h

News

चेपाङको काँधमा जोगी पाल्ने जिम्मा

news

@राजकुमार दिक्पाल
चेपाङ भन्नासाथ नेपाली मनमस्तिष्कमा एउटा यस्तो आदिवासी जनजातिको प्रतिविम्व नाच्छ, जुन जाति अत्यन्तै कष्टकर जीवन यापन गरिरहेको छ । ओडारमा भोकभोकै बाँचिरहेका, सरीरमा एक धरो कपडा राम्रोसँग लगाउन नपाएका, जंगलमा गिठ्ठा, भ्याकुर र सिस्नो खोजिरहेका आदिवासी जनजातिको अनुहार आँखाभरि नाच्ने गर्छ चेपाङ जातको नाम सुन्नासाथ ।
२०६० सालको एक दिन(मिति बिर्सिएँ)चेपाङसम्बन्धी एउटा कार्यक्रम भइरहेको थियो, ललितपुरको स्टाफ कलेजमा । कार्यक्रममा बोल्ने आदिवासी जनजाति अधिकारकर्मीहरुले चेपाङ उत्थानका विषयमा निक्कै ठूला कुरा गरे । अझ एक जना नाम चलेका समाजशास्त्री (जो पछि संविधान सभाका सभासद पनि भए) ले आफूले चेपाङकै विषयमा विद्यावारिधि गरेको र आफूलाई विद्यावारिधि गराउने चेपाङप्रति आफूले गर्न सक्ने जे छ, त्यो गर्ने बताए । उनले त्यसबेला भनेका थिए,“अब आदिवासी जनजाति महासंघमा चेपाङबाट एक जनालाई उठाउनुस्, कसरी जिताउनुपर्छ, म जिताउन तयार छु ।” उनले यति भनिसकेपछि फेरि जोड दिएर भने,“ताली बजाउनुस् ।” सोझा सिधा चेपाङहरुले ताली बजाए, पररर...।
उनले त्यसो भनेको केही महिनापछि आदिवासी जनजाति महासंघको महाधिवेशन भयो । यो महाधिवेशनमा यमन चेपाङ सचिवमा उठे । तर उनी नराम्रोसँग पराजित भए । चेपाङलाई उम्मेदवार उठाएर “जसरी पनि जिताउन पहल गर्छु” भन्ने ती समाजशास्त्रीलाई यो पंक्तिकारले महाधिवेशनस्थलमा महाधिवेशन अवधिभर देख्न पाएन । अर्को पटक यमनजीले महासंघको सचिवमा जित्नुभएको थियो, तर जण्डिसले उहाँलाई अल्पायुमै चुडेर लग्यो ।
स्टाफ कलेजमै वक्ताका लागि निम्त्याइएका तत्कालिन राजसभा स्थायी समितिका सदस्य चक्रबहादुर शंकरको भनाई निक्कै मर्मस्पर्शी थियो । उनी २०१३÷१४ सालतिर त्रिभुवन राजपथ निर्माण गर्दाताका राष्ट्रिय योजना आयोगमा रहेछन् । त्यसबेलाको स्मरण सुनाउँदै चेपाङको अवस्थाको चित्रण गरेका थिए । उनले भनेका थिए,“सडक निर्माण गर्नेहरु अगाडी बढ्दै जाँदा मकवानपुरका जंगलहरुबाट धमाधम लगौटी लगाएका पुरुषहरु फाल हान्दै भागेका देख्न पाइन्थ्यो । यसरी भाग्नेहरु चेपाङ थिए ।”
यस्ता कठीन संघर्षबाट गुज्रेका चेपाङहरुको अवस्थालाई राजनीतिक ब्यवस्थामा आएको परिवर्तनले छोएको छैन ।
चेपाङजस्तै विभिन्न कठीन जीवन ब्यतित गरिरहेका छन्, माझी, कुमाल, दरै, दनुवार, कुसले, थारु, ज्वलाहा, पहरी, कुसहरि, थामी, हायु, सुनुवार लगायतका सिमान्तकृत आदिवासी जनजातिले पनि । उनीहरुको जीवनस्तर अहिले पनि समग्रमा माथि उठ्न सकिरहेको छैन ।

२४२ वर्षअघि लादिएको कर
अहिले त माथि उल्लेखित सिमान्तकृत आदिवासी जनजातिको अवस्था यति दयनीय छ भने आजभन्दा २४२ वर्षअघि कस्तो थियो होला । के उनीहरुले त्यसबेला घरैपिच्छे हरेक वर्ष दानका लागि एक एक आना निकाल्न सामथ्र्य राख्थे ? तर चेपाङ लगायत विभिन्न आदिवासी जनजातिहरु राज्यलाई त्यस्तो कर बुझाउन बाध्य थिए । भगवन्तनाथ नामका जोगीको मण्डलीलाई पाल्नका लागि उनीहरुमाथि कर तिर्नुपर्ने बाध्यता लादिएको थियो ।
यो विषय खुल्ने एक लालमोहर संशोधन मण्डलद्वारा प्रकाशित इतिहास प्रधान पत्रिका “पूर्णिमा”ले प्रकाशमा ल्याएको छ । पूर्णिमाको पूर्णाङ्क १७ (वैशाख–असार, २०२५ः३४–३५)मा इतिहासकार दिनेशराज पन्तले प्रकाशमा ल्याएको यो पत्रमा योगी भगवन्तनाथको जोगी मण्डलका पाल्नका लागि १४ विभिन्न जातिको नाममा तत्कालिन राजा प्रतापसिंह शाहले आदेश जारी गरेका छन् । ती जातिमा माझी, कुमाल, दरै, दनुवार, नेवार–कुमाल, कुसले, थारु, ज्वलाहा, पहरी, कुसहरि, थामी, हायु, सुनुवार र चेपाङ रहेका छन् । लालमोहरमा उनीहरुलाई उमराव, द्वारे र अमलिदारमार्फत जोगी मण्डलका लागि हरेक घरबाट एक एक आना दस्तुर दिन भनिएको छ । यस्तै साँझ विहान खान दिनुपर्ने, अपुताली खान पाइने र दस्तर सङ्कलनमा छेकथुन गर्नेलाई कारवाही गर्ने चेतावनी पनि ती जातिलाई दिइएको छ ।
लालमोहरको ब्यहोरा यस्तो छ ः
स्वस्तिश्रीगिरिराजचक्रचुडामणिनरनारायणयेत्यादिविविधविरुधावलिविराजमानमानोन्नतश्रीमन्महाराजधिराज
श्रीश्रीश्रीमहाराजेप्रतापसिंहसाहबहादुर्समसजङदेवानांसदासमगरविजयीनाम्
आगे श्री गोसाइ भगवंतनाथजिके हाम्रो मूलुकभरिको जोगिको मंडलाई चहइउं. हाम्रा मुलुकभरिका उमरा द्वाया अमलिदार सबैले माझि कुम्हाल दरैव दनुवार नेवार कुम्हाल कुसल्या थारु ज्वलाहा पहरि कुसहरि थामि हायु सुनुवार चेपांग एति जातिका घरहि एक एक आना दस्तुर लिनु. साज विहान षान दिनु. जागिका षत्छित् दंडकुंड मोरोअपुतालि महाषतछित् जोगिको टिको अम्वलिको एस हिसावले अमालिदारले तिराइ दिनु. वितलषका कुरियामाहा पनि तिराइदिनु. जो छेकथुन गर्ला. सो अप्सरिया होला. इति संवत १८३३ साल अगहन शुदि ८ रोज ४ कांतिपुर शुभम्
इतिहासकार पन्तले यो लालमोहरको मिति निर्धारण गर्दै वि.सं. १८३३ पुस ७ गते उल्लेख गरेका छन् ।


जोगी भगवन्तनाथ
पृथ्वीनारायण शाहले पहिलोपटक वि.सं. १८१४ मा किर्तिपुर आक्रमण गर्ने योजना बनाउँदा त्यसबेलाका ज्योतिषी कुलानन्दले साइत नभएकोले तत्काल आक्रमण गर्न नहुने सल्लाह दिएका थिए भने काजी कालु पाँडेले तत्कालिन राजनीतिक परिस्थिति आफूहरुको प्रतिकुल रहेकोले तत्कालै आक्रमणमा जान नहुने सल्लाह दिएका थिए । तर पृथ्वीनारायण शाहले उनीहरुको सल्लाह मानेनन् । किर्तिपुरको दोस्रो आक्रमणका बेला पनि ज्योतिष कुलानन्द र रामकृष्णले किर्तिपुर आक्रमण गर्ने साइत निकाल्न सकेनन् । त्यो बेला उनै भगवन्तनाथको आडमा बालकृष्ण जैसीले किर्तिपुर आक्रमणको साइत निकालेको “प्राचीन नेपाल”को संख्या २२ (माघ २०२९ः१७) प्रकाशित गरिएको छ ।
किर्तिपुर बिजयका लागि भगवन्तनाथले मन्त्र जपेर एउटा तित्रो दिदै “यो किर्तिपुरमा हाल्नू, किर्तिपुर फुट्छ” भन्ने आदेश दिए । तित्रो लिएर पृथ्वीनारायणका कान्छा भाई सुरप्रताप शाहको नेतृत्वमा गोरखाली फौज अगाडी बढ्यो । भगवन्तनाथको आडमा बालकृष्ण जैसीले निकालेको साइतअनुसार उनीहरुले किर्तिपुर घेरे । मन्त्रेर दिइएको तित्रो सहरभित्र घुसाउन खोजियो । किर्तिपुरतिरबाट होहल्ला भयो । तित्रोलाई भित्रै अड्याएर राख्न गोरखालीहरुले भ¥याङ हाले । तर किर्तिपुरको ढुङ्गा र काँडको आक्रमणले भ-याङ भाँचियो । त्यही आक्रमणमा सुरप्रतापको देब्रे आँखा फुट्यो । अन्ततः गोरखालीहरु युद्ध हारेर फर्के ।
किर्तिपुरको दोस्रो आक्रमण वि.सं. १८२१ को भदौ महिनामा भएको थियो ।
जोगी भगवन्तनाथले पश्चिमतिरबाट पृथ्वीनारायण शाहलाई सघाएका थिए । त्यसैले पृथ्वीनारायणले भगवन्तनाथलाई निक्कै आदार र सत्कार गर्थे ।
पृथ्वीनारायण शाहले माझकिरात र पल्लोकिरात हात लिइसकेपछि ती क्षेत्रमा युद्धका समयका के भयो, कति क्षति भयो, कति उपलब्धी भयो भन्ने विषयमा भगवन्तनाथलाई निक्कै आदरपूर्वक पत्र लेखेर जानकारी दिएका थिए । यी पत्र योगी नरहरिनाथद्वारा सम्पादित “इतिहास प्रकाशमा सन्धिपत्र संग्रह” (२०२२ः६–७)मा पढ्न पाइन्छ । यी पत्रमा पृथ्वीनारायण शाहले उनलाई ६ वटा श्री राखी सम्वोधन गरेका छन् ।
पृथ्वीनारायण शाहद्वारा निक्कै कदर गरिएका जोगी भगवन्तनाथप्रतिको कदरलाई निरन्तरता दिन उनका छोरा प्रतापसिंह शाहले चेपाङ लगायत अति सिमान्तकृत जातिमा घरैपिच्छे एक एक आना कर लगाएको स्पष्ट बुझिन्छ ।

 

Comment