h

News

लोकप्रिय गिटारिष्ट यादव राई

2016-09-17

news

---- देवराज राई-----
हङकङमा नेपाली गीत संगीतलाई माया गर्ने र यसैको साधना गर्ने युवाहरुको भीड अत्यन्त ठूलो छ । प्राय नेपालबाट कलाकारहरु झिकाइ हरेक महिना जसो हुने अधिकांश सांगीतिक कार्यक्रमहरुमा गिटारसंगै खेलिरहेका यादव राई यहाँ रहेका नेपाली गिटारिष्टहरुमा सबैभन्दा व्यवसायिक र अनुभवी मानिन्छन् । उनको दैनिक जीवन यापनमा समेत गिटारले ठूलो मद्दत पु-याएको छ ।

अनुभवले पाको सदस्यहरु आवद्ध हङकङमा स्थापित ‘इष्ट लाइफ’ ब्याण्डका सदस्य रहेका राईले गिटारसंगै खेलेर तीन दशक बिताइसकेका छन् । प्रारम्भिक दिनहरुमा गिटार बजाउँदै गायनमा समेत प्रवेश गरे पनि अन्तत उनी गिटारवादकका रुपमा स्थापित हुन पुगे । विधार्थी जीवनमा ‘बर्नन्यू’ ब्याण्ड खोलेर संगीतको यात्रा शुभारम्भ गरेका उनले काठमाण्डौका ‘मिजल’, ‘प्रिजम’, ‘प्रतिविम्ब’ ब्याण्डहरुमा समेत आफ्नो कलालाई निखार्ने अवसर पाएका थिए ।

बृटिश गोर्खा रिटायर्ड क्याप्टेन हर्कवहादुर राई र निर्मला राईका दुई छोरा र दुई छोरीहरुमध्ये जेठो सन्तानको रुपमा हङकङमा जन्मिएका उनको पुर्खौैली घर भोजपूरको नेपाले डाँडा हो । उनको परिवार धरानको चौकीवारी हुँदै हाल काठमाण्डौमा रहेका छन् । रत्नराज्य (आरआर) क्याम्पसमा स्नातक तहमा अध्ययन गर्दागर्दै सन् १९९६ सालमा हङकङ आएका उनको प्राथमिक शिक्षा हङकङको गोर्खा चिल्ड्रेन स्कुलमा भएको थियो । दुई कक्षासम्मको अध्ययनपछि नेपाल फर्किएका उनले स्कुले जीवन काठमाण्डौंको ज्ञानोदय बालबाटिका इङ्गिलस बोर्डिङ स्कुलमा बिताएका थिए जहाँ, गीत—संगीतमा लाग्ने गतिलो प्रेरणा मिलेको थियो ।

वि.सं. २०४७ सालमा एसएलसी उत्तिर्ण गरेका उनले आरआरबाटै प्रमाणपत्र  तहको अध्ययन पूरा गरेका थिए । ‘विदेश जाने मायालु तिमीलाई’ गीत गाएर चर्चाको शिखरमा पुगेका दीपक थापाको आगमन ज्ञानोदय बालबाटिका स्कुलमा भएपछि उनको संगत र मार्ग निर्देशनले संगीत क्षेत्रमा पाइला टेक्ने आँट आएको यादप बताउछन् । थापाबाट गिटारको आधारभूत ज्ञान लिएका उनले स्कुले साथीहरुसँग मिलेर ‘बर्नन्यू’ अर्थात नयाँ जन्म नामक ब्याण्डको स्थापना गरेका थिए । मिक्स सेन्टिमेण्टल, रकपप विधाका गीतहरु  गाउन मनपराउने उनले ‘रातभर’ नामक म्यूजिक एल्बम समेत बजारमा ल्याएका थिए । उक्त एल्बममा रेकर्ड गरिएका अधिकांश गीतहरु आफ्नै स्वर रहेको उनी बताउँछन् ।

पहिलो ब्याण्डमा संगालेको अनुभवले पाको बनी ‘मिजल ब्याण्ड’संगको सामिप्यतामा लगभग ४ वर्षसम्म संलग्न भएका उनले प्रकाश पौडेल, निर्मल होडा, दिपेश प्रधान, प्रकाश थापासंगै मिलेर ब्याण्डलाई अगाडि बढाएका थिए । ब्याण्डमा लिड गिटार सम्हालेका उनले काठमाण्डौमा आयोजना भएका ठूला—ठूला कन्सर्टहरुमा आवश्यक्ता पूर्ति गरेका थिए । त्यसताका उनीहरुको ‘नशाले मातिन्छु म..’, ‘सुन सुन..’ बोलका गीतहरुले अत्याधिक चर्चा पाएको थियो । उनले ‘प्रतिविम्ब’ ब्याण्डसंग सेशन प्लेयर भई केही समय काम  गरेका थिए ।

टिन एज पार गर्दा—नगर्दै व्यवसायिक गिटारिष्ट बनेका उनले गजल रेष्टुरेण्टहरुमा मिजल ब्याण्ड मार्फत संलग्न भई जीवन चलाएका थिए । उनले थापाथलीमा रहेका ‘मुगल महल’ लगायतका गजल रेष्टुरेण्टहरुमा बाद्यवादक भई काम गरेका थिए । नेपालको चर्चित व्याण्ड १९७४ एडीका फिरोज स्याङ्तेन मार्फत गिटारको नोटेशन सम्बन्धी आधारभूत ज्ञान लिएका उनी हिन्दी, नेपाली, अंग्रेजी सबैखाले गीतहरुमा गिटार बजाउन माहिर रहेका छन् ।

सन् १९९८ सालमा हङकङमा स्थापित ‘इष्ट लाइफ’ व्याण्डमा राजु गुरुङ, मनोज घले, भिम पुनसंगै मिलेर विभिन्न कार्यक्रमहरुमा सहभागी भइरहेका छन् । नेपालबाट आएका कलाकारहरु हुन् वा हङकङमा आयोजना हुने ठूला सांगीतिक कार्यक्रमहरु उनीहरुको आवश्यकता टडकारो हुने गर्दछ । नेपालका सबैखाले कलाकारहरुसंग काम गरिसकेको अनुभवले पाको छन् उनी ।

जीवन यापनाका लागि फुल टाइम जागिर अन्यत्रै गरेतापनि गिटार र संगीतप्रतिको मोहका कारण संगीत सृजना गर्नु, गिटार बजाउनुमा समेत उनले समय खर्चिरहेका छन् । “जीवनमा संगीत छाड्न सकिन्न होला ।” भन्ने यादव राई वाद्यवादन सम्बन्धी संगीतहरु सुन्न रुचाउँछन् । उनी अगाडि थप्छन् “लाइभ ब्याण्ड रेष्टुरेण्टमा काम गर्नु परेकाले सबैखाले गीत संगीत सुन्नु पर्छ ।”

हङकङ विभिन्न म्युजिक टेष्ट भएको स्थान भएका कारण संगीतमा सौखिन व्यक्तिलाई प्रशस्त अवसरहरु देखेका छन् । लगनशीलता र मेहनत भएमा धेरै कुरो गर्न सकिने उनले विश्वास लिएका छन् । दैनिक रुपमा गिटार बजाउन रुचाउने उनी घरमै बसेर भएपनि समय मिलाई गिटारसंग खेल्न रुचाउँछन् ।

बिटल्स ब्याण्डका फ्यान भएको भन्न रुचाउँने उनी आफ्ना गुरु दिपक थापाले बिटल्स ब्याण्डका गीतहरु सुनाउँदा रक स्टार बन्ने सपना देखेका थिए । उनले विभिन्न रक शोहरुमा सहभागी बनेर धेरै आत्मासंतुष्टि बटुलिसकेका छन् ।

Comment

Related News