h

News

अम्बर गुरुङ नेपाली आकाशका गीत थिए

2016-09-15

news

* नरेन्द्रराज प्रसाई
***
नौ लाख तारा उदाए धर्ती को आकाश हाँसेछ
शरद् लाग्यो वनमा फूलले प्रीति गाँसेछ ।
(स्वर र सङ्गीत: अम्बर गुरुङ • शब्द: अगमसिंह गिरी)

२०१८ सालतिर अम्बर गुरुङ आफ्नो स्वरबाट नेपाली मस्तिष्क र भावनाहरूलाई आफूतिर खिच्न अत्यन्तै सफल भएका थिए । त्यस बेलाको 'नौ लाख तारा उदाए' गीतले एकपल्ट सारा नेपाली अम्बर गुरुङको स्वर र भाकाप्रति झुकेका थिए । वास्तवमा त्यसपछि उनी तुरुन्तै नेपाली समाजमा परिचित भए । त्यसै कारणले श्रोताहरू उनका हरेक गीतसँग मितेरी लाउन अग्रसर हुन थाले । त्यति मात्र होइन, यही गीतका माध्यमबाट अगमसिंह गिरी पनि नेपालीहरूका घरघरमा परिचित भएका थिए ।

अम्बर गुरुङ पाँच वर्षमा नै गीतलाई आफ्नो स्वरबाट प्रस्तुत गर्न सिपालु भइसकेका थिए । उनको प्रतिभा देखेर परिचित मान्छेहरू उनीप्रति आश्चर्य मान्थे । आठ वर्षको उमेरमा त गुरुङले रङ्गमञ्चमा गीत गाएर उपस्थित सम्पूर्ण दर्शकको ताली भेटेका थिए । उनी बाल्यावस्थामा नै दार्जीलिङमा परिचित गायक भइसकेका थिए । किशोरावस्थाको मध्यतिर उनी सङ्गीतकारमा पनि परिचित भएका थिए । त्यसै बेलादेखि यिनले सङ्गीतको पनि औपचारिक शिक्षा लिन थालेका थिए ।

अम्बर गुरुङ संवत् १९९४ फागुन १४ गते दार्जीलिङको लालढिकी गाउँमा जन्मेका थिए । यिनलाई जन्माउने बाबु र आमा उजिरसिंह गुरुङ र रेणुकादेवी थिए । यी दम्पतिका जति सन्तान जन्मे पनि बाँचेका चाहिँ अम्बर गुरुङ मात्रै थिए । अम्बर गुरुङले आफ्नो नाउँलाई नै सार्थक बनाए । उनी नेपाली साङ्गीतिक फाँटमा अमर नै बने । अम्बर गुरुङ नै नेपाली साङ्गीतिक जगत्का त्यस्ता प्रतिभा थिए जसले आफैँ गीत पनि लेखे, आफ्ना गीत आफैँले सङ्गीत पनि गरे र ती गीतहरू आफ्नै स्वरमा प्रस्तुत पनि गरे । उनले जति गीत गाए तीमध्ये धेरै गीतलाई शिखरतिर पनि धकेले ।

श्री ५ महेन्द्रको कर, बल र प्रेरणाले अम्बर गुरुङ दार्जीलिङबाट नेपाल आएका थिए । अनि २०२६ सालमा सदाका लागि यी नेपाल पसेका थिए । त्यसपछि यिनलाई नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सङ्गीत विभागमा भर्ना गरियो । पच्चीसौँ वर्षम्म सङ्गीत निर्देशक भएर यिनले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट अवकाश पाए । त्यतिखेर पनि उनलाई प्रज्ञाप्रतिष्ठानमा बस्न धेरै नै रहर थियो । तर उनी कुनै दलगत हिसाबमा आबद्ध थिएनन् । त्यसैले उनी सर्लक्क त्यहाँबाट पन्सिन बाध्य भए । वास्तवमा अम्बर गुरुङ प्रज्ञाप्रतिष्ठानका सदस्य अथवा भनौँ सदस्यसचिव र अझै भनौँ उपकुलपति हुन योग्य थिए । तर ती पदहरूमा त के प्रथम श्रेणीको सङ्गीत निर्देशकमा उनले पुनः करारमा भए पनि बस्ने इच्छा गरे तापनि उनलाई त्यो पद दिइएन । साँच्चै भन्ने हो भने अम्बर गुरुङलाई त्यस घडी प्रज्ञाप्रतिष्ठानमा राखिएको भए एकातिर उनले आर्थिक सङ्कटसँग युद्ध गर्न पर्दैनथ्यो भने अर्का तिर प्रज्ञाप्रतिष्ठानको पनि गरिमा बढ्थ्यो ।

सुरुमा अम्बर गुरुङको प्रजातान्त्रिक नारा दिने सरकारले नै अपमान गरेको थियो । तर गुरुङलाई सरकारी निकायले जति हियाए पनि उनी नेपाली गीत, सङ्गीत र स्वरका अजम्मरी स्रष्टा थिए । उनको कलाले उनी ज्यादै माथि दरिए । उनको त्यो योगदान नेपाली माटामा युगयुगसम्म रहनेछ । किनभने उनले नेपाली धर्तीमा आफ्नो स्तरीय स्वर अर्पण गरेका थिए :

ऊ पनि त कोही पराया त होइन
रातै रगत बग्छ रङ् गको पानी होइन ।
(स्वर, सङ्गीत र शब्द : अम्बर गुरुङ)

अम्बर गुरुङ सानैदेखि साङ्गीतिक सङ्गठनमा सक्रिय थिए । यिनले दार्जीलिङमै सङ्गीत स्कुल खोलेका थिए । उनले खोलेका स्कुलमा उनीसँग गोपाल योञ्जन, शरण प्रधान, अरुणा लामा, रणजित गजमेर, जितेन्द्र बर्देवा आदिले तालिम, शिक्षा र ज्ञान लिएका थिए । काठमाडौँ आएर पनि उनले धेरैलाई सङ्गीतसम्बन्धी तालिम दिए । वास्तवमा गुरुङले सङ्गीतका कुशल शिक्षकमा पनि प्रसिद्धि कमाए ।

गुरुङ सङ्गीतकार मात्र नभएर एउटा बौद्धिक व्यक्तित्व पनि थिए । उनी आफ्नो साङ्गीतिक सीपलाई बौद्धिक रूपमा धाराप्रवाह प्रस्तुत गर्न सक्ने शिल्पीका रूपमा पनि चिनिए । लामो समयसम्म गीतियात्रामा समर्पित भएबापत अम्बर गुरुङ प्रबल गोरखादक्षिणबाहु, इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, भूपालमानसिंह कार्की सङ्गीत पुरस्कार, जगदम्बाश्री पुरस्कार, छिन्नलता पुरस्कारआदिबाट विभूषित र सम्मानित थिए । साथै यिनले नेपाल र भारतका थुप्रै पुरस्कार, सम्मान र अभिनन्दनहरू ग्रहण गरे । गुरुङले नेपालका विभिन्न भूभागहरू गीतियात्राका क्रममा घुमे । साथै उनले भारतलगायत अमेरिका, बेलायत र अन्य केही देशहरूको भ्रमण गरी अनुभवहरू पनि सँगाले ।

अम्बर गुरुङले 'सम्हालेर राख' नामक गीतसङ्ग्रह प्रकाशित गरे भने उनका पाँचवटा डिस्करिकर्ड पनि जनसमक्ष आए । उनले शान्ति ठटालका संवेदनामा डुबेर कितापको नाउँ 'सम्हालेर राख' राखेका थिए । वास्तवमा ठटाल र गुरुङ सारै मिल्थे । तर क्रमशः उनीहरु प्रायः टाडैटाडा भए ।

अम्बर गुरुङलेे केही नेपाली चलचित्रहरूमा पनि सङ्गीत प्रदान गरे । त्यतिमात्र होइन अस्ट्रेलियन र नर्वेजियन चलचित्रहरूमा पनि अम्बर गुरुङले पार्श्व सङ्गीत प्रस्तुत गरे । गुरुङले विभिन्न गीतिनाटक, नृत्यनाटक, पूर्णङ्की, एकाङ्कीहरूमा अपेरा, ब्याले, नृत्यनाटिका, वाद्यवृन्द प्रस्तुत गरेर लोकप्रियता हासिल गरे । सङ्गीतयात्रामा बग्दै जाँदा गुरुङले पाँच सयवटा गीतमा सङ्गीत भरे, दुई सयवटा गीत गाए र एक सय पचासवटा गीतको रचना गरे । उनीद्वारा गाइएका, सङ्गीत भएका र शब्दरचना गरिएका प्रायः जुनसुकै गीतले जनहृदयलाई च्याप्पै समाएको पाइन्छ :

डाँडापारि हिउँ परेछ डाँडावारि पानी
एकै चरण गीत सुनिदेऊ दिलकी मेरी रानी ।
(स्वर र सङ्गीत : अम्बर गुरुङ • शब्द : इन्द्र थपलिया)

अम्बर गुरुङको प्रतिभाभरि विद्वत्ता भए तापनि उनी राजनीतिदेखि सदैव टाढा रहे । यस सम्बन्धमा उनी आफैँ भन्थे ''राजनीति भन्ने कुरामा मेरो चाख कहिल्यै रहेन । म सोझो, सीधा नेपाली हुँ ।'' गुरुङ समाजका सबै बेहोराबाट सधैँ टाढा थिए । उनी एकोहोरो सङ्गीत आराधनामा नै व्यस्त देखिए । यति हुँदाहुँदै पनि उनी नेपाल एउटा समृद्ध राष्ट्र होओस्, यहाँका प्रत्येक नेपालीले खानलाउन पाऊन् , गतिलो शिक्षा पाऊन् भन्ने इच्छा राख्ने गर्थे । आफ्ना गीतहरूमा खुसी, पीडा पोखेर नेपाली भाषाका मर्मज्ञहरूलाई संवेदनशील बनाउने कलाका रचनाकार गुरुङले यस फाँटमा पाइला राखेर जति दुक्ख पाए त्यति नै सुख पनि समेटे । गुरुङका प्रेरणाका स्रोत र आदर्श व्यक्ति म.वी.वि. शाह थिए । वास्तवमा राजा महेन्द्रको कारणले उनी नेपालमा स्थायी भएका थिए । कवि अगमसिंह गिरीका प्रकृति, देशप्रेम र मानवतावादले ओतप्रोत, भर्भराउँदा र जुर्मुराउँदा शब्दहरू र अम्बर गुरुङका आकासिँदो सङ्गीत र स्तरीय स्वरबाट श्रोताहरू कहिल्यै टाढा जान मानेनन् । त्यही 'नौ लाख तारा'बाट यिनीहरूले जनमन जिते पनि यिनीहरूका हरेक प्रस्तुति मननयोग्य देखिए । गीतिसन्दर्भमा होस् अथवा साहित्यिक सन्दर्भमा होस् महाकवि लक्ष्मीप्रसाद देवकोटाका रचनाहरू गुरुङ बिछट्टै मन पराउँथे । उनका मन परेका मान्छेहरुमा ईश्वरवल्लभ, श्यामदास वैष्णव र इन्द्रबहादुर राई थिए ।

अम्बर गुरुङका सङ्गीतरचनाबाट थुप्रै कलाकार उठे । निर्मला श्रेष्ठ पनि अम्बर गुरुङकी साङ्गीतिक प्रस्तुति हुन् । एकताका अम्बर गुरुङ र निर्मला श्रेष्ठको संयुक्त झङ्कारको धेरै चर्चा परिचर्चा पनि भयो । यी दुवै जना सङ्गीत र एकअर्का प्रति बराबरी समर्पित पनि देखिन्थे । त्यसै गरी उनको सङ्गीतका माध्यमबाट थुप्रै रचनाकार र गायकहरूले नेपाली साङ्गीतिक प्रदेशमा आफ्नो नाउँ लेखाउने मौका पाए । 'पोहोर साल खुसी फाट्ता' गीत अम्बर गुरुङको सङ्गीतमा अरुणा लामाले गाउँदा पहिलो रचनामा नै राजेन्द्र थापा एक्कै चोटि चर्चित हुने गीतकार थिए ।

अम्बर गुरुङको बिहे २०११ सालमा बिना गुरुङसँग सम्पन्न भयो । उनीहरूबाट छोरा किशोर, राजु, शरद र छोरी अलका जन्मे । अमर गुरुङको पारिवारिक जीवन नै सङ्गीतमय थियो । उनको घरभित्र नै नेपाली गीतसङ्गीतको एउटा भण्डार भेटिन्थ्यो । त्यस ठाउँलाई नेपाली सङ्गीतको तीर्थस्थल भने पनि हुन्थ्यो ।

अम्बर गुरुङ एउटा भाग्यमानी कलकार थिए । राजा महेन्द्रले उनलाई नेपाल टिकाएका थिए तर उनी गणतन्त्रात्मक नेपालको राष्ट्रयि गीतको सङ्गीतकार बने । त्यतिमात्र होइन उनी सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका प्रथम कुलपति भए । नेपालमा बहुदलीय व्यवस्था आउने वित्तिकै लखटिएका अम्बर गुरुङ क्रमशः नेपाली आकाशका गौरवशाली सङ्गीतकारमा विराजमान भए ।

अम्बर गुरुङले नेपाली समाजलाई आफ्नो सिङ्गो जीवन दान दिए । उनको स्वर, सङ्गीत र रचनाले नेपाली सङ्गीतभूमि उर्वरा भयो । वास्तवमा उनी कहीँ कतै नअल्मलिई यही विधामा मात्र लागेका भए नेपाली सङ्गीत अझै समृद्ध हुने थियो । तर पनि उनीबाट यस भूमिले धेरै लिएको मान्नु पर्छ । यति मात्र होइन उनका तीनै जना छोरा पनि नेपाली साङ्गीतिक क्षेत्रमा परिचित भइसकेका छन् ।

अम्बर गुरुङका शब्द, सङ्गीत र स्वरले विश्वको फन्को लगाए । उनी आफ्नो प्रतिभाले नेपालीले बास गरेका सम्पूर्ण जगत्मा परिचित भए । उनको उच्चस्तरीय सङ्गीतकलाले आज हाम्रो सङ्गीत संस्कृति फस्टाउनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । वास्तवमा अम्बर गुरुङका सङ्गीतमा स्तरीयताको विम्ब भेटिन्छ । अम्बर गुरुङको सङ्गीतमा पाइने स्तरीयताको मिठास बुझ्ने पारखीका लागि उनी झन् सारो प्रिय रहे । अम्बर गुरुङका गला र कलाको प्रशंसामा डुब्नेहरूका लागि उनले झनै सारो स्तरीय गीत पस्किरहेका हुन्थे । अन्ततः २०७३ साल जेठ २५ गते आफ्नो जीवनभरिको लोकप्रियता नेपाली माटोलाई सुम्पेर उनी विदा भएः

यो जिन्दगीको के कुरा, यो सपना हो र के कुरा
तिम्रो रूपको पनि के कुरा, मेरो गीतको पनि के कुरा !
(स्वर र सङ्गीत : अम्बर गुरुङ • शब्द: ईश्वरवल्लभ)

Comment

Related News