h

News

हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक

2014-06-19

news

तेह्रथुम जिल्लाको पौँठाक गा.बि.स. हाङखाङलामा २०३४ सालमा जसरानी सम्बाहाम्फे लिम्बू र जसमान पन्धाक लिम्बूका नवौँ सन्तानका रुपमा जन्मिएका खगेन्द्र पन्धाक लिम्बू सेल्फ टट् चित्रकार, सङ्गीतकार र साहित्यकार हुन् । आफूलाई अरु जस्तै साधारण मान्छे, अनि दार्शनिक र अनि मात्र अरु भन्न रुचाउँछन् ।

धरानको पराग परिवारमा सामेल हुँदा अधिराज्यब्यापी लोकगीत प्रतियोगिता-२०५५ मा उत्कृष्ठ लोकगीत सङ्कलको रुपमा पुरस्कृत भएपछि ब्यवशायिक रुपमा साङ्गीतमा लागेका खगेन्द्रले गाउँ-गाउँ पुगेर लोकगीत सङ्कल गर्दै क्यासेट निकाल्दथे । सोल्टिनीज्यू, आफ्नै भाका, मरिन्छ कि बाँचिन्छ र नेपाल बन्द भए नि दिल त खुल्लै छ उनने निकालेका लोकगीत एल्बम हुन् । उनका फुटकर थुप्रै लोकगीत सङ्कलन, लेखन र सङ्गीत पनि छन् ।

साहित्य र चित्रकारितामा पनि बराबर लाग्ने उनको साहित्यिक कृतिहरू ‘समयले जन्माएका कविताहरू(सङयुक्त)-२०४९’, ‘नबिझाउने काँडाघारी(सङ्युक्त)-२०५३’, अब्स्ट्रयाक्ट बैँकक (उपन्यास)-२०६९’, र फ्युजन डिफ्युजन फिस्सन( अँग्रेजी कविता –सङ्युक्त) २०७० मा प्रकाशित छन् ।

ब्यवशायिक रुपमा सङ्गीत र चित्रकारिता गरेर १ दशकदेखि बैँकक रहेका उनले नेपालबाट निस्किने धेरै जसो साहित्यिक पुस्तकका आवरण-चित्र कोरेका छन् । र फ्रिलेन्स पेन्टिङ गरेर बसेका छन् ।

अमूर्तबोधी दर्शनको ब्याख्याता उनले गेडी साहित्यिक विधाको प्रतिपादन पनि गरेक छन् ।
उनै बहुआयामिक खगेन्द्र पन्धाक लिम्बुसँग देवराज राईले गरेको छोटो अन्तर्वार्ता  यहाँ प्रतुत गरिएको छ ।

≥≥ खगेन्द्र पन्धाकज्यू, संगीतकार, दार्शनकि, कवि, पेन्टर, के भनेर बोलाउ ?
-सबैभन्दा पहिले म अरु झै सामान्य मान्छे ! त्यसपछि दार्शनिक । किनभने दर्शन भनेको जीवन-जगतको मङ्गलताको निमित्त शुभ-चिन्तन, भरपर्दो बाटो माध्यम, तरिका,  कला आदिको खोज, बिचार, अभ्यास र प्रयोग हो । यसमा लाग्ने सबै दार्शनिक हुन् । मैले बारम्बार भनेको छु- शिक्षक, नेता, कलाकार, लेखक,ईन्जिनियर आदि हुनुपूर्व पहिले असल दार्शनिक हुनु आवस्यक छ । दर्शनको अभ्यास गर्दा गर्दै म हरेक भएँ । मसँग कवि, लेखक, चित्रकार, गायक, सङ्गीतकार सबै दर्शनको निमित्त आए ।

≥≥ खगेन्द्र पन्धाकको जन्म ललितकलाको सबै विधाका लागि भएको हो ?
- दर्शन नै आफैँमा कला हो । तेसैले पनि एक दार्शनिक ललितकलाको अभ्यासकर्ता हुन्छ नै । म पनि तेस्तै भएँ ।

≥≥संगीतको कुरा गरौं – तपाई त लोक गीतमा जमेको व्यक्ति, हिजोआज त आधुनिक गीत संगीतहरु तपाईको बढी आइरहेको देखिन्छ सुनिन्छ नी ?
लोकगीतको सिर्जना विशेष ब्यक्तिबाट विशेष कसरतले विशेष छोटो समयमा निर्माण हुन सम्भव छैन । लोकको क्रमिक बिकासको सिद्धान्तमा अनेक वातावरण, सँस्कार-सँस्कृति, भूगोल, उतार-चढाव र जनजीवन जव मानव हृदयमा झङ्कृति हुन्छ, त्यो लोकसङ्गीत बन्दछ । म स्वयम पनि सँस्कृति-सँस्कार-कलाले सम्पन्न लिम्बू तथा किरात समुदायको सदस्य हुनाले ति नश्ल जस्तै बनेर ममा जोडिएर आए । तिनैलाई मैले प्रस्तुत गरिरहेँ । लोकगीतलाई बिगारेर-भत्काएर वा परिवर्तन गरेर लाने स्वतन्त्रता हुँदैन । यसको सौन्दर्य नै यै स्वनिर्मित र स्वस्थापित रुप हो । जो मानव हृदयमा जीवनभर अमिट-अचल रहन्छन् ।

आधुनिक सङ्गीत भन्नु नै स्वतन्त्र रुपमा सङ्गीतको प्रयोग हो । यसमा साङ्गीतिक नियम(बैज्ञानिक रुपले मान्य ध्वनी, गणित र समय ) मा अनुशासित बसेर अनेक-अनेक सिर्जना गर्न सकिन्छ । यसैको अभ्यासमा छु । सिर्जनाहरू क्रमश: गरिरहेको छु ।

≥≥ मोफसल, राजधानी अनि प्रवास सबैमा बसेर संगीतको सृजना गरेको अनुभव संगाल्नु भयो ? कस्तो लागि रहेको छ ?
--- वातावरण, भूगोल, समय केहिले पनि सिर्जनाशक्तिमा असर गर्न सक्दैन । किनभने यो आत्मनिहित शक्तिको रुप हो । हामी जेलभित्र नै बसेर पनि सिर्जना गर्न सक्छौँ । किनभने सिर्जनशील शक्ति हाम्रो आफ्नै मष्तिष्कमा सञ्चालित हुन्छ । तर, हामीले आफ्नो ध्यानलाई अरुतिरै लगाएर भङ्ग गर्यौ भने सिर्जना जुनसुकै असल ठाउँमा बसेर नि गर्न गाह्रो हुन्छ । मेरो अनुभव यै हो । कहिले भोकै-नाङ्गै बसेर , कहिले मोज-मस्ती गरेर त कहिले हल्लामा बसेर त कहिले शुनसानमा बसेर  नि मैले सिर्जना गरेको छु । कृयाशील-सिर्जनशील मानसिकाताले जतै बसेर पनि  सिर्जना सकिन्छ । मेरो अनुभव यै हो ।

≥≥ आफ्नो गीत संगीतहरुबारे केही बताउँनुहोस् न ?
-- म सङ्गीत जान्दिन । अनुभूत मात्र गर्छु ।  I'm not well trained by Gurus ! but I'm self hard practiced man ! I use my feelings with art in music.  म त केवल हृदयमा झङ्कृत लयलाई बाहिर ब्यवशायिक, बैज्ञानिक, ब्यवहारिक र उपयोगी तथा मधुर बनाउन केवल कलाको समायोजन गर्छु । बस् !
म कहिलेकाहीँ  शब्द र सङ्गीत सँगसँगै तयार गर्छु । कहिले पहिले सङ्गीत र शब्द पछि सिर्जना गर्छु । कहिले शब्द पहिले र सङ्गीत पछि भर्छु । कुन अवस्थामा के सिर्जना गर्छु भन्ने हुँदैन । कसैले अनुरोध गरेका गीतहरूमा लय भर्दा पनि यै तरिका अपनाउँछु । मेरो हृदयलाई पहिले सोध्छु र दिमागमा त्यो रिफर गर्छु । अनि अभ्यास गरेर कलातमक रुपले कर्ममा बाहिर निकाल्छु ।

अहिले चर्चित, नयाँ-पूराना सबै कलाकारकालागि सङ्गीत गर्ने, गीत लेख्ने, गीत-गजलकारका सङ्गीत भर्ने काम गरिरहेको छु । मलाई धेरैले  विश्वास गरेर काम दिईरहनु भएको छ । कोशिष गरिरहेको छु ।

≥≥ दर्शनको कुरा गरौ न ? यो अमूर्तवोधी दर्शन भनेको के हो ?
--- छोटकरीमा दर्शनको परिभाषा माथि नै भनिसकेँ । यो पनि थप गरौँ_ दर्शन भनेको कुनै प्रतिष्ठित, औपचारिक रुपमा शिक्षित वा विशिष्ट मान्छेले मात्र जान्ने, लिने वा सिक्ने कुरा हैन । ‘दर्शनमा लागेर बर्बाद भईन्छ । दर्शनमा लागेर पार लाईएन भने पागल भईन्छ’ भन्ने हल्लाहरू पूर्वीय समाजमा ब्याप्त छ । जो गलत हो । माथिको परिभाषाले नै पुष्टि गर्दछ -दर्शन केवल जीवन-जगतको मङ्गलताको लागि हो । सबैमा दर्शन हुन अत्यावस्यक छ । दर्शनको अभ्यास सबैमा हुनु पर्दछ । यसर्थ:ले अमूर्तबोधी दर्शनको परिभाषा नि आफैँमा अमूर्त छैन ।

'यो सृष्टिमा कुनै जीव-जन्तु-पंक्षी-मान्छेकोलागि केहि अपुग छैन । संसार भरिपूर्ण छ । परिपूर्ण छ । संसार परिपूरक छ । खोज र उपयोग गर्न सक्यौँ भने हाम्रो बाहिरी मष्तिष्क र ज्ञानले पनि थाहा नपाएका अनेक स्रोत र सम्भावना  संसारमा छन् । अमूर्त रुपमा रहेका हरेक सम्बावना र स्रोतको खोज, अभ्यास र प्रयोग नै  अमूर्तबोधी दर्शन हो । आज हामीले प्रयोग गरेको यो सबै विधी-प्रविधि पनि अमूर्तबोधी दर्शनबाट प्राप्त भएका हुन् ।
 
हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् । आत्मशास्त्रको अध्ययन र अभ्यासबाट ति पत्ता लगाउनु पनि अमूर्तबोधी दर्शन हो । मानव उत्पत्तीकालदेखि आजसम्मका सबै मान्छेहरू पूर्ण छैनन् । आजसम्मका मान्छेले गर्न नसकेका जीवन-जगतका असल कामहरूको खोज बाँकी नै छ । खोज, प्रयोग र अभ्यास बाँकी नै छ । अमूर्तबोदी दर्शनले हरेक कुरामा जीवन-जगतका भरपर्दा बाटोहरू सम्भाब्यता देख्छ । हरेक समस्याका समाधानका विकल्प भेट्दछ ।

 ≥≥ विश्वमा यो दर्शनको के कस्तो स्थान छ ?
---  माथिका प्रश्नहरूको जवाफको आधारमा स्पष्ट हुन्छ, यो दर्शनको ब्याख्या कतै नगरिए पनि यै दर्शनको प्रयोगबाट अनेक दर्शनहरूको जन्म भयो । अनेक बिचारहरूको प्रवर्तन भयो ,। तर वास्तविक दर्शनको प्रतिपादन वा प्रवर्तन हुँदैन । दर्शन प्राकृत हुन्छ । हरेक दर्शन र जीवन शैलीहरूको जग नै अमूर्तबोधी दर्शन हो । दर्शन त केवल अभ्यासबाट मात्र साध्य हुन्छ । विश्वभर अमूर्तबोधी दर्शनको जग छ । अमूर्तबोधी दर्शनको कारणले अरु दर्शन खोजियो ।

≥≥ अब्सट्रयाक बैंकक उपन्यास प्रकाशित भयो, नबिझाउँने काँडाघारी कविता, गीत संग्रहरु पनि प्रकाशित गर्नु भइसकेको छ ? अब पाठकले के पर्खने ?
--- मैले अनेक विधामा ६ वटा साहित्यिक रचनाका पाण्डुलिपि तयार गरेको छु । उपन्यास, कथा, गेडी, गीत, कबिता आदि । पछिल्लो समयमा अँग्रेजी कविता सङ्ग्रह चाही प्रकाशित भईसकेको छ ।
पाठकभन्दा पनि प्रकाशकमा विश्वास नहुँदा मैले छाप्न हत्तार गरेको छैन । नेपाली तथा विदेशी प्रकाशन गृहले समेत छापिदिने सर्तहरू राख्नु भएको छ । अवस्था हेरेर स्वीकृती दिनेछु । गीत-सङ्गीत भने क्रमश: लगातार आईरहेका छन् । अहिले हङ्कङ निवासी कोमल थापा, चर्चित गायक/एरेञ्जर साज सिंह र रणधिर कुरुम्बाङ लिम्बू र सुजन लिम्बूको एल्बममा एकल सङ्गीत तथा अन्य फुटकर गीत-गजल-गेडी-सुफी-कबाली आदि सिर्जना गरिरहेकोछु ।

≥≥ तपाई धेरै पुस्तकहरुको इलुस्ट्रेटर पनि हुनुहुन्छ नी ? यति धेरै विधाहरुमा कसरी म्यानेज गर्दै हुनुहुन्छ ?

--- मैले पैसा, ईज्जत, परिवार, पुरस्कार, पद, देश,ब्यापार सबै त्यागेर समय, मेहेनत र कला यता लगाएको छु । सजिलो भएको छ ।
 

≥≥ अहिलेसम्म कति पुस्तकहरुको कभर बनाइसक्नु भयो त ?
---- ठयाक्कै सङ्ख्या त मलाई नि थाहा छैन । धेरै नै भए होलान् !  नेपाली साहित्यमा अहिले प्रकाशित हुने धेरै जसो पुस्तकका आवरणहरू कि त रमेश पौडेलजीको  कि त मेरो हुने गरेका छन् ।


 ≥≥ तपाई असल आर्टिसट (पेन्टर) हुनुहुन्छ ? तपाईको स्ट्रोकहरु बैंककमा कतिको चल्दैछन् त ?
- --- गरिरहेको छु । बिदेशीलाई खुलम-खुल्ला ललितकलामा ब्यवशाय गर्न यहाँ कानूनी रुपले गाह्रो भएकोले घर मै बसेर सिर्जना गरी अनलाईन तथा स्थानीय बजारकोलागि काम गरिरहेको छु ।
≥≥ पछिल्लो दशकमा नेपालीहरु संसारभर छरिएर रहेका छन् । गीत, संगीत कला पनि उतैतिर पुगेको छ । के भन्नु हुन्छ तपाई ?
---- आत्मानुकूल वातावरण र अवस्थाकोलागि मान्छे संसारको जुनसुकै भूगोलको पटाङगिनीमा पुग्न सक्छ । यो प्राकृत सत्य हो । अनेक कारणवस यसरी नेपाली छरिएका छन् । नेपालीपन पनि आफूमा नश्ल जस्तै भिजिसकेको हुनाले ति कुरा ब्यक्तिसँगै जान्छन् । लोकगीतको परिभाषामा पनि यो कुरा भनिसकेको छु । यो राम्रो हो । आजको नेपाली कला-सङ्गीतको ब्यवशाय बिदेशमा रहने नेपालीहरूले चलाएका छन् भन्दा अनर्थ नलागोस् !

≥≥ कसरी नेपाली भाषा, साहित्यको विकास गर्न सकिन्छ ?
---- अध्ययन, चिन्तन, अभ्यास, सिर्जना र प्रयोगलाई ब्यवहारिक बनाएर !

≥≥ हाम्रा पाठकहरुलाई केही भन्नु छ की ?
---- पाठक र लेखक नङ-मासु जस्तै हुन् । तर फरक यहाँ छ-हामी पाठकका निमित्त लेख्छौँ । तर पाठकले आफ्नो र लेखककोलागि पनि पढ्छन् । तसर्थ: हाम्रो अक्षर नपढ्नूस् ! हाम्रो दर्शन, कला र सिर्जना पढ्नूस् । 
सुखी-खुशी रहनूस् ! असल दार्शनिक हुन कोशिष गर्नूस् !

Comment

Related News