h

News

आफ्नै लेखाईको आम्दानी - Part 2

news

@राजकुमार दिक्पाल
मेरो पहिलो पारिश्रमिक

लेख्ने हुटहुटी र त्यसमा पनि छापेर बाइलाइन लिने हुटहुटीका कारण निद्रा पनि लाग्दैनथ्यो । भारतका पूर्वराष्ट्रपति एपीजे आब्दुल कालमले भनेका छन्,“सपना त्यो होइन, जो निदाएको बेला आउँछ, सपना त त्यो हो, जसले निदाउनै दिदैन ।” सायद  पनि केही सपना देखिरहेको थिएँ, त्यसैले निदाउन सकिरहेको थिइनँ म।
के लेखाँै त ?
धनकुटाको आठपहरिया राई महिलाहरुबारे लेख्न मन भयो । उनीहरुको गतिविधि नियालेँ । उनीहरुको समस्याकाबारेमा सोधीखोजी गरी लेखि टोपलेँ, र पठाएँ, “अस्मिता”पत्रिकामा । यो थियो, “धनकुटाका इष्टेनीहरु”शीर्षकको मेरो गैरआख्यानमूलक लेखाई ।
धनकुटाका एक अविवाहित शिक्षिकाको विषयमा जे जे सुनेको थिएँ, यसबारेमा एउटा कथा लेखेँ र “फूल, भमरा र ऊ”। अनि पठाएँ, “गोरखापत्र”को शनिबारसीय परिशिष्टाङ्कलाई ।
संयोगवश दुवै लगभग सँगसँगै छापियो । यो सन्दर्भ हो, २०४९ साल फागुन र चैत महिनाको । मेरा लेखरचना छापिदा मेरा खुट्टा भूँईमा हुने कुरै भएन ।
लेख छापिएपछि पैसा पाइन्छ भन्ने सुनेको थिएँ । म पैसा उठाउन काठमाडौ जाने कुरा भएन । कसोकसो एक जना हितैषी फेला पारेँ, तत्कालिन कर्मचारी सङ्गठनका धनकुटा जिल्ला नेता खगेन्द्र घिमिरे । उहाँको नाममा मन्जुरीनामा पठाएँ, उहाँ काठमाडौँबाट फर्कनासाथ पाँच सय ५० रुपैयाँ मेरो हातमा थमाइदिनुभयो । वाह, पत्रिकामा मेरो नामसँगै हातमा दाम पनि !
त्यो दाम हातमा पर्नासाथ म सुनसरी, मोरङ र झापाको भ्रमणमा निस्केँ । केही नातेदार भेट्न र केही कथावस्तु खोज्न । मैले जीवनको त्यो कमाई सदुपयोग नै गरेँ भन्ने लाग्छ ।
पछि काठमाडाँै आवज जावत गर्न सक्ने भएँ । त्यहिँ बेला बागवजारस्थित “अस्मिता”को कार्यालयमा छिरेको थिएँ, एक पटक । सुरुमा भेटिनुभयो, अञ्जु क्षेत्री । मैले आफ्नो परियच दिएँ । मलाई देखेरउहाँ बडो आश्चार्यमा पर्नुभयो, अनि उत्साहित हुँदै कराउनुभयो,“ए सुसन यता आऊ त !”
सुसन मास्केलाई बोलाउनुभयो र भन्नुभयो,“हेर त, हाम्रा लेखकलाई ।” एकैछिनमा मञ्जु थापा पनि आउनुभयो मेरो अनुहार हेर्न एउटा फुच्चे, दुब्लोपातलो मान्छे लेखक÷पत्रकार बन्ने धुनमा हिडिरहेको थियो । दिदी पत्रकारहरु बडो आश्चार्यमा परे, मसँगको साक्षात्कारपछि ।
त्यो बेला मलाई “अस्मिता”ले तीन सय रुपैयाँ र “गोरखापत्र”ले दुई सय ५० रुपैयाँ दिइपठाएको रहेछ । खुसीले नाचेँ ।
देवेन्द्र भट्टराईको सहयो
लेखेर पारिश्रमिक बुझ्न म पल्किसकेको थिएँ । एक दिन भट्टराई सर (प्राडा गोविन्दराज भट्टराई) काठमाडौंबाट धनकुटा आउनुभएको बेला उहाँका सालो निरन्जन वस्ती (हाल धनकुटा बहुमुखी क्याम्पसका प्रमुख)मार्फत् खबर पठाउनुभएछ,“राजकुमारले फाट्टफुट्ट के के लेखिरहेको छ । उसको पारिश्रमिककोबारेमा मन्जुरीनामा लेखोस् । उताबाट पारिश्रमिक जम्मा गरी पठाउने प्रसास म गरुँला । ”
आहा, गुरुदेवको कति राम्रो सहयोग आश्वासन !
म लेख्दै थिएँ । काठमाडौंसम्म मेरो पहुँच थिएन । तर मेरो आईए प्रथम वर्षका अँग्रेजी साहित्यका गुरु भट्टराई सरले यस्तो खबर पठाउनुभएपछि म ढुक्क भएँ, लेखनका लागि अघि बढेको मेरा हातमा साथ दिने पनि यो संसारमा कोही जन्मेका रहेछन् ।
भट्टराई सरले हामीलाई ऐच्छिक अँग्रेजी पढाउनुहुन्थ्यो । उहाँको शिक्षण कलाबाट असाध्यै प्रभावित छु म । हामीलाई आफ्नै सन्तानसरह माया गर्नुहुन्थ्यो । त्योबेला ऐच्छिक अँग्रेजी पढ्ने असाध्यै काम थियौँ । उहाँले कहिलेकाहिँ घरैमा बोलाएर हामीलाई पढाउनुहुन्थ्यो । अनि उहाँका भाई खगेन्द्र भट्टराई मेरा सहपाठी ।
मेरो साहित्यानुरागलाई भट्टराई सरले परख गर्नुभएको थियो । शिक्षक–विद्यार्थीको सम्बन्ध त छँदैछ, उहाँको अर्को छुट्टै प्रेम पनि थियो, मप्रति । लेखनप्रतिको मेरो अनुरागले सरबाट अतिरिक्त प्रेम पाएको थिएँ मैले ।
पछि भट्टराई सर धनकुटा क्याम्पसबाट त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्रविभागमा सरुवा मिलाएर जानुभयो । उहाँले गुँडै त्यतातिर सार्नुभयो । खगेन्द्र पनि आफ्ना दाजुको पछि लागेर काठमाडौं स्थानान्तरित भए ।
तर भौतिक दूरीले हामीबीचको आत्मिक दूरी भने कम भएन । खगेन्द्र मलाई बेलाबेलामा चिठी लेख्ने । उनका अर्का सहपाठी ब्याकुल पाठकले पनि मलाई हवाईपत्रिकाकासाथ चिठी लेख्न थाले । उनी लेख्थे,“खगेन्द्रजी र म बेलाबेलामा तपाईंको कुरा गर्छौं के तपाईंलाई बाडुली लाग्दैन ?”
त्यसैले भट्टराई सरले मेरोबारेमा त्यो बेला सोधीखोजी गर्दै सप्रेम सन्देश पठाउनुभयो, “राजकुमारले फाट्टफुट्ट के के लेखिरहेको छ । उसको पारिश्रमिकको मन्जुरीनामा लेखोस् । उताबाट पारिश्रमिक जम्मा गरी पठाउने प्रसास म गरुँला ।
उहाँको यस्तो सन्देशपछि मैले उहाँका भाई देबेन्द्र भट्टराई (हालका प्रशिद्ध पत्रकार)को नाममा मन्जुरीनामा पठाउन थालेँ । उनले धनादेश गरेर मेरो पारिश्रमिक पठाइदिन्थे उनी । पारिश्रमिकको रकम बुझेपछि म कति खुसी हुन्थेँ भने पैसाको प्रत्येक मूल्यसँग आफ्नो बौद्धिक र सारिरीक प्रयत्नको  मूल्याङ्कन गर्थेँ । अनि ऊर्जा भरिन्थ्यो, तनमनमा ।
समयक्रममा लेखनप्रतिको अभिरुचीका कारण ब्याकुल, खगेन्द्र र म समकालिन पत्रकार भयौँ । मलाई धनादेश गरेर मेरो पारिश्रमिक पठाई दिने भाई देबेन्द्र त पत्रकारितामा हामीभन्दा धेरै सक्रिय भए । सक्रियतामा त हामी दाईपुस्तालाई पछाडी पारे ।
मौरीको संगत गरे उसले फूलबारीतिर लैजान्छ र मह बनाउन सिकाउँछ, तर झिँगाको संगत गरे उसले फोहरतिर लैजान्छ र रोग फैलाउन सिकाउँछ । भट्टराई परिवारसँगको संगत मेरो लागि मौरीसँगको संगत सावित भयो । यो परिवारले मलाई फूलबारीतिर डो¥यायो । अझै पनि म मौरी बन्ने प्रयासमा फूलबारीतिरै डुल्ने प्रयास गर्छु ।। थाहा छैन मैले कतिसम्म मह बनाउन सकेँ ?
मैले पनि पैसा खाएँ
एक जना धनकुटाबासी दाई बीरबहादुर राई । क्षेत्रीय सङ्ग्रहालयमा सेवारत हुनुहुन्थ्यो । सामान्यज्ञानमा पोख्त । त्यसबेला कोठेपद भर्ने चलन ब्यापक थियो । उहाँ चाहिँ भ्याए र जानेसम्म कुनै पनि कोठेपद भर्न नछुटाउने । “भाई म काठमाडौं जाँदैछु, कतै भाईको लेखरचनाको पारिश्रमिक लिन बाँकी छ भने म सहयोग गरौँला, मञ्जुरीनामा तयार पारिराख्नुहै”, दाईले भन्नुभयो ।
उहाँले भनेजस्तै गरेँ ।
मैले आफ्नो नाममा “दिक्पाल” उपनाम झुन्डिन नपाउँदै मेरो नागरिकतामा उल्लेखित राजकुमार सुब्बा नामबाट “मधुपर्क”मा एउटा कविता छपाएको थिएँ । नवप्रवेशी लेखक भएका कारण “आँकुरा” पृष्ठमा स्थान पाएको थिएँ । त्यस कविताको पारिश्रमिक माग गर्दैमञ्जुरीनामा पठाएँ ।
“भाईले त राजके सुब्बाको नाममा पो कविता छपाउनुभएको रहेछ त”, काठमाडौंबाट फर्केर एक सय ५० रुपैयाँ मेरो हातमा थमाउँदै बीरबहादुर दाईले भन्नुभयो ।
“किन र दाई ?”, म आश्चार्यकम परेँ ।
उहाँले बेलिविस्तार लगाएअनुसार पारिश्रमिक टिपाइएको खातामा मेरो नाम खोज्दाखोज्दा गोरखापत्र संस्थानका कर्मचारीले भेटेनछन् र यही होला भनेर राजके सुब्बाको नामको पारिश्रमिक दाईको हातमा थमाइदिएछन् ।
राजके सुब्बाको नाममा छापिएको त्यो कविता मैले पनि पढेको थिएँ । कविता प्रभावशाली थियो । म आफूले नलेखेको अर्थात् परिश्रमै नगरेको लेखरचनाको पारिश्रमिक हातमा प¥यो । अब त्यो पैसा म कता फिर्ता गर्न जाऊँ । देबेन्द्रले मलाई सहयोगस्वरुप धनादेश गरेजस्तै ती कविसँग न मेरो चिनजान छ न उनको ठेगाना थाहा छ ।त्यसपछि मैले त्यो पैसा खाएँ ।
पछि बुझ्दा ती कवि दार्जिलिङका रहेछन् । कवि रासाले बताएअनुसार ती कवि धेरै पहिले नै दिवंगत भए ।
पत्रकारहरुको नाममा अनेक कुरा सुनिन्छन् । अनेक कुरामध्ये “फलानो पत्रकारले फलानोसँग यति पैसा खायो रे ” पनि एक हो । त्यसैले कतिपय पत्रकारले आचारसंहितालाई “अचार संहिता” पनि बनाएका छन् । धरोधर्म, जीवनमा मैले कसैको पैसा खाएको हो भने यहीँ एक सय ५० रुपैयाँ हो, त्यो पनि गोरखापत्रको कर्मचारीको भूलका कारण ।
मेरो कमाई
२०५० सालदेखि ब्यावसायिक पत्रकारितामा लागेँ । २०७२ सम्म आइपुग्दा २२ वर्ष सक्रिय पत्रकारिता गरेछु । “अन्नपूर्ण पोस्ट”मा १४ वर्षबिताएर मैले विदा लिएँ । सक्रिय पत्रकारितामा मैले विश्राम मात्र लिएको हँु अहिल्यै सन्यासी बन्नुछैन मलाई ।
डा. बमबहादुर “जिताली”को कविताको एक टुक्रा याद आयोः
सकिन्छ कविताबाट सिंगै धरतीनै उठाउन
सकिन्न कविताबाट दुई छाक जुटाउन ।
तर पत्रकारिताबाट दुई छाक चाहिँ जुटाउन सकेँ मैले । दुई छोरीलाई पढाउन सकेँ,  त्यसबेला मैले काम गरेको पत्रिकाले दिएको मासिक बेतनबाट । मेरोनाममा थोरै जग्गा छ, त्यो चाहिँ मेरो पैतृक अँश र श्रीमति निरु राईले पठाएको रेमिट्यान्सबाट जोडिएको हो । अहिले मेरा दुई छोरी पहिलेझैँ बुवाले ब्यवसायिक पत्रकारिता गरेको पैसाले पढिरहेका छैनन्, आमाबाबुले पठाएको रेमिट्यान्सबाट पढिरहेकाछन् ।
मसँग यतिखेर धन (पैसा) छैन, तर मसँग ऋण पनि छैन । पैसालाई धनसम्पति नमान्ने हो भने मसँग अथाहा सम्पति छ । पैसा नभएको अरु कुन त्यस्तो सम्पति हो त ?
मैले मे ७, २०१७ कम स्नातक तहमा अध्ययनरत मेरी ठूली छोरी युन्छोमी आफ्नो कक्षामा तीन उत्कृष्टमा परेको खुसियालीमा उनको हौसलाका लागि फेसबुकमा एउटा स्टाटस टाँसे । लाइक र कमेन्टहरु आए प्रशस्तै । तीमध्ये मेरा एक मित्र सञ्चारकर्मी तथा कानुनब्यवसायी स्वागत नेपालले मेरी छोरीलाई बधाई, शुभकामना अनि आशिर्वाद दिदै मलाई पनि जोड्नुभयो । कमेन्टमायस्तो लेख्नुभयो,“बाबाजस्तै पैसाका अघि इमान नबेच्ने सच्चा नागरिक हुनू ।”
मैले पत्रकारितामा लागेर कमाएको सम्पति नै यहीँ हो । स्वागत नेपालजस्ता मेरो सन्दर्भ बुझ्नेहरुबाट मैले पाएको यस्तो सद्भावजस्तो ठूलो कमाई मेरो लागि  अरु के हुनसक्ला ?
Source : Press Council Nepal

Comment

Related News