h

News

मलाई टिपिकल कला-सँस्कृतिप्रति रुची छ -सुमी लिम्बू(नृत्यकार/मोडल)-बर्मा, हाल: बैँकक

2016-09-23

news

प्रथम र दोस्रो विश्वयुद्धले संसारका कुना-काप्चाका देशहरूलाई आगो र खरानी बनाएको थियो । संसारलाई बारुद र लास गन्हाउने बनाएको थियो । तर नेपाललाई भने प्रतक्ष दुबै विश्वयुद्धले सिधै छुन सकेन । तथापी नेपालीलाई भने दुबै विश्वयुद्धले प्रभाव पारेको थियो । नेपालीहरूले दुबै विश्वयुद्धमा लडेका थिए । प्राणको आहूति दिएका थिए । जसको प्रभाव आज पर्यन्त रहेको छ । तिनै विश्वयुद्धले नै नेपालीहरूलाई प्रवासी बनाउन प्रमुख भूमिका निभाएको थियो ।

सन १९४२- ४३ ताका बर्मा अहिलेको म्यान्मार पनि दोस्रो विश्वयुद्ध चर्किरहेको थयो । जसमा बृटिष कम्पनीको पक्षमा नेपाली युवाहरूले पनि युद्ध लडिरहेका थिए । उनीहरूलाई हामी गोर्खाली वा लाहुरे भनेर अहिले पनि सम्बोधन गर्दछौँ । यसै क्रममा बर्मामा पुगेका धेरै नेपालीहरू अनेक कारणवस आफ्नो देश फर्किएनन् । फर्किन सकेनन् । फर्किन चाहेनन् । तिनै नेपालीहरूले म्यान्मार (बर्मा)बस्न शुरु गरेको ईतिहास आज ५-६ पुस्तासम्म पुगिसकेको छ । त्यो पुस्ता क्रमश: थाईल्याण्ड र मलेसियासम्म पुगेको छ । यस्तै ऐतिहासिक कथामा सिङगापुर र ब्रुनाईसम्म मात्र हैन, फिजीमा समेत प्रवासी नेपालीहरूको बसोवास रही आएको छ ।

मैले एक प्रवासी नेपाली कलाकारको परिचय दिन यो ऐतिहासिक सन्दर्भलाई कोट्याउनै पर्ने आवस्यकता सम्झिएँ ।

म्यान्मारको उत्तरपूर्वी पहाडी क्षेत्रमा चीनसँग जोड्ने विशाल आयेयार्वादी नदी बहेको छ । जसको पारीपट्टी हरियाली पहाडी बन र डाँडा छन् । वारीपट्टी समतल खुल्ला उब्जनी योग्य फाँट छ । त्यै फाँटमा प्रवासी नेपालीहरूको ठूलो वस्ती छ । त्यहाँका आदिवासी स्थानीयहरूले नेपालीहरूलाई गुरखा भनेर सम्बोधन गर्दछन् । अचेल निपो(नेपाल) भनेर पनि बोलाउने गर्दछन् । त्यै कचिन सिटीको एउटा मुख्य वस्ती मिचिना हो । मिचिना प्रवासी नेपालीहरूको विशाल वस्ती हो । म्यान्मारमा सबैभन्दा धेरै नेपाली मूलका मान्छे बस्ने ठाउँ नै यै मिचिना वस्ती हो । जो अहिले सहर बनिसकेको छ ।

त्यै मिचिनाको प्रवासी नेपाली अर्थात गोरखालीहरूको एक लिम्बू परिवारमा जम्मिएकी कलाकार हुन्- सुमी लिम्बू (लिभाङ) ।
गाउँ मै आमा-बुवाको आँखा छली-छली नाच्न शुरु गरेकी लिम्बूले त्यै गाउँबाट नै आफ्नो कलायात्रा थाले पनि रोजगारको क्रममा थाईल्याण्डको राजधानी बैँकक आएपछि मात्र आफ्नो कलालाई निखारेकी हुन् । उनी जति राम्रो नृत्य र अभिनय गर्छिन उतिकै सुन्दरी पनि छिन् ।

थाईल्याण्डमा हुने हरेक साँस्कृतिक कार्यक्रममा उत्कृष्ठ नृत्यहरू प्रस्तुत गरिसकेकी सुमी लिम्बू थाईल्याण्डको नेपाली साँस्कृतिक कार्यक्मरहरूको बिकासको निम्ति अगुवा नाम हो । किरात चुम्लुङ थाईल्याण्डको स्थापनाकालदेखि दशौँ वार्षिकोत्सवसम्म लगातार साँस्कृतिक पक्षमा टेवा दिँदै आएकी सुमी लिम्बूले नेपालका चर्चित नृत्यकार तथा अभिनेता दिलिप रायमाझीसँग पनि नाचिसकेका छन् ।

'मलाई सँस्कृति र सँस्कार झल्काउने खालको नृत्य गर्न मन पर्छ । प्राय: टिपिकल नाच मात्र नाच्छु ।'- भन्ने लिम्बूले आफूले सहभागी हुने कार्यक्रममा यस्तै ठेट लोकनृत्य प्रस्तुत गर्ने गर्दछिन् । नेपाल मै भूल्न लागिएका कौडा, सालैजो, धान नाच, च्याब्रुङ नाच, साकेला नाच आदि ठेट र साँस्कृतिक नृत्यहरू उनले नाचिसकेकी छिन् ।

यसपल्टको किरात चुम्लुङ बैँकक, थाईल्याण्डको दशौ स्वर्ण दिवसमा आजसम्म संसारभरका किरातहरूले कुनै मञ्चमा प्रस्तुत नगरेको ऐतिहासिक तथा साँस्कृतिक भेषभुषा प्रदर्शनी गरेर उनले तहल्का मच्चाईन् । जसमा यलम्बर युगदेखि आजसम्मको सबै किरातीहरूको भेषभुषा, लिम्बू विवाह र फदाङ्माको समेत प्रस्तुति समेटिएको थियो ।

थाई टिभीका छोटा फिल्म र बिज्ञापनमा ब्यस्त रहेकी नेपाली मूलका थाई नागरिक एम्मी खेवा लिम्बू, अन्तराष्ट्रीय चर्चित फिल्म ' Myanmar In Love In Bangkok का नायक नेपाली मूलका म्यान्मार नागरिक अउँनाई शो लिम्बूदेखि लिएर नयाँ-पूराना म्यान्मार र थाईल्याण्डका नेपाली मूलका किराती कलाकाहरू उक्त प्रस्तुतिमा समेटेकी थिईन ।

बैँककमा हुने साँस्कृतिक कार्यक्रमहरूमा आफैँ कोरियोग्राफ गर्दै उत्कृष्ठ नृत्य प्रस्तुत गर्ने सुमी नीलम आङ्बुहाङकृत जुनी-जुनी-२ मा समाहित भारतीय गायिका सञ्जीवनी स्वरमा रहेको ' उडी आयो भमरा...' गीतको म्युजिक भिडियोको मोडल पनि हुन् ।

'लिम्बू हुनुमा गर्ब गर्छु ।' उनले बेला-बेला यस्तो स्टाटस फेसबुकमा लेखिरहन्छिन् । उनी असल नृत्यकार मात्र हैनन्, आज थाईल्याण्डका साँस्कृतिक कार्यक्रमहरूमा प्रयोग हुने लिम्बू साँस्कृति गरगहनाहरू दिनरात आफैँ खटेर आफ्नै हातले निर्माण गरेकी हुन् । उनी असल हस्तकलाकार पनि हुन् । उनलाई बैँककमा आफ्नो कला देखाउन बैँककमा लामो समयदेखि प्राध्यापन गरेकी नेपाली मूलको बर्मा नागरिक पूर्व प्राध्यापिका भारती ओख्राबो लिम्बूले हौसल्ला दिएको कुरा सुनाउँछिन् ।

उनको नाम लिँदा उनका अरु समकालीनहरूको नाम पनि सम्झिनु उचित हुन्छ । बिकी सेन्च्युरी, शीला सम्बाहाम्फे लिम्बू, राधा सम्बाहाम्फे लिम्बू, ला ला योङहाङ लिम्बू, रुपा लिम्बू, हर्क बहादुर फेन्दुवा लिम्बू आदि उनका टीममा प्राय: देखा पर्ने गर्दछन् ।

'भोली गएर म चर्चित वा ब्यावशायिक हुन्छु भन्ने मेरो केहि सोच छैन । तर मैले भ्याए -सके-जानेसम्म ठेट नृत्य गर्ने, सिकाउने र कलामा लागिरहन्छु ।'-भन्दछिन । बहूभाषी उनी नेपाली, अँग्रेजी, थाई, हिन्दी र बर्मा भाषा पढ्छिन्-बोल्छिन् । लिम्बू भाषा पनि सिकाउने पाए सिक्ने उनको रुची छ ।

एकचोटी नेपाल हेर्न जाने उनको गहिरो ईच्छा छ । 'नेपालमा जस्तो अवसर पाए, मैले पनि कलाकारितामा धेरै उन्नती गर्ने थिएँ होला ।' भन्ने भनाई छ ।

अहिले आफूले जाने-बुझेको र सकेको साँस्कृतिक काम गरिराखे अर्को आउने पुस्ताले अनुशरण गर्छन् भन्ने उनको धारणा छ । नेपाल र विश्वभर रहने नेपाली तथा नेपाली सँस्कृतिप्रतिको उनको प्रेम हामीले आँकलन गर्नै सक्दैनौँ ।

ईतिहास, भूगोल र नागरिकताले हामीबाट खोसेर लान नसकेको नेपाली मनको कलाकार सुमी लिम्बूको बारेमा यो छोटो नोटमा सबै उल्लेख गर्न सम्भव भएन ।

अहिले बनिरहेको साउथईष्ट एसियाका प्रवासी नेपालीहरूको बारेको डकुड्रामाको उनी म्यान्मार प्रमुख पनि हुन् । बिदेशमा जन्मे-हुर्केर पनि नेपाली सँस्कार-सँस्कृति र कलालाई यति धेरै माया गर्ने यिनै प्रखर प्रवासी नेपाली कलाकार सुमी लिम्बू अहिले नेपाली म्युजिक भिडियोहरूमा अभिनय गर्न ब्यस्त छिन ।

हाम्रो शुभ-कामना !

Comment

Related News