h

News

किराँत विभूति इमानसिंह चेम्जोङ

news

नेपाली बुद्धिजिवीका आँखामा बसेका बुद्धिजीवी थिए इमानसिंह चेम्जोङ । उनी लिम्बु किराँतीहरुका बृहद् शब्दकोश थिए । त्योभन्दा ठूलो कुरा उनी किराँत सम्प्रदायका बौद्धिक शङ्कराचार्य थिए । पढेर र परेर उनी जनमनमा पसेका थिए । त्यसैले सम्बन्धित विषयमा नेपाली पटभूमिमा नै उनको हैसियतले जनप्रियता हासिल गरेको थियो ।

उनले गरेको सर्वांङ्गिण योगदानको कदर गर्दै नेपाल सरकारले पनि उनको मुहार अंकित हुलाक टिकट प्रकाशनमा ल्याएको थियो । अनि त्यसपछि उनलाई नेपालको राष्ट्रिय विभूतिको सम्मान दिनु पर्छ भन्ने किराँतीहरूको आवाजले पनि नेपाली आकाश गुन्जिरह्यो । वास्तवमा किराँत जातीको विज्ञका रुपमा उनी देशदेशान्तरमा सुपरिचत थिए । हुन पनि यस्ता व्यक्तित्वकोे जन्मका लागि नेपालले चीर प्रतीक्षा गर्नु पर्ने देखिन्छ ।

चेम्जोङका बुवा मेघवरसिंह चेम्जोङपाँचथरको आङसराङबाट दार्जीलिडको कालिम्पोडमा बसाइँ सरी गएका थिए । अनि कालिम्पोडमा नै चेम्जोङको जन्म भयो । उनी १९६१ साल पुस १७ गते जन्मे । उनी बुबा र आमा दाबुपुहाडका छैटौं सन्तान थिए ।
चेम्जोङसानैदेखि सुझबुझका धनी थिए । उनी त्यसैबेलादेखि तीक्ष्ण पनि थिए । साथै उनी भद्र, इमान्दार र आज्ञाकारी थिए । स्वच्छ जीवन निर्वाहमा उनको नैसर्गिक गुण ट्याप्पै टाँसिएको थियो ।

चेम्जोङका विवाह दार्जीलिडका गोकुलदास प्रधान र पद्मा राहेलकी अन्तरी छोरी अमीरसँग भएको थियो । यी दम्पतिबाट तीन छोरी नूरजुहाड, सनुहाडमा र सुखहाड र दुई छोरा हाडसिंह र मोहनसिंह जन्मे ।    

चेम्जोङको वाल्यकालमा ज्ञानगुनका कुरा ग्रहण गर्नमा नै उद्धत थिए । त्यही परिवेशमा उनका एक जना गुरुले उनी समक्ष ‘किरातीहरु जड्गली हुन्छन्’ भनेका थिए । अनि त्यही संवाद यिनको जीवनको लक्ष्यप्राप्ति गर्ने खुट्किलोका रुपमा रुपान्तिर भयो । वास्तवमा उनी हरेक पल किराँत जातीका बारेमा नै घोत्लिन थाले । परिणमस्वरुप उनले आफ्नो जीवनलाई मन, वचन र कर्मले किराँतका विविध अध्ययनमा अर्पण गरे ।
जुनबेला चेम्जोङ २१ वर्षका थिए त्यतिखेर कालिम्पोडमा एउटा भेला डाकिएको थियो । त्यसभेलाको सभापति मैतसिंह थेगिम थिए । त्यसै भेलामा चेम्जोङ्ले याक्थुड हाडचुम्लुडको प्रस्ताव ल्याएका थिए । उनको त्यस प्रस्तावलाई सर्वसम्मतिबाट स्वीकारिएको थियो । त्यतिबेला यी नौ कक्षाका विद्यार्थी थिए । तर उनको विचार विश्वविद्यालयमा पढिनु पर्ने खालको थियो । त्यसबखतको उनको त्यस विचारले एउटा सशक्त सङ्गठनकै स्थापना गराई दियो । अनि त्यसैलाई बीसौं शताब्दीको लिम्बुजातिको पहिलो सड्गठन भनियो ।

१९८८ साल वैशाख २४ गतेको कुरा हो । त्यसबेला नेपालको पुर्वाञ्चलमा महागुरु फाल्गुनानन्दले आयोजना गरेको महामेलाको सञ्चालन चेम्जोङले नै गरेका थिए । त्यहाँ पनि उनले आफ्नो हैसियतलाई टड्कारो देखाएका थिए । अनि त्यहाँ उनी धेरैका प्रिय पात्र पनि भए । त्यसैले पनि उनलाई भारत फिर्न मन लागेन र त्यसपछि उनी नेपाल नै बसे ।

चेम्जोङ२००९ सालमा अखिल लिम्बुवान सुधार सड्घको उनी संस्थापक सभापति बने । त्यहाँ लामो समयसम्म सभापति बनेपछि उनले अखिल बर्मा किराँत सड्घ, अखिल भारतीय किराँत चुम्लुड एसोसियशन, अखिल सिक्किम किराँत योड चुम्लुडको स्थापना गरे । यी सबै संस्थाहरुलाई किराँती भाषासाहित्य, धर्म र संस्कृतिका लागि एक जुट गराउने काम यिनैले गरेका थिए । त्यसैताक यिनकै नेतृत्वमा पल्लो किराँत लिम्बुवानको माग राखिएको थियो । त्यसपछि २०१५ सालको आम निर्वाचनमा उनी लिम्बुवान स्वायत्तताका लागि क्षेत्रनम्बर २८ को उम्मेदार बने र उनले ७०० मत ल्याएका थिए ।
चेम्जोङले किराँत मुन्धुम अर्थात् भाषासाहित्य, संस्कृति र सामाजिक अवस्थाको शोध गरेर त्यस दिशामा एउटा नयाँ क्षीतिज उघारी दिए । अन्ततः उनको शोध त्यस समुदायका लागि सर्वमान्य नै पनि भयो ।
    चेम्जोङको आफ्नो जीवनप्रतिको लक्ष्य र जातिप्रतिको मोह पनि विचित्रकै थियो । त्यसैले उनी पठनपाठनमा जति जागरुक थिए आफ्नो जातीको सामाजिक अध्ययनमा पनि त्यतिकै घोटिएका थिए । उनले पढ्ने क्रममा म्याट्रिकसम्म कालिम्पोडमा नै पढे । अनि उनले कोलकाताको सेन्ट जेवियर्स कलेजबाट आइए र कलकत्ता विश्वविद्यालयबाट स्नातक गरे । त्यसपछि उनले बेलायतबाट त्यस माथीको शिक्षा बटुलेका थिए ।

चेम्जोङको शैक्षिक योग्यताको चर्चाले पूर्वी नेपालका डाँडापाखा र दार्जिलिङको सेरोफेरो ढाकेको थियो । उनको त्यसबारेको सुवास सिक्किम पनि पुग्यो । अनि स्थानीय बुद्धिजीवीको हौसलाले उनी सिक्किमतिर लागे । त्यहाँ उनले शिक्षण गरे । पछि उनी त्यहाँ कर अधिकृत पनि भए । एक दशकसम्म त्यता हल्लिएपछि उनको बौद्धिक चेतनाले आफ्नो जातीय पहिचानको शास्त्रबारे थप केही न केही गर्न पनि सोच्यो । अनि उनले अलिक ठूलो ठाउँ पनि खोज्न थाले र केही गर्ने जाँगर बोकेर उनी काठमाडौंतिर पसे । त्यतिबेला रणधीर सुब्बा त्रिभुवन विश्वविद्यालयका उपकुलपति थिए । उनैले चेम्जोङलाई आफू उपकुलपति हुने वित्तिकै अर्थात् २०१८ सालमा त्रिभुवन विश्वविद्यालयमा ससम्मान भित्र्याएका थिए ।
त्रिभुवन विश्वविद्यालयको एसियाली अनुसन्धान केन्द्रमा चेम्जोङलाई किरात भाषासाहित्य तथा संस्कृति विषयक विशेषज्ञका रुपमा राखिएको थियो । त्यहाँ उनी निरन्तर पन्ध्र वर्षसम्म सेवारत भए । त्यतिन्जेलमा यिनले किराँती भाषासाहित्य, इतिहास, जाति, संस्कृति र सभ्यताबारे धेरै लेखरचनाहरुको निर्माण गरिसकेका थिए ।

    किराँत इतिहासलाई जीवित पार्ने काम चेम्जोङबाटै भयो । उनले किराँत इतिहासलाई साड्गोपाड्गो मात्र देखाएनन् निष्पक्ष रुपमा नै आफ्नो जातीयताको धरातल निर्माण गर्ने गुरुत्तर भूमिकाको पनि निर्वाह गरे ।

चेम्जोङले लिम्बु भाषालाई सारै ठूलो श्रद्धा गरेर माने । यस भाषाप्रति उनले ठूलै गर्व पनि गरे । त्यसैले उनी लिम्बु भाषा लिपी मै छाप्ने यन्त्रको विकासका लागि रातोदिन लागि परेका थिए । तर उनले आफ्नो जीवनकालमा त्यो काम गर्नचाहिं भ्याएनन् ।
    चेम्जोङले जति गरे अति गरे । उनैले किराँत वेद लेखे, इतिहास लेखे, लिम्बु नेपाली अड्ग्रेजी शब्दकोशको निर्माण गरे, किराँत मुन्धुम खाहुन, चेप्चा अड्ग्रेजी शब्दकोश पनि तयार गरे र विजयपुरको इतिहास पनि लेखे । वाङ्मयमा यिनले अनेकोैं फुटकर लेखरचनाको पनि थुप्रो लगाएका थिए । उनी लेख्तालेख्तै नै थला पनि परे । अन्ततः उपचारकैक्रममा उनी २०३३ साल असोज २२ गते काठमाडौंमा स्वर्गीय भए ।

Comment

Related News