थियो । त्यो बेला म “कान्तिपुर” दैनिकको धनकुटास्थित समाचारदाताको रुपमा कार्यरत थिएँ । अन्य पत्रपत्रिकामा खासगरी कविता, गजल र गीतहरु छपाउने क्रम पनि जारी नै थियो । ती लेखरचनामा उल्लेख भएको ठेगानाअनुसार चिüीपत्र आउने क्रम पनि जारी नै थियो ।
पत्रका साथ फोटो आदान प्रदान पनि हुने गथ्र्यो, भए रंगिन, नभए सादा फोटोले काम चलाइन्थ्यो । सोही क्रममा सुनसरी जिल्लाको एउटा गाउँबाट एक जना लिम्बुनीले मलाई चिठी लेखिन् । पत्राचारका क्रममा मलाई उनको फोटो पनि प्राप्त भएको थियो । त्यो फोटोमाथि मेरी आमाको आँखामा पनि परेछ । च्याट्ट सारी चोलो लगाएर उभिएकी । छेउमा सानो मुडा छ, मुडामाथि लिम्बुनी सिल्प शैलीमा निर्माण गरिएको घरबुना रुमाल छ । आमालाई लागेछ, कान्छी बुहारीकी रुपमा यिनै लक्षणी घरमा भित्रिने भइन् । तर ती मित्रसँग मेरो केवल मित्रता थियो । कुनै प्रणय प्रसङ्ग भने उल्लेख हुँदैनथ्यो, पत्राचारका शब्दहरुमा ।
समय क्रममा विस्तारै पत्रमित्रता हुन छाड्यो धेरैसँग र सुनसरीकी ती पत्रमित्रसँग पनि । समयको हुरीले मानिसलाई कता पु-याउँछ, के थाहा ?
त्यो बेला पत्रकारिता गर्दै म धरानको महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तहको अध्ययनमा थिएँ । तर म कलेज त जाने गरेको त थिएँ, विद्यार्थीको रुपमा नभई पत्रकारको रुपमा । स्नातक तह पढ्दा कुनै दिन कक्षा कोठामा पसिनँ ।
म त त्यहाँ विद्यार्थी नेता साथीहरुसँग गफ गर्न जाने गरेको थिएँ । त्यहीँ क्रममा एक जना लिम्बु थरकी महिला विद्यार्थी नेतृसँग भेट भयो । माथि उल्लेख गरिएकी पत्रमित्रको गाउँकै रहिछन्, ती नेतृ पनि । मैले उनलाई सोधेँ,“...लाई चिन्नुहुन्छ ?” उनको नाम लिनासाथ ती नेतृ अलि भावुक भइन् । उनले सोधिन्,“कसरी चिन्नु भो ?”
मैले बेलिविस्तार लगाएँ, हाम्रो पत्रमित्रताबारे । उनले बताएअनुसार ती पत्रमित्र त दिवंगत भइसकिछन् । ती नेतृ र ती मित्र मामा फुपुकी छोरीहरु रहेछन् ।
च्वाँस्स घोच्यो अलिकति मलाई, ती पत्रमित्रको अवशानको खबरले । “विहे गरेकी थिइन्, डेलिभरी केश थियो, सक्सेस भएन र बितिन्”, भावुक हुँदै ती नेतृले सुनाइन् ।
श्रद्धासुमन छ । एक मित्र थिइन् । उनी मसँग निक्कै रिसाइन् । पत्रचाार बन्द भयो । राई थरकी मित्र थिइन्, कालिम्पोङकी । उनले प्रेम र विवाहको प्रस्ताव राखिन्, एक पत्रमा । मलाई त डर पो लाग्यो । मैले पत्रमा क्षमा याचना गर्दै विनम्रतापूर्वक लेखेँ,“मेरो अहिले विहे गर्ने समय भइसकेको छैन । माफ गर्नुहोला । हाम्रो मित्रता कायमै रहोस् ।”
“तपाईंले  मलाई गरीब भनेर हेप्नुभयो र मेरो प्रस्ताव अस्वीकार गर्नु भयो...”, यस्ता शब्दहरु लेखेर पत्र पठाएपछि उनले कहिल्यै पत्र पठाइनन् । उनी धनी थिइन् कि गरीब ! न वास्ता भयो र थाहा । तर पत्र भने आउन छाड्यो ।

पत्रमित्रसँग जम्काभेट
जोसँग पत्रमित्रता भयो, आहा ! ती मित्रसँग भेट हुँदा कति रमाइलो हुन्थ्यो । त्यहीँ क्रममा २०५० सालको वर्षादमा मैले मेरा दुई जना पत्रमित्रसँग भेट गर्ने अवसर पाएँ । पत्रचारका क्रममा सर्लाही वरहथवाका विनोद श्रेष्ठले काठमाडौंको आफ्नो कार्यालयको ठेगाना दिनुभएको थियो । उहाँलाई सोध्दै खोज्दै गएँ । दुःख सुख साटिए । मैले भने,“ओहो, तपाईं  सारङ्गा श्रेष्ठको गाउँले पो हुनु हुँदो रहेछ हगि ?”
“हो त नि मित्र”, विनोदजीको आत्मीय जवाफ ।
समय पनि कुमालेको चक्रजस्तै । पछि म काठमाडौं आएँ, विनोदजी चाहिँ विदेशिनुभएछ । उहाँ स्वदेश फर्केको समय म कार्यरत त्यो समयको “अन्नपूर्ण पोस्ट”को अनामनगरस्थित कार्यालयमा मलाई सोध्दै खोज्दै आउनुभयो ।
यस्तै मेरा मित्र केजिन राई (नेपाल पत्रकार महासंघ, युरोपका अध्यक्ष) सँग एक दिन उहाँ अध्ययनरत आरआर क्याम्पस पुगेँ । उहाँ त्यतिखेर पत्रकारिता विषयमा स्नातक तह अध्ययनरत हुनुहुन्थ्यो । उहाँसँग त्यहाँ पुग्नुको मेरो अर्को उद्देश्य थियो, ल क्याम्पसमा पढ्ने मेरा एक जना मित्रसँग पनि कतै भेट भइहाल्छ कि !
प्रदर्शनी मार्गतिर आँखा डुलाएँ, क्याम्पस छुट्ने समयमा । नभन्दै एक जना चेक सर्ट लगाएका ब्यक्ति साइकल डो-याउँदै हिडिरहेको देखेँ । नजिकै पुगेर सोधेँ,“तपाईं....हो ?”
“कसरी चिन्नुभयो ?” प्रतिप्रश्न ।
मैले आफ्नो नाम थर वतन बताएपछि हामी अँगालोमा बेरियौँ । उहाँ अर्थात् मेरा मित्र प्रतीक ङेसुर तामाङ । उहाँ रेडियोकर्मी हुनुहुन्छ ।
२०६५ सालको नयाँ वर्ष ।
गायिका मनु नेम्वाङको फोन आयो,“आज साँझ ६ बजे ठमेल आउनुहोस है । गीता पालुङ्वासँग पनि भेट हुन्छ नयाँ वर्षको उपलक्ष्यमा ।”
म पुगेँ । कतिपय नयाँ र कतिपय पुराना साथी । एक जना महिला मित्रसँग परिचय भयो । उहाँले भन्नुभयो,“तपाईंको नाम कता कता सुनेजस्तै लाग्यो ।”
मलाई पनि लाग्यो, उनको नाम कतै सुनेजस्तो । “तपाईँ ज्यामिरगढी झापाको हो ?” मेरो जिज्ञासा । “हो त ” मैले पाएको जवाफ ।
“तपाईंले कुनै समय कुनै खोलामा गएर अञ्जुलीभरि पानी उघाएको फोटो खिच्नुभएको थियो ?” फेरि मेरो जिज्ञासा । “अबुई हो त, कसरी थाहा पाउनुभयो ?” उल्टै प्रश्न । पत्रमित्रताका क्रममा मित्र विन्दु सुब्बासँग मेरो फोटो र शब्दमा भेट सिमित थियो, तर मानिस नै भेट हुनुभयो । उहाँ अहिले हङकङमा हुनुहुन्छ ।

कहाँ होलिन् ती चेली ?
मेरा कैयौँ पत्रमित्रहरु थिए, कतिपयसँग मेरो अहिले पनि हाइहेलो छँदैछ । एक जना पत्रमित्र उदयपुर गाइघाटबाट पत्र पठाउँथिन् । उनले मलाई “दाजु” सम्बोधन गर्थिन्, म चाहिँ “बहिनी” सम्बोधन । मेरा प्रत्येक लेख रचना र समाचार पढ्ने रहिछन् उनी । उनको पत्रको लेखाईबाट यी कुरा थाहा हुनेगर्थियो ।
जतिखेर मैले ब्यवसायिक पत्रकारिता सुरु गरेँ, त्यतिखेर “साल्पा” मासिक प्रकाशनको तयारीमा थियो । त्यसको डमी मैले पनि हेर्ने अवसर पाएको थिएँ । प्रतापसिंह नाछिरिङ राईले निकाल्नुभएको त्यो मासिक लोकप्रिय थियो । म धरानमा थिएँ, त्यो बेला । काठमाडौं पुगेको बेला त्यसको अनामनगरस्थित कार्यालयमा निस्कने गर्थेँ ।
माओवादी खुला राजनीतिमा आएपछि त्यसका नेता गोपाल किराती पनि बाहिर आउनुभयो । एक दिन अनामनगरको एक चिया पसलमा उहाँसँग भेट हुँदा उहाँले घरै देखाएर भन्नुभयो,“दिक्पालजी, तपाईँलाई मैले पहिलोपटक ऊ त्यहीँ घरको सर्टरमा रहेको साल्पाको अफिसमा भेटको ।” बाफ रे, नेताको स्मरण शक्ति पनि कति कडा !
मैले पनि बिर्सेको थिइनँ, उहाँसँगको पहिलो भेट । उहाँले त्यो बेला “गोरेबहादुरजीहरुले जातीय मुक्तिको लाइन बुझ्नै सक्नुभएन हौ...” भन्दै हुनुहुन्थ्यो त्यो दिन ।
यो एउटा प्रसङ्ग मात्र । खासमा मेरी ती चेलीको पत्रमा एउटै गुनासो हुन्थ्यो, “दाई, साल्पा पत्रिकामा तपाईंको लेखसचना पढ्न पाए हुन्थ्यो ।”
तर मैले साल्पामा एउटा गीत छपाएँ, अरु केही लेखिनँ ।
पत्रचार जारी थियो, ती बहिनीसँग । म धनकुटाबाट धरान झरिसकेको थिएँ । एक दिन बहिनीको पत्र आयो । पत्रका लेखिएको थियो,“दाई, म ज्वरो आएर सुतिरहेको थिएँ, भाईले पत्रिका ल्याएर भन्यो, ल तिम्रो दाजुको रिपोर्ट यहाँ छापिएको छ पढ । दाई तपाईंको नाम देख्नासाथ मेरो ज्वरो नै हरायो । म निको भएँ ।”
“जनमञ्च” साप्ताहिकमा छापिएको त्यो रिपोर्ट थियो, धरानको भानुचोकमा रहेको भानु प्रतिमाको विजोग भएको विषय । योभन्दा पनि महत्वपूर्ण पक्ष के भने, ती बहिनीले हरेक साल मलाई रक्षाबन्धनको दिन राखी पठाइदिने गरेकी थिइन् । ठ्याक्कै रक्षाबन्धनको दिन राखी आइपुग्ने हुलाकबाट । म त्यो राखी बाध्थेँ र बाहिनीलाई आशिर्वाद दिन्थेँ । समय क्रममा राखी पनि आउन छाड्यो ।
सन् २०१० मा म “एभरेस्ट साप्ताहिक”को दशौँ बार्षिकोत्सवमा सहभागी हुन नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालिन कुलपति वैरागी काँइलाका साथ हङकङ पुगेँ । त्यहाँ भेट हुँदा समाजसेवी तथा ब्यवसायी रामली थुलुङले भन्नुभयो,“तपाईं त मेरी भाञ्जीको साथी पो हुनुहुँदोरहेछ ।”
अचम्म लाग्यो  र सोधेँ,“तपाईको भान्जीको नाम के हो ?”
“चन्द्रा”, उहाँको जवाफ ।
सुन्छु उनी अमेरिकामा छिन् रे ।
मैले डा. ध्रुबचन्द्र गौतमको एउटा कथा पढेको थिएँ, शीर्षक थियो, “तिम्रो नाम के हो विशाखदत्त ः”समयले पनि कता नेटो काटेछ कता ? मलाई पनि  अमेरिकामा रहेकी ती चेलीलाई  सोध्न मन लाग्छ, “तिमी कहाँ छौ, चेली ?”

Comment

Related News