h

News

कुमाईको घरमा लिम्बुकी देवी

news

राजकुमार दिक्पाल
जसलाई मैले सिर्जनाको हिसावले त आजभन्दा तीन दशकअघि नै चिनेको हुँ, कथा संग्रह “प्रक्षेपण” मार्फत् । तर उहाँसँग मेरो औपचारिक चिनजान थिएन । चिनजानको औपचारिकताको वातावरण बनाइदियो, हाङपाङ एकता समाजले ।

“प्यारो हाङपाङ, सुन्दर हाङपाङ” भन्दै समाजले फेसबुकको वालमा राखेको हाङपाङ गाउँको सुन्दर तस्बिरमा लाइक गर्नेमध्येमा मैले उनै “प्रक्षेपण” कथा संग्रहका सर्जक कृष्ण प्रसाईंलाई पनि पाएँ । तब त के रह्यो, उहाँसमक्ष मित्रताको हात अगाडी बढाइहालेँ । उहाँबाट मेरो मित्रता प्रस्ताव ग्रहण पनि भइहाल्यो । त्यतिले मात्रै मेरो मन थामिएन, कुरा गर्ने मन भयो । कुराकानीका क्रममा उहाँले भन्न्ुभयो,“हामी प्रसाईंहरु यक्सोहरुसँग हाङपाङमा कतिसम्म मिलेर बसेको हौँ भने हामीले एकअर्काको देवी देवता पनि साँटेर लियौँ । हामी आफ्नो घरमा जुन देवीदेवताको स्थान बनाउँछौँ, छेउमा तपाईंहरुको आराध्यदेवी युमाको पनि स्थान बनाउँछौँ र नित्य पूजा गर्छौँ ।”

अग्रज सर्जक र गाउँले दाजु कृष्ण प्रसाईंको यस भनाईबाट मेरा कलाकार नाती खगेन्द्र यक्सोको एउटा भनाईको बारम्बार याद आयो । उनी आफ्नो वंशको मुन्धुमको खोज अनुसन्धानमा समर्पित ब्यक्तित्व पनि हुन् । म चाहिँ वंशको इतिहासको खोजीमा छु । खगेन्द्र  हाङपाङका अग्रज ब्यक्तित्व जयकृष्ण प्रसाईंको सानिध्यमा थिए । जयकृष्ण प्रसाईंलाई म आफू काका सम्बोधन गथेँ । उहाँ दीर्घायु बाँचेर बित्नुभएको पनि धेरै भएको छैन । उहाँ पुराना बामपन्थी नेता पूर्व माननीय नन्दकुमार प्रसाईंका दाजु हुनुहुन्छ । उहाँसँगको मित्र–सम्बन्धको पाटोबारेमा कुनै दिन लेखौँला । आज भने हाम्रा आराध्यदेवी युमाको प्रसँगतिर म आफ्नो लेखनलाई केन्द्रीत गर्न चाहन्छु ।

प्रसाईंहरुलाई भैयाद (दाजुभाई)को रुपमा स्वीकार गरी आठराई थुमअन्तरगतको हाङपाङमा सुवांगी चलाउने यक्सो सुब्बाहरुले बसोबास गराएका हुन् । जयकृष्ण काकाले खगेन्द्रलाई यक्सोहरुको आराध्यदेवी युमाको स्थान नै बनाएर पूजा गर्ने गरेको देखाउनुभएको रहेछ । यसबाट यक्सोहरुको किपट भूमी हाङपाङमा बसोबास गर्ने प्रसाईंहरुले धार्मिक तथा साँस्कृतिक सहिष्णुता कायम गर्दै यक्सोहरुको आराध्यदेवी युमाको पनि उपासना गर्ने गरेका थिए भन्ने प्रमाणित हुन्छ ।

प्रसाईंहरुको हाङपाङ आगमन
प्रसाईंहरु स्वयम्ले आफूहरुलाई यक्सो सुब्बाहरुले बोलाएकोले हाङपाङ आएको आफ्नो इतिहासमा लिपिवद्ध गरेका छन् ।
“प्रसाईं वंश”लाई उद्धृत गर्दै भगिराज इङनाम र शेरबहादुर इङनामले “तेह«थुम जिल्लामा सुब्बा·ी प्रथा” (२०७०ः१५९)मा  प्रसाईंहरुको हाङपाङ आगमनका बारेमा महत्वपूर्ण सन्दर्भ उल्लेख गरेका छन् । त्यहाँ उल्लेख भएअनुसार गोरखाका खडानन्द प्रसाईंलाई पृथ्वीनारायण शाहले अड्डा अदालतको निरीक्षण गर्ने जिम्मेवारी दिएका थिए । काठमाडौंमा एक दिन दारी जुँगा नभएका र राडीपाखीका लुगा लगाएका दुई जना व्यक्ति देखा परे । उनीहरुलाई “तिमीहरु को हौ” भनी सोध्दा आफूहरु पल्लोकिरात आठराई हाङपाङबाट आएका लिम्बूहरु भएको र राजाले बाँधिदिएको थितिअनुसार आफूहरुले सुब्बा अमाली पाउनुपर्नेमा दाजुभाईबाट अन्यायमा परेकोले राजासँग बिन्ति बिसाउन आएको बताए ।
खडानन्दले उनीहरुको निवेदन लेखिदिएपछि उनीहरुको जिम्मावाल अमालीको अधिकार कायम हुनपुग्यो ।
यति जान्ने मानिस पनि चाहिने रहेछ भन्ने सोचेर ती सुब्बाहरुले खडानन्दलाई तपाईंहरुका सन्तान पूर्व आए भने आफूहरुको ठाउँमा आऊन् भन्ने निम्ता पनि दिए । पछि खडानन्दका छोराहरु कुलानन्द, कर्णानन्द र हर्कदेव पूर्वतिर लागे । हाङपाङमा पाँच सुब्बे यक्सोहरुले स्वागत गर्दै आफूहरुले मान्ने आराध्यदेवी युमालाई मान्ने सर्तमा कर्णानन्दलाई थरी पद दिए ।

यिनै ऐतिहासिक सन्दर्भका कारण हुन सक्छ मेरा बुवा कप्तान आसबहादुर यक्सो (१९६८–२०४२) हाङपाङका प्रसाईंहरु भनेपछि मरिहत्ते गर्नुहुन्थ्यो । त्यसो त हाङपाङका ओली, चुडाल र पाठकहरुप्रति पनि उहाँको त्यतिनै ठूलो सद्भाव थियो । म सानो छँदा धनकुटाको हाम्रै घरमा बसेर प्रसाईं (जनार्दन प्रसाईं), गंगा (गंगा प्रसाईं) र ओली (चन्द्र ओली) कलेज पढ्नुभएको हो । त्यसबेला होस्टलमा बसेर पढिरहेकी गंगाकी दिदी (कृष्णकुमारी प्रसाईं) कहिले काहिँ हाम्रो घरमा आउनुहुन्थ्यो ।
यक्सोको उद्गम
यक्सोहरुले आफ्नो वंशावलीको इतिहास केलाउँदा उनीहरु मुनातेम्बेतिर पुग्छन् । यो क्षेत्र फक्तालुङ हिमाल आसपास पर्छ । त्यहाँ लिम्बूहरुको मौलिक युमा धर्म जोगाउन गाह्रो भएको, बौद्ध धर्मको प्रभुत्वले पेल्दै लगेको लगेको कारण आफ्नो मौलिक धर्म जोगाउन आफूहरु दक्षिणतिर झरेको मान्यता राख्छन्, उनीहरु । वंशावलीअनुसार उनीहरुको पुर्खा मुनाफेनहाङ हुन् । उनलाई मुनाफेन, मुक्केगुवा वा सिक्केथुक्पा पनि भनिन्छन् । उनी साह्रै रिसाहा भएका कारण उनलाई “सिक्केथुक्पा” भनिएको हो ।

सिक्केथुक्पाका छोरा लासाहाङलाई मौलिक धर्म जोगाउने अभियानमा लाग्दा हत्या गरियो । त्यसपछि उनका शक्तिशाली छोरा उवाहाङ (सन् ८४९–८६५)ले राज्यको पुख्र्यौली विरासत थामे । उनी शक्तिशाली लिम्बु राजा थिए । उनले नयाँ धर्मदर्शन समेत प्रतिपादन गरेका थिए । उवाहाङपछि उनका छोरा मावोहाङ सन् ८६५देखि ८८० सम्म १५ वर्ष राजा भए । मावोहाङ निक्कै धार्मिक र प्रतापी राजा थिए । आज पनि उनकै प्रतापका कारण आफूलाई मावोहाङका सन्तान वा मावोहाङवंशी भन्ने लिम्बूहरुमध्ये यक्सोहरु पनि एक हुन् । लिम्बू मुन्धुममा उवाहाङ र मावोहाङका प्रशस्त उपदेश र देववाणीहरु पाइन्छन् ।

मावोहाङका सन्तानहरु
भर्खरै प्रकाशमा आएको यक्सोहरुको वंशावली “यक्सो इ्रत्लाम” ले मावोहाङका सन्तान को को थिए भनी प्रस्ट पारेको छ । वंशावलीअनुसार यहाँ केही तथ्य प्रस्ट पार्ने प्रयास गरिएको छ ।
मुनाफेनहाङका तीन भाई छोरामध्ये जेठा लासाहाङका छोरा उवाहाङ र नाती मावोहाङ हु्न् । माइला खालाहाङका सन्तान काङभा, मावखिम, यरङ्वा, लक्सम र मादेम्वा भए । यस्तै कान्छा इमेहाङका सन्तान लेप्चा भए ।

लासाहाङका चार छोरामध्ये जेठा उवाहाङ, माइला चाङ्वाहाङ, साइला पारावाहाङ र कान्छा मुरेंगन हुन् । तीमध्ये माइलातिर सुवाङसङ् र महरेसङ भए । साइलातिरका सन्तान फुरुम्वो र पालुङ्वाहरु भए । कान्छा मुरेंगनतिर तवेबुङ, मांयुक, ईजम, पतङ्वा, लाबुङ र संसंवो भए ।

उवाहाङका एकै जना छोरा मावोहाङ भए । उनका पनि एकै जना छोरा थिए, मुदाहाङ । मुदाहाङका तीन भाई छोरामध्ये जेठा थाक्मिया, माइला मुरेगन र कान्छा काप्पेनहाङ भए । मुरेगनका सन्तान तुम्वाहाम्फे, सर्वन्दुङ, यङदेन र मादेन फेन्दुवाहरु हुन् ।  यस्तै काप्पेनहाङका सन्तान चाहिँ लेचेन्जे, लेखक्पा, थगम्बा, लुङदेपु, हिदुम, फाक्फेक्वा मावोहरु हुन् ।

जेठा थाक्मियाका सन्तान मुजिवा हुन् । उनका सन्तान चेम्जोङहरु हुन् । कान्छा थाक्काइनहाङका दु्ई छोरामध्ये तागेहाङका सन्तान इङ्वादक, सवेइनाम, फुङदित आङ्छङ्वोहरु भए भने कान्छा सुल्लिफुङका सन्तानहरु नै यक्सोहरु हुन् ।

यक्सो वंशावलीको पुराना मुल कागजमा भने उवाहाङलाई देवानाम्जे, मावोहाङलाई देवारो·े र मुदाहाङलाई देवा फुनजांपा लेखिएको छ । विक्रम सम्वत १९०९ मा लेखिएको यो वंशावलीको कागज पैतृक विरासतका रुपमा मसँग सुरक्षित छ ।

यक्सोहरुको यक ताप्लेजुङको तमरखोलामा रहेको छ । यस क्षेत्रलाई  आराध्यदेवी युमाको तान बुन्ने ठाउँका रहेको मान्यता स्थापित छ ।
भगिराज इङ्नाम र शेरबहादुर इड्नामद्वारा लिखित “तेह«थुम जिल्लामा सुब्बाङ्गी प्रथा” (२०७०ः९१)मा प्रकाशित तेह«थुम आठराई क्षेत्रका ३८ जना लिम्बू सुब्बा तथा कर्ताहरुको नाममा जारी एक लालमोहर छापिएको छ ।  विक्रम सम्वत १८९४ माघ सुदी ७ रोज ५मा तत्कालिन राजा राजेन्द्रविक्रम शाहद्वारा जारी उक्त लालमोहरमा सम्वोधन गरिएका आठराई क्षेत्रका ३८ जना लिम्बू सुब्बामध्ये एक जना श्रीवाजको नाम पनि उल्लेख छ । 

Comment