h

News

आफ्नै लेखाईको आम्दानी - Part 1

news

@राजकुमार दिक्पाल
त्यसबेला म गोकुण्डेश्वर माध्यमिक विद्यालय, धनकुटाको कक्षा ९को विद्यार्थी थिएँ । एकदिन कक्षा खाली थियो । हामी कल्याङमल्याङ गरिरहेका थियौँ । रेनु मीस, अर्थात् रेणु श्रेष्ठ  कक्षामा फुत्त छिर्नुभयो । लाग्यो, फेरि पढ्नुपर्ने भयो । तर मीस त रमाइलो गर्न पो छिर्नुभएको रहेछ । सोध्नुभयो,“तिमीहरुलाई के केमा रुची छ, एक एक गरेर भन त ।”
सहपाठीहरुमध्ये अधिकाँशले आफ्नो रुची पढाईमा भएको बताए । धेरैले भने,“पढ्ने मीस, पढ्ने मीस पढ्ने मीस ।”
पढाईमा राम्रो नभएकाले पनि आफ्नो रुची पढाईमा भएको बताएपछि मलाई चाहिँ उनीहरुभन्दा अलिक फरक रुची ब्यक्त गर्न मन लाग्यो । म राम्रै थिएँ, पढाईमा । मेरो पालो आउनासाथ जुरुक्क उठेर भनँे,“मेरो त लेख्ने रुची छ मीस ।” सायद म मात्रै थिएँ त्योबेला, लेख्ने रुची ब्यक्त गर्ने ,। मीसले भन्नुभयो,“ल तिमी भविष्यमा लेखक, साहित्यकार र पत्रकार हुनेरहेछौ ।”
रुची त मेरो साहित्यमा थियो, सानै उमेरदेखि । तर कसरी बन्ने होला पत्रकार ? मेरो कलिलो दिमागमा रेनु मीसको शब्द खेलिरह्यो । पञ्चायतकालले अन्तिम सास फेरिरहेको समयमा रेनु मीसले भनिदिनुभयो,“भविष्यमा तिमी पत्रकार हुनेरहेछौ ।”
उहाँले “पत्रकार” शब्द उच्चारण गर्नासाथ मेरो आँखामा तीन जना ब्यक्तिको मुहार नाच्न थाल्यो, “विश्वजीत किराती, आनन्दसन्तोषी राई र जीवप्रसाद पोखरेलको ।” तीमध्ये आनन्दसन्तोषी राईको लेख बेलाबेलामा पत्रिकामा छापिन्थ्यो । उहाँ पेशाले कानुन ब्यवसायी । तत्कालिन मालेका कार्यकर्ता जीवप्रसाद पोखरेल पार्टीले सम्पर्कका लागि सञ्चालन गरेको पत्रिका पसलको जिम्मा लिनुहुन्थ्यो र कहिलेकाहिँ लेख्नुहुन्थ्यो, त्यसबेला। तर विश्वजीत किराती चाहिँ खाटी पत्रकार हुन् भन्ने थियो मेरो धारणा ।
दाईपुस्ताकाले उनलाई पत्रकार नै भन्थे । धनकुटा छिन्ताङका मान्छे काठमाडौंमा बसेर पत्रिका चलाउँछन् रे भन्थे दाईहरु । उहाँ खासगरी राष्ट्रिय पञ्चायतको निर्वाचनको समयमा धनकुटा आउनुहुन्थ्यो । हाम्रो टोलदेखि तल्लोटोलमा उहाँको ससुराली थियो, निर्वाचनअवधिभर उहाँको मुकाम त्यहीँ हुन्थ्यो । उहाँ २०३८ र २स्०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा लड्नुभयो । दुवै निर्वाचनमा उहाँको मत भने  पाँच सय हाराहारीमा रह्यो ।
उहाँ काठमाडौंमा रहेर “अन्तरवार्ता” साप्ताहिक चलाउनुहुन्थ्यो । मलाई निक्कैपछि मात्र थाहा भयो, उहाँ राष्ट्रिय अनुसन्धान विभागमा पनि काम गर्नुहुँदोरहेछ ।  डिएस्पी पदसम्म पुग्नुभएको भन्ने सुनेँ, तर भेट्ने अवसर चाहिँ जुरेन । उहाँ दिवंगत भइसक्नुभयो । त्यसबेलाको “सूर्यबहादुर थापाको जिल्ला”मा अनुसन्धान विभागमा कार्यरत विश्वजीत किराती थापासँगै  कुन प्रयोजनका लागि निर्वाचन लड्नु भयो होला ? यसबारे धेरै टाउका दुखाईरहनु पदैन ।
किराती जुनसुकै प्रयोजनलाई लागि त्यसबेला उम्मेदवार हुनुभए पनि उहाँले गर्नुभएको राष्ट्रसेवा र पत्रकारिताप्रति मेरो सद्भाव ठूलो छ ।
पत्रकारितामा प्रवेश
आखिर रेनु मीसको भविष्यवाणी सत्यसावित भयो । उहाँको त्यो वाणी मेरो लागि ठूलो उत्प्रेरणा थियो, र आशिर्वाद पनि ।
मलाई पत्रकारिताको प्रारम्भिक चरणमा पत्रकारिताका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्नु हुने चाहिँ धर्मराज पौड्याल हुनुहुन्छ । उहाँको मप्रतिको योगदान र लगानीको गुणगान नगाई सक्दैसक्दिनँ ।
उहाँ त्योबेला (पञ्चायतकालको अन्तिम समय) अनेरास्ववियूको धनकुटा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो, त्यसपछि राजेन्द्र राईले जिल्लाको नेतृत्व सम्हाल्नुभयो । उहाँ पछि लक्ष्मी निरौला (हालः नेपाल सरकारको उपसचिव)को नेतृत्वको जिल्ला कमिटीमा सहसचिव थिएँ म ।
लक्ष्मीजी त्यो बेला “दृष्टि” साप्ताहिकको संवाददाता हुनुहुन्थ्यो, मचाहिँ त्यस साप्ताहिकको शुभचिन्तक र नियमित पाठक । मलाई त्यसबेलाको यस साप्ताहिकमा समाचार सम्प्रेषण गर्ने सबै संवाददाताहरुको नाम प्रियकर थियो । उनीहरुको बाइलाइन पढेर म यस्तो सोच्थेँ, वाह, पत्रकार हुन पाए त कति रमाइलो हुन्थ्यो !
लक्ष्मीजी शिक्षण पेशामा लाग्नुभयो । पहिल्यै मैले उहाँलाई अनुरोध गरेको  थिएँ,“तपाईंले छाडेपछि मलाई है ।” अर्थात्, उहाँलाई मेरो अनुरोध थियो, “दृष्टि” साप्ताहिकको संवाददाता हुन सिफारिस गर्नुहोला ।
उहाँका सुन्दर हस्ताक्षरसहित मेरो नाम सिफारिस भइहाल्यो । तर मैले “दृष्टि”मा त्यति धेरै सक्रियता देखाइनँ । धर्मराज पौड्यालले मलाई फेरि पनि घच्घच्याइरहनुभयो । उहाँले नै  काठमाडौंबाट “जनता” साप्ताहिकको संवाददाताको परिचय पत्र ल्याइदिनुभयो । त्यसपछि चढिहाल्यो ममा पत्रकारिताको नशा ।
यसरी नै बितिरहेको थियो, मेरो पत्रकारिता रहरका दिनचर्या ।
२०५० सालको असार महिनामा “कान्तिपुर”ले मलाई “तपाईँ कान्तिपुरको समाचारदाता भएकोले” भन्दै काठमाडौं आउन खबर पठाएपछि मैले पूर्ण रुपमा पत्रकारिता पेशामा आवद्ध हुने निर्णय गरेँ र २२ वर्षसम्म निरन्तर पत्रकारिता गरेँ विभिन्न सञ्चारसंस्थामा रहेर । अहिले स्वतन्त्र रुपमा लेख्दैछु ।
मेरो कमाईबारे कसैको सोधाई
“छोरा मान्छेको कमाई नसोध्नु, छोरी मान्छेको उमेर नसोध्नु”, यो पुरानो उक्तिको महत्व आफ्नै ठाउँमा होला । तर लैङ्गिक समानताको पक्षधर मेरोबारे एक जना महिलाले सोधिछन्,“त्यो राजकुमार दिक्पालले महिनाको कति कमाउछ हँ ?”
ती महिला थिइन्, मेरी पूर्वप्रेमिकाकी नातेदार । मेरो बारेमा जवाफ दिने एक जना मेरा शुभचिन्तक दाईले मेरोबारेमा जवाफ दिएछन्,“काठमाडौंमा जिविका चलाइरहेकै छ, घरमा पनि खर्च पठाइरहेको  छ । नेपालको एउटा पत्रकारका लागि यो राम्रो कमाई हो ।”
यो एउटा नितान्त ब्यक्तिगत प्रसँग किन उठाएकोभने जतिखेर ती महिलासँग मेरोपहिलो प्रेमानुभूति थियो, त्यसबेला म एक राष्ट्रिय दैनिकको धरानस्थित स्थानीय समाचारदाताा थिएँ । अखबारले बेलैमा पारिश्रमिक दिदैनथ्यो, मुस्किलले चल्थ्याृे गुजारा । तैपनि बडो उमङ्गको लहर चल्थ्यो मनभरि, आफ्नो बाइलाइन हेरेरै ।सम्भवतः मेरी तत्कालिन ती प्रेमिकाले मेरो आर्थिक भविष्य नेदेखेरै होला, तिनले विदेश जाने निर्णय लिइन् । त्यसपछि हामी आआफ्नो बाटोमा हिड्ने निर्णयमा पुग्यौँ ।

आफ्नै लेखाईको आम्दानी - Part 2

Comment

Related News