h

News

'योगमाया'लाई चलचित्रमा प्रस्तुत गरिने

2016-09-01

news

नेपालको सामाजिक जागरणकी अग्रणी योगमायाको जीवनीमा आधारित 'योगमाया'नामक कथानक चलचित्र निर्माण हुने भएको छ । नेपाली र अङ्ग्रेजी भाषामा एकैसाथ निर्माण गरिने योगमायाको अभिनयको भूमिका अभिनेत्री सूर्यमाला खनालबाट हुनेछ ।
 
साहित्यकार नरेन्द्रराज प्रसाईबाट जीवनी तथा गीत लेखिने योगमाया चलचित्रको सल्लाहकारमा लण्डन विश्वविद्यालयका प्रा.डा. माइकल हट रहनु हुनेछ । डा. हट पनि योगमाया विषयक अनुसन्धानमा लागिरहनु भएको छ ।
 
चन्द्रमाला शर्माद्वारा निर्माण गरिने 'योगमाया'को निर्देशन अभिनेता एवम् निर्देशक सरोज खनालले गर्नुहुनेछ ।
 
नइ प्रकाशनद्वारा संयोजन गरिने यस चलत्रिको सम्पूर्ण आर्थिकभार सूर्यचन्द्र प्रोडक्सनद्वारा बेहोरिने छ ।
 
(चन्द्रमाला शर्मा)
कार्यकारी निर्माता
सूर्यचन्द्र प्रोडक्सन
 
योगमायाको सानो परिचय

 
योगमायाको जन्म संवत् १९१७ सालमा भोजपुरको दिङ्लामा भएको थियो । उनी नेपाली समाजमा एउटी विद्रोही नारीका रूपमा परिचित छन् ।
 
बाँचुन्जेल योगमायाले समाजका विकृतिहरू चिर्नमै समय लगाएकी थिइन् । उनी नेपाली साहित्यमा पनि क्रान्तिकारी नारीकी प्रतीक मानिन्छिन्। बूढी औँठाको ल्याप्चेका भरमा आफ्नो हस्ताक्षर दिएकी उनी आशुकवयित्री थिइन् । उनी प्रायः कविताबाट नै पनि बोल्थिन्  ।
 
योगमायामाथि अनेक सामाजिक कुसंस्कारका वज्र ठोक्किएका थिए । कलिलो उमेरमा नै अलच्छिनी र पोइटोकुवीको लाञ्छनाले उनी रङ्गिन थालेकी थिइन् ।
 
अनेक साधना गरेर योगमाया ईश्वरीय शक्ति प्राप्त गर्ने कोटिमा स्थापित भइन् । आफ्नो जीवनलाई सार्थक पार्ने अभिप्रायले उनले वर्षौंवर्ष गुफामा बसेर साधना गरिन् । जाडो दिनमा उनी आधा महिनासम्म अरुण नदीमा आफूलाई कम्मरसम्म डुबाएर साधनारत हुन्थिन्। गर्मी महिनामा धुनी जगाएर आगाका रापसँगै उनले आफ्नो साधनाप्रधान कर्म गर्थिन् ।
 
योगमायाले श्री ३ जुद्धशमशेरको पालाका दरबारिया विद्वानहरूसँगको शास्त्रार्थमा विजय हासिल गरेकी थिइन् । स्वर्गद्वारीका चैतन्य महाप्रभुको शिक्षा, दीक्षा र ज्ञान उनको विवेकको ढुकुटीमा शक्तिको स्वरूप भएर बसेको थियो ।
 
भोजपुरको दिङ्लामा १९९७ सालमा ठूलो यज्ञको आयोजना भएको थियो । उनले त्यहाँ उपस्थित सबै चेलाचेलीहरूलाई भनेकी थिइन् 'अब भक्तहरूले बाँच्ने युग छैन । अतः यसै यज्ञको समाप्तिका दिन पूर्णाहुतिका रूपमा यज्ञकुण्डमा प्रवेश गरेर अग्निसमाधि लिनुपर्छ ।' उनको घोषणाअनुसार त्यसैबेला उनका दुई सय चालीस जना भक्तहरूले यज्ञकुण्डमा हामफाली प्राण त्याग्ने निर्णय गरेका थिए । त्यो बेहोरा राणका दरबारमा पुगेपछि उनका हातगोडामा नेल ठोकिएको थियो ।
 
फेरि अर्को बर्षयोगमाया आफ्ना भक्तहरूलाई पछि लगाएर अरुण नदी पुगेकी थिइन् । त्यहाँ पुगेर १९९८ असार २२ गते शनिबारका दिन उनले घोषण गरिन्- 'इच्छा हुनेले मेरो अनुकरण गर्नु ।' त्यसपछि उनले उर्लंदो अरुणको भेलमा हाम फालिन् । उनका अनुयायीहरू पनि क्रमशः त्यस नदीमा हामफाल्दै गए । हुँदाहुँदै त्यस बेला जलसमाधि लिने नारीपुरुषको सङ्ख्या ६८ पुगिसकेको थियो । त्यसपछि त्यहाँ कतिले हाम फाले र कति घर फर्के - कसैले त्यसको तथ्याङ्क राख्न सकेको थिएन । त्यस घटनापछि त्यहाँ राणाको फौज पुगेको थियो ।
 

Comment

Related News