h

News

तीन खलनायक

news

@डम्बरकृष्ण श्रेष्ठ
नायक नही खल नायक हुँ मै ...
अचानक कानमा ठोक्किएको यो हिन्दी गीत विस्तारै चर्को हुँदै हामीतिर आयो। राजमार्गको छेउ हिँडेर विद्यालयबाट घर फर्किरहेका हाम्रा कान ठाडा भए।

पश्चिमतिरबाट आएको जिपमा गीतसँगै अर्को आवाज सुनियो, चलिरहेको छ, चलिरहेको छ, चलिरहेको छ.... तपाईंहरूको सहर विराटनगरस्थित हिमालय सिनेमाको विशाल पर्दामा सञ्जय दत्त, जैकी श्राफ माधुरी दीक्षित अभिनीत चलचित्र खलनायक।’

हरेकजसो नयाँ हिन्दी, नेपाली फिल्म नछुटाउने हामीलाई खलनायकको व्यग्र प्रतीक्षा थियो। किनकि फिल्म हेर्ने लत बसेदेखि सञ्जय दत्त अभिनीत कुनै पनि फिल्म हेर्न छुटाएका थिएनौ। मुम्बई बम काण्डको आरोपमा केही समयअघि मात्रै सञ्जय दत्त जेल परेको सुनेका थियौं। मायापुरी पत्रिकामा जेल जाँदै गरेका सञ्जयको तस्बिर पनि हेरेका थियौ। प्रिय नायक जेल परेको खबरले हामीलाई दुःखी बनाएको थियो।

फिल्म प्रचारको गाडी चर्को आवाज फुक्दै पूर्व पथरी बजारतिर हान्नियो। गाडीमा फिल्मको पोस्टरको झल्को भने हेर्न भ्याइयो। मन ढक्क फुल्यो। ‘सञ्जुको फिल्म हेर्न मन लागेर के गर्नु यो त विराटनगरमा पो चलेको रहेछ’, गोपालले भन्यो।

हुन पनि हाम्रा लागि विराटनगर टाढा थियो। धेरै टाढा।

०००
मोरङमा पर्ने महेन्द्र राजमार्गको कानेपोखरी र पथरी भर्खर बजारोन्मुख गाउँँ। यी दुई स्थानबीचको पाँच सय मिटरको दूरीमा दुईवटा खोला मोरंगी र डास। यही दुई खोलाको पुलबीच राजमार्ग उत्तर र दक्षिण करिब एक सय ५० घर। तत्कालीन शनिश्चरे गाविसको १ नम्बर वडामा पर्ने यो सानो गाउँँको नाम जिरीखिम्ती। राजमार्गमै परे पनि पूर्व–पश्चिम गुड्ने बस रोक्ने स्टप भने थिएन। लोकल बस रोकाउन गाउँँलेहरूले यातायात कार्यालय धाएको धेरै भए पनि सानो गाउँँ भएकाले होला, यहाँ हत्तपत्त बस रोक्दैनथिए। त्यसैले पनि सधैं हिँडेर नजिकैको पथरी बजार पुग्नु पर्थ्यो। घरबाट विद्यालयको दूरी करिब अढाइ किलोमिटर थियो। किनमेलका लागि हाटबजार र पठनपाठनका लागि जिरीखिम्तीवासी पथरी नै पुग्न पर्थ्यो। गाउँँमा ३ कक्षासम्मको विद्यालय मात्रै भएकाले बिहान ९ नबज्दै डाँडामाथिको डासखोला पुलबाट पथरीका लागि विद्यार्थीको लस्कर छुट्थ्यो।

अध्ययनका लागि पथरी धाउने जिरीखिम्तीका किशोरको हुलमा कक्षा ८ को हाम्रो एउटा जमात थियो। गोपाल, किरण, विष्णु, मनोज, दीपक, कुमारलगायतको हाम्रो ग्याङ डास र मोरंगी खोलामा पौडी खेल्ने, माछा मार्ने, जंगली फलफूल खोज्न जानेदेखि लंगुरबुर्जा, तास र गुच्चा खेल्न सधैं एकोहोरो हुन्थ्यो। कक्षासमेत छाडेर हलसम्म पुग्नेमा हामी पर्थ्यौं। हामीमध्ये पनि म र गोपाल धेरै फिल्म हेर्नेमा पथ्र्यौ। पञ्चायत माध्यमिक विद्यालयको हाजिर खातामा बेग्लै नाम भए पनि मलाई घर, गाउँँ र स्कुलका साथीहरूले ‘भाइ’ भनेर चिन्थे। आफूभन्दा ठूलाको मात्र होइन, सानाको पनि ‘भाइ’ नै थिएँ म।

आइतबारको दिन विराटनगरबाट हुइँकिएर आएको फिल्मको प्रचारले हामी सबैको निद्रा खराब गरिसकेको थियो। हुन पनि हामीले सधैं फिल्म हेर्न जाने उर्लाबारी, दमकसम्मका फिल्महरूमा सञ्जुको खलनायक आएकै थिएन। ‘चाँडै आउँदैछ’ भनेर फिल्मको पोस्टरसम्म सबै हलहरूमा केही समय अघिदेखि नै देख्दै आएका थियौ। फिल्म लाग्न त लाग्यो तर लोकल बसमा दुई घन्टाभन्दा बढी यात्रा गरेर पुग्नुपर्ने जिल्ला सदरमुकाम विराटनगरमा। सोमबार स्कुल जान भेला हुँदा सबै साथीहरू नजिकैको हलमा फिल्म नआएकोमा थकथक देखिए। पथरीमा साताको दुई दिन बजार लाग्थ्यो, आइतबार र बिहीबार। त्यसदिन स्कुल जाँदा बजारका पोस्टर टाँस्ने सबै स्थानहरूमा हेरियो, हाम्रो नजिकको कुनै पनि बजारहरूमा यो फिल्म लागेकै रहेनछ।

स्कुलका मिल्ने पथरीकै साथीहरू अनिश, घनश्याम, नानीबाबु, दिनेशहरूसँग फिल्मको कुरा भइरहन्थे। कसैले हेरेको फिल्मको कहानी नहेरेकालाई टिफिन टायममा सुन्ने सुनाउने चलन नै थियो। खलनायक फिल्म कहिले हेर्ने र संवादसहितको कथा कहिले सुनाउने भनेर मनमा हतारो थियो। सोमबार पनि विद्यालयमा र घर आउँदा–जाँदा हाम्रो ध्यान त्यही फिल्मले नै तानिरहेको थियो।

फिल्म हेर्न सुरु गरेदेखि नै हामी सञ्जय दत्तको जब्बर्जस्त फ्यान भएका थियौ। हिँड्ने, बोल्नेदेखि कपालको स्टाइल, एक्सनदेखि लभर ब्वाईसम्मको भूमिका। वाह। सञ्जय हाम्रा साझा ‘आइकन’ थिए। त्यसअघि मैले नाम, जिने दो, खतरनाक, थानेदार, क्रोध, तेजा, साजन, सडक, फतेह, युद्ध, अधर्म, यालगार, साहेबजादे, सरफिरालगायतका धेरै फिल्म हेरेको थिए। गोपाल र मैले उर्लाबारीको दुर्गा टाकिजमा साजन दुई पटक हेरेका थियौ। थानेदार हेर्न स्कुलबाट भागेर दमकको बूढानीलकण्ठ हलसम्म पुगेका थियौं।

‘कि विराटनगर नै जाने हो त साथी हो ?’ किरणले भन्यो।

तर, कसरी ? कहिल्यै नगएकाले पनि विराटनगरसम्म गएर खलनायक हेर्ने आँट पलाइहालेन। पैसा पनि थिएन। हरेक दिनजसो स्कुल जाँदा आमाले दिनुहुने र नदिएको बेला झगडा गरेरै भए पनि लिने पाँच रुपैयाँ मसँग हुन्थ्यो। त्यसैलाई बचाएर फिल्म हेर्थे र किन्थे, मुना, युवामञ्च, कामना, साधना, रोशनीलगायतका पत्रपत्रिका।

मंगलबार विद्यालयमा पनि ध्यान उतै थियो। किरणले फेरि ‘फिल्म हेर्न विराटनगर नै हेर्न जाऊँ’ भन्यो। गोपाल र मैले पैसा नभएको बतायौ। ‘जाने हो भने म पैसा निकाल्छु,’ किरणको कुरा सुनेर गोपालको अनुहार उज्यालो भयो। जोसिँदै उसले भन्यो, ‘भाइ, के चिन्ता गर्छस् ? मलाई थाहा छ, विराटनगर। जाँदा–आउँदा अर्जुन दाइको गाडी भेट्यो भने झन सजिलो हुन्छ।’ ऊ पहिल्यै एक पटक अर्जुन गुरुजीको गाडीमा विराटनगर पुगिसकेको रहेछ।
अर्जुन गुरुजी गाउँँले माझ प्रिय थिए। गाउँँकै कुमारी तामाङलाई भगाएर लगेपछि उनको गाउँसँगको नाता दरिलो भएको थियो, ससुराली गाउँ। त्यही साइनोकै कारण विराटनगर–काँकडभिट्टा रुटमा चल्ने उनको अन्नपूर्ण बसमा चढ्ने गाउँलेहरूले भाडासमेत तिर्नु पर्दैनथियो। स्कुलबाट फर्कने बेलामा उनको गाडी पथरी आइपुगेको रहेछ भने विद्यार्थीकोे हुल नै उनको गाडी चढेर जिरीखिम्ती ओर्लने अवसर पाउथ्यौं। गाउँकै हस्त गुरुङ दाइको छोरा कान्छालाई उनले खलासी बनाएका थिए।

०००
बुधबारको दिन। सेतो सर्ट, नीलो पाइन्ट र हात्ती छाप चप्पल विद्यालय पोसाकसहितको हुलिया। त्यसदिन टाढाको यात्राको तयारी भएकाले पुस्तक र कापीको संख्या केही घटेको थियो।

स्कुलमा पहिलो घन्टी पढेर पथरी बजारबाट बस चढ्दा ११ बजिसकेको हुँदो हो। फिल्म हेरेर घर फकर्नुपर्ने भएकोले हामी अर्जुन दाइको गाडीमा पर्खिएनौं। जसै गाडी चढ्यौं, दंग पर्‍यौं।

बेलबारी, इटहरी, दुहबीलगायतका धेरै बजारहरू गाडीबाटै हेर्दै चर्को घामले रन्किएको विराटनगरले हामीलाई स्वागत गर्‍यो। हल खोज्दा खोज्दै ३ बज्नै लागिसकेको थियो। बल्लतल्ल मध्यमस्तरको रु. ९ को टिकट ब्ल्याकमा रु. २५ का दरले किनेर हामी हलभित्र छिर्‍यौं। दर्शकको भीड र खपी नसक्नु गर्मी। तर, हामीलाई केहीको पर्वाह थिएन। किरणकै पैसाले चिसो पेय पिउँदै रमाइरह्यौ। फिल्ममा खलनायक बल्लु बनेका सञ्जय दत्त, उनलाई पछ्याउने पुलिस राम बनेका जैकी श्राफ र बल्लुकी प्रेमिका गंगा बनेकी माधुरी दीक्षित, त्यसमाथि सबैतिर तरंग ल्याउने गीत ‘चोली के पिछे क्या हे...।’ करिब सवा तीन घन्टाको फिल्म सकिएको पत्तै भएन। हलभित्र डायलग र फाइटसँगै बजेका ताली, सिटी र हुटिङ। हामी हेरेको हेरै भयौ।

फिल्म सकेर जब हल बाहिर निस्कियौं। सडक बत्तीको उज्यालो देखेर हामी झसंग भयौं। किनकि हामी घरबाट ५० किलोमिटरभन्दा टाढाको विराटनगरमा थियौं। मैले एकाएक, स्कुल, गाउँघर, साथी सम्झें। सधैं स्कुलबाट घर फर्कंदा खाजा तयार गरेर बस्ने आमाको अनुहार सम्झें। एकाएक शरीर चिसो भएर आयो। एकछिन अघिको फिल्मको रमाइलो कता उड्यो पत्तै भएन।

‘ला... रात परिसकेछ , घर फर्कने गाडी पाइएन भने ?       ’
मेरो मलिन अनुहार हेर्दै गोपालले भन्यो, ‘अब गाडी पाइँदैन यतै बस्नुपर्छ।’ किरणले थप्यो, ‘कता बस्ने ? यहाँ त कोही चिनेको छैन।’
‘बसपार्क जाऊँ, अर्जुन गुरुजीको गाडी राख्ने ठाउँ मैले देखेको छु। खलासी कान्छा त्यही भेटिन्छ’, पहिल्यै योजना बनाइसकेझै गरी गोपालले ढुक्कसँग भन्यो।

सडकको किनारैकिनार गोपालको पाइला पछ्याउँदै हामी बसपार्क पुग्यौं। अरू गाडीका खलासी, चालकहरूसँग सोधखोज गर्दै खोजेको बस फेला पार्‍यौं। खलासी कान्छा हामीलाई देखेर छक्क पर्‍यो। उसलाई देखेर बिरानो ठाउँमा संरक्षक फेला पारेको झैं भयो, भोकले लखतरान हामीलाई खलासी कान्छाले स्टाफ होटेल पुर्‍यायो। पेटभरि भात खायौं। किरणले पैसा तिर्‍यो।

तर, अब सुत्ने कहाँ ? समस्याको अर्को पोको थियो। कान्छाले गाडीभित्र हुल्यो। गाडीका तीनसिटे गद्दा निकालेर सिटको ढाड अड्याउने माथि लस्करै राखेर कान्छाले हाम्रो लागि ओछ्यान बनायो। गर्मी महिना भएकाले ओढ्ने पनि चाहिएन। फिल्मकै गफगाफ गर्दागर्दै सुत्दा १० बजिसकेको थियो।

एक झप्को निदाउन मात्रै के खोजेका थियौ, अर्को आपत् आइलाग्यो। गर्मीमा विराटनगरको लामखुट्टेको हुल सिकारको खोजीमा हुने रहेछन्। रातभर मच्छरले टोकेर निदाउनै सकिएन।

०००
बिहीबार बिहान बसमा हामीलाई देखेर अर्जुन गुरुजी छक्क परे। अनि, ‘यसरी बिग्रेर हिँडनु हुन्न’ भन्दै सम्झाए। गाडीको पालो आउन केही समय बाँकी थियो, त्यसैले हामीले विराटनगर बजार एक चक्कर लगाउने निधो गर्‍र्यौं। मैले किरणसग पैसा सापटी मागेर पत्रिका पसलमा भर्खरै आएको नेपाली फिल्मी पत्रिका रोशनी किने।

अर्जुन गुरुजीकै बस चढेर दिउँसो १ बजेतिर हामी पथरी पुग्यौं। बिहीबारको साप्ताहिक हाटले पथरीमा भीड ह्वात्तै बढेको थियो। किरणसँग पैसा बाँकी भएकाले मन लागेको चिज खायौं। चल्तीको फोटो स्टुडियोको क्यामरामेनलाई पथरी खोलाको डिलमा लगेर एक पोज सामूहिक तस्बिर खिचायौ। तीन कपी तस्बिर धुलाउने अर्डर मात्रै दिएनौ, पैसा पनि चुक्ता गर्‍यौं।

अब घर फर्कनु थियो। फर्कनलाई ४ बजेको विद्यार्थीको हुल कुर्नु थियो। अघिल्लो दिन बिहान हिँडेका हामी घर नफर्केकाले गाउँभरि हल्ला फैलिसकेको रहेछ। गोपाल घरमा नभनेर पटकपटक बाहिर गइसकेकाले घरमा खासै सोधखोज नहुने, किरण मामाघरमा बस्ने र म पहिलोपटक घरबाट भागेको। पाइलैपिच्छे ढुकढुकी बढ्दो थियो।

डास खोला पुल कटेर राजमार्गको डिलबाटै हेर्छु त, मेरो घरको आँगनमा भीड जम्मा भइसकेको रहेछ। सातोपुत्लो उड्यो। गोपाल आफ्नो घरतिर लाग्यो। किरण र म डाँडाबाट ओर्लेर आँगनछेउमात्रै के पुगेका थियौं। हामीमा लाठी र घुस्सा बर्सिन थाले। किरणकी हजुरआमा र मेरी आमा हातमा लाठी लिएर हाम्रै प्रतीक्षा गरिराख्नु भएको रहेछ। लाठी ढाडमा बज्रिँदा आवाज त ठूलोे आयो तर सर्टलाई कम्मरमा बाँधेर किताब ढाडमा बोकेकोले दुखाइ खास भएन।

अघिल्लो दिन बिहान हिँडेका हामी घर नफर्केकाले गाउँँमा हल्ला फैलिसकेको रहेछ। खलनायक फिल्मको दर्शक हामी स्वयं ‘खलनायक’ भइसकेका रहेछौं।

पिटाइ खाँदाखाँदै थाहा भयो, किरणले हजुरआमाको थैलोबाट पाँच सय रुपैयाँ चोरेको रहेछ। हामीलाई फिल्म हेर्नसँग मात्र मतलव भएकाले उसले पैसा कहाँबाट ल्यायो, सोधेका थिएनौं। तर, उसलाई चोरी गर्न उक्साएको आरोप मैले पछिसम्म खेप्नु पर्‍र्यो। ‘तँलाई मैले दिनैपिच्छे स्कुल जाँदा भई नभई पैसा दिएकै छु। यसरी किन बदमाशी गरेर हिँडेको ?’ आमाको भनाइ, चित्त दुःखाइ र निराश अनुहारले गहिरो आत्माग्लानी भयो।

गाउँमा ‘खलनायक काण्ड’ भएको करिब ६ महिना बितिसकेको थियो। हामी छुट्टीमा सँगसँगै फिल्म हेर्न त जान्थ्यौ तर भाग्ने क्रम रोकिएको थियो।
एक दिन साँझ डास खोला पुलमाथि अचानक किरण र गोपालले मेरो सामु नयाँ प्रस्ताव राखे। ‘भाइ, हामीले धेरै फिल्म हेर्‍यौं, अब पर्दामा मात्रै हेर्ने हैन, साँच्चिकै हिरो हेर्न जाऊँ। भोलि पर्सि नै हिँड्ने हो। त पनि हिँड्।’

अक्क न बक्क मैले सोधें, ‘कहाँ जाने हो र ?       ’
गोपालले थप्यो, ‘मुम्बई।’ ऊ भन्दै गयो, ‘विराटनगरबाट जोगवनी गएर रेल चढ्यो भने मुम्बई पुगिन्छ रे, सबै मलाई थाहा छ...।’
Source : Annapurnapost

Comment

Related News