h

News

गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ

2016-09-21

news

--- देवराज राई ---
हङकङको नेपाली गायन र संगीतलाई नजिकबाट नियाल्दै दुई दशक बिताइसकेका राजु गुरुङ हङकङेली गायक कलाकारहरुमा दक्षता र अनुभवले अव्बल संगीत साधक मानिन्छन् । सांगीतिक कार्यक्रमहरुमा बेस गिटार बजाउदै गीत गाउँदै गरेको देख्न र भेट्न सकिन्छ । उनको गला र कलाले हङकङेली नेपाली सांगीतिक क्षेत्रमा स्थापित भएका छन् ।

नेपालीहरुले आयोजना गरेका स्तरीय सांगीतिक कार्यक्रमहरुमा प्राय देख्न पाइने राजु गुरुङले नेपाली गीत संगीतमा पु–याएको योगदान अतुलनीय रहेको छ । हङकङको चर्चित ‘इष्ट लाइफ’ ब्याण्डका सदस्य रहेका उनी स्थानीय नेपाली समुदायमा अत्यन्त चर्चित र व्यवसायिक कलाकार पनि हुन् ।

गिटार बजाउँदै नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका उनी बाबा लोकबहादुर गुरुङ र आमा भीमकुमारी गुरुङको चार सन्तानमा कान्छो छोरो अर्थात माइलो सन्तानकोरुपमा सन् १९७४ साल जुन १३ तारीखका दिन हङकङमा जन्मिएका हुन् ।

किन्डरगार्टेन स्तरको अध्ययन पूरा गरी नसक्दै हङकङबाट परिवारसंगै नेपाल फर्किएका उनी माउण्ट अन्नपूर्ण बोर्डिङ स्कुल, गण्डकी बोर्डिङ स्कुल हुँदै हिमाञ्चल बोर्डिङ स्कुलबाट सन् १९९१ सालमा एसएलसी उत्तीर्ण गरी पृथ्वी नारायण क्याम्पस पोखरामा मानविकी शास्त्र अध्ययनका लागि भर्ना भएका थिए । यद्यपि अध्ययन पूरा गरी नसक्दै सन् १९९५ सालमा उनी पुन हङकङ आएका हुन् । सानै उमेरमा संगीतलाई मन पराउँन थालेका उनलाई दाइ र उनका साथीहरुको संगतले यस क्षेत्रमा प्रवेश गर्न सहज बनाएको हो । गाना—बजानामा सौखिन दाइले घरमा ल्याएको गिटारले उनलाई संगीतमा आकर्षित मात्र गरेन यसैले आंशिकरुपमा भएपनि जीवन धान्न सक्षम बनायो ।

गएको दुई दशकयता गिटारलाई आत्मासाथ गरेका उनी ‘बेस गिटार’ बजाउन मन पराउछन् । विधिवतरुपमा गिटारको आधारभूत अध्ययन नगरेता पनि यसको स्वअध्ययनले उनलाई निपुण बनाएको हो । पुस्तक, सीडी, डीभीडी जस्ता गिटार सम्बन्धी प्रकाशन तथा प्रसारण गरिएका सामाग्रीहरु हेर्दै अझसम्म पनि उनी अध्ययन गरिरहेका छन् ।

पोखराबाट संगीत साधना गर्ने युवाहरुको भीडमा आफ्नो छुट्टै अस्तित्व कायम गराउन सफल उनी काठमाण्डौ बाहिर संगीत सम्बन्धी गतिविधिहरु सिमित भएको अवस्थामा पनि उनले त्यहाँका ३ वटाभन्दा बढी ‘ब्याण्ड’हरुमा काम गर्ने अवसर पाएका थिए । केही आफै स्थापना गरेका त कुनै स्थापित ब्याण्डहरुमा उनले संगालेको अनुभवले उनलाई हङकङमा जीवनयापन गर्नमा समेत ठूलो टेवा मिलेको छ । पहिलो पटक ‘प्राइम्बस’ ब्याण्ड स्थापना गरेर नेपाली गीत संगीतमा विधिवतरुपमा हात हालेका उनी त्यसपछि ‘संस्कार’ नामक अर्को ब्याण्डको सदस्य बनेका थिए ।

सन् १९९० सालतिर ‘मुगा’ नामक ब्याण्डको स्थापना गरी गीतसंगीतमा संघर्ष गरेका उनले पोखराको चर्चित ब्याण्ड ‘ब्रो सिस’मा समेत रहेर विभिन्न स्टेज सोहरुमा कार्यक्रम प्रस्तुत गरेका थिए । हङकङमा मनोज घले, यादव राई, भिम पुनसंग मिलेर इष्ट लाइफ ब्याण्डलाई अगाडि बढाइरहेका थिए । नेपालमा रहेकै अवस्थामा व्यवसायिक गिटार वादक राजुले रेडियो नेपाल पोखरा क्षेत्रीय प्रशारण केन्द्रले आयोजना गरेका कार्यक्रमहरुमा बेस गिटार व्यवसायिक रुपमा बजाएका थिए । थुप्रै जिंगल अर्थात ‘विज्ञापन’ रेकर्ड गराउने काममा समेत उनले आफ्नो समय व्यतित गरेका थिए ।

हङकङ आउनु अगाडि पोखराको गजल रेष्टुरेण्ट ‘सरगम’मा समेत लाइभब्याण्डका लागि काम गरेका उनले इष्ट लाईफ ब्याण्डमा मूख्य भोकलिष्ट उनी सबैखाले गीत गाउन निपुण छन् । नेपालदेखि नै गीत गाउन शुरु गरेका उनले केही आफ्ना गीतहरु भने रेकर्ड गराएका छन् यद्यपि बजारमा आएको छैन । राजु सबैखाले गीतहरु गाउँन रुची राख्छन् । उनलाई स्लो रक तथा मिक्स गीतहरु अलि बढी मन पर्छ । “संगीतमा आफूले जानेको बाजा बजाउनु म अल्छि मान्दिन ।” भन्ने उनले नेपालका राम्रा संगीतकारहरुको संगीतमा गीत गाउने चाहना राखेका छन् । हङकङेली नेपाली गीत संगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली, राजु गुरुङको सुन्दर भविष्यको कामना गरौं ।

Comment

Related News